स्वाधीन संयुक्त सरकारको प्रस्ताव

एमालेको जरा, राप्रपाहरूको हिन्दू र समाजवादी मोर्चाको संसद्‌वादी चुनावी अभियानले अहिलेको राजनीतिक समस्याको समाधान दिनै सक्दैनन्

चैत्र २८, २०८१

धर्मेन्द्र बास्तोला

Independent United Govt

गुमेको सत्ता प्राप्त गर्न दसौं गुणा शक्तिसहित सत्ता गुमाउनेहरू फर्कने गर्छन् । सामान्यतया हजारौं वर्ष र विशेषतः २ सय ४० वर्षदेखि विराजमान सत्ता गुमेपछि त्यसलाई फर्काउन पश्चगामी तथा निरंकुशवादीहरूको कोसिस त्यसकै परिणाम हो । ‘यात्रा पशुपतिको, व्यापार सिद्राको’ भनेझैं नाम पूर्वराजाको र काम राजनीतिक व्यापारको अहिलेका प्रतिगामीहरूको छ ।

यो स्थिति पैदा हुनुमा नेपालको दलाल पुँजीवादी व्यवस्था र त्यसले उत्पादन गर्ने भ्रष्टाचार, लुटतन्त्र, अत्याचारका सञ्चालक नेता र दलहरूको निकृष्टतापूर्ण व्यवहारको परिणाम हो । पुँजीवादी उत्पादन सम्बन्धमा अन्तरनिहित अन्तरविरोधको परिणामले यसप्रकारको द्वन्द्व सिर्जना भइरहेको हुन्छ, जसको दृष्टान्त चैत १५ को विध्वंसकारी घटना हो, जहाँ पुराना सामन्तवादी र नयाँ दलाल पुँजीवादीबीचको द्वन्द्वमा पत्रकारसहित एक सर्वसाधारणले ज्यानसमेत गुमाइसकेका छन् । 

‘समाजवाद उन्मुख’ संविधान लागू भएको हाम्रो देशमा समाजवादबारे कहीं र कहिल्यै बहस भएको छैन । यदि बहस भएको छ भने त्यो प्रतिगमन र यथास्थितिको छ । मधेशवादी दलहरू हिन्दु गणतन्त्रको चाहना राख्छन् । पूर्वराजा ज्ञानेन्द्रको ‘सन्देश’ प्रस्ट छ ः एकथरी सामन्त र दलाल पुँजीवादीहरू विदेशीको बुई चढेर नेपाली जनतामा निरंकुश राजतन्त्र थोपर्न उद्यत छन् । 

यतिसम्म चर्चा हुन थालेको छ कि ‘राजतन्त्र’ पुनःस्थापना गर्न सहयोग गर्ने हो भने हिमाली सिमानामा भारतीय सेना राख्ने सहमति गरिएको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा हराउनेछ, त्यही नक्सा छापेको नेपाली रुपैयाँ पनि चलनविहीन गरिनेछ । अर्कोथरी दलाल पुँजीवादीहरू अवसरवादको भुमरीमा चक्कर काटिरहेका छन् । रहे गणतन्त्रवादी नरहे संवैधानिक राजावादी त्यो पनि नरहे केशरजंगे राजावादी हुन तयार छन् कांग्रस–एमालेहरू । निरंकुश राजतन्त्रको नारा उरालेका बेला जनताको अधिकारलाई कटौती गर्ने संघीयताविरोधी अभियान चलाउने मसालहरू पनि त्यसकै पछि लाइनमा देखिन्छन् । नेकपा माओवादी केन्द्रको अकर्मण्यता ‘चिसै पानीले नुहाउने’ बाहेक अर्को छैन । 

सतहमा देखिएको द्वन्द्व दलाल पुँजीवादी सत्ताभित्रका राजावादी र गणतन्त्रवादी अथवा पश्चगामी र यथास्थितिवादीका बीच रहेको प्रस्ट छ । यी शक्तिहरूले एकका विरुद्ध अर्को अथवा संसदीय सिन्डीकेटका विरुद्ध दरबारिया सिन्डीकेट वा त्यसको विपरीत विकल्प देखाउने गरेका छन् । परन्तु यी दुवै शक्ति फरक नभएर एउटै डुंगाका सहयात्री हुन्, अथवा एउटै बोराका दुईथरी आलु हुन्– जसमा कोही कुहिएर टुसाउन थालेका छन् र कोही टुसाएर कुहिन थालेका छन् । यी दुवै साम्राज्यवादको दलाली गर्ने, नेपाली जनतामाथि भ्रष्टाचार र लुटतन्त्र थोपर्ने दलाल पुँजीवादीहरू हुन् । 

अहिलेको समाजमा वास्तविक द्वन्द्व समाजवाद र पुँजीवादका बीच हुनुपर्छ । समाजवादी व्यवस्थाले पुँजीवादी व्यवस्थालाई परास्त गर्नुपर्छ । पुँजीवादीहरूको एउटा हिस्सा यथास्थितिवादी छ र अर्को हिस्सा प्रतिगामी छ । समाजवादी हिस्सा वैज्ञानिक समाजवादी छ । अहिलेको राजनीतिक संकटको समाधान यथास्थितिवादी र पश्चगामीमध्ये कुन विकल्प भन्ने हुँदै होइन । अहिलेको विकल्प समाजवादी गणतन्त्र नै हो ।

नेपालमा प्रचार गरिएका समाजवाद थरीथरीका छन् । रंगीबिरंगी समाजवादमध्ये केपी ओली–समाजवाद, पुष्पकमल दाहाल–समाजवाद, शेरबहादुर देउवा–समाजवाद, ज्ञानेन्द्र शाह–समाजवाद, उपेन्द्र यादव–समावाद आदि छन् । उल्लिखित समाजवाद र भारतमा चलेको नेहरू समाजवादमा कुनै भिन्नता छैन । न त यी समाजवादहरू दुई सय वर्षअघिका युरोपेली सोसल ‘डिमोक्रेसी’भन्दा फरक छन् । अथवा ओलीदेखि दाहाल हुँदै ज्ञानेन्द्रसम्मका नेपाली समाजवाद आफ्नो अन्तर्यमा पुँजीवादी समाजवाद हुन् र नेपाली सन्दर्भमा दलाल पुँजीवादी समाजवाद हुन् । यी समाजवाद नेपालको संविधानमा समेत लेखिएका छन् । जसको चरितार्थ नेपाली उखान ‘बाँदरको पुच्छर लौरी न हतियार’ जस्तै छ, भन्नका लागि समाजवाद र प्रयोगका लागि दलाल पुँजीवाद । नेपाली समाजका लागि आवश्यक विकल्प वैज्ञानिक समाजवाद मात्रै हो । 

राजनीतिमा चरम संकट आएपछि संसद्वादीहरूबीच ‘राष्ट्रिय सहमतिको सरकार’को आवश्यकताबारे चर्चा भइरहेको छ । नयाँ परिस्थितिमा नयाँ ‘खिलराज’हरूको नाम प्रचार गरिँदै छ । वर्गीय मुक्तिका लागि मार्क्सको तस्बिर बोक्नेहरू, शान्तिका लागि बुद्धको मूर्ति देखाउनेहरू सहमतिका नाममा विदेशी साम्राज्यवादीहरूको फोटो नचाउँदै राष्ट्रिय सहमतिको सरकारको नारा दिँदै छन् । यसप्रकारको विचारधारात्मक चिन्तन प्रणाली र राजनीतिक चरित्रले जति सरकार बदले पनि, जति संविधानमा फेरबदल गरे पनि नेपाली जनतामा स्वाधीनता आउन सक्दैन, न त राजनीतिक स्थिरतासहितको सामाजिक रूपान्तरण नै हुन सक्छ । 

विद्यमान अवस्थाको राजनीतिक समाधान के हो त ? अहिले नेपाली राजनीतिक आकाशमा मडारिएको प्रश्न हो यो । नेपाली राजनीतिक संकटको समाधानको पहिलो कदम पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै हो । एकाधिकार पुँजीवादी साम्राज्यवादको नवऔपनिवेशिक उत्पीडनबाट मुक्त गरी स्वाधीन राष्ट्र निर्माण गर्नु र अर्कोतिर एकाधिकारवादी पुँजीवादका नेपाली दलाल पुँजीपतिहरूको लुटखसोटको अन्त्य गरी समृद्ध, प्रगतिशील र निरन्तर परिवर्तनमुखी समाज निर्माण गर्नु नेपाली राजनीतिक संकटको प्रथम निकास हो । 

यो अन्तरविरोधको समाधानसँगै देशको आर्थिक उन्नति गर्न राष्ट्रिय उद्योगहरू सञ्चालन गर्नु दोस्रो कदम हो । राष्ट्रिय प्रगतिका लागि दक्ष जनशक्ति उत्पादन गर्न सम्पूर्ण नागरिकका लागि निःशुल्क शिक्षा प्रदान र सम्पूर्ण देशवासीलाई स्वस्थ राख्नका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तेस्रो कदम हो । सम्पूर्ण नागरिकका लागि सुरक्षित आवास र देशको प्रगति अनुसार काम उपलब्ध गराउनु चौथो कदम हो । देशभित्र रहेको जात व्यवस्थाको अन्त्य, जातीय विभेदको अन्त्य गरी सामाजिक अन्तरघुलन र आर्थिक समानता लागू गर्नु पाँचौं कदम हो । 

भ्रष्टाचार तथा संस्थागत भ्रष्टाचार, राजकीय लुटतन्त्र, वित्तीय लुट तथा उत्पीडन, जातीय द्वन्द्व र सामाजिक विखण्डनजस्ता विकृतिको अन्त्य गरी प्रगतिको कदममा अघि बढ्न तत्कालको राजनीतिक समाधान ‘स्वाधीन संयुक्त सरकार’ हो । जब देशमा बेथिति हुन्छ, बेरोजगारी बढ्छ– देशवासी आन्दोलित हुन्छन् र आन्दोलित हुनु अनिवार्य हुन्छ । तर, देशमा चलेका आन्दोलनले निकास दिन सक्नुपर्छ । निकासबिनाको आन्दोलन अराजकता पैदा गर्ने साधन मात्र हुन्छ । संसद्वादी धारका जति पार्टी र व्यक्तिहरूले आन्दोलन चलाएका छन्, त्यसले सकारात्मक निकास बोकेको छैन । एमालेको जरा अभियान, राप्रपाहरूको हिन्दु अभियान, समाजवादी मोर्चाको संसद्वादी चुनावी अभियानले अहिलेको राजनीतिक समस्याको समाधान दिन सक्दैनन् । 

यी अभियानहरूले देशलाई स्वाधीनताको बाटोमा लानै सक्दैनन् । किनभने यी अभियानको केन्द्रीय मक्सद आ–आफ्ना पार्टीहरूलाई संसदीय चुनावमा बहुमत दिलाउनेमा सीमित छन् । नेपालको संविधान र कानुन अनुसार कुनै एक पार्टीले चुनावमा बहुमत ल्याउनु सिद्धान्ततः असम्भव नभए पनि व्यवहारतः सम्भव छैन । त्यस्तै चुनावमा बहुमत वा दुईतिहाइ या शतप्रतिशत मत ल्याए पनि देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न र वर्तमान दलाल पुँजीवादी व्यवस्था बदलेर समाजवादमा रूपान्तरण गर्न असम्भव छ । नेपाललाई पराधीनताको साङ्लोमा बाँधिरहने पुरानो दलाल पुँजीवादी सत्ता कायम राखेर त्यही सत्ताभित्र चुनावमा बहुमत हासिल गर्ने उद्देश्यले स्वाधीनता प्राप्त हुन सक्दैन । दुई–चार जना वित्तीय कुलीनहरू, एकाधिकार पुँजीपति वर्गका नेपाली एजेन्टहरूले स्वाधीन भएको राग अलाप्दैमा तीन करोड उत्पीडित नेपाली जनताको स्वाधीनता स्थापित हुँदैन । 

संविधानमा समाजवाद लेखेर मात्र पुग्दैन । त्यसको राजनीतिक, आर्थिक र सामाजिक नीति र कार्यक्रम पनि स्पष्ट हुनुपर्छ । सर्वहारा वर्गको हातमा सत्ता प्राप्त हुँदाखेरी राजनीतिक दृष्टिले प्रत्यक्ष निर्वाचित र विज्ञसहितको मन्त्रिपरिषद्, आर्थिक दृष्टिले जन्मसिद्ध जमिनमा अधिकार, सामाजिक दृष्टिले निर्वाचित न्यायपालिका समाजवादी मान्यताको रक्षा गर्ने प्रारम्भिक आधार हुनेछन् । 

निष्कर्षमा देशमा बढेको राजनीतिक संकटको निकास सबै प्रकारका दलहरू सरकारमा बसेर लुटपाट गर्ने ‘राष्ट्रिय सहमतिको सरकार’ होइन, देशको पराधीन राजनीतिक, आर्थिक नीतिमा परिवर्तन गरी स्वाधीन राजनीतिक, आर्थिक नीति लागू गर्ने राजनीतिक व्यवस्था समाजवादी गणतन्त्र स्थापना गर्ने ‘स्वाधीन संयुक्त सरकार’ गठन अहिलेको राजनीतिक संकटको वास्तविक र वैज्ञानिक निकास हो ।

धर्मेन्द्र बास्तोला

Link copied successfully