चन्दा संकलन गरेर वृद्धवृद्धाका लागि सुविधासम्पन्न आश्रम निर्माण गर्नुभन्दा ठूलो महायज्ञ र ‘चौरासी पूजा’ अरू के हुन सक्ला ?
गत ८ मा कान्तिपुरको मुखपृष्ठमा छापिएका ‘महायज्ञका नाममा दलितको उठीबास’ र ‘जसले ५/५ रुपैयाँ मागेर बनाए वृद्धाश्रम’ भन्ने समाचार धर्म र लोक कल्याणसँग सम्बन्धित थिए । पहिलो, सिरहाको औरही गाउँपालिकामा महायज्ञका नाममा त्यहाँको दलित परिवारको घर डोजर लगाएर भत्काई उठीबास लगाएको दुःखद् एवं खेदजनक खबरले मथिंगल खलबल्यायो भने अर्को जसमा एउटा अवकाशप्राप्त ८४ वर्षीय शिक्षक जगतप्रसाद अर्यालले ५/५ रुपैयाँ मागेर वृद्धाश्रम बनाएको कुराले मनलाई आल्हादित बनायो र शीतलता प्रदान गर्यो ।
‘धर्म भनेको के हो त ?’ भन्ने प्रश्नले मेरो मनलाई सधैं चिमोटिरहन्छ । अछूतले टेकेको माटो पनि अपवित्र हुन्छ भन्दै दलितको घरमा डोजर लगाएर र माटोसमेत हटाएर सम्पन्न गरिने महायज्ञ धर्म हो कि एउटा वयोवृद्ध र अवकाशप्राप्त शिक्षकले ५ रुपैयाँका लागि दुनियाँसँग हात थाप्दै कमिलाले चारो जम्मा गरेजसरी असहाय वृद्धवृद्धाका लागि गाँस र बासको जोहो गर्नु धर्म हो ?
हिन्दु संस्कारअनुसार मानिसले जीवनको ८४ वर्ष प्रवेश गरेपछि ‘अब जीवनको उत्तरार्द्धमा पुगेको हुँदा मृत्युपछि देवलोक प्राप्तिको कामना गर्दै अनेकथरी पूजा, यज्ञ, होम र दानदक्षिणा गर्दै ‘चौरासी पूजा’ गर्ने धार्मिक परम्परा छ ।
यसलाई आम भाषामा ‘चौरासी पूजा’ भन्ने गरिन्छ । उमेर पुगेपछि सक्नेले आफैं र नसक्नेले छोराछोरीलाई गुहारेर पनि चौरासी पूजा गरेर आत्मसन्तोष प्राप्त गर्छन्, मानौं यो उनीहरूको ‘अन्तिम धोको’ हो । प्रायः ब्राह्मण समाजमा चौरासी पूजा नगरे स्वर्ग पुगिन्न भन्ने चिन्ता बाबुआमामा हुन्छ भने बाबुआमाको चौरासी नगरिदिने सन्तानलाई समाजले ‘कर्तव्यहीन’ भनिदिन्छ ।
चौरासी पूजाकै कुरा गर्दा अधिकांशले मन फुकाएर पण्डितलाई अनेकथरी दान दिन्छन्, ‘तुलादान’ गर्ने भन्दै आफ्नो तौल बराबरको पैसा दान गर्छन् । तर त्यो दानले उनीहरूको ‘स्वर्ग’ त सुरक्षित हुन्छ हुँदैन, आजसम्म कसैले देखेको प्रमाण छैन । तर ‘यो यो कुरा दान गर’ भन्ने पण्डितको आर्थिक अवस्थाचाहिँ पक्कै केही सुरक्षित हुन्छ ।
यति मात्र होइन, ‘धर्म’ अहिले मानव कल्याणभन्दा व्यवसाय र व्यापार बन्दै गएको छ । धर्मको आडमा गरिने महायज्ञहरू ‘कमाउ धन्दा’ बनेका छन् । अनेक किसिमका ‘महाराजहरू’ र ‘बाबा’ हरू प्रकट भएर ठाउँठाउँमा महायज्ञ सञ्चालन गर्ने र व्यासासनमा बसेर ‘दानको अपार महिमा’ को व्याख्या गर्दै करोडौं रकम जम्मा गर्छन् । तर त्यसरी जम्मा भएको रकम कुनै सामाजिक काममा प्रयोग भएको कमै सुनिन्छ ।
यिनै बाबाहरूमध्येका एक जना बाबाको आदेशमा सिरहामा गरिन लागेको महायज्ञस्थलमा दलितको घर परेको र दलितले टेकेको माटो पनि अपवित्र हुन्छ भन्दै डोम परिवार (दीपक मरिक डोम) को घरमा स्थानीय जनप्रतिनिधि नै लागेर डोजरले घर भत्काइदिए । दलितको घर भत्काएर मात्र नपुगेर जगको माटोसमेत खनेर फाल्नु जातीय विभेद र छुवाछूतका नाममा संविधान र कानुनलाई ठाडो चुनौती मात्र नभएर मानवताविरुद्धको अपराध पनि हो ।
यस्तो अपराधमा स्थानीय जनप्रतिनिधि नै संलग्न हुनु भनेको झन् ठूलो दुर्भाग्य हो । हुन त यतिबेला यस कार्यमा संलग्न भएका गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष कानुनको दायरामा आइसकेका छन् तर आयोजक भनिएका बजरंगी बाबा फरार छन् ।
एकातिर धर्मका नाममा समाजमा यसरी अधर्म हुने गर्दछ भने अर्कोतिर आफ्नो अवकाशप्राप्त जीवन छोरानाति, आफन्त, इष्टमित्र र छरछिमेकी जम्मा गरेर धुमधामले चौरासी पूजा गर्नुपर्ने अवस्थाका जगतप्रसादले यही समाजका अशक्त, परित्यक्त तथा बेसहारा वृद्धवृद्धाहरूका लागि छाना, नाना र खानाको जोहो गर्न सुविधासम्पन्न वृद्धाश्रम निर्माण गरेका छन् । योभन्दा ठूलो महायज्ञ, योभन्दा ठूलो ‘चौरासी पूजा’ अरू के हुन सक्ला ? ८४ वर्षे जगतप्रसादको यो ‘पुण्यकर्म’ ले उनलाई वर्षौं वर्ष समाजमा जीवित राख्नेछ र उनको यो योगदानलाई समाजले सम्झिरहनेछ ।
हाम्रो समाज यति आडम्बरी छ कि मान्छेले धर्म (?) का नाममा मन फुकाएर चन्दा दिन्छ र आफूलाई महान् देखाउन चाहन्छ । तर यदि कुनै सामाजिक कामका लागि सहयोग माग्दा होस् या कुनै वृद्धाश्रम वा अनाथाश्रमका लागि सहयोगको अपेक्षा गर्यो भने बहाना बनाएर तर्किने गर्छ ।
यसै प्रसंगमा यहाँ एक जना अनाथाश्रमकी सञ्चालक सरु सुवेदीको हारगुहार उल्लेख गर्न उपयुक्त ठानें । सरुजीले आफ्ना बुबाआमाको सम्झनामा ‘तुलसालय हरिहर फाउन्डेसन’ नामको अनाथाश्रम सञ्चालन गर्दै आएकी छन् । उनको आश्रममा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अनाथ, असहाय र टुहुरा बालबालिका करिब सयको हाराहारीमा छन् । प्रायः कर्णालीका जन्मँदै टुहुरा भएका बालबालिकालाई उनी आफैं त्यहाँ पुगेर उद्धार गरी ल्याएकी छन् । त्यति मात्र नभएर कोही बेसहारा वृद्धवृद्धा कसैले भेटेमा उनैकोमा पुर्याइदिने रहेछन् ।
हालसम्म आफ्नै घर र नजिकैको भाडाको घरमा आश्रम चलाइरहेकामा अहिले स्थान अभावका कारणले ललितपुरमै अलि टाढा बालबालिका र वृद्धवृद्धाहरूका लागि सहज हुने भवन निर्माणमा लागेको तर रकम अभावमा बन्दै गरेका संरचनाहरू अधुरै रहेको केही समयअघि यो पंक्तिकार तुलसालय आश्रम गएको अवसरमा बताएकी थिइन् ।
‘राज्यले एक पैसा सहयोग गर्दैन । जनप्रतिनिधिसँग कुरा गर्यो, ‘गरौंला’ मात्र भन्छन्,’ उनले भनेकी थिइन्, ‘कतैबाट सहयोग पाइँदैन । व्यक्तिसँग हात थापेर पनि सम्भव नहुने रहेछ ।’ के सरुको यो अभियान कुनै महायज्ञभन्दा कम छ र ? किन कोही यी असहाय वृद्धावृद्धा र टुहुराका लागि सहयोग गर्न अघि सर्दैन त ? यो पुनीत कार्यका लागि सरकारले १०/२० लाख सहयोग गर्न किन सक्दैन ? सरकारले चाहे यति रकम उसका लागि त केही पनि होइन ।
फेरि पनि जगतप्रसादकै महान् अभियानमा फर्कौं । जगतप्रसादले हरेक व्यक्तिबाट ५ रुपैयाँका दरले चन्दा संकलन गरेर ८ वर्षमा ४ लाख ९२ हजार ९ सय ३ जनाबाट करिब ६३ लाख रुपैयाँ सहयोग संकलन गरी विराटनगरमा सुविधासम्पन्न आश्रम निर्माण मात्र गरेका छैनन्, सुविधासम्पन्न अस्पताल पनि बनाएका छन् । जसले जेसुकै भनून् पर्वाह नगरी थोत्रो साइकलको पछाडि टिनको बाकस लिएर माग्दै हिँडेका जगतप्रसादको दृढ इच्छाशक्ति र संकल्प कुनै ‘कोटिहोम महायज्ञ’ को संकल्पभन्दा कम थिएन ।
आज सिंगो समाज मात्र होइन, पूरै परिवार विखण्डित, व्यक्तिवादी र स्वार्थी बन्दै गइरहेको छ र ज्येष्ठ नागरिक बुढेसकालमा सन्तानको सहाराबाट विमुख बन्दै गइरहेको दुःखद् अवस्था छ । युवापुस्तामा बाक्लिँदै गइरहेको विदेशमोहका कारण हरेक घरमा एक्लो, न्यास्रो र निरस जीवन बाँच्न विवश यस्ता वृद्धवृद्धाका लागि राज्यले सोच्नुपर्ने दायित्व त छँदै छ, व्यक्ति र समाजले पनि उनीहरूको एक्लोपन हटाउनका लागि यस्ता सुविधासम्पन्न सामूहिक आवासको निर्माणमा ध्यान दिनु जरुरी देखिँदैन र ? यसर्थ विराटनगरका जगतप्रसाद अर्यालको ५ रुपैयाँ अभियानबाट व्यक्ति, समाज र राज्यले पाठ सिक्ने कि ?
