शीर्ष नेताको ‘विवेकको बिर्को’

गणतन्त्रवादी पार्टीहरूको शीर्ष नेतृत्वको सामूहिक र स्वैच्छिक बहिर्गमन अहिलेको जनआक्रोशलाई साम्य पार्ने एउटा अचुक उपाय हुन सक्छ

चैत्र ११, २०८१

राजाराम गौतम

Top leader's 'conscience'

दुई साताअघि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं विमानस्थल उत्रिँदा राजसंस्थाको पक्षमा भीड उर्लिएपछि गणतन्त्रवादी शिविरमा गएको कम्पनका तरंगहरू रोकिएका छैनन् । त्यो कम्पनपछि क्रिया–प्रतिक्रियाका अरू सानातिना ‘राजनीतिक परकम्प’हरू गइरहेका छन् । एकातिर राजावादीहरू ‘निर्णायक आन्दोलन’को माहोल बनाउन प्रयत्न गर्दै छन् भने गणतन्त्रवादी नेतृत्व ‘तुच्छ प्रतिक्रिया’ मा सीमित भएको छ । 

मुलुक नजानिँदो हिसाबले राजावादी र गणतन्त्रवादी कित्तामा ध्रुवीकृत हुँदै गएको छ । संसद्‌देखि सडकसम्म, चिया पसलदेखि तारे होटलका रात्रिकालीन भोजहरूसम्म यो ध्रुवीकरणको नियति र भविष्यलाई लिएर अनेक आकलन भइराखेको छ । अझ, कतिपय जानकारले त भारतको नेपाल नीति नै बदलिएको हो कि भनेर आशंका मात्रै गरेका छैनन्, विकसित पछिल्लो घटनाक्रममा उसको परोक्ष भूमिका हुन सक्ने अनुमान पनि गरेका छन् । 

यो परिप्रेक्ष्यमा मूलतः तीनवटा प्रश्न चासोका केन्द्रमा छन् । पहिलो, के राजावादी शक्तिले दाबी गरेजस्तै ‘निर्णायक जनआन्दोलन’ होला ? राजावादीले व्यवस्था नै बदल्ने आन्दोलनको आँधीबेहरी ल्याउने ताकत राख्लान् ? दोस्रो, यदि त्यस्तो भएमा प्रतिक्रियात्मक देखिएका गणतन्त्रवादीहरू के गर्लान् ? तीसँग राजावादी आन्दोलन निस्तेज गर्ने बल बाँकी छ ? तेस्रो, आशंका र अनुमान गरिएजस्तै अहिलेको आन्दोलनमा भारतको भूमिका छ/हुन सक्छ ? सुरुमा राजावादी आन्दोलनका कुरा । 

राजावादी रन्को एक वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, ‘अब राजावादी र गणतन्त्रवादीहरूबीच वारपारको लडाइँ हुनेछ र दलहरू कोर्स करेक्सनका लागि बाध्य हुनेछन् ।’ यो उद्घोष राप्रपाले चैतमै गरेको थियो । त्यो बेला राप्रपाले राजसंस्थाका पक्षमा जुलुस, र्‍याली निकाल्यो, दलका नेताविरुद्ध नाराबाजी लगायो । तर, आन्दोलनले राजा फर्काउने तहको दबाब दिन सकेन र सेलायो । 

वर्ष दिनपछि पूर्वराजा पोखराबाट काठमाडौं उत्रिँदा उनको स्वागतमा जुन उपस्थिति देखियो, त्यसले शिथिल भएका राजावादीहरू फेरि वारपारको लडाइँ भन्दै आन्दोलनका लागि अग्रसर भएका छन् । यसमा राप्रपाबाहेक अरू असन्तुष्ट र धार्मिक समूहहरू पनि जोडिएका छन् । अझ पञ्चायतको अवसानसँगै निष्क्रिय पुराना पञ्चहरूसमेत उत्साहित हुँदै राजसंस्थाको वकालतमा उत्रेका छन् । राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको अग्रसरतामा ‘संयुक्त जनआन्दोलन’को घोषणा गरिएको छ । 

घोषणासँगै उनको नेतृत्वलाई लिएर असन्तुष्टि र विवादको बिजारोपण भएको छ । यद्यपि, मुलुकमा गणतन्त्र स्थापना भएपछि राजावादीहरूले पहिलो पटक अनुकूल राजनीतिक माहोल पाएका छन् । पूर्वराजाको उत्साह, राजावादी समूहहरूको दिनहुँका बैठक/व्यस्तता, सामाजिक सञ्जालमार्फत गरिएका अधिकतम प्रचार/प्रोपोगान्डाले राजनीति र समाज तरंगित छ । 

ऐतिहासिक जनआन्दोलनको बलमा भएको राजनीतिक परिवर्तनपछि मुलुकमा संविधानसभा हुँदै गणतन्त्रको स्थापना भएको थियो । निरंकुश राजशाहीविरुद्ध माओवादी र संसदीय दलहरूको नेतृत्वमा आमजनता सरिक भएपछि जनआन्दोलनको आँधीबेहरी आएको थियो । हिजो जनताले जसरी जनआन्दोलनको आँधीबेहरी सिर्जना गरेर राजसंस्था मिल्काएका थिए, के फेरि तिनै जनता यसको पुनःस्थापनाका लागि आन्दोलित हुन थालेका हुन् ? राजावादी समूहको आह्वानमा जनता फेरि व्यवस्था नै बदल्न तयार होलान् ? 

अहिले उठेका यी प्रश्नको निरूपण समयक्रमसँगै हुँदै जाला । यद्यपि, यति चाहिँ भन्न सकिन्छ, राजसंस्था गुमेको सत्र वर्षपछि पूर्वराजाको पक्षमा सडकमा देखिएको भीड स्वतःस्फूर्त होइन । यो राजनीतिमा नेतातन्त्र हावी हुँदाको असन्तुष्टिको परिणति हो । त्यो भीडमा राजसंस्थाप्रतिको मोह वा आकर्षणभन्दा धेरै गुणा असन्तुष्टि दलीय नेतृत्वसँग छ । तसर्थ, नेतालक्षित असन्तुष्टि व्यवस्था बदल्ने आधार बनिहाल्छ भन्ने निष्कर्षमा पुग्नु हतारो हुन्छ । 

राजसंस्था र पूर्वराजाका केही परम्परागत अनुयायीहरू छन् । अवसर, इगो र विभिन्न स्वार्थवश यसको पैरवीमा लागेको व्यक्ति/झुन्डहरू पनि नभएका होइनन् तर व्यवस्था नै बदल्न जुन स्तरको जनमत चाहिन्छ, त्यो इतिहास बनिसकेको राजसंस्थाको पक्षमा छैन । २००७, २०४६ अनि २०६३ सालमा लोकतन्त्रका लागि अभिमत प्रकट गरेका जनताले निरंकुशताको पुनर्उत्थानका लागि उत्रेर उल्टो बाटो तय गर्दैनन् । 

फेरि, जनआन्दोलनको आँधीबेहरी ल्याउन कम्तीमा दुईवटा कुरा अति आवश्यक हुन्छ । नेतृत्व र मुद्दा । पहिलो, आफ्नो नेतृत्वमा ‘संयुक्त जनआन्दोलन’ गर्ने भनेर अघि सरेका नवराज सुवेदी प्रथम दृष्टिमै अस्वीकृत भएका छन् । स्वयं राजावादीहरू नै उनको नेतृत्वप्रति विश्वस्त नभएको कुरा घोषणासँगै छताछुल्ल भइसकेको छ । जस लिने होड, एकअर्काको नेतृत्व नस्विकार्ने रोगबाट राजावादीहरू पनि ग्रस्त छन् । 

राजावादी समूहमा दुई खाले धारणा छ । एक थरी सोच्छन्, स्वयं पूर्वराजाले नै जनआन्दोलनको नेतृत्व लिनुपर्छ अनि जनताले साथ दिन्छन् । अर्कोथरीलाई लाग्छ, राजा सडकमा उत्रिनु हुँदैन । जनआन्दोलनका संयोजक सुवेदीले त आफू हुञ्जेल राजालाई 

सडकमा आउन नदिने उद्घोष गरिसकेका छन् । उनी आफ्नो नेतृत्वमा राजसंस्थाको पुनःस्थापना हेर्न चाहन्छन् । लिङ्देन आन्दोलनको बागडोर आफ्नो हातमा हुनुपर्ने ठान्छन् । दुर्गा प्रसाईंलाई लाग्छ, राजावादी आन्दोलनको माहोल उनले बनाइदिएका हुन् । उनी भन्ने गर्छन्, कि राजा सडकमा आउनुपर्छ, होइन भने अरूलाई नेता मानिँदैन । थरी–थरी नेतृत्व आकांक्षा र स्वार्थको टकरावले राजावादी आन्दोलनले दिशा लेला वा दिशाहीन होला ? शंका उठ्ने ठाउँ छ । 

अर्को, मुद्दाको कुरा । मुद्दामा पनि राजावादीहरू प्रस्ट छैनन् । कसैलाई संवैधानिक राजा चाहिएको छ । कोही २०४७ को संविधान ब्युँताउन चाहन्छन् । अर्को थरी नवीन समझदारी गर्नुपर्छ भन्दै छन् । तेस्रो थरीलाई सेरेमोनियल वा सांस्कृतिक राजा भए पनि पुग्छ भन्ने छ । ती कार्यकारी प्रधानमन्त्री र सेरेमोनियल राजा राख्नुपर्छ भन्छन् । राजावादीहरूले खासमा कस्तो राजा खोजेका हुन् ? आन्दोलनको मुद्दा के हो ? यी अस्पष्टताले जनतालाई अपिल गर्न सकेको छैन । जनआन्दोलनका लागि जनतालाई गोलबन्द र आकर्षित गर्ने प्रस्ट मुद्दा राजावादीहरूसँग छैन । 

गम्भीर आत्मसमीक्षाको बेला

त्यसो हो भने, के गणतन्त्रवादीहरू ढुक्क भएर बसे हुन्छ त ? त्यो पनि होइन । सडकमा पूर्वराजाको सत्कारमार्फत व्यक्त जनताको असन्तुष्टि अहिलेको दलीयतन्त्रमा हालीमुहाली गर्ने राजनीतिक नेतृत्वका लागि एउटा जबर्जस्त चेतावनी हो । नेताहरू चुनावबाटै निर्वाचित भएर शासन सत्तामा पुगेका हुन् भन्ने कुरामा सन्देह रहेन । तर, जनता र नेतृत्वबीच यतिबेला विश्वासको संकट गहिरिँदै गएको छ । लोकतन्त्रका मुख्य आधार स्तम्भहरू संघीयता, धर्मनिरपेक्षता जस्ता मुद्दाहरू कमजोर छन् ।

हिन्दु राष्ट्रका पक्षमा बलियो जनमत बन्दै गएको छ । सत्तारूढ कांग्रेसभित्र एउटा तप्काले उठाउँदै आएको हिन्दु राष्ट्रको मुद्दा फेरि बल्झाउने प्रयत्नमा छ । व्याप्त यी असन्तुष्टिका झिल्काहरू अराजकताको आगो निम्त्याउन काफी छन् । राजावादी पंक्तिले यो परिवेश बुझेर नै अस्थिरता र अराजकताको बिजारोपण गर्ने प्रयत्न गरिरहेको हो । अहिलेको राजनीतिलाई थप अस्थिर, अराजक र हिंसात्मक बनाउन सके, त्यही हुलमुलबाट राजसंस्था ब्युँताउने अभीष्ट पूरा हुन सक्छ कि भनेर राजावादी शक्ति च्याँखे थाप्दै छन् । 

विडम्बना, यो परिवेश बुझेर पनि शीर्ष राजनीतिक नेतृत्व विवेकी देखिएको छैन । जनस्तरमा उठेको असन्तुष्टिको कारण खोज्दै त्यसको तत्काल निदानमा लाग्नुको सट्टा गणतन्त्रवादी नेतृत्व प्रतिक्रियात्मक देखिएको छ । तीन थरी प्रतिक्रिया गरेका छन्, गणतन्त्रवादीहरूले । 

पहिलो, पूर्वराजाको सार्वजनिक सक्रियता बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई आदि सबैको लय एउटै भएको छ । सत्ता राजनीतिको सिँगौरी खेलिरहेका सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतृत्व एकस्वरमा पूर्वराजालाई कटाक्ष गर्दै छन् । उनीहरू गणतन्त्रको विकल्प नभएकाले राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजालक्षित कटाक्ष र चेतावनी दिइराखेका छन् । 

दोस्रो, समाजवादी मोर्चा, एमालेलगायतले राजावादी आन्दोलनविरुद्ध जनपरिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । राजावादीलाई काउन्टर दिन सडक शक्ति प्रदर्शन गर्ने योजनामा गणतन्त्रवादीहरू पनि छन् । तेस्रो, उनीहरू राजावादी आन्दोलनमा बाह्य शक्तिको भूमिका देखिरहेका छन् । अझ एमालेले त एक कदम अघि बढेर सचिवालय बैठकबाटै भारतको उक्साहटमा राजावादीहरू आन्दोलित भएको ठहर गरेको छ । 

गणतन्त्रवादी खेमाबाट राजावादी शक्तिलाई राजनीतिक रूपमा प्रतिवाद गर्नु स्वाभाविक हो । गणतन्त्रका उपलब्धिहरू बताउन जनपरिचालन वा सडक शक्ति प्रदर्शनलाई पनि स्वाभाविकै मान्न सकिएला तर जसरी शीर्ष नेतृत्व कटाक्ष र आलोचनामा केन्द्रित छ, त्यसले तनावपूर्ण राजनीतिक माहोललाई थप उत्तेजित पार्नेछ । छिमेकी चिढ्याउने, भिडन्त र उत्तेजना बढाउने ‘बचकना’ व्यवहारले अहिले गणतन्त्रको आकाशमा लागेको बादल हट्दैन ।

बरु, यसखाले प्रवृत्तिले उत्तेजना र अराजकताको मौका कुरेर बसेका स्वार्थ शक्तिहरूकै सेवा गर्छ । राजनीतिक संघर्ष र सत्ता राजनीतिबाट खारिएको नेतृत्वले यति कुरा नबुझेको होइन, नजरअन्दाज गरेको हो । यहींनेर नेतृत्वको बुद्धिको बिर्को खुल्नुपर्छ । सडकमा पोखिएको जनआक्रोश कम्तीमा यसरी नजरअन्दाज गर्ने विषय होइन । न त ‘गणतन्त्रको विकल्प छैन, राजतन्त्र फर्कंदैन’ भनेर मात्रै अहिलेको संकट टर्ने छ । 

किन जनता आक्रोशित भए ? किन सडकमा गणतन्त्रका नेतृत्वविरुद्ध नाराबाजी भइरहेको छ ? कहाँ चुक्यौं ? गम्भीर आत्मसमीक्षा गर्ने बेला हो यो । खासमा आत्मसमीक्षाले पुग्दैन । जनतासँग टुटेको विश्वासको डोरी जोड्न केही कुरा ‘एक्सन’बाटै गर्न सक्नुपर्छ । त्यसका लागि शीर्ष नेतृत्व केही बोल्ड निर्णय लिन सक्नुपर्छ । जस्तो : 

पहिलो, सामूहिक बहिर्गमन : बहुसंख्यक जनमत यतिबेला शीर्ष राजनीतिक नेतृत्वसँग चिढिएको छ । यो वा त्यो पार्टी होइन, सबैजसो पार्टीको शीर्ष राजनीतिक नेतृत्व आलोचित छ । यो नेतृत्वले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका खेल्यो । संघर्षको राजनीतिमा अब्बल भए पनि सत्ता राजनीतिमा यो नेतृत्व निकै चुक्यो । गणतन्त्रमा हुर्केका कैयौं विसंगति यिनै शीर्ष भनिएका नेतृत्वको नर्सरीमा हुर्केका हुन् । सत्तालाई सबथोक ठान्ने यो नेतृत्वका लागि यो ‘आलोचनात्मक’ सुझाव सायद पाच्य हुँदैन । यद्यपि, गणतन्त्रवादी पार्टीहरूको शीर्ष नेतृत्वको सामूहिक र स्वैच्छिक बहिर्गमन अहिलेको जनआक्रोशलाई साम्य पार्ने यो एउटा अचुक उपाय हुन सक्छ । 

दोस्रो, शक्तिशाली सम्पत्ति आयोग गठन : राजनीतिमा कुशासन हाबी छ । भ्रष्टाचारले मुलुक चुर्लुम्मै डुबेको कुरा स्वयं नेताहरू नै स्वीकार्छन् । खासमा एकले अर्कोलाई भ्रष्टाचारी देख्ने र आरोप लगाउने प्रवृत्ति छ, यहाँ । को कति भ्रष्टाचारी छ, त्यसको मापन गरेर दण्डित गर्नका लागि मौजुदा संयन्त्र पनि छन् । यद्यपि, ती राजनीतिक भागबन्डाको सिकार हुँदा प्रभावकारी हुन सकेनन् । त्यसकारण सबैजसो नेता र राजनीतिक दलले मागेको शक्तिशाली सम्पत्ति आयोग अविलम्ब गठन गर्न सके जनतामा थोरै भए पनि आस पलाउन सक्छ । 

तेस्रो, परीक्षण नभएको नयाँ नेतृत्व : हुन त पुराना पुस्ताले नयाँ नेता बनाइदिने होइन । हरेक नयाँ पुस्ताले नेतृत्व लिने साहस गर्नुपर्छ । नेतृत्वमा पुस्तान्तरण नहुनुमा नयाँ भनिएकाहरूको अवसरवाद पनि उत्तिकै जिम्मेवार छ । यद्यपि, विधि, प्रतिस्पर्धा र कार्यक्रमका आधारमा नेतृत्व चयन हुने परिपाटी विकास नहुँदा पनि गणतन्त्रमा विकृति बढ्यो । सरकार र पार्टीका निकायमा प्रतिस्पर्धा र कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयनको ढोका खोल्न सके, त्यसले पनि प्रतिगमनलाई निस्तेज पार्न सक्छ । 

यीबाहेक पनि निर्वाचन प्रणालीमा सुधार, संघीयताको प्रभावकारी कार्यान्वयन र सारमा जनमुखी सुशासनको प्रत्याभूति दिने काम गर्न सक्नुपर्छ । अहिले गणतन्त्रवादीहरू राष्ट्रिय सरकार बनाउने, मिलेर राजावादीको सडक प्रतिवाद गर्ने लगायतको उपायको खोजीमा छन् । आफैं सच्चिने र सुध्रिने तिनको कार्यसूची छैन । तर, अहिले बढेको जनआक्रोश थामिनका लागि गणतन्त्रवादीहरू सच्चिन आवश्यक छ । 

निर्णायक जनता

जहाँसम्म राजावादी आन्दोलनमा भारतको भूमिकाको प्रश्न छ, त्यो आफ्नो थैली सुरक्षित राख्न नसक्नेहरूको रोइलो हो । यतिबेला राजावादी र गणतन्त्रवादीहरू दुवै आफ्नो घरेलु मामिलामा भारतलाई तान्ने होडबाजीमा छन् । राजावादी आदित्यनाथको पोस्टरसहित सडकमा उत्रिएका छन् ।

एकातिर राजावादी समूहका प्रवक्ताहरू राजा आउँदा भारतलाई हुने लाभका व्याख्या गरिरहेछन् । अर्कोतिर सरकारको नेतृत्व गरिरहेको पार्टीको सचिवालय बैठक खुलेआम भारतको उक्साहटमा राजावादी आन्दोलन भएको निष्कर्षमा पुग्छ । त्यही गठबन्धन सरकारी परराष्ट्रमन्त्री चाहिँ भारतीय नेताहरूको ढोका कुरेर खबर ल्याउँछिन्, ‘नेपालको सत्ता परिवर्तनमा भारतको भूमिका छैन ।’

नेपाली राजनीति/कूटनीतिका लापरबाह र अपरिपक्व घटनाक्रमहरू छताछुल्ल भएका छन् । नेपाली राजनीतिमा भारतको भूमिका लुकेको विषय होइन । न त यो नजरअन्दाज गर्ने विषय नै हो । भारतको नेपाल चासो र स्वार्थ बुझेर त्यो अनुरूप आफ्नो परिपक्व पोजिसन बनाउने कि उसलाई घरेलु मामिलामा घुस्न आमन्त्रण गर्ने ? नेपाली राजनीतिमा भारतले ‘माइक्रो म्यानेजमेन्ट’ गर्‍यो भनेर आलोचना गर्ने हामी नै होइनौं ? कतिपय समयमा राजनीतिक तह सम्बन्ध नभएको र कर्मचारी र खुफिया हाबी भएको अनेक दृष्टान्त पनि छँदै छन् ।

अहिले नै पनि ओली सरकारसँग भारतीय संस्थापन नाखुस भएको कुरा छिपेको छैन । ओली सरकारप्रति भारतीय रवैयाले त्यो प्रस्ट पार्छ । यी सबैका बाबजुद नेपालमा हुने राजनीतिक आन्दोलन वा गतिविधिमा भारतको भूमिका निर्णायक होइन । त्यो २०६३ को आन्दोलन, संविधान घोषणा आदि कैयौं नजिरले प्रमाणित गरिसकेको सन्दर्भ हो । राजावादी वा गणतन्त्रवादीहरू दुवै घरेलु मुद्दामा भारतको भूमिका खोज्न लालायित हुनु दुर्भाग्य हो । खासमा अहिले हाम्रोसामु उठ्नुपर्ने बलशाली प्रश्न इतिहास भइसकेको राजा ल्याउने होइन, बरु नेतातन्त्रमा मग्न ‘नयाँ राजा’हरूको बहिर्गमनको हो । 

राजाराम गौतम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully