भाइरल मोहले विकृत अनलाइन स्पेस 

यदि तपाईंले सामाजिक सञ्जाल चलाउनुहुन्छ भने धेरैले हेरेका ती भाइरल सामग्री तपाईंको वालमा आफैं आइदिन्छन् अनि कम्तीमा स्क्रोल डाउन गरुन्जेल त त्यसलाई हेर्न तपाई बाध्य हुनुपर्छ । त्यसैले जबसम्म सोसल मिडियामा बल्छी थाप्ने भाइरलको जरो सुक्दैन, तबसम्म बालबालिकादेखि वृद्धवृद्धासम्मका आम इन्टरनेट प्रयोगकर्ता त्यसको सिकार भइरहनुपर्दछ ।

चैत्र ४, २०८१

मीना मरासिनी

An online space warped by viral fascination

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमबाट उपलब्ध गराएको सुविधा र विधि अनुरूप कुनै व्यक्ति, समूह र संस्थालाई एकअर्कासँग अन्तर्क्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायतका सञ्जाललाई सामाजिक सञ्जालका रूपमा परिभाषित गरेको छ ।

आपसमा जोडिन, संवाद र बहस गर्न, आफ्नो विचार तथा अभिव्यक्तिको प्रकटीकरणका लागि मात्र नभई आय तथा व्यवसायकै रूपमा पनि पछिल्लो समयमा सामाजिक सञ्जालहरूको उपयोगको दर निरन्तर बढिरहेको छ ।

बोल्न पाउने जनताको हक तथा स्वतन्त्रता कुण्ठित भएका विश्वका सीमित मुलुकहरूमा बाहेक लोकतान्त्रिक अभ्यास भएका देशहरूमा अनलाइन स्पेसहरू आम प्रयोगकर्ताका लागि निर्बाध रूपमा उपलब्ध छन् । फेसबुक, एक्स, इन्स्टाग्राम जस्ता सोसल मिडिया तथा टिकटक वा युट्युब जस्ता भिडियो स्ट्रिमिङ प्लाटफर्महरू अत्यधिक लोकप्रिय बनिरहेका छन् । 

सबै वर्ग, लैंगिकता, उमेर र क्षेत्रका मानिसहरूको साझा तथा सर्वव्यापक मञ्चका रूपमा इन्टरनेट सामाजिक सञ्जालहरूको व्यापकता बढ्दै जाँदा यसको नियमन, जोखिमको न्यूनीकरण, खराब पक्षहरूको नियन्त्रण जस्ता विषयहरू पेचिलो बन्दै गएका छन् । इन्टरनेट प्लाटफर्ममा पछिल्लो पुस्ता लोभिँदै जाँदा धेरैका लागि फेसबुक, युट्युब तथा टिकटकहरू चर्चा, प्रचार र आयको माध्यम पनि बनिरहेका छन् । अर्कोतर्फ इन्टरनेटको दुनियाँमा नाम र दाम कमाउने ध्याउन्नमा सोसल मिडियामा विकृति र अश्लीलताको बाढी नै आउन थालेको छ । 

इन्टरनेटको दुनियाँमा, खासगरी सामाजिक सञ्जालमा ‘भाइरल’ निकै चल्तीको शब्द हो, जसले इन्टरनेटको कुनै पनि सामग्री निकै छोटो समयमा धेरै पाठक, दर्शक वा श्रोतामाझ फैलिनु अर्थात् रातारात लोकप्रिय हुनु भन्ने बुझाउँछ । रातारात लोकप्रिय हुने यही भूतले अहिलेका किशोरकिशोरी तथा युवायुवती मात्र होइन, हरेक उमेर समूहका मानिसहरूलाई गाँजेको छ । टिकटक लाइभमा चर्चा र पैसा कमाउनका लागि गरिने अश्लील तथा आपत्तिजनक हर्कत तथा फेसबुक र युट्युबमा देखाइने चर्तिकला छिटै भाइरल बन्ने महत्त्वाकांक्षाका परिणति हुन् । 

गलत तथा भ्रामक सूचना (मिस–इन्फर्मेसन तथा डिस–इन्फर्मेसन) फैलाउने, व्यक्तिगत गोपनीयता, समाजको परम्परा, संस्कार तथा सामाजिक एकता र जातीय वा साम्प्रदायिक संवेदनशीलतामाथि खेलवाड गर्ने, अश्लीलता प्रवर्द्धन गर्ने तथा समाजसेवाका नाममा सामाजिक सञ्जाललाई मागिखाने भाँडो बनाउने प्रवृत्तिहरूले सोसल मिडिया प्लाटफर्महरूलाई दूषित तथा घातक बनाउँदै लगेका छन् । यसले व्यक्ति, समाज तथा सरकारको आधारभूत मूल्यमाथि नै चुनौती खडा गरिदिएको छ । फलतः यस्ता सामाजिक सञ्जालहरूको कडा नियमन गर्नुपर्ने तथा सामाजिक सञ्जालमा हुने गलत क्रियाकलापप्रति सख्त रबैया अपनाउनुपर्ने माग उठ्ने गरेका छन् । 

सामाजिक सञ्जालकै कारण गलत हल्ला, अफवाह, घृणा, अश्लीलता, सामाजिक तथा पारिवारिक द्वन्द्वमा वृद्धि हुनुका साथै साइबर अपराधका घटनाहरूसमेत बढिरहेका छन् । यस्ता प्लाटफर्महरूको नियमनका लागि सम्बन्धित कम्पनीहरूलाई नेपालमा अनिवार्य रूपमा दर्ता गरी सामग्रीहरूको नियमन गर्ने प्रयास सरकारले गरेको भए पनि अधिकांश सोसल मिडिया साइटहरू नेपालमा दर्ता नै नभई र करसमेत नतिरी सञ्चालन भइरहेका छन् ।

सोसल मिडिया अकाउन्ट ह्याक हुने, अन्य साइबर ठगी हुने, गोपनीयता हनन वा सार्वजनिक बेइज्जती गर्ने गरी पोस्ट गर्ने, ब्लाकमेल गर्ने जस्ता विभिन्न प्रकारका अपराधहरूबाट पीडित हुनेहरूका उजुरी उल्लेख्य मात्रामा बढिरहेको भए पनि सम्बन्धित सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा सूचीकृत नहुँदा त्यसको नियन्त्रण तथा प्रभावकारी कारबाही हुन सकिरहेको छैन । 

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, विगतमा टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवाको कार्य सामाजिक सञ्जाल व्यवस्थित गर्नेभन्दा पनि राजनीतिक लाभहानिको विषयमा सीमित बन्नु, सोसल मिडिया प्लाटफर्म कम्पनीहरूलाई जिम्मेवार बनाउन नसक्ने तर डिजिटल साक्षरता कम भएका आम सर्वसाधारण प्रयोगकर्तालाई चाहिँ कानुनी डन्डा देखाएर तर्साउने जस्ता कार्यले गर्दा अनलाइन स्पेसको सर्वाधिक चलायमान विधाका रूपमा रहेको सामाजिक सञ्जाल नेपालमा दिन प्रतिदिन अव्यवस्थित र जटिल पनि बन्दै गएको छ ।

वास्तवमा इन्टरनेटमा स्वच्छन्दता तथा स्वतन्त्रताले बेलाबखत हद पार गरेको हो कि जस्तो पनि अनुभूति हुन्छ । फेसबुकमा भाइरल बन्ने धन्दामा लागेकामध्ये धेरै नामका पछाडि कुदिरहेका जमात हुन् । तर टिकटक तथा युट्युबमा चाहिँ नाम र दाम दुवैको धन्दा चल्ने गरेको छ । युट्युबमा विज्ञापन तथा टिकटकमा उपहारमार्फत पैसा कमाउनका लागि युट्युब भिडियो, सर्टस्, टिकटक लाइभ तथा टिकटक भिडियोमार्फत उत्तेजनात्मक, समाजले पचाउन नसक्ने, अफवाहपूर्ण तथा अश्लील गतिविधि गर्ने गरेको पाइन्छ । यसरी अश्लीलता तथा उत्तेजनाको व्यापार गरेर नाम र दाम कमाउने ध्याउन्नमा लागेका युवायुवतीहरू देख्दा साँच्चिकै हाम्रो समाजको दारुण चित्र प्रकट हुन्छ । 

विद्युतीय कारोबार ऐनअनुसार नेपालमा पोनोग्राफी प्रतिबन्धित छ तर फेसबुक तथा युट्युबको प्लाटफर्ममा फैलिएका यस्ता ‘सफ्टपोर्न’लाई लगाम लगाउने निकाय नेपालमा देखिएको छैन । भिडियो पत्रकारिताको शैलीमा विभिन्न नाउँमा खुलेका युट्युब च्यानलहरूले खुलेआम अश्लीलताको व्यापार गरिरहँदा तथा समाजमा विकृति फैलाउँदासमेत राज्यले त्यसमाथि ध्यान दिन सकेको छैन । टिकटक लाइभमा हुने खुलेआम धन्दा तथा अश्लीलताको व्यापार राज्यको नियमनकारी निकायको नजरमा पर्न सकेको छैन ।

अनलाइन समाचार मिडियाहरू मूलधारे पत्रकारिताको फ्रेमवर्कभित्र आइसकेको र जिम्मेवार पत्रकारिताका लागि आचारसंहिताले बाँधिसकिएको अवस्थामा पत्रकारिताको खोल ओढेर च्याउसरी उम्रिएका भिडियो च्यानलहरूको इन्टरनेटमा जबरजस्त उपस्थिति, युवापुस्ताबीच फैलिरहेको प्रभाव, सेन्सरबिनाका विकृत सामग्री तथा नियमनबिनाको अन्तर्राष्ट्रिय कारोबारलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन । अन्य व्यक्तिका अश्लील फोटो तथा भिडियो इन्टरनेटमा सार्वजनिक गरिदिनेलाई साइबर अपराधमा मुद्दा हालेको कहिलेकाहीं समाचार सुन्न पाइन्छ । तर आफैंले आफ्नै अश्लीलताको व्यापार गर्ने ‘कथित सोसल मिडिया स्टारहरू’ माथि कानुनको डन्डा चलाएको अहिलेसम्म सुनिएको छैन । 

हो, तपाईं हामीलाई इन्टरनेटमा चाहेको कुरा छानेर हेर्ने र मन नपर्ने कुरा नहेर्ने स्वतन्त्रता छ । तर इन्टरनेट जगत्मा हामीले चाहेजस्तो कहाँ हुन्छ र ? सामाजिक सञ्जालको अल्गोरिदमले तपाईं हामीलाई चाहेर पनि त्यस्ता भाइरल कन्टेन्टबाट छुटकारा दिँदैन ।

यदि तपाईंले सामाजिक सञ्जाल चलाउनुहुन्छ भने धेरैले हेरेका ती भाइरल सामग्री तपाईंको वालमा आफैं आइदिन्छन् अनि कम्तीमा स्क्रोल डाउन गरुन्जेल त त्यसलाई हेर्न तपाई बाध्य हुनुपर्छ । त्यसैले जबसम्म सोसल मिडियामा बल्छी थाप्ने भाइरलको जरो सुक्दैन, तबसम्म बालबालिकादेखि वृद्धवृद्धासम्मका आम इन्टरनेट प्रयोगकर्ता त्यसको सिकार भइरहनुपर्दछ । अतः समाजमा इन्टरनेट तथा स्मार्टफोनको ‘पेनिट्रेसन’ सँगै अनलाइन स्पेसमा बढिरहेको भद्दा सामग्रीहरूको दुर्गन्धलाई ख्याल गर्नैपर्छ ।

मीना

Link copied successfully