परिवर्तित विश्वमा राजतन्त्रको भ्रम

नरेन्द्र मोदीले नेतृत्व गरेको भारतले नेपालमा राजतन्त्रलाई ब्युँताइदिन्छ भन्नु परिवर्तित विश्व राजनीति र व्यवस्थालाई नबुझ्नु हो 

चैत्र १९, २०८१

गोपाल खनाल

The illusion of monarchy in a changing world

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ मा ‘देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान’ गरेपछि राजावादीले फागुन २५ मा काठमाडौंमा प्रदर्शन गरे । शाहकै निर्देशनमा चैत ४ मा पूर्वपञ्च ८६ वर्षका वयोवृद्ध नवराज सुवेदी राजा फर्काउने संयुक्त जनआन्दोलन समितिका संयोजक तोकिए ।

गजब के छ भने, यिनै सुवेदीले ज्ञानेन्द्रलाई आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’ मा विश्वप्रसिद्ध ‘ओमेगा’ घडीमा आधा सेयर मागेको र त्यो नहुँदा कम्पनी नेपाल छाडेर गएको लेखेका छन् । उनको निष्कर्ष छ– ज्ञानेन्द्र फटाहा हुन् । त्यसपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसार्इंले ज्ञानेन्द्रलाई निर्मल निवासमा भेटेलगत्तै उनी आन्दोलनका फौजी कमान्डर बने । यहाँ पनि चाखलाग्दो के छ भने, उनले ज्ञानेन्द्रले अर्बौंको सम्पत्ति विश्वका विभिन्न बैंकमा राखेको बयान दिएका छन् । आन्दोलनमा आगो झोसेर उनी भागे । 

फेरि आरम्भतिर जाँदा को राजावादी भन्नेमै विवाद छ । पार्टीका रूपमा राप्रपा र राप्रपा–नेपाल राजावादी पार्टी हुन् ? हुन् भने ज्ञानेन्द्रले किन यिनका प्रमुखलाई आन्दोलनका कमान्डर बनाएनन् ? र, किन बुढेसकालमा आराम गरिरहेका पूर्वपञ्चलाई बनाए ? त्यसपछि किन चैते राजावादी अराजक दुर्गा प्रसाईंलाई फौजी कमान्डर बनाए ? भो, यतातिर नलागौं । तर पनि राजेन्द्र लिङ्देन र कमल थापा ज्ञानेन्द्रको रक्षाकवजको लिगलिगे दौडमा लागेकै छन् । त्यसो त लोकतन्त्रको अधिकतम फाइदा उठाएर वर्षैपिच्छे पार्टी परिवर्तन गर्ने नवराजावादी जनमतबाट अनुमोदन हुन नसकेपछि दैवी शक्तिको खोजीमा छन् । सायद, ती गेरुवस्त्रधारी ढुंगा हान्ने गुरुले ज्ञानेन्द्र दरबार फर्किने साइत जुराएपछि छेपारा यता आकर्षित भएका हुन् । अहिले लोकलाजले अनुहार छोप्दैमा अवसरवादी कुरूपता छोपिँदैन । 

दुर्गा प्रसाईंलाई कमान्डर बनाएपछि त्यो समूहले चैत १५ मा सभा गर्ने भनेपछि सरकारले तीनकुने क्षेत्र छुट्याइदियो । किनकि १५ गते नै समाजवादी मोर्चाले भृकुटीमण्डपमा जनसभा राखेको थियो । सरकारले शान्तिपूर्ण रूपमा गरिने प्रदर्शन र सभालाई व्यवस्थित गर्नुपर्थ्यो, मुठभेडमा रूपान्तरण नहुन् भन्ने ठानेर फरकफरक ठाउँमा राख्यो । मोर्चा नेतृत्वको गणतन्त्रवादीको प्रदर्शन र सभा शान्तिपूर्ण भयो तर राजावादीको प्रदर्शन हिंसापूर्ण । मोर्चाको आन्दोलनमा सरकारमाथि भाषिक प्रहार भयो । प्रतिगमनकारीलाई चाहिँ शाब्दिक चेतावनी थियो । तर राजावादीको आन्दोलन हिंसक भयो । एक जना पत्रकारलाई जलाएर मारियो । कान्तिपुर, अन्नपूर्ण पोस्टजस्ता मिडिया हाउसमाथि नियोजित आक्रमण भयो । फुटेज हेर्दा हुन्छ, आन्दोलन भड्काएर राजावादी टाप कसे । 

अर्थात् राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा जसरी मिडियालाई निमोठ्ने प्रयास गर्दै निरंकुशता लादेका थिए, त्यतैतर्फ उन्मुख दृश्यहरू स्मरणमा आए । त्यसबेला ज्ञानेन्द्र निरंकुश राजा थिए, उनका निर्देशन उनको मण्डले राज्यसंयन्त्रले कार्यान्वयन गरिरहेको थियो । आज नागरिक भएका छन् । तर, मण्डले र नवमण्डलेहरू उनै ज्ञानेन्द्रलाई नारायणहिटीमा पुनःस्थापना गर्ने भन्दै तीनकुनेका घरमा आगजनी, तोडफोड गरिरहेका छन् । ती भाटभटेनी सुपरमार्केट लुट्छन्, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाउँछन् । अर्थात् ज्ञानेन्द्रलाई राजा ज्ञानेन्द्र हुन नागरिकका घरमा आगजनी गर्नुपर्छ, नेपाली व्यवसायीका व्यवसाय लुट्नुपर्छ, स्वदेशी उद्योगमा आगजनी गर्नुपर्छ, मिडियाको आवाज र कलमलाई बन्द गर्नुपर्छ भन्ने लागेको छ । यिनी सुध्रेका छैनन् । 

राजावादीको फागुन २५ को प्रदर्शनलाई सामान्य ठानिएको थियो किनकि लोकतन्त्रमा कसैले राजा चाहिन्छ भन्न पाउँछ । कसैलाई योगी आदित्यनाथ र नेपालका ज्ञानेन्द्र उस्तै हुन् भन्ने लागेको छ भने पनि फोटो जोडेर प्रदर्शन गर्न पनि पाइन्छ । सरकारले त्यसलाई लोकतान्त्रिक अभ्यास ठान्यो पनि । लोकतन्त्रको सौन्दर्य नै हो, ज्ञानेन्द्रको तन्त्रमा त्यो वर्जित थियो । त्यसकै ‘ट्रेलर’ अस्ति देखिएको हो ।

राजतन्त्रलाई विचार ठान्नेले त्यस विचारका पक्षमा जनमत प्रभावित पार्न पाउँछन् । विचारका पक्षमा जनमत पाएमा राजा पुनःस्थापित गर्न पनि पाउँछन् । कसैले २४० वर्षे राजतन्त्रलाई सामुन्नेमा राखेर विश्लेषण गरेको हुन सक्छ, कसैले गणतन्त्रको २० वर्षलाई हेरेर लोकतन्त्रप्रति दृष्टिकोण बनाएको हुन सक्छ ।

राजतन्त्र नफर्कने कारण 

पहिलो, यो समय नै राजतन्त्रको समय होइन । २४० वर्षपछि नेपालमा राजतन्त्र फालिएको हो, जसका निम्ति यिनै ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण रह्यो । अब कसैलाई राजा मान्नुपर्ने छैन । जन्मँदैमा कोही राजा हुँदैन पनि । राजा निर्वाचित हुँदैनन् भने जनउत्तरदायी हुनु पर्दैन । त्यसैले जस्तै लम्पट रहेछ भने पनि राजाको छोरा राजा हुने भनेपछि यो व्यवस्था प्राकृतिक नियमको पनि विपरीत छ । यो राजाको दिव्य अधिकारको समय होइन । राजा परमेश्वर र भगवान् पनि होइनन् । खासगरी १६ देखि १८ औं शताब्दीमा यस्तो ठानिथ्यो । तर ती अतीत हुन् । आजको समय राजा पुनःस्थापनाको नै होइन । केही खाडी राष्ट्रबाहेक अरूतिरका राजा संवैधानिक हुन् । तर नेपालको राजतन्त्रलाई स्मरण गर्दा पनि पृथ्वीनारायण शाह, बहादुर शाहबाहेकका राजाले नागरिकको हित र देशको रक्षा पनि गरेका छैनन् । राजतन्त्रको तुलनामा नेपालमा गणतन्त्रको दुई दशकको अवधिका जनताका अतिरिक्त आकांक्षा सम्बोधन हुन नसक्नु नै राजतन्त्रको पुनःस्थापनाको आधार होइन । 

पृथ्वीनारायण शाहले नेपालीलाई पहिचान दिएका हुन्, त्यस अर्थमा उनलाई अहिले राष्ट्रनायक नै मानिन्छ । राजतन्त्रलाई सामन्तवादको नाइके भन्दै उखेल्न सशस्त्र आन्दोलन गरेकाले पनि ढालेका पृथ्वीनारायणको सालिक पुनः ठड्याएका छन् । त्यसपछि एकै पटक राजा महेन्द्रका पालामा आइपुग्दा विदेश सम्बन्ध भारतबाहिर पनि विस्तार गरेका हुन् । तर महेन्द्रकै पालामा सन् १९६५ मा भारतसँग गोप्य हतियार सम्झौता भएको हो । महेन्द्रकै पालामा कालापानीमा भारतीय फौज बस्न सुरु गरेको हो । यी पनि स्मरणमा राख्नुपर्छ । 

दोस्रो, कुन राजतन्त्र ? संवैधानिक राजतन्त्र कि निरंकुश राजतन्त्र ? 

राजावादीले खोजेको संवैधानिक राजतन्त्र होइन, निरंकुश राजतन्त्र हो । ज्ञानेन्द्रको पहिलाकै शासनजस्तो । रवीन्द्र मिश्रलगायतका केहीले ज्ञानेन्द्रलाई राजा बनाउन खोजेका होइनन्, उनलाई त्यहाँ राखेर सत्ताको उपभोग गर्न खोजेका हुन् । किनकि उनमा निर्वाचन जित्ने विश्वास छैन, प्रतिस्पर्धाबाट उनी तर्सन्छन् । जब आफ्नो क्षमतामा विश्वास हुँदैन, त्यसपछि उसले यस्तै अवतारवादको आश्रय लिन्छ । 

यिनले अहिले राष्ट्रपतिका ठाउँमा राजा राख्ने हो वा लोकतन्त्रसहितको राजा भन्छन् । तर उनको अभीष्ट सक्रिय राजाको हो । संवैधानिक राजा हुँदैमा केही हुन्न, सत्ता सञ्चालन गर्ने दलहरू नै हुन् । राप्रपा वा यी नवराजावादीले अब जनमत प्रभावित पारेर शक्ति आर्जन गर्ने क्षमता पनि राख्दैनन् । राख्थे भने राजतन्त्रको पक्षमा जनमत सिर्जना गर्नेतर्फ लाग्थे । यी त व्यक्तिको सम्पत्ति लुटपाट र आगजनीमा लागेका छन् । दास बन्न खोजेका हुन् भने पनि ०८४ को निर्वाचनबाट मालिकलाई पुनःस्थापना गर्दा भइहाल्छ । जब जनमतको सामना गर्ने सामर्थ्य हुँदैन, त्यसपछि मच्चाउने यस्तै हिंसा हो ।

यी राजावादी घरी संवैधानिक राजतन्त्र भन्छन्, घरी अब राजाले भूराजनीतिक सन्तुलन गर्छन्, राष्ट्रिय स्वार्थको संरक्षण गर्छन् भन्छन् । भएका जम्मा १२ राजामध्ये कुनले देशको स्वार्थको रक्षा गरे भन्यो भने यिनले तीन जनाको भन्दा बढी नाम भन्न सक्दैनन् । 

तेस्रो, देशमा राजतन्त्र चाहिन्छ भन्नेले भूराजनीतिक कारण अघि सारेको देखिन्छ । सायद, उनीहरूले भनेको भारत र चीनका कारण नेपालमा राजतन्त्र चाहिन्छ भनेका होलान् । भारत र चीन नेपालका सीमा जोडिएका उदीयमान अर्थतन्त्र मात्र होइनन््, उदाएका शक्ति पनि हुन् । ती दुवै देशमा राजतन्त्र छैन । आफ्नो देशमा राजतन्त्र नहुनेले अर्को सार्वभौम देशमा राजतन्त्र चाहिन्छ भनेर सहयोग गर्छन् ? योगी आदित्यनाथको तस्बिरले उनीहरूले भनेको भूराजनीतिक आवश्यकतालाई चित्रित गर्छ ? राजतन्त्र हटेपछि राजनाथ सिंहले एकमात्र हिन्दु राष्ट्र समाप्त भएकामा भावुकता प्रदर्शन गरेकोलाई भूराजनीतिक कोण आकर्षित भएको ठानेका हुन् ? वा, भारतका जोगीहरूले विष्णुका अवतारकै रूपमा राजालाई थपक्क अर्को सार्वभौम देशमा पुनःस्थापित गराइदिन्छन् भन्ने ठानेका हुन सक्छन् ?

विश्वमा सबैभन्दा बढी हिन्दु भारतमा छन् । तर भारत आफैं पन्थ निरपेक्ष राष्ट्र हो । बढी हिन्दु भएकाले हिन्दु राष्ट्रको खोजी भएको ठान्ने हो भने पहिला भारतलाई नै हिन्दु राष्ट्र बनाउनुपर्ने हुन्छ । फेरि भाजपाका नेताले हिन्दुत्व भनेको जीवनशैली हो, त्यसैले हिन्दु राष्ट्र वा निरपेक्षभन्दा पनि हिन्दुत्वको रक्षा मूल सिद्धान्त हो भन्छन् । अब कहाँनेर भूराजनीतिक कारण आकर्षित हुन्छ ? एउटा सत्य के हो भने नेपाल र भारतले संयुक्त रूपमै सनातनी पूर्वीय सभ्यताको रक्षा गर्नुपर्नेछ, जसमाथि पश्चिमा निर्देशित षड्यन्त्र भइरहेका छन् । तर यसमा राजाको पुनःस्थापना पर्दैन । हिन्दु गणतन्त्रतर्फ भाजपाको चासो हुन सक्छ तर राजतन्त्रतर्फ होइन । नरेन्द्र मोदीले नेतृत्व गरेको भारतले नेपालमा राजतन्त्रलाई ब्युँताइदिन्छ भन्नु परिवर्तित विश्व राजनीति र व्यवस्थालाई नबुझ्नु हो । अन्तर्राष्ट्रिय राजनीति व्यवस्था र विचारका आधारमा होइन, स्वार्थका आधारमा चल्छ । यथार्थवादी राजनीतिले विचारका आधारमा, तन्त्रका आधारमा गठबन्धन बनाउँदैन । 

भूराजनीतिभित्र दक्षिणमात्र पर्दैन, उत्तर पनि पर्छ । भारत र चीनका कारण अमेरिका र अन्य शक्तिराष्ट्र पनि पर्छन् । चीनले किन राजालाई ल्याउन सहयोग गरोस् ? चीनले कुनै देशको आन्तरिक राजनीतिलाई दखल दिने नीति नभएको बताउँदै आएको छ भने उसले चाहँदैमा आन्तरिक राजनीति प्रभावित भइहाल्ने अवस्था पनि छैन । फेरि गणतन्त्र र संघीयता पश्चिमाले ल्याइदिएको भन्नेहरूले बाहिरियाकै सहयोगमा नेपालको राजनीति सञ्चालित हुनुपर्छ भन्नु कस्तो राष्ट्रवाद हो ? यस्तै राष्ट्रवादको नेतृत्व ज्ञानेन्द्रले गर्ने भनेको हो ? नेपालमा नयाँ संविधान बनेपछिका दस वर्षमा नेपालका शक्तिले जे चाहेका छन्, त्यही भएको छ । त्यसको उदाहरण संविधानदेखि नयाँ नक्सासम्म हुन् । यी निर्वाचित प्रधानमन्त्रीले गरेका हुन् । 

अर्को तर्क छ– एउटा अभिभावक चाहियो । त्यसो भए राजा नहुँदा देश अभिभावकविहीन थियो ? यो दास मानसिकताबाट उत्पन्न हुने प्रवृत्ति हो । के गणतन्त्र भएका देश अभिभावकविहीन छन् ? यस्ता बकुम्फुसे तर्क गर्नेलाई के जवाफ दिनु ? त्यसको पनि एउटा झलक हेरिहालौं । 

मार्च २०२५ सम्ममा १९५ राष्ट्रमध्ये १५२ देशमा राजा छैनन्, ४३ देशमा राजा छन् । त्यसमध्ये एसियामा १३, युरोपमा १२, अमेरिकामा ९, ओसेनियामा ६ र अफ्रिकामा ३ राष्ट्र छन् । बरु राजतन्त्र भएका देश पनि गणतन्त्रमा गएका छन् । सन् २०२१ मा बार्बाडोस रानी इलिजाबेथ द्वितीयलाई हटाएर गणतान्त्रिक देश भयो, जबकि यो कमनवेल्थ सदस्य थियो । त्यसैगरी, धेरै क्यारिबियन देश जमैका, बहमासलगायतका देशले पनि सरकार प्रमुखका रूपमा बेलायती राजतन्त्र हटाउँदै छन् । राजा चाहिन्छ भन्नेले यतातिर नजर लगाउँदा हुन्छ । 

त्यसको अर्थ सबै राजा खराब र सबै गणतन्त्रवादी असल वा ठिक भनेको होइन । बेलायत, जापान, नर्वेका राजतन्त्र त्यहाँका लागि आजसम्म सर्वस्वीकार्य छन् जो मूलतः सेरेमोनियल हुन् । एसियामा खासगरी खाडी राष्ट्रमा रहेको राजतन्त्र कार्यकारी प्रमुख हुने राजतन्त्र हुन्, जसले अधिक अधिकार प्रयोग गरेका छन् । व्यवस्थाका दृष्टिकोणमा गणतन्त्र राजतन्त्रभन्दा हरेक दृष्टिकोणले उत्तम हो । 

के राजा फर्केका छन् ? हो, विभिन्न देशमा विभिन्न कालखण्डमा राजा फर्केका थिए वा राजतन्त्र पुनःस्थापित भएको थियो । तर जहाँजहाँ राजा फर्केका थिए, ती २१ औं शताब्दीको यो चेतनाद्वारा स्थापित गरिएका होइनन् । २१ औं शताब्दीमा राजा कतै फर्केका पनि छैनन् । नेपालमा पनि फर्कंदैनन् ।

राजावादीले विरोधको हिंसक झल्को दिए । अब राज्यले यस्ता विध्वंसलाई अनुमति दिनु हुन्न । अपराधीसँग संयमता सुहाउँदैन । ज्ञानेन्द्रले पाएको यो साथपछि उनको मौनता सन्दिग्घ छ । कि हिंसाको स्वामित्व लिनुपर्छ कि हिंसाबाट अलग रहेको घोषणा गर्नुपर्छ । 

गोपाल खनाल पत्रकार तथा राजनीतिक विष्लेषक हुन् । भूराजनीतिका विषयमा लेख्ने खनालकाे ‘भूराजनीति’ पुस्तक प्रकाशित छ ।

Link copied successfully