गलत कायामा अड्केको गणतन्त्र !

लोकतान्त्रिक गणतन्त्र त्यस्तो व्यवस्था हो, जो हर कोहीलाई आफ्नो सबलतासँग परिचित हुने अवसर दिन्छ

चैत्र ७, २०८१

चन्द्रकिशोर

A republic stuck in the wrong shape!

के यो दुःख प्रारब्ध हो लोकतन्त्रको ? सुदूर देहातसम्म अचेल यही प्रश्नको वरिपरि सामान्यजनको कुराकानी सुरु हुन्छ र टुंगिन्छ पनि । लोकतन्त्रमाथि अनेक रूप र ढंगबाट आक्रमण हुँदै आएको छ । इतिहास साक्षी छ– नेपालीले राजाहरूबाट लडेर लोकतन्त्र ल्याएका हुन् । फेरि तिनकै मायावी षड्यन्त्रमा लोकतन्त्रमाथि भिन्न–भिन्न कोणबाट घात सुरु हुन्छ । यतिखेर फेरि आक्रमण मुखरित भएको छ ।

गणतन्त्रमाथिको आक्रमण नेपालवासीको लोकचेतनामाथिको आक्रमण हो । गणतन्त्रले कसलाई के दियो ? गणतन्त्रले कसबाट के पायो ? गणतन्त्रले लोकचेतनाको गहिराइमा विद्यमान अक्षय ऊर्जालाई आकार दियो । लोकचेतना नै गणतन्त्रको प्राण हो ।

गणतन्त्रको आन्दोलन केवल सत्ता परिवर्तनसम्म सीमित थिएन । गणतन्त्रमा राजसत्ताको आधार लोकस्वीकृति हो । सत्ता तबसम्म मात्र रहन्छ, जबसम्म जनताले सत्तालाई स्वीकार गरिरहन्छन् । जुन दिनदेखि जनमानसले तय गर्न पुग्छन् कि अब तपाईंको सत्तालाई मान्दैनौं, त्यही दिन जनताको गणतन्त्रले आफ्नो सार्वभौमिकता स्थापित गरिहाल्छ ।

गणतन्त्रको परिधिभित्र कुनै विभक्त चेतना हुँदैन । सत्ताको सरोकारले लोकमानसलाई विभक्त गर्दछ । गणतन्त्रमाथिको प्रहारको स्वाभाविक परिणाम यो भयो कि जनआन्दोलन बखतका हुंकार भर्ने लोकचेतना निद्रामा हराउन पुग्यो र बजारका रूपमा व्यष्टि चेतना समष्टि चेतनामाथि हाबी हुँदै आयो ।

यतिखेर ज्ञानेन्द्र शाहको गतिविधिलाई मोटो तवरमा दुई थरीले विरोध गरिरहेका छन् । एक ती हुन्, जो गणतान्त्रिक परिवेशमा सरकारमा सहभागी रहँदै आएका मुख्य दल । अर्को त्यो समूह छ– जो व्यक्तिका रूपमा केही सामाजिक विचार र मूल्यलाई मान्दछन् । यी मूल्यका कारण गणतन्त्रको पक्षमा आफूलाई उभ्याएका छन् । सामाजिक न्याय, असली राष्ट्रियता, फासीवाद विरोध, समाजवाद, संघीयता–समावेशीकरणजस्ता मूल्यप्रति प्रतिबद्ध व्यक्ति राजाशाहीप्रति असहमति राख्छन् ।

राजाशाहीको लक्ष्य एक सामन्ती समाज व्यवस्थाका साथसाथै फासीवादी राज्य व्यवस्थाको स्थापना हो । अर्धफासीवादी, अति क्षेत्रीयतावादी, अति जातिवादी राजनीतिक शक्तिहरू प्रकारान्तरमा राजाशाही चिन्तनका पृष्ठपोषक हुने पाइन्छ । विगतले त्यही देखाएको छ, निकट आगतमा त्यस्तै पगध्वनि सुनिन्छ । यो तप्काले छद्म स्वदेशी र छद्म राष्ट्रवादको उपयोग गर्न जान्दछ । 

तर तमाम विरोधाभासका बीच ‘राजाशाही’ एक यस्तो विचारधारा विकसित हुँदै आयो, जसको चौहद्दी त्यो विचारका विरोधीले खिचेका छन् । एक अर्थमा यो ‘राजाशाही’ मान्नेको जित हो कि जसलाई तिनका विरोधी एक विचारधारा मान्न तयार थिएनन्, आज तिनैले तिनका स्वरूपको व्याख्यामाथि ज्यादै जोड दिइरहेका छन् ।

‘राजाशाही’ विचारधाराको प्रमाणिक पाठ त त्यसबाट फरक मत राख्नेहरूले नै लेखिदिइरहेका छन् । तर ‘राजाशाही’ मतावलम्बी आफ्नो कुनै चरित्र वा वैचारिक आख्यान निश्चित गर्न खोज्दैनन् । तिनीहरूलाई यो सुविधा रहन्छ कि जब राजनीतिक स्पेसमा टिक्न सकिँदैन, तब सांस्कृतिक कित्तातर्फ सरिहाल्छन् । त्यहाँ पनि जम्न नपाए धार्मिक क्षेत्रतर्फ ढल्किहाल्छन् ।

हाम्रो समाजमा संकीर्णता पहिलो पटक पुरस्कृत र उदारता पहिलो पटक तिरस्कृत भएको होइन । यो निरन्तरको घर्षण हो । पछिल्ला करिब तीन शताब्दीको उथलपुथल र पुनर्निर्माणले भरिएको नेपालको इतिहासलाई शाही–इतिहासका रूपमा अर्थ्याउनु एकदम गलत हो । तर त्यही उनीहरूका कामयाब तरकिब हो ।

नेपालीपनको ‘शाहीकरण’ नेपालीपनको विघटनतर्फ बढ्दो कदम हो । निःसन्देह यो लोकतान्त्रिक विफलताको नतिजा हो । अतीतमा विविधता निरंकुश केन्द्रीकरणका प्रवृत्तिका कारण भिन्नतामा छरपस्टियो । यी सबका बाबजुद यो यथार्थ हो कि कुनै तार्किक आधार र तात्विक बदलाव नहुँदा पनि ‘राजाशाही’ का जयगाथा गाउने आत्मविश्वासले भरिएका छन्, पिठ्यूँमा धापको अनुगुन्ज लिएर हिँडिरहेका छन् । यता नवजागरण, संघीयता, समावेशिता, सार्वभौमिकताजस्ता अवधारणामा बाँच्नेहरूमा ढुसी देखिँदै छ । 

‘राजाशाही’ का प्रवक्ताहरूले गणतान्त्रिक नेपालमा रजगज गर्दै आएका दलको रिक्तता, चूक, अलमललाई नै आफ्नो पक्षमा सूत्रीकरण गर्ने तत्परता देखाउँदै आएका छन् । ‘राजाशाही’ का व्याख्याता स्वतन्त्रतापूर्वक न आफ्नो नेता छान्न सक्छन्, न त लक्ष्य र कार्यक्रम निर्धारित गर्न सक्छन् । किनभने तिनको लगाम तिनीहरूका हातमा छैन । त्यसैले यिनीहरू निर्मल निवास पथगामी हुन् । यस प्रकारको राजनीति गर्नेहरूका लागि छद्म आवरण र मखुन्डोको विशेष महत्त्व हुन्छ र यो उनीहरूको रणनीति पनि हो । 

गतिविधि जति आक्रामक हुन्छ, त्यसमा खुलापन त्यत्तिकै कम हुन्छ । ‘राजाशाही’ को राजनीति आक्रामक राष्ट्रवादको राजनीति हुन्छ, यस कारण यो विभिन्न आवरणका पछाडिबाट नै आफ्नो असली उद्देश्यतर्फ बढ्ने कोसिस गर्छन् ।

भूपि शेरचनको देश आज पनि हल्लैहल्लामा व्यस्त छन् । मकैको खेती लेख्ने कृष्णलालहरू आज पनि पहाडका गराहरूमा मात्र होइन, मधेशका आलीहरूमा पनि आह्वान गर्दै छन् र ठड्याउँदै छन्, आज पनि औंला रातो टाउके र कालो टाउके किराविरुद्ध । आश्चर्यजनक बहुलता, भीषण अन्तरविरोध र जबरदस्त सम्भावनाहरू बोकेको यस देशलाई एउटै धागोमा उन्ने र मुलुकको चम्किलो छवि गढ्ने सिर्जना र तिर्सना दिवंगत भएको छैन । 

‘राजाशाही’ कहिल्यै पनि यो मुलुकको मूल प्रवाह रहेन । शासक रहनु बेग्लै कुरा हो । यो तप्का जहिले पनि किनारमा रह्यो । यद्यपि यिनीहरू मुख्य धार कहलिने जबर्जस्ती जहिल्यै पनि गर्दै आए । यसका बाबजुद यस देशले नयाँ व्याख्या, नव आविष्कार जसले जनतालाई बलियो बनाएर राख्न सक्छ, ब्युँझाएर राख्न सक्छ, त्यसका लागि रेड कार्पेट ओछ्याउँदै आएको छ । दुर्गानन्दहरू जो गोली खान उत्साहित भए तर सत्यको हत्या गर्न चाहेनन् ।

यस्तै आशय राखेर झापा गौरीगन्जमा भेटिएका एक सन्थाल युवा भन्दै थिए– ‘लज्जित छु, तिम्रो बलिदानको रक्षा गर्न सकिनँ ! यो गणतन्त्र कसैको अनुकम्पामा आएको होइन । हजारौं आमाको काख रित्तो बनाएर, हजारौं लक्ष्मीनारायणहरूजस्ता युवाले रगत बगाएर ल्याइएको हो । यो कसैले फु गर्दैमा कदापि ढल्दैन ।’

आधुनिक लोकतान्त्रिक व्यवस्थाले लोकतान्त्रिक ढंगले चुनिएका नेतामा दैविक शक्ति प्रदान त गर्दैन तर तिनलाई निरंकुश बन्ने अवसर अवश्य दिन्छ । अहिले यो जिउँदो समाजले यिनीहरूको संख्या खेललाई मान्न असहज महसुस गरिरहेको छ । यस्तो सोच्नेहरू सडकमा उभिनुको विकल्प छैन । सडक रित्तो रहे, अनेक थरीका कपटी खेलको त्यो स्पेस बन्न पुग्छ । सडकमा जो ओर्लिन्छन्, जे नारा गुन्जिन्छ– त्यही मूल हो भन्ने भ्रम हुन्छ । यस्तोमा सडकमा अविचलित रूपमा जनसामान्यको कब्जा हुनुपर्छ ।

सडक कसैलाई दास बनाउने, कमैया बनाउने, हरुवा–चरुवा बनाउने, आन्तरिक औपनिवेशीकरण गर्ने व्यापारीको खुला बजार हुने कि सचेत, जुझारु र हस्तक्षेपकारी नागरिकको बलिदान स्थल हुने ? नेपालको भावी इतिहास यसैबाट कोरिनेछ । सडकले नै आन्तरिक राजनीति र भूराजनीतिलाई डोर्‍याउने पक्का छ । 

अब त देशका लागि आवाज उठाउनै पर्ने भएको छ । समर शेष नै छ । हिन्दीका प्रसिद्ध कवि रामधारी सिंह दिनकरको पंक्ति मननीय छ– ‘समर शेष है, नहीं पाप का भागी केवल व्याध– जो तटस्थ हैं, समय लिखेगा उनके भी अपराध ।’ 

काठमाडौं एयरपोर्टमा ज्ञानेन्द्र शाहको स्वागतार्थीको भीडलाई कसरी व्याख्या गर्ने ? त्यो गणतान्त्रिक नेपालमा चालु राजनीतिप्रतिको बीभत्स घटना थियो कि विगतप्रतिको सामूहिक विस्मरण ? मुलुकलाई सजीव बनाउने सूत्रधार जनता हुन्, न कि कोही वंशवादी अमूक पात्र कर्णधार ? 

२०४६ सालमा परिवर्तन आयो, भनियो– यो जित सबैको हो । भयो पनि, लगत्तै महापञ्चहरू कार्यकारी पदमा पुगे । दोस्रो जनआन्दोलन भयो, फेरि राजभक्तहरू शासन–प्रशासनमा पुग्ने अनुकूलता पाए । यो लोकतन्त्रको सौन्दर्य नै हो, जहाँ कसैलाई पनि काखापाखा गरिँदैन । यो सबैको व्यवस्था हो । यो व्यवस्था त्यस्ती मातृस्वरूप हो, जो बालकले छातीमा लात्ती हान्दा पनि वात्सल्यभावले दूध चुसाइरहन्छे । तर लोकतान्त्रिक गणतन्त्र त्यस्तो व्यवस्था हो, जो हर कोहीलाई आफ्नो सबलतासँग परिचित हुने अवसर दिन्छ । यही कारण हो– लोकतन्त्रका लागि बलिदान दिनेहरूमा सामान्यजन नै बढी हुन्छन् ।

नेपालमा जे–जति समय लोकतन्त्र व्याप्त रहँदै आयो, यसको उज्यालो पिँधसम्म पुग्यो । अनि पो लोकतन्त्रमाथि कुठाराघात हुँदा त्यसका लागि गरिने संघर्ष ‘जनता जागेका बेला’ भनेर महिमामण्डित हुने गर्दछ । यो गणतन्त्रको सहिष्णुता नै हो, जहाँ यो व्यवस्थालाई नै फाँसीमा झुन्ड्याउने चाहना राख्ने कोही पूर्वराजालाई पनि सरकारी सुरक्षा र सुविधा दिन्छन् ।

समस्या राजा वा राजभक्तको हुँदै होइन । संकट नेतातन्त्रमा छ, जसले गणतन्त्रको अंग प्रत्यंगमा गलत अवयव जडान गर्न खोजेको छ । त्यसैले त झापामै सुनियो– ‘यो गलत कायामा अड्केको गणतन्त्र भयो ।’ गणतन्त्र सुस्तसुस्त संस्थागत हुँदै नगएको होइन । राजावादी वा जुनसुकै वादीको लंगोटी खुस्किँदै गएको छ अर्थात् जनतासमक्ष सबैका सत्य उजागर हुँदै आइरहेको छ ।

जब पाका पञ्च नेता नवराज सुवेदीको नाम बाहिरियो, नामसँगै उनको विगत पनि आयो । यस्तै गणतन्त्रले राष्ट्रपति बनेकादेखि कार्यालय सहायक बनेकाहरूको अनुहारमा टर्च बाल्छ । गणतन्त्रमा लामै समयसम्म कोही अनुहार लुकाएर रहन सक्दैन । जे छ, जनताको सामुन्ने हुन्छ । नेपाली राज्यको नाभि जनताको दरबार नै हो, यो नै रहिरहनुपर्छ । गणतन्त्र गतिशील नभए यो पोखरीको पानीजस्तै गन्हाउन थाल्छ । नव–नव नारा र नयाँ–नयाँ नेतृत्व अगाडि आउनै पर्छ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully