पूर्वराजा ज्ञानेन्द्रकाे शुभकामनामा छुटेका कुराहरू

ज्ञानेन्द्र उनै हुन् जो मन्त्रिपरिषद् अध्यक्ष हुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध गरे । न्युज रुममा सैनिक अधिकारीहरू पठाए । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राजसंस्थाको जयजयकार उर्तान अघोषित उर्दी जारी गरे । तिनै ज्ञानेन्द्रले आज प्रजातन्त्रको गुणगान गाएका छन् ।

चैत्र ३१, २०८१

जनकराज सापकोटा

Missing things in the greetings of former King Gyanendra

काठमाडौँ — बेलाबखत शुभकामना सन्देशमाफर्त प्रस्तुत भइरहने पूर्वराजा ज्ञानेन्द्र नयाँ वर्षमा फेरि शुभकामना सन्देश लिएर प्रकट भए । यसपाला भने उनको सन्देश यस्तो बेला फरक समयमा आयो । तीनकुने घटनाको १५ दिनपछि पूर्वराजाले मुख खोले । अनि शुभकामनाको पृष्ठभूमिमा उनले केही राजनीतिक सन्देश दिए अनि आफूलाई केन्द्रमा राख्नुपर्ने मनसुवा प्रकट पनि गरे ।

संयोग पनि कस्तो पर्‍यो भने तीनकुनेमा भएको राजावादी आन्दोलनमा व्यक्तिका घर र अफिसभित्र छिरेर आगो झोसेको भिडियो सार्वजनिक भएकै दिन पूर्वराजाको सन्देश आयो ।उक्त घटना भएकाे पाँच दिनपछि नै उक्त घटनामा संग्लन भएकाे आराेपमा रामेछापको सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछामको पंचदेवल नगरपालिका घर भएका २० वर्षीय गोर्कण शाही पक्राउ परेका थिए । 

सरोज र गोर्कणले किन व्यक्तिको घर र अफिसमा आगो झोस्न उद्धत भए ? पूर्वराजा ज्ञानेन्द्रले झिटी गुन्टा कसेर साँझ झमक्कै ढल्केपछि नारायणहिटी छोडेर नागार्जुनतिर लाग्दा सरोज ६ वर्षका थिए भने गोर्कण ४ वर्षका मात्रै । सायदै सरोज र गोकर्णलाई थाहा नहोला त्यतिबेला के भएको थियो ? सत्ताको शिरमा बसेर ज्ञानेन्द्रले के उत्पात मच्चाएका थिए र लाखौं जनता किन सडकमा आएका थिए भनेर । 

तन्नेरी जोशको मातमा मात्रै सरोज र गोर्कण व्यक्तिका घर र अफिसमा आगो झोस्न गएका पक्कै होइनन् । उनीहरूलाई कसले कसरी प्रयोग गरेको थियो भन्ने कुरा बिस्तारै प्रहरी अनुसन्धानमा खुल्दै जाला । तर यतिबेलासम्म खुलेको तथ्य के हो भने, उनीहरू दुवै दुर्गा प्रसाईंले खोलेको  'एसटीएफ'मा आबद्ध थिए । त्यहाँ उनीहरू कुन विचार वा दर्शनले प्रेरित भएर आबद्ध भएका थिए कि कुनै प्रलोभनमा परेर भन्ने कुरा पनि समयमा खुल्दै जाला । सायदै पूर्वराजा ज्ञानेन्द्रलाई सम्झाइरहनु परोइन, दुर्गा प्रसाईंलाई चैत १४ को साँझ उनैले आन्दोलनको कमान्डर बनाएर पठाएका थिए । अनि निर्मल निवासबाट बाहिर निस्केर उनले हौसिँदै आफूले गर्नसक्ने सम्भावित कृत्यका बारेमा बताएका थिए । 

आफूले कमान्डर बनाएर आन्दोलनको मोर्चामा पठाएको व्यक्ति विध्वशं मच्चाएर तीनकुनेबाट हिंसात्मक शैलीमा भागेको १४ दिनपछि भारतको असमबाट पक्राउ परेको कुरा ज्ञानेन्द्रको जानकारीमा नहुने कुरै भएन । अनि नेपालकै सरहदमा छु भन्ने सफेद झुटसहितका दुई-दुई वटा भिडियो सन्देश जारी गरेको केही दिनमै उनी पक्राउ परेको कुरा पनि निर्मल निवासलाई पक्कै थाहा होला । 

दुर्गा प्रसाईको फर्जी भिडियो सन्देश आएकलगत्तै ज्ञानेन्द्रको शुभकामना शैली सार्वजनिक भए पनि उनले यो सारा पृष्ठभूमिबारे अनेदेखा मात्रै गरेनन् । तीनकुने घटनामा आफ्नो भूमिकाबारे व्याख्या र विवेचना गर्न त परै जाओस, आफ्नो भूमिकाबारे समिक्षाका एकै शब्द पनि खर्च गर्न आवश्यक ठानेनन् । 

पूर्वराजा ज्ञानेन्द्र मानिसका जीवनमा आइपर्ने विस्मृतिजन्य अवस्थाबारे परिचित छन कि छैनन । त्यसै भन्न सकिन्न । उनले शुभकामना सन्देशमा भनेका छन्, 'नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।' 

पूर्वराजाले पक्कै बिर्सेका छैनन् होला, २०५९ असोज १८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरे । त्यसपछिका केही वर्ष उनले प्रधानमन्त्रीमा टिके प्रथा सुरु गरे । सुरुमा लोकेन्द्रबहादुर चन्दलाई टिपेर ल्याए । त्यसबाट पनि केही पार नलागेपछि उनले सूर्यबहादुर थापालाई ल्याए । त्यसपछि उनले फेरि शेरबहादुर देउवालाई ल्याए । शेरबहादुरबाट पनि उनको मनसुवा पूरा नहुने देखेपछि उनले २०६१ माघ १९ मा देउवालाई पनि हटाएर शासनसत्ताको कमान्ड आफैंले सम्हाले । 

मन्त्रिपरिषद्को अध्यक्ष भएपछि उनले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध गरे । न्युज रुमभित्र हातहतियारसहितका सैन्य अधिकारीहरू बुट बजार्दै पुगेका थिए अनि बोल्न, लेख्न पाउने सारा स्वतन्त्रता खोसेर राजसंस्थाको जयजयकार उर्तान अघोषित उर्दी गरेका थिए । धेरैको सम्झनाबाट अझै हटेको छैन, त्यतिबेला के भएको थियो ? कसरी दलविहीन व्यवस्थाको पक्षपोषण सुरु भएको थियो अनि राजदरबारबाट सुराकीका नाममा पैसाको खोलो बगाइएको थियो । 

पक्कै पनि  ज्ञानेन्द्रले आफैंले चालेका यी कदम पक्कै बिर्सेका छैनन् । बिर्सेका भए पनि उनले सम्झिन जरुरी छ, घर र अफिसमा आगो झोस्न तयार पारिएका सरोज र गोर्कण जस्ता एकाध जेनजी पुस्ताबाहेक धेरैले त्यो प्रजातन्त्रको हरण भएको त्यो काल बिर्सेका छैनन्, उनै ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको प्रस्तुति गाएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने उनै ज्ञानेन्द्रले आज भनेका छन्, 'समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो ।' 

पूर्वराजाले आफ्नो मन्तव्यमा केही आर्थिक र केही राजनीतिक कुरा मिसाउन खोजेका छन् । उनले चरम आर्थिक मन्दी भोग्नुपरेको यथार्थ मिसाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको बताएका छन् । तर त्यस्तो कार्य उनकै आफ्नै शासनकालमा कसरी भएको थिएन भन्नेबारे भने चटक्कै भुले । उनका सारथी को थिए र तीसँग कस्तो आर्थिक भिजन थियो भन्ने जगजाहेरै छ । लोकतन्त्र ल्याउन लागिपरेका दलको असक्षमता र तिनका सारा कुर्कमको फल उनीहरूले समयक्रममा भोग्ने नै छन् । त्यसमा पूर्वराजाले विस्मृतिमा पुगेजसरी पुलकित हुन कुनै जरुरी छैन । 

पूर्वराजाले आफ्नो सन्देशमा नेपाल विश्वकै उत्कृष्ट भूमि रहेको भाष्य फेरि दोहोर्‍याएका छन् । गरिबी र अभावका अनेकन चरम दुःखहरूसँग जुध्दै बाँचेका जनताको दुःखपूर्ण विगतलाई गिज्याउँदै उनले इतिहासको अपव्याख्या मात्रै गरेका छैनन्, विगतमा नेपाल स्वर्ण राज्य थियो भन्ने भ्रामक र कपोकल्पित सूचना फैलाइरहेका छन् । पूर्व राजाले बिर्सनु हुँदैन, राणाकालदेखि नै नेपाली तन्नेरीहरूलाई भाडाको सिपाहीका रूपमा ब्रिटिस इन्डिया कम्पनीलाई बेचेर त्यसैको कुत खाने परम्परा सक्रिय राजतन्त्रका बेला पनि अनेक स्वरूपमा निरन्तर नै रह्यो । अनि ज्ञानेन्द्रले यो पनि बुझ्न जरुरी छ, इतिहासको लामो कालखण्डदेखि जारी छ, नेपाली तन्नेरीहरू रोजगारी र अलिकति आशाको खोजीमा परदेश पस्न बाध्य भएको । बाध्यताको यो कालखण्ड शाहवंशको २४० वर्षभर अविछिन्न रह्यो । 

इतिहासको यो दुःखद अध्यायले लोकतन्त्र र गणतन्त्रमा निरन्तरता पाएको सत्य हो । त्यसमा क्रमभंग गर्न दलका नेता कहाँ र कसरी चुके भन्नेबारे निर्मम समीक्षा गरौंला नै । तर यस्तो समीक्षा इतिहासकै आलोकमा गरिनुपर्छ । तर पूर्वराजाले यो भुल्नु हुँदैन कि सारा जनताले एकाध दशकअघिको इतिहास सहजै भुल्नेछन् । 

ज्ञानेन्द्रले भनेका छन्, हरेक समस्याको समाधान संवाद, सहमति समन्वय र सहकार्यबाट हुन सक्छ । उनले यसो भने पनि उनकै विगत काफी छ, उनी कसरी संवाद र सहमतिलाई लत्याउँथे अनि कसरी एकाध स्वार्थी मान्छेको घेराभित्र कैद भएर वैश्विक संसारमा के भइरहेको छ भन्ने विषयलाई अनदेखा गर्थे । बाँकी सारा कुरा तपशिलमा राखे पनि पूर्वराजाले १५ दिनअघि के भएको थियो र दुई जनाको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिनमा उनको भूमिका के हुन्छ भन्नेबारे बोल्नैपर्छ । दलका सारा कमजोरीको आलोकमा उनले उक्त घटनामा आफ्नो भूमिकाका अनदेखा गरिरहन मिल्दैन, क्षम्य हुँदैन । विधि र व्यवस्थाको तराजुमा नेतादेखि जनतासम्म सबैलाई एउटै व्यवहार गर्ने भनेरै जनताले लोकतन्त्रको स्थापना गरेका हुन् । यसमा पूर्व राजा कसरी छुट्न सक्छन् ।

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully