विद्रोही नायक

कोइराला विचार र व्यवहारमा पनि इमान्दार थिए । सत्ता र शक्तिका लागि जे पनि गर्ने सोच उनले कहिल्यै पालेनन् । त्याग, समर्पण र आदर्शपूर्ण जीवन बाँचे ।

चैत्र २०, २०८१

रामकृष्ण भण्डारी

Rebel hero

राजनीतिक सिद्धान्त र नेताहरूको व्यवहार बिल्कुलै उल्टो छ । त्यसैको परिणाम अहिले सडकमा जनआक्रोश बढेको हो । नेपाली जनता लोकतन्त्रका विरोधी होइनन्, अहिले सत्ताको वरिपरि रहेका कांग्रेस र कम्युनिस्ट नेताहरूले जसरी पनि ‘मै खाउँ मै लाउँ’ मा रमाउँदा जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । यो देख्दा मलाई दिक्क लागेर आउँछ ।’

देशको पछिल्लो अवस्थाबारे गत फागुन ७ मा कमल कोइरालाले पंक्तिकारसँग गरेको टिप्पणी हो यो । आइतबार राति ८७ वर्षको उमेरमा उनको निधन भएको छ । कमल कोइराला नेपालको राजनीतिक घटनाक्रम र विभिन्न उथलपुथलका साक्षी पनि हुन् । २००७ सालको क्रान्तिपछि सम्झौतको ड्राफ्ट हुँदा होस् वा राजा त्रिभुवनले नारायणहिटीको पटाङ्गिनीमा घोषणा पढ्दा उनी त्यहीँ थिए । 

राजा त्रिभुवनले राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको घोषणा गरिरहेको दृश्य दरबारभित्रै देखेका थिए उनले । नारायणहिटीको सिँढीमा ००७ सालको परिवर्तनपछि पहिलो पटक नागरिक प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाका छोरा हुन् कमल ।

बीपी कोइराला र जीपीका भतिज उनले ००७ सालपछिका सबै संविधानले जनतालाई अधिकार दिने भने पनि व्यवहारमा नेपाली नागरिकले अनुभूत गर्न नपाएको, राजादेखि दलका नेताहरू शासक बन्ने मोहले विधिको उल्लंघन गरिरहेको र संसद्लाई मनोनीतहरूको थलो बनाएकामा असन्तुष्ट थिए । यो सबै कुरा संघीयता आएपछि पनि नसुध्रिएको भन्दै जीवनपर्यन्त उनी असन्तुष्ट रहे ।

राणा शासनविरुद्ध अभियान चलाएका हजुरबुबा कृष्णप्रसाद कोइरालाका नाति, राणाशासनको अन्त्यपछि मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका मातृकाप्रसादका छोरा कमल कोइराला सुखसयल र विरासतको शक्ति त्यागेर आफ्नै मर्जीले विद्रोहको बाटोमा हिँडेका नेपाली राजनीतिका आदर्श पात्र पनि हुन् । राजाकै मुखबाट गणतन्त्रको शब्द सुनेका उनले समयक्रमसँगै सबै कुरा छाडेर विद्रोहको नायक बनेका थिए ।

हजुरबुबा कृष्णप्रसाद कोइरालाका बारेमा बेग्लै किसिमको अनुभूति थियो उनमा । ‘अलिअलि बुझ्ने हुँदा पाँच वर्षको उमेरमा मैले हजुरबुबा (कृष्णप्रसाद कोइराला) लाई जुद्ध धर्मशालामा भेटेको थिएँ । विसं २००० तिरको कुरा हो यो । मलाई आमाले लानुभएको थियो । तर बाटो भने त्यति सम्झना छैन,’ एक भेटमा भन्डै ८१ वर्षअघि राणा प्रधानमन्त्री जुद्धशमशेरको शासनकालको समयको कुरा उनले यसरी सुनाएका थिए, ‘त्यहाँ पुगेपछि आमाले ससुरा अर्थात् मेरा हजुरबुवालाई भुइँमा निधार टेकेर ढोग्नुभयो । मलाई पनि ढोग्न भन्नुभयो । मैलेचाहिँ गोडै समाएर ढोगेँ । उहाँको सबै दाह्री सेतै र झुसे थिए । बाटोमा भेटेर लगेको एउटा ढुंगो उहाँले मागेपछि आमाले चिनो माग्नुभएको दे, भनेपछि मैले दिएको थिएँ । त्यो अहिले पनि सम्झना छ ।’

आज पनि नेपाली कांग्रेस भनेको कोइराला परिवारको विरासत हो भन्नेहरू कम छैनन् । परिवारकै विरासत छाडेर कम्युनिस्ट हुनु भनेको त्यसबेला असाध्यै अप्ठ्यारो र उल्टो बाटो हिँड्नुजस्तै थियो । झट्ट सुन्दा आफ्नै बुबा प्रधानमन्त्री हुँदा सरकारविरुद्ध सडकमा जानु, पक्राउ पर्नु र जेल जानु किम्वदन्तीजस्तै लाग्छ । 

‘पहिले बनारस रहँदासम्म राजनीतिप्रति मेरो रुचि थिएन । त्यहाँ कांग्रेसको अफिस सेक्रेटरी निर्मल लामासँग भेट भइरहन्थ्यो । पछि नेपाल फर्केर त्रि–चन्द्र कलेजमा पढ्न थालेपछि फेरि उनै निर्मल लामासँग भेट भयो । उनी कम्युनिस्ट भइसकेका रहेछन्,’ कमल कोइरालाले पंक्तिकारसँगको भेटमा जोसिलो पारामा भनेका थिए, ‘१६/१७ वर्षको लक्का जवान थिएँ । त्यतिबेला कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धित पार्टीप्रति आकर्षित भएँ । मलाई कम्युनिस्ट नाराले खुबै प्रभाव पार्‍यो ।’

२०११ सालमा काठमाडौंको किलागलबाट जुलुसको अगुवाइ गर्दै इन्द्रचोक पुगेर भाषण गर्दागर्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी जेल पर्दा सँगै थिए त्रिचन्द्र कलेजकै विद्यार्थी रूपचन्द्र विष्ट पनि । कमल कोइराला पक्राउ परेपछि उनका बारेमा खुबै चर्चा भयो । त्यतिबेला प्रधानमन्त्रीचाहिँ उनकै पिताजी थिए । अमेरिकाको न्युयोर्क टाइम्सले ‘नेपालमा बाबुको सत्ता पल्टाउन आन्दोलन गर्ने छोरा पक्राउ’ शीर्षकमा समाचार नै छाप्यो । 

कोइराला विचार र व्यवहारमा पनि इमान्दार थिए । सत्ता र शक्तिका लागि जे पनि गर्ने सोच उनले कहिल्यै पालेनन् । त्याग, समर्पण र आदर्शपूर्ण जीवन बाँचे । मन्त्री हुन आग्रह गर्दा सोझै अस्वीकार गर्ने व्यक्ति पनि हुन् उनी । 

विसं. २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेर मुलुकको शासनसत्ता हातमा लिएका थिए । पछि ०६१ जेठ २१ गते राजा ज्ञानेन्द्रले उनै देउवालाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरे । त्यसपछि ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै एमाले सरकारमा सामेल भयो । तत्कालीन महासचिव माधवकुमार नेपालले देउवा नेतृत्वको त्यही सरकारमा कमल कोइरालालाई मन्त्री बन्न बोलाएका थिए ।

‘एक दिन राति महासचिव नेपालले फोन गर्दै तपाईंलाई सरकारमा पठाउने कुरा छ । मन्त्री बन्न तयार हुनुस् भन्नुभयो,’ चैत ७ गतेको एक भेटमा कोइरालाले भनेका थिए, ‘तत्काल केही भनिनँ । सल्लाह गरेर फोन गर्छु मात्रै भनेँ । पछि फोनै गर्न मन लागेन ।’ राजाको निगाहको सरकारप्रति कोइराला सुरुदेखि नै असन्तुष्ट थिए । सायद, त्यसैले पनि उनी मन्त्री बन्न चाहेनन् कि !

२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ–५ बाट उनी सांसद निर्वाचित भए । २०४८ सालको निर्वाचनमा भने कोइरालाले त्यही क्षेत्रमा आफ्नै फुपूकी छोरी शैलजा आचार्यसँग पराजय भोगेका थिए । संसद्मा आएपछि कोइराला राज्य व्यवस्था समितिको सभापतिसमेत भए । २०५४ सालमा एमाले फुट्दा मालेतिर लागे । पछिल्लो पटक एमाले विभाजन हुँदा उनी एकीकृत समाजवादीमा लागेका थिए ।

२०६२–६३ सालको जनआन्दोलन सफल भएपछि उनी दक्षिण कोरियाका लागि नेपाली राजदूत बनेका थिए । एमालेका तत्कालीन महासचिव मदन भण्डारीले आफूलाई सोझै एमालेको मुखपत्र ‘दृष्टि’ साप्ताहिकको प्रधान सम्पादक बनाएको कोइरालाले बताएका थिए । लेखन उनको विशेष रुचिको विषय थियो । जीवनपर्यन्त उनले लेख्न छोडेनन् । 

कोइराला जति बाँचे, सादगीपूर्ण जीवन बाँचे । विधि र लोकतन्त्रका पक्षमा जीवनभर अविचलित उनी कानुन व्यवसायीका रूपमा संसद् विघटनको विपक्षमा उभिएका थिए । कोइरालाको आस्था र निष्ठा समकालीन राजनीति र समाजकै लागि अनुकरणीय छ ।

रामकृष्ण भण्डारी कान्तिपुर टेलिभिजनका पत्रकार हुन् । उनकाे ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ पुस्तक प्रकाशित छ ।

Link copied successfully