उडान सुरु भएको ल्हासा नेपालसँग प्राचीन सम्बन्ध जोडिएको सहर हो । त्यसैले पनि त्यहाँबाट पर्यटक भित्र्याउन र सम्बन्धलाई ताजगीकरण गर्ने अवसर सिर्जना भएको छ । पर्यटन मात्रै होइन, व्यापार तथा संस्कृति आदानप्रदानका लागि पनि यो उडान सहयोगी र सुरुवात बन्न सक्छ ।
सोमबार हिमालय एयरलाइन्सले ल्हासाबाट पोखरासम्म १ सय ७ यात्रु मात्र ल्याएको छैन, आशाको किरण पनि पोखरा पुर्याएको छ । पोखरा विमानस्थलमा अवतरण भएको यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडानले नेपालको हवाई सेवा, पयर्टन, अर्थतन्त्र र कूटनीतिमा सम्भावनाको फराकिलो ढोका खोलेको छ ।
राज्यले झन्डै २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण गरेको विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन नसक्दा उठेका प्रश्नलाई यस उडानले सम्बोधन गर्ने आशा पलाएको छ । सोमबारको उडानले
‘ब्रेक थ्रु’ गरेको छ भने तत्कालीन तालिकाअनुसार हिमालय एयरलाइन्सले पोखरामा सातामा एउटा मात्रै उडान गर्नेछ । विमानस्थल निर्माणको ऋण, यसको सेवा दिन सक्ने क्षमता, विमानस्थल निर्माणबाट उत्प्रेरित भएर निजी क्षेत्रले गरेका लगानी र भूराजनीतिक संवेदनशीलतालाई एउटै उडानले सम्बोधन गर्ने होइन । उडान र सेवालाई दिगो र भरपर्दो बनाउन राज्यले मिहिनेत र व्यवसायीले सहकार्य गरे अब बाटो भने सोझिएको छ ।
यसअघि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ‘चार्टर’ उडान मात्रै भइरहेका थिए । त्यस क्रममा यस विमानस्थल चीन, भारत र भुटानसँग ‘चार्टर’ उडानमार्फत नै जोडिएको थियो । २०८० कात्तिकमा चिनियाँ जनमुक्ति सेनाका दुईवटा कार्गो विमान पनि पोखरा विमानस्थल अवतरण भएका थिए । पछिल्लोपल्ट भने चीनको सिचुवान एयरलाइन्सले छेङ्दु–पोखरा व्यावसायिक ‘चार्टर’ उडान गरिरहेको छ ।
सोमबार भने नयाँ सुरुवात भएको हो । ल्हासाको गोंगर विमानस्थलबाट सोमबार पोखरा आएको हिमालयको जहाज मंगलबार पोखराबाट ल्हासा प्रस्थान गरेको छ । यही तालिकाअनुसार उसले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उड्ने तालिका बनेको छ । माग बढेका आधारमा आगामी दिनमा उडान पनि थप्ने योजनासहित हाल सातामा एउटा उडान सञ्चालन गरिएको छ । यसलाई शुभ सुरुवातको रूपमा लिएर विमानस्थललाई व्यस्त राख्न राज्यले व्यावसायिक रणनीति अख्तियार गर्नुपर्छ ।
हिमालय एयरलाइन्सले सुरु गरेको यो उडान तालिकालाई जोगेर्ना र बढाउन चुनौतीपूर्ण छ । विदेशका वायुसेवा कम्पनीले पोखरा विमानस्थल प्रयोग गर्ने अवस्था निर्माण गर्नुपर्छ । त्यसमार्फत उडानका चक्र र आबद्धता निर्माण हुँदै जान्छ । त्यस्तै, पोखरा विमानस्थल बढी मात्रामा चीनसँग जोडिएको देखिन्छ । चीनसँगको ऋण लिएर बनाइएको र चिनियाँ निर्माण कम्पनी सीएएमसीले बनाएकाले यस विमानस्थलसँग भूराजनीतिक संवेदनशीलता पनि जोडिएको विषय खुला सत्य हो ।
चीनको एक्जिम बैंकबाट ऋण लिएर राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान हुन नसक्दा ऋण तिर्ने विषयलाई तनावपूर्ण ठानिएको थियो । जसले गर्दा नेपाल सरकारले विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई पत्र लेखेरै आग्रहसमेत गरेको थियो ।
पर्याप्त आम्दानी हुन नसकिरहेको अवस्थामा ऋण र ब्याज नियमित तिर्नुपर्ने दबाब नेपाल पक्षलाई छ । यस्तो दबाबलाई न्यूनीकरण गर्ने एउटै परिस्थिति भनेको त्यहाँ बढीभन्दा बढी अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुनु नै हो । त्यसैले राज्यको अतिरिक्त कूटनीतिक पहलकदमी आवश्यक छ ।
२२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल अन्तर्राष्ट्रिय व्यावसायिक उडान नहुँदा सञ्चालन खर्चमै राज्यलाई घाटा भइरहेको छ । अब, चीनसँगको हवाई सम्पर्क विस्तार गरेर सिधा चिनियाँ पर्यटक आकर्षित गर्न सकेमा पोखरालाई चिनियाँ पर्यटकको प्रमुख गन्तव्य बनाउन सकिने छ । कोभिड–१९ महामारी अघि सन् २०१९ नेपालमा १ लाख ६९ हजार चिनियाँ पर्यटक भित्रिएका थिए, जसमध्ये धेरैजसो पोखरा पुगेका थिए ।
नियमित अन्तर्राष्ट्रिय उडानमार्फत प्रतिवर्ष पर्यटक संख्या यसभन्दा धेरै बढाउन सकिनेछ । एउटा पर्यटकले औसतमा नेपाल भ्रमण गर्दा ७०० देखि १००० अमेरिकी डलर खर्च गर्ने तथ्यांकअनुसार, चिनियाँ पर्यटक मात्रबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन सक्छ । त्यसैले राज्यले यस अवसरलाई रणनीतिक योजनामा ढालेर तत्काल पर्यटन प्रवर्द्धन अभियान अगाडि बढाउनुपर्छ ।
पोखराका व्यावसायकि उडान सुरु भएको विषयलाई स्वागत गर्दा सतर्क हुनुपर्ने किन पनि छ भने भैरहवाको उदाहरण उति उत्साहजनक छैन । तराईको विमानस्थल भएकाले उडानको पर्याप्त सम्भावना भए पनि भैरहवामा भिसा सेन्टर, अध्यागमन कार्यालय, श्रम कार्यालय, स्वास्थ्य जाँच तथा सेवा प्रदायक र आईएलएसजस्ता प्राविधिक संयन्त्र स्थापनामा भएको अलमलले अन्तर्राष्ट्रिय विमान सेवाहरूले भैरहवामा उडान नियमित गर्न सकेका छैनन् ।
पोखरामा पनि व्यावसायिक रणनीति र पूर्वतयारीबिना ऋण लिएर विमानस्थल बनाइएको भन्दै आलोचना हुने गरेको छ । साथै, विमानस्थल निर्माणका सन्दर्भमा भूराजनीतिक स्वार्थ र भ्रष्टाचारको पनि चर्चा हुने गरेको छ । यो विमानस्थलको प्रारम्भिक अवस्थाले नै निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमाथि पनि प्रश्न उठिरहेको छ ।
खासगरी विमानस्थल निर्माण गर्दा गरिनुपर्ने पूर्वतयारी र अपनाउनुपर्ने पूर्वसावधानीका सवालमा पोखरा विमानस्थल अनेकौं सन्देशको पोका हो । नेपालको राजनीतिक दल र सरोकारवाला सबैले यस पक्षलाई मनन गर्न सक्नुपर्छ । पोखरा विमानस्थललाई प्रयोग गरेर अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुनु एउटा खुड्किलो हो । अब पृष्ठभूमिका आशंकालाई मधुरो बनाउँदै लैजाने र आगामी दिनलाई उज्यालो बनाउने रणनीति आवश्यक छ ।
पोखरा उसै पनि पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । साथसाथै अघिल्लो वर्ष चैतमा पोखरालाई औपचारिक रूपमै नेपालको पर्यटनको राजधानी घोषणा गरिएको छ । त्यस्तै, पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएको छ । यस्तो पृष्ठभूमिमा पोखरा–ल्हासा व्यावसायिक उडान सुरु भएसँगै यसले पोखरालाई प्रत्यक्ष रूपमै चीनसँग जोड्नेछ । यसले पोखरामा सिधै चिनियाँ पर्यटक भित्र्याउने अवसर पनि खुला गरेको छ ।
चीनको जनसंख्या १ अर्ब ४० करोड छ । त्यसैले ऊ पर्यटकको विशाल स्रोत पनि हो । उडान सुरु भएको ल्हासा नेपालसँग प्राचीन सम्बन्ध जोडिएको सहर हो । त्यसैले पनि त्यहाँबाट पर्यटक भित्र्याउन र सम्बन्धलाई ताजगीकरण गर्ने अवसर सिर्जना भएको छ । पर्यटन मात्रै होइन, व्यापार तथा संस्कृति आदानप्रदानका लागि पनि यो उडान सहयोगी र सुरुवात बन्न सक्छ ।
