अरूलाई पनि सुनौं

जीवनमा राम्रा या नराम्रा, सकारात्मक वा नकारात्मक कुराले ठूलो अर्थ राख्छन् । त्यसैगरी शिक्षा र सिकाइले गलत, नराम्रा र नकारात्मक कुरालाई चिन्न र ठम्याउन हामीलाई उत्प्रेरित गर्छन् । त्यसैले सुन्नु र सिक्नु पनि शिक्षाकै देन हो भन्ने लाग्छ ।

चैत्र १८, २०८१

रूपा पुरी

Let's listen to others

शिक्षा भनेको सीप सिकाइ पनि हो । कस्तो सीपलाई शिक्षा मान्ने भन्ने कुरा मान्छेमा निर्भर छ । साँच्ची नै मान्छे पढेर मात्र शिक्षित हुँदैन । किताबी ज्ञान वा सर्टिफिकेटले मात्रै ज्ञानको भण्डार भरिँदैन ।

एकखाले शिक्षाले सीप सिकाएको छ, अरूलाई सम्मान र माया गर्न उत्प्रेरित गरेको छ । दीर्घकालीन सोच र परिश्रमी भावना बढाउने यसलाई असल शिक्षा मान्न सकिन्छ । अरूका कुरा सुन्ने र ग्रहण गर्ने कुरा पनि असल शिक्षा नै हो । समाजमा अर्कोखाले शिक्षा पनि विकास भइरहेको छ, जसले कामभन्दा मुख बढी चलाइरहेको छ, अरूको कामको कदर गर्न जान्दैन र आफूलाई सर्वेसर्वा ठान्छ ।

यसबाहेक तेस्रो खाले शिक्षा पनि छ, जसले पढेलेखेको भएर पनि लहैलहैमा हिँड्ने, आवरणलाई हेरेर मूल्यांकन गर्ने, मानौं बोक्राले फलको गुण–दोष बताउने जस्तो गरेर हिँडिरहेको छ । यस्तो सोच र संस्कारले हाम्रो मनमस्तिष्कमा जरा गाडेको छ । त्यसैले देखाइ, भोगाइ र बुझाइको फरक छुट्याउन सक्ने आजको आवश्यकता हो । 

मुलुकको साक्षरता दर ७६.२ छ । वास्तवमै शिक्षा भनेको पढ्नलेख्न जान्नुलाई मात्रै मान्ने कि त्यसअनुरूप व्यवहार गर्नेलाई पनि लिने ? आजको समाज यसरी दीक्षित र निर्देशित भएको छ कि उसको पहिचान, उसको आनीबानी र संस्कारभन्दा अरू कुरा महत्त्वपूर्ण भइरहेका छन् । जुन कुरा आजका युवा पिँढीले बुझ्न नसक्दा समाजमा विकृतिको हालिमुहाली चुलिएको छ । शिक्षा मात्र एउटा यस्तो संवाहक हो, जुन जति बाँड्यो त्यति बढ्छ । जति सिकायो, त्यति नयाँ कुरा सिकिन्छ र अनुभवी भइन्छ, साथै सिक्ने यो प्रक्रिया कहिल्यै सिद्धिँदैन । सुन्ने र सिक्ने कुरा कहिल्यै पूरा हुँदैन । 

बच्चा जन्मेपछि हुर्कने र बढ्ने प्रक्रियाजस्तै हो हाम्रो जीवनमा शिक्षा पनि । त्यसैले मानिसका लागि शिक्षा नैसर्गिक कुरा हो । जीवनमा राम्रा या नराम्रा, सकारात्मक वा नकारात्मक कुराले ठूलो अर्थ राख्छन् । त्यसैगरी शिक्षा र सिकाइले गलत, नराम्रा र नकारात्मक कुरालाई चिन्न र ठम्याउन हामीलाई उत्प्रेरित गर्छन् । त्यसैले सुन्नु र सिक्नु पनि शिक्षाकै देन हो भन्ने लाग्छ । 

आजको समाज विकासको नाममा यसरी परिवर्तन भएको छ कि राम्रोको नाममा भड्किलो र अस्वाभाविक संस्कारलाई प्रोत्साहन दिने चलन बढेको छ । समयानुसार मान्छेले आफूलाई परिवर्तन गरिरहँदा नराम्रा कुरालाई त्यागेर राम्रो सीप, ज्ञान र व्यवहारलाई अनुसरण र परिमार्जित गर्न सकियो भने माटो सुहाउँदो परिवेशको निर्माण गर्न सकिन्छ ।

अचेल मानिसमा एकखाले हुटहुटी र छटपटी पनि देखिन्छ । देखावटी रूपमा अरूभन्दा राम्रो कसरी हुने, अरूलाई कसरी पछाडि पार्ने र आफूमात्रै अगाडि जाने भन्ने सोच व्याप्त छ । मसँगै समाजलाई पनि अगाडि बढाउँछु भन्ने सोच ज्यादै कम मानिसमा छ । हाम्रो वरिपरि सहयोगी र सहकार्यका हातहरूभन्दा कुत्सित भावना बोकेर कथित प्रतिस्पर्धा गरेको देखाउनेहरू बढी छन् ।

आज पनि हाम्रो समाजमा अन्धविश्वास र विकृतिले यसरी जरा गाडेको छ कि चाहेर र जानेर पनि यो अवस्था निर्मूल पार्न कठिन छ तर सम्भव छ । यस्ता समस्याले प्रश्रय पाउनुमा परिवारको ठूलो भूमिका हुन्छ । यसो भन्दैमा सुधार गर्न नसकिने होइन कि बुझाउन, चेतना फैलाउन सकारात्मक शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीं, यदि समस्या भएकाको समस्या सामान्यतया सुनिदिँदा मात्र पनि त्यो समस्या समस्या रहँदैन, समाधानका उपाय पनि निस्किन्छन् र समस्या हल भएर जान्छ । यसमा परिवारको भूमिका उल्लेखनीय हुन्छ । पारिवारिक शिक्षा र संस्कार पहिलो तथा महत्त्वपूर्ण शिक्षा हो ।

परिवारपछिको फराकिलो दायरा समाज हो । भौगोलिक अवस्थिति अनुसार साथै विभिन्न जातजाति र धर्म संस्कार अनुसार समाजका पनि केही सीमा हुन्छन्, जुन कुरा सबैमा मान्य हुन्छ । आजको आधुनिक संस्काररहितका शिक्षित वर्ग र समाजको सामाजिक पाटोको तालमेल नहुँदा मानिसहरूमा विभिन्न खाले मनोसामाजिक समस्याहरू देखापरिरहेका  छन् । 

यस्ताखाले समस्याले जरा नगाडुन् भन्नका लागि परिवार नै सजग र सचेत हुनु जरुरी छ । समस्याको जडसम्म जानुभन्दा पनि हामी अड्कलबाजी गरेर सीमित घेरामा राख्न मन पराउँछौं । त्यसैले पनि होला– हाम्रो शिक्षाको स्तर स्तरीय हुन नसकेको । जवाफ फर्काउनका लागि मात्र अरूलाई सुन्ने होइन कि सहयोग गर्नका लागि पनि अरूलाई सुनौं । अरूलाई पनि सुन्ने बानीको विकास गरौं ।

रूपा पुरी

Link copied successfully