नेपालमा स्वास्थ्य बिमा र अर्थ-राजनीति

नागरिकलाई तलब खाने, कर तिर्ने, प्रिमियम तिर्न सक्ने र नसक्ने गरी चार वर्गमा विभाजन गर्ने योजना सैद्धान्तिक रूपमा सही छ

चैत्र ४, २०८१

राजेन्द्रप्रसाद अधिकारी, डा. राजेन्द्र दुलाल

Health Insurance and Economic Politics in Nepal

अमेरिकी संसद्ले लामो बहसपछि २१ मार्च २०१० मा स्वास्थ्य सेवा सुधार विधेयक पारित गर्‍यो । तत्कालीन राष्ट्रपति बाराक ओबामाले त्यसलाई ऐतिहासिक उपलब्धि भन्दै हस्ताक्षर गरे र भने, ‘एक शताब्दीको प्रयासपछि आज अमेरिकामा स्वास्थ्य बिमा सुधार कानुन बन्दै छ ।’ 

‘ओबामा केयर’ भनेर चिनिएको त्यस कानुनले राज्यको भूमिकालाई बढाउँदै स्वास्थ्यमा पहुँच नपुगेका लाखौं बिमाविहीन नागरिकलाई बिमाको दायरामा ल्यायो । रिपब्लिकनहरूले त्यसलाई राज्यको अत्यधिक हस्तक्षेप मानेर विरोध गरे, राष्ट्रपति डोनाल्ड ट्रम्पले त आफ्नो पहिलो कार्यकालमा त्यसलाई प्रतिस्थापन गर्ने असफल प्रयास नै गरे । जसले गर्दा स्वास्थ्य नीतिसम्बन्धी विवाद चर्कायो । यस प्रसंगले स्वास्थ्य सेवाको अर्थ–राजनीतिक जटिलतालाई दर्शाउँछ । यद्यपि अमेरिकी स्वास्थ्य प्रणालीबाट हामीले सिक्ने कुरा ज्यादै न्यून छन् ।

पछिल्ला दशकमा नेपालमा खोप अभियान, मातृ–शिशु स्वास्थ्य सुधार, सरुवा रोग नियन्त्रण र आधारभूत स्वास्थ्य सेवाको विस्तारमा उल्लेखनीय प्रगति भएको छ । २०४६ पछि निजी लगानीले स्वास्थ्य सेवाको विस्तार र गुणस्तर सुधारमा योगदान गरे पनि खर्चिलो उपचारका कारण निम्न वर्गको पहुँच भने सीमित छ ।

समाजवाद उन्मुख राज्य व्यवस्था भनिए पनि स्वास्थ्य क्षेत्रको व्यापारीकरण र नीति निर्माणमा समेत निजी क्षेत्रको प्रभावले स्वास्थ्य प्रणाली झन् जटिल बन्दै गएको छ । दूरदराजमा सेवा अभाव, विपन्न वर्गले उपचार खर्च धान्न नसक्नु, बदलिँदो जीवनशैलीले क्यान्सर, मुटुरोगजस्ता समस्या बढ्दै जाँदा उपचार महँगो र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न कठिन पनि हुँदै गएको छ । 

यस्तो अवस्थामा नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न २०७२ सालमा सुरु गरिएको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको सबैतिरबाट प्रशंसा भएको थियो । स्वास्थ्य बिमा बोर्डमार्फत व्यवस्थापन गरिने यो कार्यक्रम कैलालीबाट सुरु गरिएकामा अहिले ७७ वटै जिल्लामा लागू भइसकेको छ । यस कार्यक्रमअन्तर्गत प्रतिपरिवार (५ जनासम्म) ले वार्षिक ३ हजार ५ सय तिर्दा अधिकतम १ लाख रुपैयाँसम्मको सेवा पाउन सकिन्छ । यो सेवा ४८२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपलब्ध छ ।

स्वास्थ्य बिमाका मुख्य आर्थिक सिद्धान्त भनेका जोखिम बाँडफाँट (रिस्क पुलिङ) र जोखिम विमुखता (रिस्क एभरसन) हुन् । जोखिम बाँडफाँटअन्तर्गत धेरै व्यक्तिले बिमा प्रिमियम तिरेर सामूहिक रूपमा स्वास्थ्य खर्च साझा गर्छन्, जसले वित्तीय जोखिम कम गर्छ । जोखिम विमुखताका कारण मानिसहरू अनिश्चित भविष्यको स्वास्थ्य खर्चबाट जोगिन बिमा खरिद गर्न चाहन्छन् । विश्वभर सफल मानिएका अधिकांश स्वास्थ्य प्रणालीमा अनिवार्य बिमा, सर्वसुलभ पहुँच, गुणस्तरीय सेवा, पर्याप्त वित्तीय सुरक्षा तथा प्रभावकारी स्वास्थ्य पूर्वाधार र जनशक्ति प्रमुख छन् । 

डा. इजेकियल जे. इम्यानुएलले ‘कुन देशको स्वास्थ्य सेवा संसारमा सबैभन्दा राम्रो छ ?’ भन्ने पुस्तकमा विकसित देशमध्ये जर्मनीको स्वास्थ्य प्रणाली उत्कृष्टमध्ये एक भएको बताएका छन् । कम आय भएका थोरै देशमध्ये, रुवान्डाले करिब ९० प्रतिशत जनसंख्यालाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ । सीमित आर्थिक स्रोत भए पनि प्राथमिक स्वास्थ्य सेवा र प्रभावकारी रोगनिवारण उपायमा जोड दिँदै आममानिसलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाले क्युबाको स्वास्थ्य सेवा पनि उत्कृष्टमध्येमा चर्चा गरिन्छ । 

डानी रोड्रिकको ‘वन इकोनोमिक्स, मेनी रेसिपिज’ पुस्तकमा सुझाव दिएझैं स्वास्थ्य क्षेत्रको अर्थ–राजनीतिक सिद्धान्त समान भए पनि सफल कार्यान्वयनका लागि प्रत्येक देशको विशिष्ट आर्थिक, राजनीतिक र सामाजिक अवस्थाअनुसार रणनीति अपनाउनुपर्ने हुन्छ ।

हाम्रो स्वास्थ्य बिमाको अनुभवलाई हेर्ने हो भने समयमै भुक्तानी दिन नसक्नु, सीमित स्वास्थ्य संस्थाबाट मात्रै सेवा प्रवाह हुँदा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन । झन्झटिलो प्रक्रिया, औषधि उपलब्ध नहुनु र बेलाबेलामा सेवा नै बन्द हुनु जस्ता कारणले एकातिर बिमाको नवीकरण दर विसं. २०७७/७८ मा ७५ रहेकामा २०७९/८० मा ५३ प्रतिशतमा झरेको छ । भुक्तानी गर्नुपर्ने बक्यौता रकम १५ अर्ब नाघिसकेको छ ।

एडीबीले नेपालको स्वास्थ्य बिमाबारे गरेको अध्ययनअनुसार बिमा अनिवार्य नभएकाले करिब २१ प्रतिशत व्यक्ति मात्र बिमित छन्, जसमा अधिकांश रोगी छन् र झन्डै ४० प्रतिशत बिमितले उपचार सेवा लिएका छन् । यसले सरकारको वित्तीय जोखिम उल्टै बढाएको छ । अर्कोतर्फ, सीमित स्वास्थ्य संस्थाबाट मात्र सेवा उपलब्ध गराइएकाले बिरामीले लामो दूरी यात्रा गर्नुपर्ने, यातायात, होटल, लजमा बस्नुपर्ने र रिफरल प्रक्रियामा अनेक झन्झट बेहोर्नुपर्ने अवस्थाका कारण निम्न वर्गलाई थप आर्थिक बोझ पर्न गएको छ । 

हाम्रो साधनस्रोतको अवस्था के कस्तो छ भन्ने राम्रोसित ख्यालै नगरी स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍याउने कुरा गर्दा स्वास्थ्यमन्त्रीको खुबै तारिफ भयो । तर वास्तविक अवस्थालाई बुझिसकेपछि भुक्तानी सम्भव नरहेको र यो कार्यक्रम नै बन्द हुन सक्ने बताएपछि उनै मन्त्रीको चर्को आलोचना पनि सुरु भएको छ । 

हाल देशभरका धेरै स्वास्थ्य संस्थाले भुक्तानीकै कारण बिमा कार्यक्रम स्थगित गरेका छन् । कतिपय स्थगित गर्ने प्रक्रियामा छन् । कमजोर व्यवस्थापन र स्वास्थ्य बिमाको जटिलता आकलन गर्न नसक्दा राम्रै उद्देश्यका साथ लागू गरिएको यो राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम एक दशक नपुग्दै असफल हुन सक्ने आशंका उब्जिएको छ । तर, सुधार गर्नै नसकिने तहमा भने पुगिसकेको छैन ।

सरकारी स्वास्थ्य बिमा अनिवार्य गर्दै सामाजिक सुरक्षाअन्तर्गतका अन्य सबै उपचार सुविधाका कार्यक्रमलाई एउटै प्रणालीमा एकीकृत गरेर पनि यसमा केही सुधार गर्न सकिन्छ । यसबाट स्वास्थ्य सेवा पहुँचयोग्य बन्नुका साथै जोखिम साझेदारी सिद्धान्तअनुसार व्यक्तिगत योगदान घट्ने र सरकारको स्वास्थ्य खर्च कम हुनुका साथै अनावश्यक प्रशासकीय झन्झट र लागतसमेत कम गर्न सकिन्छ । 

हामीले केही सफल स्वास्थ्य प्रणालीमा जस्तै १० प्रतिशतभन्दा बढी नहुने गरी पूरक निजी बिमाको व्यवस्था गर्न सकिन्छ, जसले सार्वजनिक खर्च घटाउनुका साथै व्यक्तिलाई स्वास्थ्य सेवामा केही हदसम्म रोजाइको स्वतन्त्रता दिनेछ । तर, यसमा निजी बिमा लिनेका लागि सरकारी युनिभर्सल हेल्थ बिमा अनिवार्य गर्ने र निजी क्षेत्रलाई हावी हुन नदिनेतर्फ भने ध्यान दिनु जरुरी छ । 

सफल युनिभर्सल हेल्थ केयर मोडेल अपनाएका देशहरूमा रोजगारदाता, श्रमिक, सरकार तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत बिमा कोषको कुशल व्यवस्थापन गरिएको पाइन्छ । जस्तै, जर्मनीको ‘सिकनेस फन्ड’ संघीय बिमा प्राधिकरणद्वारा प्रशासित छ भने रुवान्डामा सामाजिक सुरक्षा बोर्डले ‘मुतुएल दे सान्ते’ सञ्चालन गर्छ । 

हाम्रा स्वास्थ्यमन्त्रीले अघि सारेको सुरक्षित बिमासम्बन्धी नयाँ मस्यौदाबारेको प्रस्तावमा यस आवश्यकतालाई महसुस गरेको पाइन्छ । नागरिकलाई तलब खाने, कर तिर्ने, प्रिमियम तिर्न सक्ने र नसक्ने गरी चार वर्गमा विभाजन गर्ने योजना सैद्धान्तिक रूपमा सही छ तर व्यावहारिक चुनौती भने हल गर्न सक्नुपर्छ । मुख्यतः आवश्यक तथ्यांकको अभावले यी वर्ग स्पष्ट रूपमा छुट्याउन कठिन छ । यदि वडा कार्यालयकै मूल्यांकनमा भर पर्नुपर्‍यो भने चाहिँ धेरै नागरिक प्रिमियम तिर्न नसक्ने समूहमा पर्न सक्छन्, जसले राज्यलाई ठूलो वित्तीय बोझ पार्न सक्छ । 

पछिल्लो बजेटमा स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको ४.६ प्रतिशत रकम युनिभर्सल हेल्थ केयर प्रणाली भएका देशको तुलनामा निकै कम हो । यसबाट हाम्रो स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको सहजै बुझ्न सकिन्छ । हाम्रोजस्तो सीमित औपचारिक रोजगारी र बन्द व्यापार भएको देशमा बिमा कोषमा राज्यको भूमिका प्रमुख रहन्छ । एकातिर, वैदेशिक सहायतामा गिरावट र आन्तरिक कर संकलनमा कमीले आर्थिक स्रोत संकुचित बन्दै गएको र अर्कोतिर सार्वजनिक वित्तको दुरुपयोग बढ्दै गएको अवस्थामा अनावश्यक खर्च कटौती अनिवार्य भइसकेको छ । औषधिको मूल्य नियन्त्रणका लागि अस्ट्रेलिया, नर्वे र श्रीलंकाको सफल अनुभवबाट सिक्न सकिन्छ । प्राथमिक उपचारको प्रभावकारी रणनीति रुवान्डा, श्रीलंका र क्युबाको काम लाग्न सक्छ । 

बिमित व्यक्तिले अनावश्यक सेवा प्रयोग गर्न वा अस्वस्थ जीवनशैली अपनाउन सक्ने, उपचार क्रममा बिमाले तिरिहाल्छ भन्ने सोच राखेर बिरामी तथा स्वास्थ्यकर्मी मितव्ययी नबनिदिने सम्भावना हुन्छ, जसलाई नैतिक जोखिम (मोरल ह्याजार्ड) भनिन्छ । यसलाई न्यूनीकरण गर्न सहभुक्तान (कोपे) र कटौतीयोग्य रकम (डिडक्टिबल) लागू गर्ने, स्वास्थ्य सचेतना बढाउने र सेलिब्रिटीहरूलाई संलग्न गरी स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने जस्ता उपाय अपनाउँदा प्रभावकारी हुन सक्छन् ।

जनशक्तिको उचित व्यवस्थापनमार्फत पनि स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै क्षेत्रीय असमानता न्यूनीकरण गर्न सकिन्छ । टेलिमेडिसिन र मोबाइल स्वास्थ्य सेवा विस्तार गर्दै दुर्गम क्षेत्रमा सहजै पहुँच पुर्‍याउन सकिन्छ । अस्पताल तथा डाक्टरको स्टार रेटिङ प्रणाली लागू गरी उत्कृष्ट सेवा दिने संस्थालाई वित्तीय र प्रविधिगत स्रोतले प्रोत्साहन, स्वास्थ्य पूर्वाधार सुधारका लागि स्थानीय सरकारका स्रोत तथा दान उपयोग, दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई थप भत्ता, सुविधा र सुरक्षाको ग्यारेन्टी आदि गर्न सकिन्छ ।

अन्त्यमा, संविधानमै समाजवाद उन्मुख भनिएको राज्यले लागू गरेको राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट पछि हट्नु राजनीतिक वा संवैधानिक रूपमा कठिन देखिन्छ । त्यसैले, यसलाई जस–अपजसको राजनीतिक मुद्दा बनाउनु भएन । वित्तीय स्रोतको भरपर्दो व्यवस्थालगायतका मुख्य चुनौतीको समाधानमा बृहत् अध्ययन र छलफल चलाउनु जरुरी छ । साथै सबै सरोकारवाला पक्षबीच सहमति जुटाएर कार्यक्रमलाई निरन्तरता दिन सकियो भने सबै नागरिकलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्न सकिनेछ ।

राजेन्द्रप्रसाद अधिकारी त्रिभुवन विश्वविद्यालयमा इकोनोफिजिक्स अध्यापन गराउँछन्।

डा. दुलाल अमेरिकाको ब्लुम्सबर्ग विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गराउँछन्।

Link copied successfully