जीवित माटो नै खेतीपातीको मूल आधार 

घट्दै गएको प्रांगारिक पदार्थको पुनर्भरण नै निरन्तर मर्दै गरेको माटोलाई पुनर्जीवित गर्ने एक मात्र उपाय हो

चैत्र ६, २०८१

कृष्णप्रसाद पौडेल

Living soil is the basic foundation of agriculture

सतहको माटो जैविक विघटनका विभिन्न चरणमा रहेका बोटबिरुवाका जरा, जीव, जनावरका अवशेष, खनिज, पानी, हावा र यसमा रहने असंख्य सूक्ष्म जीव एवं तिनका अवशेषको सम्मिश्रणबाट जीवन्त बनेको हुन्छ । यही जीवित माटोबाट उपलब्ध खाद्यतत्त्व, खासगरी नाइट्रोजन, सूर्यको प्रकाश, हावामा रहेको कार्बनडाइअक्साइड र यिनको आपसी अन्तरक्रियाले जैविक र रासायनिक प्रक्रियालाई सक्रिय बनाउँछ । यसले बोटबिरुवाको जीवन चक्र सम्भव हुन्छ । यो नै यस पृथ्वीको जैविक चक्रको मूल आधार हो ।

यो प्रक्रियाका लागि माटोमा प्रांगारिक पदार्थ (ह्युमस) अनिवार्य छ । जसरी वस्तुभाउका लागि स्याउला र सोत्तरले खाना र बिस्तराको काम गर्छ, त्यसरी नै यो सूक्ष्म जीवका लागि खाना र आश्रयको आधार हो । प्रांगारिक पदार्थले माटोमा रहेका सूक्ष्म जीवलाई सुरक्षित आश्रय दिएको हुन्छ । साथै, माटोमा रहेका जीवलाई चाहिने खनिज, पानी र हावाको बन्दोबस्त मिलाएको हुन्छ ।

यस्तो बन्दोवस्तले मात्र बोटबिरुवाको खाना बनाउने कार्यमा सक्रिय सूक्ष्म जीवको जीवन सम्भव हुन्छ । प्राकृतिक अवस्थामा रहेको प्रांगारिक पदार्थमा आश्रित सूक्ष्म जीवहरूले बोटबिरुवालाई चाहिने नाइट्रोजन र अन्य खनिज तत्त्व एक आपसमा जोडिने र टुक्रिने प्रक्रिया सम्भव बनाएका हुन्छन् । यी सूक्ष्म जीवबिना बोटबिरुवाको खाना बन्दोबस्त हुन सक्दैन । भनिन्छ, एक चम्चा उर्वरशील माटोमा मानिसको सम्पूर्ण जनसंख्याभन्दा बढी सूक्ष्म जीव हुन्छन् । 

यस अर्थमा माटोमा रहेका सूक्ष्म जीवका जैविक गतिविधि सम्पूर्ण जीवन प्रणालीको महत्त्वपूर्ण प्राथमिक आधार हो । माटोमा रहेका यस्ता सूक्ष्म जीवले तयार पारेको खाद्यतत्त्वले हरितकोष भएका बोटबिरुवा र अन्य जीवकोषको जीवन ऊर्जा बनाउने जैविक प्रक्रिया व्यवस्थित हुन्छ । यस्तो प्रक्रियाले नै सतहको माटो र यसमा आश्रित जीवनको भौतिक, रासायनिक र जैविक गुण निर्धारण हुन्छ । अर्को अर्थमा यो नै सम्पूर्ण जीवको ऊर्जा चक्रको मूल आधार हो । विडम्बना ! अहिले सूक्ष्म जीवको बासस्थान र बोटबिरुवाको खाद्यतत्त्व माटोमा रहिरहन आवश्यक प्रांगारिक पदार्थको कमीले माटोमा रहेका अन्य खनिज, हावापानी र सूक्ष्म जीवबीचको अन्तरसम्बन्धको जालो भत्किँदै गएको छ । 

यससँगै स्थानीय विशेषतामा माटो बन्ने प्रक्रियामा वातावरणीय र भूबनोटको समेत प्रभाव रहेको हुन्छ । यसरी माटोदेखि बोटबिरुवाको खाना बन्ने र वृद्धि विकास हुने चक्रीय प्रणालीले स्थलचर क्षेत्रको जैविक विविधता र प्राकृतिक चक्रीय प्रणालीसमेत व्यवस्थित भएको हुन्छ । अहिले यो प्रक्रिया मान्छेका उत्ताउला गतिवधिले क्रमशः अवरुद्ध हुँदै आएको छ ।

मुख्यतः बोटबिरुवाका लागि पोषण भन्दै थपिएको कृत्रिम मल मात्रको अत्यधिक प्रयोगले माटोमा प्रांगारिक पदार्थ घट्दै गएको छ । त्यसमाथि थपिएका खनिज स्रोतमा आधारित कृत्रिम रासायन, विषादी र प्लास्टिकको अत्यधिक प्रयोगले उर्वर माटो मर्ने क्रम तीव्र छ । यसले जैविक विविधताको नाश, जलवायु परिवर्तन र सबै तहको प्रदूषणलाई तीव्र बनाउँदै लगेको छ । यो नै अहिले हामीले भोग्दै आएको विश्वव्यापी त्रि–संकट हो । 

यी संकट बेहोर्न बाध्य हुँदै आफ्नै जीवन ऊर्जाको बन्दोबस्तलाई विषाक्त बनाउने कार्य भने झन्झन् बढेको छ । मानिसको पिसाबमा पाइने युरियाको खोज र यसको कृत्रिम तरिकाले उत्पादन गर्न प्रयोगशालामा परीक्षण सफल भएसँगै सुरु भएको यो गन्तव्यहीन यात्रा निरन्तर जारी छ । 

बोटबिरुवालाई चाहिने खाद्यतत्त्व खासगरी नाइट्रोजन पुर्‍याउन कृत्रिम मलका रूपमा युरिया प्रयोग गर्न सकिने भएकाले एकातिर यसको औद्योगिक उत्पादनसँगै माटोमा कृत्रिम मल थप्दै जाने चलन बढ्यो भने अर्कोतिर यान्त्रीकरणका लागि सजिलो एकल र सफा खेतीको चलनले माटोमा जैविक गतिविधि प्रोत्साहन गर्न चाहिने प्रांगारिक पदार्थको प्रयोग निरन्तर हुँदै छ । 

यसरी घट्दै गएको प्रांगारिक पदार्थको पुनर्भरण नै निरन्तर मर्दै गरेको माटोलाई पुनर्जीवित गर्ने एक मात्र उपाय हो । माटोलाई जीवित राख्न यसमा जैविक तत्त्व पुनः भण्डारणसँगै पुनरुत्पादन, जैविक विविधता संरक्षण, पानी चक्रको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने कुराको विकल्प नै छैन । माटोको जीवन्त प्रकृति जोगाइराख्न हाम्रा पुर्खाले जैविक पदार्थ पुनर्भरण गर्ने विधि तथा व्यावहारिक तरिका अपनाउँदै आएका थिए र अहिले पनि प्रकृतिसम्मत खेतीपाती गर्ने किसानले यिनलाई उन्नत बनाउँदै आएका छन् । यी उपायलाई अहिले थपिएका उपयुक्त प्रविधिको विवेकसम्मत प्रयोगले थप परिष्कृत गरेर सतहको माटोलाई पुनः जीवित बनाउन सकिन्छ । 

बोटबिरुवा र जीवजन्तुका अवशेषलाई जतनसाथ माटोमै राख्ने व्यवस्था गरिएका क्षेत्रको माटोमा जैविक पदार्थ प्राकृतिक रूपमै पर्याप्त रहेको हुन्छ । तर अहिले आधुनिक भन्दै गरिएको औद्योगिक खेती अभ्यासमा यस्ता जैविक पदार्थ खेतबारीबाट हटाउने तर यिनलाई फेरि थप्ने विवेक नपुन्दा यो निरन्तर घट्दै गएको हो ।

यो कुराको मर्म आत्मसात् मात्र गर्ने र यस्ता जैविक पदार्थ थप्दै खेतबारीमै सड्न गल्न सघाउने जीव जस्तै, गड्यौला, अन्य कीरा तथा जीवाणुको संख्या बढाउन ध्यान पुर्‍याउन सक्ने हो भने माटोमा सूक्ष्म जीवलाई चाहिने खानेकुरा र उपयुक्त बासस्थान बनाउन सकिन्छ । उदाहरणका रूपमा खेतबारीमा उपलब्ध जैविक अवशेषजस्तै बोटबिरुवाका जरा, वन जंगल वा वरपर भएका पातपतिंगर, घरबाट निस्कने जैविक वस्तु, मौसमी हरियो मल, गोठेमल र कम्पोस्ट प्रांगारिक पदार्थका महत्त्वपूर्ण स्रोत हुन् । यीबाहेक पिना, ऊन वा कपास, मानिसको दिसापिसाबसमेत उपयोगी स्रोत हुन् ।

यसका लागि केही साधारण विधि र तरिका अपनाउन सकिन्छ । पहिलो, उपलब्ध प्रांगारिक पदार्थ हुने स्रोतको जतन गर्दै यस्ता स्रोतमा बासस्थान बनाउने मित्र जीवहरूको संरक्षण गर्ने, यिनको संख्या बढाउन जैविक ठोस तथा तरल मिश्रण तयार गर्न सकिन्छ । उदाहरणका लागि यी अवशेषलाई गड्यौलाको उपयुक्त बासस्थान बनाउन सके यिनले यस्ता स्रोतमा रहेका उनीहरूका खाना खाएर बिरुवालाई उपयोगी खाद्यतत्त्व बनाउँछन् । गड्यौलाको आफ्नै र अन्य मित्र जीवको संख्या बढाउँछन् ।

त्यसैगरी, सूक्ष्म जीवको संख्या बढाउन केही गोबर, गहुँत, सख्खर र प्रोटिन उपलब्ध हुने दालबालीको पिठो मिसाएर सजिलै झोल मल बनाउन सकिन्छ । यस्तो मललाई खेतबारीमा सिधै राख्न वा थप कम्पोस्ट बनाएर माटोमा चाहिने प्रांगारिक पदार्थका साथै बोटबिरुवालाई आवश्यक खाद्यतत्त्व माटोमा पुनर्भरण गर्न सकिन्छ । यस्ता स्रोतको उपयुक्त मिश्रण बनाउने र माटोमा जैविक गतिविधि सक्रिय बनाउने सरल विधि र तरिका विकास भएका छन् । यस्ता विधि र तरिकाका बारेमा अहिले विभिन्न सामाजिक सञ्जालमा पर्याप्त जानकारी छन् । यी जानकारीलाई आफ्नो परिवेशमा परीक्षण गर्दै थप उन्नत बनाउन सकिन्छ ।

प्रांगारिक पदार्थको पुनर्भरणसँगै यिनको पुनः उत्पादन पनि गर्नु जरुरी छ । यसका लागि सफा र एकल खेतीको साटो मिश्रित बाली तथा एकीकृत खेती प्रणाली अपनाए जीवन्त माटोको पुनरुत्पादन प्रक्रिया खेतबारीमै सुरु हुन्छ । यो पुनरुत्पादनको चक्र बिथोलिएर नै अहिले माटोको उर्वर शक्ति र उत्पादन क्षमता घट्दै गएको हो । यसलाई सच्याउने सबैभन्दा सरल विधि मिश्रित खेती हो । भटमास, मकै र फर्सीजस्ता बाली सँगसँगै लगाउन सकिन्छ ।

भटमासले मकैलाई नाइट्रोजन, मकैले भटमासलाई घामबाट बचाउने र फर्सीले माटोको चिस्यान जोगाउन छापोको काम गर्छ । फरक बालीमा लाग्ने रोगकीराको प्राकृतिक नियन्त्रण तथा यिनका अवशेषले माटोमा चाहिने प्रांगारिक पदार्थको उपयुक्त मिश्रण बन्न सघाउँछ । यो त एउटा सानो उदाहरण मात्र हो र यस्तो खेती प्रणालीले बोटविरुवाको स्याहार, खर्च र उत्पादनको जोखिमसमेत कम हुन्छ । यस्तो खेती प्रणालीले माटोको जीवन मात्र फर्काउँदैन, बोटबिरुवाको सहकार्यको दक्षता बढाई बाह्य स्रोतमा भर पर्ने बाध्यता कम गर्न सघाउँछ ।

माटोको संरक्षण र सम्वर्द्धन अर्को महत्त्वपूर्ण कार्य हो । जीवन्त माटो बन्न लामो समय लाग्छ । निरन्तरको एकल र सफा खेती प्रणालीले माटोमा रहेको खाद्यतत्त्व घट्दै जान्छ । तसर्थ माटो जीवन्त बनाउने मात्र हैन, जोगाउने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्तो माटो जोगाउन र यसको क्षयीकरण हुन नदिन, माटो तथा पानी संरक्षणका विधि र तौरतरिका अपनाउनुपर्छ ।

हावा, पानीको बेगबाट माटो क्षयीकरण हुन नदिन गह्रा, बाँध र छेकबार लगाउने, माटोमा प्रांगारिक पदार्थ बढाउँदै जैविक छापो बनाउने कार्यले माटो मात्र जोगिँदैन, चिस्यानसमेत हुन्छ । यस्तो ठाउँमा खनिज र सूक्ष्म जीवको रासायनिक तथा भौतिक गतिविधिसमेत बढ्छ । यसका लागि जैविक मल, कम्पोस्ट, छापोजस्ता विधि स्थानीय तहमै सजिलै गर्न सकिने सरल उपाय हुन । 

कस्तो माटोमा कस्ता बोटबिरुवा हुर्काउन सकिन्छ भन्ने कुरा किसानका लागि सर्वाधिक चासोको विषय हो । विविध भूगोल र वातावरणमा रहेको माटोको बनोटका आधारमा यसको गुण निर्धारण हुन्छ र यसले नै कस्तो बोटबिरुवा सजिलै हुर्काउन सकिन्छ भन्ने आकलन गर्न सकिन्छ । सामान्यतः स्थानीय रैथाने प्रजातिसँग मिल्दाजुल्दा बाली तथा बस्तुभाउ यस्तो वातावरणमा सजिलै हुर्कन्छन् भन्न सकिन्छ । साथै, अन्य बालीका लागि सानो क्षेत्रमा परीक्षण गरी हेर्न वा लामो अनुसन्धान गरी प्रमाणित भएका प्रजाति लगाउनुपर्छ । साथै अहिले माटोको गुण मापन गर्ने सरल विधि तथा प्रविधिसमेत उपलव्ध छन् । यसले आफ्नो माटो कसरी सुधार हुँदै छ, यसलाई प्रभावकारी बनाउन थप के गर्न सकिन्छ भन्ने विचार गर्न पनि सघाउँछ । 

अन्त यी सबै गर्न अपनाइने विधि र तरिका धेरै र सरल छन् । यी सरल तरिका जुनसुकै कृषि प्रणालीमा अपनाउन सकिन्छ । मुख्य कुरा यी सबै तरिका अपनाउँदा मुख्यतः माटोबाट उपलब्ध हुने तर हावामा उडेर र पानीमा घोलिएर जाने गुण भएको नाइट्रोजन तत्त्व जोगाइराख्नमा केन्द्रित हुनुपर्छ किनकि यो नै हावामा पाइने तर माटोमा हुने जैविक प्रक्रियाबाट बोटबिरुवालाई उपलब्ध हुने जैविक वृद्धिको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । यो जोगाउन अपनाउने विधि वा तरिकाले अन्य खाद्यतत्त्व माटोमा सजिलै जोगाउन सकिन्छ । 

अहिले बाह्य स्रोतबाट नाइट्रोजन दिनुपर्ने बाध्यता नै घरपालुवा खेतीपातीको मुख्य चुनौती हो । यो चुनौतीको सामना गर्न माटोमा नाइट्रोजनलगायत अन्य खाद्यतत्त्व जोगाउने प्रांगारिक पदार्थको व्यवस्थापनको विकल्प छैन । यी र यस्ता विधि र तरिका नै सतहको माटोमा जैविक पदार्थ पुनर्भरण, पुनरुत्पादन, संरक्षण र सम्वर्द्धन गर्ने उपाय पनि हुन् । यिनको अभ्यास गरेर माटो सधैंका लागि जीवन्त राख्न सकिन्छ । यो नै माटो र यसैमा आश्रित मानिस बचाउने उत्तम र अहिलेसम्मको अन्तिम उपाय हो ।

कृष्णप्रसाद पौडेल कृषिविज्ञ हुन् ।

Link copied successfully