अब लुम्बिनी प्रदेशसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदालाई केवल स्रोतका रूपमा होइन, समुन्नतिका संसाधनका रूपमा प्रयोग गर्न अग्रसर हुनुपर्छ । यसका लागि हाम्रो प्रकृति र संस्कृतिको बोध र सदुपयोगको मूर्त मार्गचित्र बनाउनुपर्छ ।
लुम्बिनी विविधतायुक्त प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न छ । यिनै सम्पदाको सदुपयोगले लुम्बिनी प्रदेश समुन्नतिको सम्भावनालाई उजागर गर्ने सामर्थ्य राख्छ । हिमाल, पहाड, भित्री मधेश तथा तराई समेटिएको भूगोलको हावापानी, वनजंगल, खनिज तत्त्वजस्ता अमूल्य स्रोत यस प्रदेशमा छन् । भौगोलिक, धार्मिक, जातीय तथा भाषिक बहुलतायुक्त संस्कृति यस प्रदेशमा छ ।
विश्व सभ्यतामा आदिमानव विचरणस्थल लुम्बिनी प्रदेश विश्वशान्तिका अग्रदूत भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल संसारभरिका लागि पूज्य छ । दुई ठूला कर्णाली र गण्डकी नदी सभ्यताको बीचमा रहेको यो प्रदेशले मानव संस्कृतिमा संसारमै अलग्गै पहिचान बोकेको छ । समुन्नतिका लागि यस प्रदेशको प्राकृतिक र सांस्कृतिक सम्पदाको यथोचित बोध र सदुपयोग आवश्यक छ ।
लुम्बिनी प्रदेशमा तराईको समथर भूभागदेखि रुकुमपूर्वको ७ हजार २ सय ४६ मिटर उचाइको पुथा हिमाल छ । यस प्रदेशमा करिब उच्च हिमाल ३ प्रतिशत, उच्च पहाड ९, मध्यपहाड ३२, शिवालिक पर्वत २८ र तराई मधेश साढे २७ प्रतिशत छ । यस प्रदेशमा भूगोलजस्तै हावापानी पनि विविधतायुक्त छ । यहाँ प्रदेशमा शीतोष्ण, समशीतोष्ण र उष्ण जलवायु पाइन्छ । प्रदेशमा ढुंगा, चुनढुंगा, माटो, फलाम, कोइलालगायतका खनिज उत्खननको सम्भावना छ ।
भूगोलको करिब आधा हिस्सा ओगटेको वन क्षेत्रबाट काठलगायतका वनपैदावार र जडीबुटी निकाल्न सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज र ढोरपाटन सिकार आरक्षले पयर्टन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छन् । प्रदेशमा रहेका जलस्रोतबाट सिँचाइ जलविद्युत् तथा जलविहारका सम्भावना छ ।
बुटवलको तिनाउ किनारमा भेटिएको आदिमानव रामापिथेकसको बंगारा र दाङलगायत क्षेत्रमा पाइने पुरातात्त्विक अवशेषले यो प्रदेश आदिमानवकालदेखि विचरण स्थल रहेको पुष्टि गर्छन् । सहज हावापानी, उब्जाउ जमिन, वनजंगल, जीवजन्तु पाइने यो क्षेत्रको प्रकृतिमा मानव जातिले आफ्नो संस्कृतिको जग हालेका थिए ।
प्राचीन इतिहासमा यो प्रदेशको भूभाग कर्णाली र गण्डकी नदी सभ्यताका कारण महत्त्वपूर्ण स्थलका रूपमा थियो । खासगरी हिन्दु सभ्यताको विस्तार र वैचारिकी निर्माणमा कर्णाली र गण्डकी प्रश्रवण क्षेत्रको महत्त्वपूर्ण योगदान छ । कपिल, पाणीनिलगायत अनेकौं प्रसिद्ध ऋषिले यसै भूभागमा ज्ञान, ध्यान र तपस्याको केन्द्र बनाएका थिए ।
यसै सिलसिलामा प्राचीन कपिलवस्तुमा बुद्ध निर्माणको परम्परा सुरु भएको हो । अनेक बुद्ध निर्माणपछि २६ सय वर्षअघि लुम्बिनीमा जन्मेका शाक्यवंशीय सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी उनको धर्म संसारभर फैलिएको थियो । यसरी लुम्बिनी प्रदेश हिन्दु र बौद्ध धर्म सभ्यताको महत्त्वपूर्ण क्षेत्रका रूपमा छ ।
विश्वभरका अरबभन्दा बढी मानिसले अनुसरण गर्ने बुद्धधर्मको जन्मस्थल लुम्बिनी, तिलौराकोट दरबार र बुद्धअस्तु राखिएको रामग्राम स्तूपाजस्ता विश्व सम्पदा यसै प्रदेशमा छन् । शैव, वैष्णव, शाक्तलगायतका बहुदेवका अनेकौं मन्दिर यस प्रदेशमा छन् ।
पाल्पा र रूपन्देहीको सीमामा रहेको सिद्धबाबा, रूपन्देहीको लुम्बिनी, मणिमुकुन्द सेन पार्क, जितगढी किल्ला, पर्रोहा पर्मेश्वरधाम, परासीको रामग्राम, त्रिवेणी, मदारथानलगायत अनेकौं पार्कका साथै पुरातात्त्विक र पर्यटकीय स्थल यहाँ छन् ।
पाल्पाको तानसेन दरबार, भैरवस्थान, रानीमहल, गुल्मीको रिडी, रेसुंगालगायत चौबीसे गुल्मी, धुर्कोट, इस्मा, मुसीकोट राज्यका दरबारलगायत ठाउँ दर्शनीय छन् । अर्घाखाँचीको अर्घा र खाँची दरबार, उलुछत्र, सुपादेउराली, प्यूठानको स्वर्गद्वारी, खलंगा, ऐरावती, भित्रीकोट, गौमुखीलगायत स्थानले पर्यटकीय पहिचान बनाएका छन् ।
पूर्वी रुकुममा पुथा हिमाल, ढोरपाटन सिकार आरक्ष, कमल ताल, रोल्पाको लिबाङ, थबाङ, सुलीचौर घर्तीगाउँलगायत स्थान रमणीय छन् । बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा धाम, बढैया र सतखोलुवा ताल बाँकेको बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, जामा र इदगाहा मस्जिदलगायत धार्मिक तथा पर्यटकीय स्थान छन् । यसैगरी, दाङमा घोराही, तुलसीपुर, भालुबाङका साथै बाह्रकुने ताल, कपिलवस्तुको तिलौराकोट, जगदीशपुर ताल, निग्लीहवालगायत स्थान घुम्नलायक छन् ।
बहुजातीय बसोबास भएकाले संस्कृति पनि विविधतायुक्त छ । यस प्रदेशमा बस्ने मुख्य जनजाति मगर र थारूको आफ्नै विशिष्ट संस्कृति छ । मगर र थारूका आफ्नै भाषा, भेषभूषा, रीतिरिवाज, मेलापर्वले अलग्गै पहिचान झल्काउँछन् । दुवै जनजातिले दसैं र तिहारसहितका केही पर्व समान र माघीलगायत अन्य पर्व मौलिक रूपले मनाउँछन् । नेवार, गुरुङ, कुमाल, बोटेलगायत जनजातिका पनि आफ्नै विशिष्ट संस्कृति छन् ।
यस प्रदेशमा दसैं, तिहार, तीज, छठ, माघी, शिवरात्रि, फागु तथा होली, चैतेदसैं, कृष्णजन्माष्टमी, जनैपूर्णिमा, रमजान, क्रिसमसलगायत पर्व मनाइन्छ । समयअनुसारका मेलापर्व र जात्रा यस प्रदेशमा हुने गर्छन् । संयुक्त रूपमा मनाइने रोपाइँजात्रा, सरायनाच, देउसीभैलो, तीज र होलीजस्ता पर्वले सबै समुदायलाई जोडेको छ ।
मगरको कौडा, सोरठी, घाटु, नेवारको गाईजात्रा, लाखे, थारूको मघौटा, झाम्टालगायत नाच, ब्राह्मण र क्षत्रीको भजन, परियारको नौमती बाजा, गाइनेको कर्खालगायत विशिष्ट संस्कृति यस प्रदेशमा पाइन्छन् । लुम्बिनीमा जाति र धर्मअनुसारका मौलिकका साथै विभिन्न कारणले विकसित, अन्तरघुलित र समावेशी संस्कृति पाइन्छ । व्यापार व्यवसाय, रोजगारी र बसाइँसराइका कारण भिन्न समुदायको अन्तरघुलनले समावेशी संस्कृति निर्माण भएको छ ।
सांस्कृतिक सद्भाव, सहाबलम्वनको अद्भूत उदाहरण यस प्रदेशमा भेट्न सकिन्छ । पश्चिम नवलपरासीको मदरबाबाको मेलामा मुस्लिम र हिन्दुको उत्तिकै सहभागिता पाइन्छ । बौद्ध जन्मस्थल लुम्बिनीमा हिन्दु र बौद्धले उत्तिकै श्रद्धाभाव राख्छन् । पहाडी क्षेत्रका धेरै कोटमा ब्राह्मण र क्षत्रीसहितका सबै जातिले मगरलाई पुजारी बनाएर मानिरहेका छन् ।
अर्घाको कोटमा जेठो आलम गन्धर्वहरूले निकाल्छन् । हरेक पूजापाठ, मेलाजात्रा र पर्वहरूमा दमाईहरूले बाजा बजाएर अगुवाइ गर्छन् । गुल्मीको धुर्कोटका सुनारहरूको कुलपूजामा ब्राह्मणहरूले भाकल गर्ने र बलि दिने प्रचलन छ । यस्तै अनगिन्ती सांस्कृतिक प्रचलनले सामाजिक विविधतामा सहिष्णुता, एकता र सद्भावलाई बलियो बनाएका छन् ।
विश्वलाई आकर्षित गर्ने बुद्धको जन्मस्थलजस्तो ‘सफ्ट पावर’ लुम्बिनीमा मात्र उपलब्ध छ । अनेकौं आयामका विविधतायुक्त संस्कृति यसै प्रदेशमा समेटिएका छन् । पृथक् संस्कृतिका बीचमा सद्भाव, सहिष्णुता, एकताको सम्मिलन यहीं भेटिन्छ ।
हामीसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदाको सामर्थ्यका तुलनामा निकै न्यून लाभ हामीले लिएका छौं । अब लुम्बिनी प्रदेशसँग भएका प्राकृतिक र सांस्कृतिक सम्पदालाई केवल स्रोतका रूपमा होइन, समुन्नतिका संसाधनका रूपमा प्रयोग गर्न अग्रसर हुनुपर्छ । यसका लागि हाम्रो प्रकृति र संस्कृतिको बोध र सदुपयोगको मूर्त मार्गचित्र बनाउनुपर्छ ।
