नेपाललाई प्राचीनकालदेखि नै ऋषिमुनिको साधनाभूमि मानिन्छ । मुक्तिनाथ, पशुपतिनाथजस्ता तीर्थस्थल, एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल, सन्त राजा जनक एवं उनकी पुत्री जानकीको जन्मस्थलका रूपमा पनि यो परिचित छ । पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका प्रसिद्ध देवीदेवताका मन्दिर र शक्तिपीठलगायतका धार्मिक पवित्र तीर्थस्थल तथा पवित्र नदी एवं पुण्यस्थलले नेपाललाई सधैं नै आध्यात्मिक ऊर्जा प्रदान गरिरहेका छन् ।
नेपालका सुन्दर तथा मनमोहक हिमाली क्षेत्रमा वैदिक ऋषिमुनिका साथै पतञ्जलीजस्ता अनेकौं उन्नत साधक तथा तपस्वीले तप, ध्यान तथा साधना गर्दै आएको इतिहास छ । यस्ता विश्वप्रसिद्ध धार्मिक तथा आध्यात्मिक स्थलले वर्तमान समयमा पनि नेपाललाई ध्यान, तपस्या र आध्यात्मिक उन्नतिका लागि महत्त्वपूर्ण उत्प्रेरक स्थानका रूपमा विश्वसामु परिचित गराएका छन् ।
नेपालजस्तो पवित्र भूमि सधैं नै सनातन धर्मको साधना र ज्ञानको केन्द्रबिन्दु रहँदै आएको छ । हामीले पनि यहाँ रहेका सम्पदालाई सुरक्षित राख्दै यसको मर्मअनुसार जीवन जिउनु आवश्यक छ । यसै मर्म र भावनाअनुरूप नेपाल तथा विश्वका आध्यात्मिक साधकले ज्ञान र साधनाको तपोभूमि नेपालमा समय–समयमा आध्यात्मिक सत्संग, ज्ञान, ध्यान तथा योगको साधना गर्दै आइरहेका छन् । हालैमात्र योगदा सत्संग सोसाइटी अफ इन्डिया र सेल्फ रियलाइजेसन फेलोसिप (वाईएसएस/एसआरएफ यूएसए) का अध्यक्ष एवं आध्यात्मिक साधक स्वामी चिदानन्द गिरीले नेपाल भ्रमण गर्दै मानव जीवनको आध्यात्मिक पक्षमाथि ध्यान तथा क्रियायोगको महत्त्वबारे प्रकाश पारेका छन् ।
आध्यात्मिक गुरु परमहंस योगानन्दले विश्वभर आध्यात्मिक चेतनाको जागरण ल्याउन सन् १९१७ मा भारतको राँची, झारखण्डमा स्थापना गरेको योगदा सत्संग सोसाइटी अफ इन्डिया र सन् १९२० मा अमेरिकाको लस एन्जलस, क्यालिफोर्नियामा स्थापना गरेको सेल्फ रियलाइजेसन फेलोसिपले विश्वभरका आध्यात्मिक साधकलाई ज्ञान, ध्यान तथा क्रियायोगका बारेमा साधनामूलक शिक्षा दिँदै आएको छ ।
प्राचीन क्रियायोग विज्ञानको ज्ञान प्रदान गर्दै सम्पूर्ण धर्मबीच सद्भाव, समन्वय र एकताको शिक्षालाई आत्मसात् गर्नु आजको आवश्यकता पनि हो । परमहंस योगानन्दको प्रसिद्ध पुस्तक अटोबायोग्राफी अफ ए योगी (योगीको आत्मकथा) ले विश्वभर लाखौं मानिसलाई ध्यान र आध्यात्मिक मार्गप्रति प्रेरित गरेको छ । सो पुस्तकलाई २० औं शताब्दीमा अत्यधिक बिक्री हुने १०० पुस्तकमध्ये एक मानिन्छ ।
सनातन धर्म र पूर्वीय दर्शनले आध्यात्मिक जागरण, आत्मसाक्षात्कार र मोक्षप्राप्तिलाई जीवनको परम लक्ष्य मानेको छ । पश्चिमी समाज, जसले प्रायः भौतिकवाद, व्यक्तिगत स्वतन्त्रता र वैज्ञानिक सोचलाई प्राथमिकता दिन्छ, यो पनि आज पूर्वीय चिन्तनप्रति आकर्षित भएको छ । पूर्वीय साधनामा स्वामी परम्पराले गुरुशिष्य सम्बन्धको विशुद्ध ज्ञानको हस्तान्तरण गर्दै आध्यात्मिक मार्गदर्शन दिन्छ । गुरुशिष्य सम्बन्ध पश्चिमी सोचमा स्वतन्त्रता प्रधान हुने भए पनि, उनीहरूले पनि गुरुको मार्गदर्शनको मूल्य बुझ्दै गएका छन् । पश्चिमा समाज तनाव, अशान्ति र भौतिकवादबाट मुक्त हुन चाहन्छ, त्यसैले पनि उनीहरू योग र ध्यानतर्फ आकर्षित भएका छन् ।
नेपाल भमणका क्रममा स्वामी चिदानन्द गिरीले यहाँको अध्यात्म, संस्कृति र प्रकृतिप्रति सम्मान प्रकट गर्दै नेपाललाई शुद्ध भक्ति र साधनाको भूमिका रूपमा वर्णन गरेका छन् । नेपाल आध्यात्मिक ऊर्जाको केन्द्र भएको पनि उनले बताए । स्वामी चिदानन्दको भ्रमणले नेपालका आध्यात्मिक साधकहरूमा जागरण त ल्यायो नै साथै आध्यात्मिक अध्ययन एवं साधनाले आत्मानुभूतिलाई एकसाथ अघि बढाउनुपर्ने बोध पनि गराएको छ ।
यस किसिमका अवसर र भ्रमणले नेपाललाई ध्यान पर्यटन, योग प्रशिक्षण र शान्ति अध्ययनको केन्द्र बनाउन पनि मद्दत गर्न सक्छ । नेपालजस्तो प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण र आध्यात्मिक चेतले ओतप्रोत भूमिले विश्वलाई शान्ति, ध्यान, योग, आध्यात्मिक ऊर्जा र मोक्षको मार्ग देखाउन सक्छ ।
अहिले आध्यात्मिक जागरण ल्याउनमा पूर्वीय दर्शनको महत्त्व बढ्दै गएको छ । नेपालले ज्ञानभूमि, योगभूमि, शान्तिभूमिका रूपमा आफ्नो पहिचान बलियो बनाउने हो भने पशुपतिनाथ, लुम्बिनीजस्ता स्थललाई विश्व शान्ति र ध्यान केन्द्रका रूपमा विकास गर्न जरुरी छ । यसो गरेमा संसारभरबाट साधकहरू नेपालप्रति आकर्षित हुनेछन् । जसबाट नेपालको धार्मिक पर्यटनलाई समेत सहयोग पुग्नेछ ।
