बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएका ३३ वर्ष र पञ्चायतकालका ३० वर्षलाई तुलना गरौं । व्यवस्था मात्र बदलिएको हो कि अवस्था पनि ?
नेपालमा २०६२/०६३ को जनआन्दोलनको सफलतापछि नेपालको विकास, सुशासन, सेवा प्रवाह आदिमा व्यापक सुधार गरेर नेपाल र नेपालीको जीवनस्तर उकास्ने भनिन्थ्यो । आम नागरिकले ‘नयाँ नेपाल’ नाम दिन्थे । नयाँ नेपालको भाष्य झन्डै ५/७ वर्ष चल्यो । तर छोटो समयमा नै ‘नयाँ नेपाल’ को व्यवस्थालाई व्यंग्य गर्ने, नेतृत्वको कार्यशैलीलाई खिसी गर्ने र गणतान्त्रिक व्यवस्थालाई नै होच्याउने शब्दावलीका रूपमा विकास भयो ।
‘नयाँ नेपाल’ लाई व्यंग्यका रूपमा केही मानिसहरूले प्रस्तुत गरे पनि खासमा नेपाल नयाँ नै बनिरहेको छ । पुरानो व्यवस्था मात्रै होइन नागरिकको अवस्था पनि बदलिएको छ । नागरिकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा व्यापक परिवर्तन आएको छ ।
तर पनि समाजको एउटा तप्का यस्ता परिवर्तनबाट सन्तुष्ट छैन । यो तप्कामध्ये एकथरीलाई विगतको व्यवस्थामा नागरिकको अवस्था कस्तो थियो भन्ने कुराको कुनै अनुभूति नै छैन । खासगरी २०६३ पछि जन्मिएको पुस्ताले ‘देशमा केही नै भएको छैन’ भन्ने भाष्य बनाउन महत्त्वपूर्ण योगदान गरेको छ । यो पुस्ताले मतदानको अधिकार पनि प्रयोग गर्न पाएको छैन । सूचना प्रविधि र राजनीतिक अधिकार प्राप्तिसँगै जन्मिएको यो पुस्ता विगततिर फर्कन चाहँदैन । नेपालमा कुनाकन्दरामा बसेर पनि विश्वका सम्भ्रान्त देशहरूको उन्नति र प्रगति हेरिरहेको यो पुस्ता हाम्रो देशमा किन अमेरिका जस्तो विकास भएको छैन ? त्यहाँको जस्तो सुविधा किन उपभोग गर्न पाइएको छैन भनेर हरदिन सत्तालाई प्रश्न गर्छ । नेपालकै गाउँमा बसेर विश्व देख्ने प्रविधि पनि यही गणतन्त्रको उपहार हो भन्ने कुरा मान्न यो पुस्ता तयार नै छैन ।
दोस्रो थरी नियतवश नकारात्मकताको खेती गर्नेहरूले नयाँ नेपाललाई पुरानै अवस्थामा फर्काउन र समाजमा निराशाको खेती गर्न न्वारनदेखिको बल लगाएका छन् । यो समूह स्वदेश तथा विदेशमा सक्रिय छ । सामाजिक सञ्जालको उपयोग गर्दै यो समूहले ‘मिस इन्फरमेसन र डिसइन्फरमेसन’ उत्पादन गरेर नागरिकको हातहातमा फ्यालिरहेको छ । जसले एकैपटक लाखौं मानिसलाई नयाँ नेपालमा नयाँ केही नै भएको छैन । सबै लथालिंग भएको छ भन्ने सन्देश प्रवाह भएको छ । त्यस्ता प्रकारका सन्देशहरूबाट निराश बनेको जमात र नयाँ नेपालबाट आफ्नो स्वार्थ पूरा नभएको जमात भेला भएर राजा ल्याउने दिवासपना बाँडिरहेका छन् ।
नयाँ नेपालमा केही भएन भनेर अफवाह फैलाउने प्रवक्ता जो छन् उनीहरूले एकपटक आफ्नै जीवनलाई हेरे भने अभूतपूर्व परिवर्तन पाउनेछन् । बहुदलपछिका ३३ वर्षमा नेपालले गरेको उपलब्धिलाई जनगणना, स्वास्थ्य मन्त्रालय, विश्व बैंक, विभिन्न मन्त्रालय आदिका तथ्यांकहरूलाई आधार मानेर केही विश्लेषणको प्रयास गरिएको छ ।
गणतन्त्रभन्दा पहिला सडक यातायातको कल्पनै नभएका विकट गाउँहरूमा मानिसले अहिले सडक यातायातको सुविधा पाएका छन् । पहाड र हिमाली क्षेत्रबाट कैयौं दिन ढाकर बोकेर हिँड्नुपर्ने मानिसहरू अहिले घरबाट गाडी चढ्ने सुविधामा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६ हजार ७ सय ४३ वटा वडामध्ये ६९.४ प्रतिशत अर्थात् ४ हजार ६ सय ७९ वटा वडामा १२ महिना यातायात सञ्चालन हुने सडक निर्माण भएका छन् । गणतन्त्रको स्थापनाभन्दा अगाडि सडकमार्ग नपुगेको साविक कर्णालीका पनि धेरैवटा वडाहरूमा अहिले यातायातको सुविधा छ । सबैभन्दा विकट प्रदेशका रूपमा चिनिएको कर्णालीका ३८.४ प्रतिशत वडाहरूमा १२ महिना नै गाडी सञ्चालन हुन्छ ।
३० वर्षको पञ्चायतले जम्मा ९ हजार किलोमिटर सडक निर्माण गरेको थियो । पञ्चायतपछिका ३३ वर्षमा १ लाख १० हजार किलोमिटर सडक निर्माण भएको छ । २०४८ सालमा करिब डेढ लाख यातायातका साधन भएकामा हाल करिब ४० लाख वटा सवारीसाधन रहेका छन् ।
राजाको शासनको निरन्तरतामा यो गतिको विकास पाउँथ्यौं होला त ? सडक र हवाई कनेक्टिभिटीले देशका कुनै भाग पनि मूल प्रवाहबाट बाहिर छैनन् । राजतन्त्रकालमा एउटा इलाकामा (पाँच–सातवटा गाविसको इकाइ) एउटा प्राथमिक स्वास्थ्य केन्द्र हुन्थ्यो तर अहिले २१ देखि २८ प्रतिशत वडाहरूमा स्वास्थ्य केन्द्र छन् ।
घरघरमा बिजुली, हातहातमा मोबाइल
बहुदलका १२ र गणतन्त्रका १९ वर्षमा भएको परिवर्तन गाउँ बस्तीमा प्रस्टै देख्न सकिन्छ । अझ रमाइलो कुरा त राणाकालमै नेपालमा विद्युतीकरण सुरु भए पनि पञ्चायतकालसम्म जम्मा ८.८ प्रतिशत जनताले मात्र विद्युत् सेवाको उपभोग गर्न पाएका थिए । अहिले त्यो संख्या ९२.८ प्रतिशत पुगेको छ । पञ्चायतकालमा करिब २२७ मेगावाट बिजुली उत्पादन हुने गरेकामा हाल ३४०० मेगावाट पुगेको छ । स्मार्ट मोबाइल फोनका प्रयोगकर्ता करिब ७५ प्रतिशत छन् । सामान्य प्रकारको मोबाइल प्रयोग गर्ने घरपरिवार ९३ प्रतिशत छ । विकास निर्माणको गति गणतन्त्रअघिको पुस्ताले कल्पना गरेभन्दा तीव्र गतिमा अघि बढेको छ । पहाडका भीरपाखामा मोटर चल्ने कल्पना हाल ८० को दशकमा हिँडिरहेको पुस्ताले गर्दैन थिए । उनीहरू कल्पना गर्दथे कि यस्ता भीर पहरामा मोटर त गुड्लान् तर हाम्रो जीवनकालमा होइन यिनीहरूले चाहिँ देख्लान् कि भनेर नाति पुस्तालाई देखाउँथे । तर कल्पनाभन्दा कैयौं वर्षपहिले उनीहरू आफैं मोटर चढेर भीर पहरामाथि यात्रा गर्ने अवसर पाए ।
गणतन्त्रकालका एकाध घटनालाई आधार बनाएर, त्यसैको टेकोमा सबै राजनीतिक दल र नेताहरूलाई गाली गर्नुअघि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भएका ३३ वर्ष र पञ्चायतकालका ३० वर्षलाई तुलना गरौं । व्यवस्था मात्र बदलिएको हो कि अवस्था पनि ?
पञ्चायती निरंकुशताको अन्त्यका लागि नेताहरू झन्डै दुई दशकसम्म जेलमा बसे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष जेल बसे । मुख्य राजनीतिक दलका पहिलो पुस्ताका नेता सबै जेलनेल खाएर आएको पुस्ता हो । उनीहरूले जनताको जीवनस्तर उन्नत बनाउन, राजनीतिक र सामाजिक अधिकार जनतालाई दिलाउन नै कठोर संघर्ष र त्याग गरेका हुन् । अहिलेको व्यवस्थलाई गाली गर्नुभन्दा अघि यस व्यवस्थाको पृष्ठभूमि र त्यसका लागि राजनीतिक दलहरूले गरेको निरन्तर संघर्षको अध्ययन र मनन गर्नु जरुरी हुन्छ ।
व्यवस्थासँगै यसरी बदलियो अवस्था
हरेक राजनीतिक परिवर्तनपछि भएका व्यवस्थाले जनताको जीवनस्तरमा केही न केही सुधार गरेकै छन् । अवस्था बिग्रिएर पश्चगमन भएको छैन । यदि त्यस्तो हुँदो हो त पूर्वको मानिसले नुन किन्न धरान नै झर्नुपर्थ्यो होला, मध्यनेपालतिरका मानिसले सामान खरिद गर्न बुटवल नै पुग्नुपर्थ्यो होला । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना अर्थात् २०४७ सालपछि नागरिकको जीवनस्तरमा व्यापक परिवर्तन भएको छ । मानिसहरूको शैक्षिक अवस्था मात्र होइन चेतनाको स्तर फेरिएको छ । महिला शिक्षा बढेको छ । २०४८ सालदेखि २०७८ का ३० वर्षमा नेपालीको साक्षरता दर हरेक वर्ष करिब २.५ प्रतिशतका दरले बढेको छ । २०४८ मा ५४.४ प्रतिशत रहेको नेपालीको साक्षरता दर हाल ७६.२ प्रतिशत पुगेको छ । यस अवधिमा महिला साक्षरता ३६.२ प्रतिशतले बढेर ६९ प्रतिशत पुगेको छ ।
स्वास्थ्य सेवामा भएको उल्लेख्य प्रगतिका कारण नेपालीहरूको आयु बढेको छ । बाल तथा शिशु मृत्युदर घटेको छ । सुत्केरी हुनुपर्ने कारणले हुने मृत्यु (मातृ मृत्यु) दर घटेको छ । उच्च शिशु तथा बाल मृत्युदरका कारण औसत उमेर थोरै भएकामा गाउँगाउँमा खोप कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, गाउँगाउँमा विस्तार गरिएका स्वास्थ्य केन्द्र, निजी क्षेत्रमा खुलेका अस्पताल तथा क्लिनिकका कारण मानिसको अकाल मृत्युको सम्भावना क्रमशः टर्दै गएको छ । जसको फलस्वरूप २०४८ सालमा ५४ वर्ष रहेको नेपालीको औसत आयु हाल ७१ वर्ष पुगेको छ । महिलाको त आयु ७२ वर्ष पुगेको छ । बाल मृत्युदर १३९ प्रतिहजारबाट तीन दशकको अवधिमा २७ मा झरेको छ । मृत्युदरमा आएको यो उल्लेख्य प्रगतिलाई नजरअन्दाज गरेर देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्नु नै गलत छ । दूरदराजबाट हेलिकोप्टरमार्फत पनि प्रसूति व्यथा लागेका कैयौं महिलाहरूलाई सुरक्षित सुत्केरी गराएर उनीहरूको ज्यान बचाइएको छ । बाल तथा शिशु मृत्युदरमा आएको उल्लेख्य कमीका कारण जन्माइएका सबै बालबालिका पूरा आयु बाँच्छन् भन्ने विश्वास भएर प्रजनन दर पनि घटेको छ । २०४८ मा एक जना महिलाले करिब ५ जना बच्चा जन्माउने गरेकामा त्यो क्रम घटेर अहिले मुस्किलले दुई जना बच्चा जन्माउने अवस्थामा पुगेको छ ।
२०५१ सालमा संसद्मा महिलाको प्रतिनिधित्व ३ प्रतिशत थियो । गणतन्त्रको स्थापनापछि यो संख्या बढेर ३३ प्रतिशत पुग्यो । २०५४ को स्थानीय तहको निर्वाचनमा गाविसका हरेक वडाबाट एक जना महिला सदस्य चुनिन्थे । राजनीतिक, सामाजिक परिवर्तन र राज्यको समावेशी नीतिका कारण अहिले हरेक स्थानीय तहका मुख्य दुई पदमध्ये एउटामा महिलाको अनिवार्यता गरिएको छ । हरेक वडाबाट कम्तीमा दुई जना महिला प्रतिनिधि निर्वाचित हुनै पर्ने व्यवस्था गरिएको छ । जसका कारण स्थानीय तहका करिब ३५ हजार जनप्रतिनिधिमध्ये १४ हजार अर्थात् ४१ प्रतिशत महिला छन् । एक महानगरसहित २५ वटा स्थानीय तहको नेतृत्व महिलाले गरेका छन् । राजनीतिसँगै घरघरमा पनि महिलाको सत्ता बढ्दै गएको छ । हाल करिब एकतिहाइ (३१.५५ प्रतिशत) घरपरिवारमा महिला घरमूली छन् । २०६८ सालको तुलनामा यो दर ५.८२ प्रतिशतले बढेको हो । यसैगरी करिब एकचौथाइ (२३.८ प्रतिशत) परिवारमा महिलाको नाममा घर वा जग्गाको स्वामित्व रहेको छ ।
आर्थिक, सामाजिक सूचक बलिया हुँदै गएपछि नेपालीको गरिबीको दर पनि ओरालो लागेको छ । २०५८ सालमा ४२ प्रतिशत रहेको गरिबी हाल २०.२७ प्रतिशतमा झरेको छ । नेपालको मानव विकास सूचकांक मध्यम स्तरभन्दा माथि रहेको छ । २०४८ सालमा ०.४ रहेको यो सूचकांक हाल ०.६ पुगेको छ । व्यवस्थासँगै नेपालीहरूले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गरेका छन् । प्रतिव्यक्ति आय २०४८/०४९ सालतिर ७ हजार ६ सय ९० रुपैयाँ थियो भने अहिले बढेर १ लाख ३६ हजार ७ सय ७ रुपैयाँ पुगेको छ ।
परम्परागत खेती प्रणालीमा सुधार गरेका छन् । नागरिकले कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरणको बाटोमा अघि बढाएका छन् । २०४८ सालमा १ प्रतिशत मानिसहरूले खेती खनजोतका लागि ट्र्याक्टर प्रयोग गर्ने गरेकामा २०६८ मा २२ र २०७८ मा ४० प्रतिशत किसानले खेतीका लागि ट्र्याक्टर प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय रूपमा बढ्दो सम्बन्ध र हवाई यातायातको सुविधाका कारण नेपाल आउने पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसअनुसार २०४८ सालमा करिब १ लाख पर्यटक नेपाल आउने गरेकामा हाल १२ लाख पर्यटक नेपाल आउने गरेका छन् ।
पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रकालमा नेपाल र नेपालीको अवस्था के थियो भन्ने कुराका यी केही तुलनात्मक तथ्यहरू हुन् । यस्ता सकारात्मक परिवर्तन हरेक व्यक्ति, समुदाय, गाउँहरूमा भएका छन् । राजनीतिक दलहरूले बहुदल र गणतन्त्रकालमा भएका सकारात्मक परिवर्तनहरूको ‘ब्रान्डिङ’ गर्न नसक्दा पनि निराशाको भाष्य निर्माण भएको छ । त्यसैले काम गर्नु मात्र होइन भएका कामलाई राजनीतिक दलहरूले नागरिकसामु बेलाबेला प्रस्तुत पनि गर्नुपर्दछ । समाजमा नकारात्मक भावना उद्वेलित गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेर सकारात्मकतातर्फ समाजलाई डोर्याउने काम पनि दलहरूकै हो ।
