प्रदूषण नियन्त्रण शीर्षकमा उठाइएको रकमको जवाफदेहिता खोइ ?

चैत्र २६, २०८१

सम्पादकीय

Loss of accountability for the amount raised under the title of pollution control?

काठमाडौं प्रदूषित हावाले निसास्सिएको छ, यसको पृष्ठभूमिमा जीवाश्म इन्धन प्रयोग गर्ने सवारीसाधनको चाप, धूलोका स्रोत र डढेलो प्रत्यक्ष जिम्मेवार छन् । हरेक वर्ष प्रदूषण उच्च विन्दुतर्फ लाग्दा न्यूनीकरणमा सरकारको सरोकार छैन । पानी र हावा स्वच्छ राख्नु सरकारको प्रथम दायित्व हो । त्यसमाथि प्रदूषण नियन्त्रण शीर्षक नै राखेर सरकारले पेट्रोल र डिजेलमा उपभोक्ताबाट रकम उठाउँदै आएको छ, यसरी संकलन भएको रकम वातावरण प्रदूषणसम्बन्धी अध्ययन, अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा लगानी हुनुपर्ने हो । तर, यो रकम कहाँ, किन र कसरी खर्च भइरहेको छ भन्ने जानकारी सरकारी निकायलाई पनि छैन ।

यसले हाम्रो सरकार नागरिकको स्वास्थ्यप्रति न्यूनतम पनि संवेदनशील नरहेको प्रस्ट हुन्छ । यो प्रवृत्ति तत्कालीन र दीर्घकालीन रूपमा पनि हानिकारक छ । प्रदूषण साझा चुनौती हो, यसलाई नियन्त्रण गर्न सरकारले प्र्रभावकारी, परिणाममुखी र नागरिकमैत्री पहल लिनुपर्छ । तत्कालीन र दीर्घकालीन काम गर्नुपर्छ, रणनीति बनाउनुपर्छ । आवधिक समीक्षा हुनुपर्छ । वित्तीय अनुशासनबाहिरको काम हो । सरकारले प्रदूषण शुल्कका नाममा जम्मा गरेको रकम हिसाब गरेर अविलम्ब यस क्षेत्रमै खर्च गर्ने र प्रदूषण न्यूनीकरण गर्ने मार्गचित्र प्रस्तुत गर्नुपर्छ ।

वर्ष २०६५/६६ बाट पेट्रोल र डिजेल बिक्रीबाट प्रदूषण शुक्ल उठाउन थालिएको छ । सुरुमा प्रतिलिटर ५० पैसा उठाउन थालिएकामा २०७४/७५ मा यस्तो शुल्क प्रतिलिटर १/१ रुपैयाँ पुर्‍याइयो । चार वर्षयता भने प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले उठाउने गरिएको छ । प्रदूषण शुल्कबापत उठेको रकम नेपाल आयल निगमले प्रत्येक महिनाको २५ गते अर्थ मन्त्रालयको खातामा जम्मा गरिदिन्छ । यसरी १७ वर्षदेखि उठाइएको रकमको मात्रा २५ अर्ब ३९ करोड ६६ लाख पुगिसकेको छ । यो रकम वन तथा वातावरण मन्त्रालयले कार्यक्रम बनाएर खर्च गर्ने अवधारणा थियो, तर सो मन्त्रालयले नै यो रकम पाएको छैन । बरु अर्थ मन्त्रालयले अन्यत्र नै खर्च गरिराखेको छ । प्रदूषण नियन्त्रण शीर्षकमा उठाइएको रकम पनि सडक, स्वास्थ्य, सामाजिक सुरक्षालगायत जुनसुकै क्षेत्रमा खर्च हुन सक्ने अर्थ मन्त्रालयका अधिकारीहरूको दाबी छ । विकास निर्माणका लागि त अन्य शीर्षक छँदै छन्, प्रदूषणका नाममा उठाइएको रकम अन्य शीर्षकमा खर्च हुन्छ भने सरकारले स्वच्छ हावाको प्रत्याभूति दिन सक्छ भनेर आशा गर्न गाह्रो छ । वातावरणप्रति सरकारलाई जवाफदेही बनाउन पनि सरोकारवालाहरूको खबरदारी अपरिहार्य छ ।

सरकारले पेट्रोलियम पदार्थमा आफ्नो नाफा सुनिश्चित गरेसँगै उपभोक्तालाई अनेकौं शुल्क/कर लगाउने गरेको छ । पेट्रोलमा मात्रै सात थरी कर उठाइन्छ । प्रतिलिटर पेट्रोलमा सरकारले सरकारी भन्सार तथा प्रज्ञापन शुल्क/कर २५.२३ रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मतसम्भार शुल्क/कर ४ रुपैयाँ, मूल्य अभिवृद्धि कर १८.७५ रुपैयाँ, मूल्य स्थिरीकरण कोष शुल्क १.६३ रुपैयाँ, प्रदूषण शुल्क/कर १.५० रुपैयाँ र हरित कर १ रुपैयाँ लिने गरेको छ । नागरिकले एक लिटर पेट्रोल किन्दा ६२.११ रुपैयाँ सरकारी राजस्व तिर्नुपर्छर् । डिजेलमा यस्तो राजस्व प्रतिलिटर ४५.१६ रुपैयाँ, मट्टीतेलमा ३०.६६ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडान) मा १८.२०, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा २०.८३ रुपैयाँ तथा प्रतिसिलिन्डर एलपी ग्यासमा ३१८.६४ रुपैयाँ राजस्व तिर्नुपर्छ । यस्ता शुल्क/करको सदुपयोग भइरहेको छ वा छैन, अब बहस र निगरानीको विषय बन्नुपर्छ ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन भनेर सरकारले उठाइरहेको रकमको प्रश्न पनि अलग्गै छ । आर्थिक वर्ष २०७२/७३ देखि इन्धन आयातमा प्रतिलिटर ५ रुपैयाँ कर उठाउन थालिएको हो । दुईवटा आर्थिक वर्षमा बुढीगण्डकीकै नाममा कर उठाइएको भए पनि पछि ‘पूर्वाधार विकास कर’ का नाममा कर उठाउन थालिएको हो । अहिले यो शुल्क प्रतिलिटर पेट्रोल तथा डिजेलमा १० रुपैयाँ छ । उपभोक्ताले कर तिरिरहेकै छन् । तर बुढीगण्डकी बन्ने वा नबन्ने, कसरी बन्ने र कसले बनाउने भन्ने अन्योल छ । यस्ता प्रश्नको जवाफ दिन आवश्यक ठानिएको छैन । तर सडक मर्मतसम्भारमा हुने ढिलासुस्तीसँग जोकोही जानकार छ । वायु प्रदूषणको एउटा प्रमुख कारण भत्किएका वा खाल्डो परेका सडक पनि हुन् । यसरी नागरिक सरोकारका निश्चित शीर्षकमा काम गर्छु भनेर अतिरिक्त शुल्क उठाइएको भए पनि सम्बन्धित काम हुन नसक्नु नागरिकप्रतिको जवाफदेहिता र दायित्वको उल्लंघन हो । यस्तो प्रवृत्ति सुधार हुनुपर्छ ।

स्वच्छ वातावरण मानवीय आवश्यकता र चाहना मात्रै होइन, संवैधानिक हक पनि हो । नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था पनि गरिएको छ । संविधान जारी भएको एक दशक पुग्नै लाग्दासमेत संवैधानिक हक स्थापित हुन सकेको छैन । मानिसले अति अस्वस्थ वायुमा सास फेर्नु परिरहेको छ । अर्कोतर्फ, स्वच्छ र स्वस्थ वातावरण नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । काठमाडौंको वायु प्रदूषणले बालबालिका, वृद्ध, मुटु तथा श्वासप्रश्वासका रोगी र गर्भवती महिला, पहिल्यैदेखि मुटु, दम, फोक्सो तथा उच्च रक्तचापका बिरामी जस्ता संवेदनशील समूह मात्रै होइन, जोसुकैका निम्ति गम्भीर असर निम्त्याउने तहमा पुगिसकेको छ । यसले कालान्तरमा अनेकौं जटिल स्वास्थ्य समस्या निम्त्याउने विज्ञले बताइरहेका छन् । संवैधानिक हक र स्वास्थ्य संवेदनशीलतालाई सम्बोधन गर्न पनि सरकारको रचनात्मक पहलकदमी अपेक्षित छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully