के हो महिला स्वतन्त्रता ?

महिलाहरू खुलेर सामाजिक रूपमा प्रस्तुत हुँदा अझै पनि समाज भाँडेको, आफ्ना रीतिथिति मास्ने काम गरेको जस्ता आक्षेप लगाएर लाञ्छित गरिन्छ

चैत्र १९, २०८१

सुशीला शर्मा

What is women's freedom?

हामीलाई थाहै छ कि नेपाली समाज हिन्दु दर्शनको ‘मनुस्मृति’ का नैतिक नियमका आधारमा अगाडि बढेको हो र हालसम्म पनि त्यसमा तात्त्विक फरक आएको छैन । यति भन्दा फेरि केही ‘अति धार्मिक’ ले ‘डलरे र धर्म नासुवा, संस्कृतिका विरोधी’ को उपमा दिन बेर लाउँदैनन् ।

वि.सं. १४३६ तिर निर्माण गरिएको ‘मानव न्यायशास्त्र’ को ‘न्यायविकासिनी’ कानुनमा आधारित भएर पनि लामो समय नेपाली समाज शासित भएको थियो । मनुस्मृतिमै आधारित जयस्थिति मल्लको मानव न्यायशास्त्रमा ‘महिलालाई कुमारी अवस्थामा उनका पिताले सुरक्षित राख्छन्, जवानीमा पतिले सुरक्षित राख्छन्, वृद्ध वा विधवा भएमा उनलाई छोराले रक्षा गर्छन्’ भन्ने उल्लेख गरिएको पाइन्छ । यसबाट नै प्रस्ट हुन्छ कि महिलाले स्वतन्त्र जीवन बाँच्ने हक राख्दैनन् । हामीले स्वतन्त्रताको कुरा गरिरहँदा स्वतन्त्र भएर हिँडडुल गर्न खोज्ने बालिका, किशोरी र महिलाले चुकाउनुपरेको मूल्य कहालीलाग्दा समाचारबाट हामी स्तब्ध भइरहेकै छौं । विकसितदेखि गरिब र विकासोन्मुख जुनसुकै समाजमा पनि महिला कतै न कतै अधीनस्थ भएको, हेपिएको, चेपिएको पाइन्छ । 

मानिसले आफूलाई निश्चित दायरामा राखेर नै पनि स्वतन्त्र जीवन जिउन सक्छन् । मानिसकै हित हुने नियम मानिसले नै बनाएर अगाडि बढ्ने हो तर मानिस भनेको धेरै अर्थमा पुरुष मात्र पर्ने हो कि भन्ने लाग्छ, जहाँ महिलाका नाममा अनेक नीति, नियम र सामाजिक संस्कारका कानुन छन् । लैंगिक हिंसा न्यूनीकरणसम्बन्धी बहस चलिरहेको एक कार्यक्रममा एक जना पुरुष सरकारी अधिकारीले ‘पहिले विद्यालयमा कुटाइ खाएर पढ्थे र पछि गएर अनुशासित हुन्थे तर अहिले त विद्यार्थीलाई कुट्न हुँदैन भन्छन् । पहिले केटाले मात्र पढ्थे अनि हिंसा पनि हुँदैनथ्यो, अहिले त केटाकेटी दुवैले पढेका छन् अनि केटी (महिला) मा पनि इगो हुन्छ, हिंसा झन् बढ्छ नि, घट्ने त कुरै छैन’ भन्ने तर्क गरे । यस्तै अर्का एक पठित पुरुषले सुनाए, ‘अहिले हाम्रो देशले पनि युरोप–अमेरिकाको नक्कल गर्न थाल्यो तर पश्चिमामा पनि उखानै छ नि वेदर र वाइफको भर हुन्न भन्ने ।’ 

हामी सचेत भनिने मानिसको दिमागबाट पनि अझैसम्म महिलाद्वेषी भावना हटेको छैन भन्ने कुरा यी उदाहरणले पनि देखाउँछन् । मानवअधिकारमा विश्वास राख्ने एक जना महिलाकै बुझाइ पनि घरेलुलगायत बलात्कारजन्य घटना पनि सकभर आफ्नै टोलमा, वडामा मिलाउनुपर्छ, बाहिर अदालतसम्म पुग्दा त झन् पीडितको गोपनीयता भंग हुन्छ भन्ने रहेछ । यसरी हिंसाबारेमै बुझाइहरू संकुचित हुँदा पनि समस्यामा परेका महिलाको अधिकार हनन भइरहेको छ ।

शिक्षामा पहुँचको अधिकार, रोजगारी, स्वास्थ्य हेरचाह, राजनीतिमा सहभागिता तथा आफ्नो पार्टनर छान्न पाउने, प्रजनन अधिकारलगायत बिनाकुनै हिंसा र सामाजिक बन्धनबिना बाँच्न पाउनु पनि महिला स्वतन्त्रताभित्र पर्छन् । महिला भएकैले दाइजोका कारण, बोक्सीको आरोपमा, छाउपडीलगायतका लाञ्छनाले अझै पनि घेरिरहेका छन् । महिलाको प्रजनन अधिकार जसले महिलाले सन्तान कहिले जन्माउनेदेखि लिएर परिवार नियोजनका साधनको प्रयोग र सुरक्षित गर्भपतनको सेवाको पहुँच पनि महिला स्वतन्त्रता र जीवनयापनका लागि नभई नहुने आवश्यकता र सेवा हुन् । 

महिलालाई रोजगारीको अवसरमा समान पहुँच, समान ज्याला र सम्पत्तिमा अधिकारका साथै आर्थिक व्यवस्थापनमा स्वतन्त्रतापूर्वक संलग्नता पनि महिला स्वतन्त्रताको कडी हो । आर्थिक रूपमा स्वतन्त्र महिलाको सशक्तीकरण पनि अन्य आर्थिक रूपले सक्रिय नभएका महिलाको तुलनामा बढी भएको पाइन्छ । 

महिलालाई राजनीतिमा स्वतन्त्रताको कुरा उठेको पनि धेरै वर्ष भइसकेको छ । विभिन्न राजनीतिक आन्दोलनहरूमा महिलाले पनि प्रमुख भूमिका खेलेको हाम्रो इतिहास छ । २००७ सालअघिका राजनैतिक आन्दोलनमा महिलालाई प्रत्यक्ष राजनीतिमा संलग्न गराएको कुनै इतिहास देखिँदैन । २०१६ सालको प्रतिनिधिसभा सदस्यमा जम्मा १ जना महिलाको संख्या रहेकोबाट पनि आन्दोलनलाई अप्रत्यक्ष रूपमा सहयोग गरेका तर राजनीतिक सहभागितामा नपरेका महिलाको अवस्थालाई झल्काउँछ । यसबाट के देखिन्छ भने महिलाहरू राजनीतिक सहभागिताको लागि महत्त्वमा नै परेनन् । तर वर्तमानमा ३३ प्रतिशत महिलाको सहभागितालाई राजनीतिक पार्टीहरूले छुट्याएको अवस्था छ । जनसंख्याको हिसाब र महिला सशक्तीकरणको मुद्दा लिएर हेर्ने हो भने हरेक स्थानमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने देखिन्छ ।

सामाजिक आक्षेपबिना समाजमा सहभागिता देखाउन पाउने स्वतन्त्रता महिलाका लागि आवश्यक सर्त हो । अझै पनि महिलाहरू सामाजिक मूल्य र मान्यताले घेरिएर रहेका छन् । महिलाहरूको शिक्षा र चेतनामा वृद्धि त भएको छ । महिला साक्षरता दर पनि ७० प्रतिशतको हाराहारीमा छ तर पनि पुरुषको साक्षरता दरभन्दा झन्डै १४ प्रतिशतले कम छ । साक्षरता दरमा वृद्धि भएको देखिए तापनि जुन परम्परागत मूल्य र मान्यता छन्, तिनमा भने परिवर्तन हुन सकेको छैन । महिलाहरू खुलेर सामाजिक रूपमा प्रस्तुत हुँदा, प्रगति र रूपान्तरणको कुरा गर्दा अझै पनि समाज भाँडेको, आफ्ना रीतिथिति मास्ने काम गरेको जस्ता आक्षेप लगाएर लाञ्छित गरिन्छ । छोरीलाई रजस्वला नहुँदै विवाह दान गरिदिनुपर्ने मान्यताको जरो अहिलेसम्म पनि बाल विवाह बनेर सञ्चालित छ । 

विवाहको एक प्रमुख विधि ‘कन्यादान’ अहिले पनि चलनचल्तीमै छ । ‘मारे पाप, पाले पुण्य’ भन्दै दान गरेकी छोरीलाई विवाह गरेको घरमा सम्बन्ध निभाउन अप्ठ्यारो भयो, परिवारसँग ‘एडजस्ट’ गर्न अप्ठेरो भयो अर्थात् श्रीमान् श्रीमतीबीचमा विचार नै मिलेन र बस्न नसक्ने अवस्था आउँदा फर्किएर जन्मघर जाने वातावरण नै हुँदैन भने पनि हुन्छ । यसरी पारपाचुके गरेका महिला आर्थिक, शैक्षिक रूपले सक्षम छन् भने त एक्लै संघर्ष गरेर जीवन धान्न पनि अग्रसर हुन्छन् तर आर्थिक रूपमा बेरोजगार र परनिर्भर महिलालाई असाध्यै अप्ठेरो स्थिति छ । 

चन्द्रशमशेरले स्त्री जातिको विवाह १३ वर्ष नपुगी गर्न नहुने नियम बसालेपछि महिलाले अलिकति ठूलो उमेरमा विवाह गर्ने चलनको साथसाथै चेतना र शिक्षामा सहभागिताले गर्दा महिला जागरणको ढोका खुलेको थियो । 

सामाजिक रूपमा महिलाको इतिहास विभिन्न प्रथा झेल्दै अगाडि बढेको छ । जसमा प्रमुख रूपमा सती प्रथा थियो, जहाँ लोग्नेको मृत्यु हुँदा श्रीमती जिउँदै चितामा जलेर सती जानुपर्ने अमानवीय र क्रूर प्रथा थियो । यस्तै विभिन्न धार्मिक, सांस्कृतिक मान्यता, झुमा, देउकी, दाइजो, बोक्सीजस्ता अनेकौं प्रथा र जात व्यवस्था जस्ता चलनले गाँजेका महिला यी मान्यताबाट माथि उठ्न यसै पनि लामो समय लाग्यो । अझै पनि यीमध्ये कतिपय प्रथा समाजमा ज्युँदै छन् । समाजमा विभिन्न सांस्कृतिक उत्सव, कलश जात्रा, र्‍यालीमा जसरी महिलाको सहभागिता देखिन्छ, त्यसैगरी समाजमा रहेका विभेद तथा अपराधको विरुद्धमा भने उनीहरू अग्रसर भएको देखिँदैन । 

महिला स्वतन्त्रताको कुरा गरिरहँदा विशेषतः पुरुषको सोचाइ पनि फराकिलो हुनुपर्ने देखिन्छ । महिला र पुरुष दुवैले स्वतन्त्र तरिकाले आफ्नो कर्तव्यसहितको जीवनयापन गर्न पाउँदा नै न्यायिक समाजको निर्माण हुनलाई मद्दत पुग्नेछ ।

सुशीला शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully