हात्तीको सदियौंदेखिको मार्गमा अवरोध, घना मानवबस्ती र व्यापारिक केन्द्रको नजिक प्रजननयोग्य पोथी हात्तीको झुन्ड राख्नु नै मकुना हात्ती र नागरिक मारिनुका मुख्य कारण हुन्
जंगली भाले हात्तीका कारण विगत दुई दशकदेखि नै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विशेषतः सौराहा वरपरका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, पर्यटक, निकुञ्ज कर्मचारी र सुरक्षाकर्मी त्रसित हुँदै आएका छन् । घना मानवबस्ती र व्यावसायिक केन्द्र सौराहा नजिकैका हात्तीसारमा राखिएका चितवन राष्ट्रिय निकुञ्ज र पर्यटन व्यवसायीका प्रजननयोग्य पोथी हात्तीको निमन्त्रणा स्वीकार गरेर जंगली हात्ती बस्तीमा पस्ने गर्दछन् ।
निकुञ्जले गस्ती, मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न बाघ लगायतका वन्यजन्तुको उद्धार गर्न, अध्ययन तथा अनुसन्धान गर्न, गैंडा लगायतका वन्यजन्तु गणना तथा स्थानान्तरण गर्न पाल्तु हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । व्यवसायीले पर्यटकलाई हात्तीमा सवारी गराएर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
प्रजननयोग्य पोथी हात्तीले आफू सहवासका लागि तयार रहेको सन्देश भाले हात्तीलाई ५—२० हर्जको तरंगमा आवाज निकालेर प्रवाह गर्दछन् । जमिन र वायुको माध्यमबाट ३—५ किमि टाढा रहेको भाले हात्तीले यो निम्तोलाई सुन्दछ । सहवासका लागि त्यसतर्फ लम्कन्छ । यो प्रकृतिको नियम हो र स्वाभाविक छ । अन्दाजी २५ किमि टाढासम्मको घटनालाई समेत हात्तीले महसुस गर्न सक्दछन् । वैज्ञानिक तथ्यले प्रमाणित गर्दछन्, हात्तीहरू मान्छेभन्दा पनि निकै बुद्धिमान हुन्छन् । मानिसमा भने २०—२० हजार हर्जसम्मको तरंगको ध्वनि मात्रै सुन्न सक्ने क्षमता हुन्छ ।
ढोई खोज्दै गज हात्ती जाने होइन, ढोईले बोलाएपछि गज जाने हो । पूर्वी चितवनको कठार, पर्सा, टाँडी र पश्चिम चितवनको पार्वतीपुर, शिवनगर, रामपुर, नगर वन, दिव्यनगरतिर भाले हात्ती जाँदैनन् । तसर्थ, सौराहामा मानव–हात्ती सहअस्तित्वको ठूलो चुनौती हुनु भनेको घनाबस्ती र चौबीसै घण्टा व्यस्त सौराहा बजार नजिकै प्रजननयोग्य पोथी हात्तीको पालन नै मुख्य कारण हो ।
सौराहामा गत माघ महिना मकुना जंगली हात्तीको अकल्पनीय अवसानपछि सौराहा क्षेत्रको मैदान खाली भयो । त्यो स्थानमा ढोईको निमन्त्रणामा आजभोलि जंगली हात्ती गोविन्दे र रोनाल्डो जान थालेका छन् । गोविन्दे हात्तीका कारण गत असोजमा खोरसोर हात्ती प्रजनन केन्द्रमा कार्यरत कर्मचारी र फागुन २३ गते सौराहामा एक जना स्थानीयको असामयिक निधन भयो । हात्ती, गैंडा शाकाहारी जनावर भएकाले उनीहरूले मानिसलाई आक्रमण गर्नुको मुख्य कारण आत्म–रक्षा वा मानिसले हात्तीप्रति देखाउने प्रतिक्रिया नै हो । मकुना धेरै सज्जन थियो, उसले मान्छेलाई केही गरेन । गत महिना निकुञ्ज सुरक्षाकर्मीले हानेको गोली घाँटीमा लागेर घटनास्थलमा नै उसको मृत्यु हुन गयो । पर्सा राष्ट्रिय निकुञ्जमा पनि हात्तीसारको नजिकैको बस्तीमा गत मंसिर महिनामा यमगजले क्षति पुर्याएकामा आक्रोशित स्थानीय समुदायले निकुञ्ज पोस्ट तोडफोड गरेको मूकदर्शक बनेर हेर्नुपर्यो । अहिले यमगजको अघिल्लो दाहिने खुट्टामा भाला वा गोली हानेका कारण गम्भीर घाइते भएर मृत्यु र जीवनको दोसाँधमा बाँचिरहेको छ । २०५८ देखि हालसम्म २४ वर्षको अवधिमा नेपालमा करेन्ट लगाएर ४८, गोली हानेर ८, चोरी सिकारीले ६ गरी जम्मा ६२ वटा हात्ती मारिएका छन् । विगत दस वर्षमा चितवन राष्ट्रिय निकुञ्जभित्र र यसको वरपर हात्तीको आक्रमणबाट २८ जना स्थानीय बासिन्दा, पर्यटक, सुरक्षाकर्मी र कर्मचारीको मृत्यु भएको छ ।
पूर्वी नेपाल, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगलमा रैथाने हात्तीको संख्या २२७, भारतबाट आवतजावत गर्ने करिब १५०, घरमा पालेका १८० मध्ये ११० सरकारी तथा गैरसरकारी र बाँकी ७० निजी हात्ती रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सौराहा घनाबस्ती भएको र नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल भएकाले यो एक व्यावसायिक एवं व्यापारिक केन्द्र हो । यो क्षेत्रमा निकुञ्जको हात्ती प्रजनन केन्द्र, खोरसारमा निकुञ्जका ११ वटा, सौराहामा गैरसरकारी ४ र निजी ४३ समेत ५८ पोथी हात्ती रहेका छन् । यीमध्ये सरकारी १०, निजी १० र गैरसरकारी एक गरी कम्तीमा पनि २१ वटा पोथी हात्तीहरू प्रजननयोग्य छन् ।
मकुनाको मृत्यु प्रकरणले हामीलाई आगामी दिनमा नागरिक र हात्ती कसैलाई पनि क्षति एवं पीडा नहुने गरी यसको दिगो संरक्षण र व्यवस्थापन गर्ने एउटा उपाय खोज्ने अवसर प्रदान गरेको छ । नागरिक, कर्मचारी, पर्यटक, गाइड, व्यवसायीको जीउधनको सुरक्षाका लागि नेपालका सबै निकुञ्जका हात्तीसार मानवबस्ती र व्यावसायिक क्षेत्रबाट कम्तीमा पनि ३—५ किमिको दूरीमा जंगलभित्र तत्काल स्थानान्तरण गर्नुपर्दछ । अहिलेसम्म चितवनमा आएका जंगली भाले हात्तीले नारायणी नदी नतरेको हुँदा नारायणी नदी पारिको जंगलमा हात्ती स्याङ्च्युरी (वैज्ञानिक भाषामा) वा ‘हात्ती आश्रम’ (परम्परागत भाषामा) स्थापना गरेर संरक्षण तथा व्यवस्थापन हात्ती सवारीका लागि व्यवसायीका करिब ४५ वटा हात्तीले सरदर वार्षिक ४—६ लाख रुपैयाँ खुद मुनाफा कमाउने गरेका छन् । नागरिक र हात्तीको रक्षाका लागि सरकार र नागरिक समाजले आर्थिक तथा भौतिक स्रोतको खोजी गरेर व्यवसायीलाई प्रत्येक वर्ष वार्षिक मुनाफा बराबरको रकम उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ ।
हामीले हाम्रो इतिहास बिर्से पनि हात्तीले आफ्ना पुर्खाको इतिहास भुलेका छैनन् । मकुना, यमगज लगायतका हात्तीहरू हात्ती डाँडी (मार्ग) पछ्याउँदै मानव जातिको उत्पत्ति र यस क्षेत्रमा मानव जाति बसोबास गर्नुपूर्वदेखि नै र हालसम्म पुस्तौंपुस्ता पूर्वमा आसामदेखि नेपालमा चुरेको घाँचको मार्ग भएर हाल नारायणी नदीसम्म र पश्चिम गढवालदेखि बर्दिया–बाँके राष्ट्रिय निकुञ्जसम्मको लामो यात्रा गर्छन् । आफ्ना पुर्खाको थातथलोमा आउजाउ गरिरहन्छन् । डा. अशोक रामको अनुसन्धानको निष्कर्षका अनुसार यमगज र मकुना लगायतका हात्तीहरू आसामदेखि लामो यात्रा तय गरेर नेपाल आइपुगेका रहेछन् । सम्राट् समुद्रगुप्त ई.सं. (३३५—३७५) को इलाहावादको स्तम्भ अभिलेखमा हिमालयको फेदीमा पूर्वमा आसामको कामाख्य कामरूपदेखि पश्चिममा कश्मीरसम्म फैलिएको विशाल नेपालका बारेमा लेखिएको छ । हात्तीले यो लामो यात्रा तय गरेर हामी नेपाली नागरिकलाई नेपालको मध्यकालीन सिमानालाई पुनः स्मरण गराइरहन्छन् । नेपालको सिमाना खुम्चिएर हामीले हाम्रो इतिहास बिर्से पनि हात्तीले आफ्ना पुर्खाको थातथलो बिर्सेका छैनन् । त्यसैले हात्तीको मार्गलाई खुम्चाउनु भनेको चुरे विनाश र तराई मरुभूमीकरण हुनु आफैंका लागि घातकसिद्ध हुनेछ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मानव–हात्तीको सहअस्तित्व कायम गर्न चुरेको घाँचमा रहेको हात्तीको जैविक मार्ग खाली गराउने र त्यस क्षेत्रमा हात्तीका लागि मन पर्ने रुख तथा फलफूल रोप्ने गर्नुपर्छ । सो क्षेत्रका भूमिहीन, विपन्न, गरिब नागरिकलाई गैंडा, बाघ, हात्ती नलाग्ने, नदी कटान, डुबान नहुने, बाढीपहिरो नआउने सुरक्षित र सुविधा सम्पन्न क्षेत्रमा स्थानान्तरण गर्नुपर्दछ । जग्गाधनी पुर्जा भएका जग्गा अधिग्रहण गरेर हात्तीबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत वन ऐन, २०७६ दफा ४५ (घ) मा वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गरेबापत विकास आयोजनाहरूले भुक्तानी गरेको रकमबाट उपलब्ध गराउन सकिन्छ । यदि हात्तीको जैविक मार्गको व्यवस्थापन हुन सक्यो भने चुरे संरक्षण भएर अहिलेको तराईमा भइरहेको पानीको हाहाकार र मरुभूमीकरण समाप्त हुनेछ । वन र वन्यजन्तु संरक्षण भएर जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ । स्थानीय समुदायलाई हात्तीसँगको सहअस्तित्वका कारण कठिन बनेको दैनिक जीवनयापनको अवस्थाबाट मुक्ति मिल्नेछ । होइन भने हात्ती पनि मरिरहन्छन् । मानिस पनि मर्ने, अपाङ्ग, घाइते हुनेछन् । घरगोठ पनि भत्किइरहन्छन् र बालीनाली पनि सखाप भइरहन्छन् । सरकार, हात्तीका संरक्षक र नागरिक पनि रमिते बनिरहन्छन् । हात्तीको जैविक मार्गमा भूमिहीन, विपन्न, गरिबलाई बसोबास गराउनु भनेको हात्तीको पीडा भोग भन्नु हो । हात्तीले घर भत्काएको, आफ्नै आँखा अगाडि आफ्नै परिवारका सदस्यलाई मारेको, बालीनाली नोक्सानी गरेको हेर भन्नु हो ।
हात्तीको सदियौंदेखिको मार्गमा अवरोध, घना मानवबस्ती र व्यापारिक केन्द्रको नजिक प्रजननयोग्य पोथी हात्तीको झुन्ड राख्नु नै मकुना हात्ती र नागरिक मारिनुका मुख्य कारण हुन् । मानवबस्ती र व्यापारिक क्षेत्रबाट पोथी हात्तीलाई जंगली हात्ती नपुग्ने क्षेत्रमा लैजाने, सबै निकुञ्जका हात्तीलाई मानवबस्ती तथा व्यापारिक केन्द्रभन्दा ३—५ किमिभित्र जंगलमा स्थानान्तरण गर्ने र हात्ती डाँडी अर्थात् जैविक मार्ग खाली गरेर उनीहरूको मार्गमा अवरोध नगर्नु नै मानव–हात्ती सहअस्तित्वको एक मात्रै दीर्घकालीन विकल्प हो । यी उपायहरू अपनाउने हो भने साँच्चै नेपालमा मानव र हात्तीको सहअस्तित्व कायम हुन्छ भने चुरेबाट बग्ने नदीको जलाधार क्षेत्र संरक्षणका हिसाबले नेपालमा गर्व गर्न लायक सफलता मिल्नेछ । यो हुन सक्यो भने कोही पनि नागरिक, कर्मचारी, सुरक्षाकर्मी र पर्यटकको जीउधनको क्षति हुनेछैन, चुरे साँच्चिकै संरक्षण हुनेछ भने आधा जनसंख्या र नेपालको अन्नको भण्डार तराई सुरक्षित हुनेछ । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले हात्तीको जैविक मार्ग खाली नगर्ने, निकुञ्जले हात्तीसार नसार्ने र व्यवसायीले आफ्ना हात्तीलाई जंगली भाले हात्तीको पहुँचभन्दा टाढा नलैजाने हो भने हात्तीबाट नागरिक, कर्मचारी, सुरक्षाकर्मी, पर्यटन व्यवसायी र पर्यटकको जीउधन र हात्तीको सुरक्षाको प्रत्याभूति गर्नुपर्दछ ।
–कुँवर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्वचिफ वार्डेन हुन् ।
