आफ्ना पेसा, व्यवसाय र दैनिकीलाई जोखिममा राखेर लोकतन्त्र वा गणतन्त्रको महायज्ञमा होमिएको बौद्धिक वर्ग वा नागरिक समाज आज मूर्च्छित र लज्जित अवस्थामा छ
कथित राजावादीको शक्ति प्रदर्शन र गणतन्त्रवादी दलका नेताहरूको वादविवादबाटै कुरा सुरु गरौं । तर्क र बहस जताबाट जसरी पनि गर्न सकिन्छ । एउटै वस्तु घटना र विषयलाई फरक–फरक अवस्थामा रहेका व्यक्तिहरूले भिन्नभिन्न ढंगले विश्लेषण र सम्प्रेषण गर्छन् । जस्तो कि, छ महिनाअघि सत्तामा हुनेले आफ्नो कार्यकाललाई कल्पनाको रामराज्य थियो र भ्रष्टाचार, बेथिति केही थिएन तर अहिलेको सरकारको चालक सिटमै बिचौलिया छन् भन्छ ।
अहिलेको सारा निराशाको परिणाम ६ महिनाअघि गठन भएको यही सरकार हो भन्छ । अनि त्यसको ठीक विपरीतको दाबी अहिलेका सत्तासीनहरूले गर्छन् । अनि फेरि अहिलेको प्रतिपक्ष सत्तापक्ष भयो भने उही चक्रको बहस प्रारम्भ हुन्छ ।
संविधान संशोधनको बहस होस् वा निर्वाचन प्रणालीको, अन्तरपार्टी जनवादको विषय होस् वा नेतृत्वको पुस्तान्तरणको सबै प्रायः तर्क र बहसहरू आफू कुन पोजिसन वा पदीय हैसियतमा बसेको छु भन्ने आधारबाट निर्देशित भएका देखिन्छन् । समसामयिक नेपाली राजनीतिमा निराशाको बीउ यस्तैखाले तर्क र बहसले छर्ने गरेका छन् । त्यस्तो तर्क र बहसमा सामेल पात्र वा वक्ताले पनि यो कुरा नबुझेको होला भन्न सकिन्न । तर उसले त्यसो नगर्दा उसको सुरक्षित अर्को मार्ग पनि हुँदैन । तसर्थ ऊ मेरो कुरा जनताले पत्याउन वा नपत्याउन बोल्नै पर्छ भन्ने बाध्यताको बीचबाट बोलिरहेको हुन्छ ।
वस्तु, घटना र विषयलाई हेर्ने दार्शनिक, सैद्धान्तिक र राजनीतिक आधार बिर्सेर वा मुलुक जनता र राजनीति जेसुकै होस् म र मेरो पदीय हैसियत बचे पुग्छ भन्ने लाचारीपनले आजका बहसहरू स्वार्थ केन्द्रित भएका छन् । परिणामस्वरूप समाज पनि त्यस्तै भएको छ । विचार र राजनीति शून्यताको बहसले उत्पादन गर्ने नेता र कार्यकर्ताहरू पनि क्रमशः विचारशून्य हुँदै गएका छन् । राजनीतिमा लाग्नु भनेको यति वर्षमा यो पद वा अवसर प्राप्त गर्नका लागि हो भन्ने कुरा भाष्यका रूपमा मात्र होइन, मान्यताकै रूपमा स्थापित गर्ने/गराउने कोसिस भइरहेको छ । समाजको रूपान्तरण, वैश्विक पुँजीवादले सिर्जना गरेका चुनौतीहरूसँग लड्ने विषय, विज्ञान र प्रविधिको प्रयोगले ल्याएको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले तीव्र गतिमा विकास गरिरहेको परिवेशबाट मुलुकले गर्नुर्पर्ने तयारी र होसियारी, बदलिँदो विश्व भू–राजनीतिजस्ता गहन विषयका छलफल, अन्तरक्रिया र विमर्शहरू राजनीतिक दलको वडादेखि केन्द्रसम्ममा बहसको विषय किन बन्दैनन् ? किनकि, आज नेपाली राजनीतिमा या लोकप्रियतावाद या सरकारवाद, प्रतिपक्षवाद हाबी छ । मुलुकलाई विचारविहीन स्वार्थको झुन्डका रूपमा निराशा र दृष्टिकोणविहीन ढंगले अगाडि बढाउने कोसिस भइरहेको छ ।
समकालीन नेपाली राजनीतिका चर्चित विषयवस्तुहरू यही गन्जागोल, उकुसमुकुस र दृष्टिकोणविहीन भुमरीमा रुमलिएको जस्तो लाग्छ । यो गन्जागोल र दृष्टिकोण शून्यताको भुमरीमा प्रतिगमनको घोडा सवार गराउन सकिन्छ कि भनेर मरेको घोडालाई सिंगारपटार पार्ने प्रयास गरिएका छन् । प्रयास गर्नेहरूको एउटा झुन्ड र मरेको घोडा कसरी हिँड्दो रहेछ भनेर अचम्म मानेर सडकको दायाँ–बाँया बसेर रमित हेर्नेहरूको अर्को झुन्ड मिसिएपछि राजतन्त्र पुनःस्थापनाको साइत हेरेर तिथि–मिति जुराउने घोषणा पनि गरिँदै छ ।
राजतन्त्र फर्काउन दौरा–सुरुवाल र छातीमा अस्तित्वविहीन श्रीपेचको प्रतीक लगाएका राजावादीहरूलाई लागेको छ कि, नेपाली जनता चेतनाशून्य पिण्ड हुन् र तिनको आँखा छलेर सजिलै राजतन्त्र फर्काउन सकिन्छ ।
राजावादीहरूले राजा चाहिन्छ र ल्याइन्छ भन्नु कुन ठूलो कुरो हो र ? नेपाली जनताको शान्तिपूर्ण जनक्रान्तिले राजतन्त्र फाल्दा वा यो संविधान जारी हुँदाका बखत राजावादीको ताकत थिएन । ती सुसुप्त थिए । तर त्यत्रो जनक्रान्तिले फालेको राजतन्त्र आज किन ब्युँत्याउने दुस्प्रयास गर्दै छ ? वा तिनको ताकत किन बौरिन खोज्दै छ ? बहसको विषयचाहिँ यो हुनुपर्ने हो । अनि राजावादीहरूले गरेको एक दिनको जुलुस प्रदर्शनको विषयलाई लिएर राजावादीभन्दा ज्यादा गणतन्त्रवादीमाथि जनआक्रोश किन बढिरहेको छ ? यो समग्र पक्षको राजनीतिक र सामाजिक स्तरमा पनि विहंगम विमर्श गरिएन भने राजावादीहरूको ताकत बौरिने चरणसम्म
पुग्न सक्छ । तर अहिले नै राजावादीको ताकत बौरिइसक्यो भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ । वैज्ञानिक र स्थापित आँकडाले भन्छ, अहिले पनि राजावादीको जनमत १० प्रतिशत पुगेको छैन यसर्थ त्यो मूर्च्छित अवस्थामै छ ।
जनक्रान्ति पक्षधर वाम राजनीतिक दलहरूमा आएको विभाजन, अविभाजित भनिएको नेपाली कांग्रेसभित्रको चरम गुटबन्दीले हुर्मत लिएको जनमत अनि रूपान्तरणका मुद्दा छायामा पारिएको मलिलो भूमिमा गत निर्वाचनमा पपुलिजमले केही स्थान लियो । नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्यो । विचार र दृष्टिकोणविहीनता अनि रहश्यमय शक्ति र स्रोतको आडमा जन्मेको त्यो पपुलिजम हुर्कन र बढ्न सक्ने कुनै दार्शनिक, सैद्धान्तिक र राजनीतिक आधार थिएन । परिणामस्वरूप त्यो जसरी जन्मियो त्यसरी नै क्रमशः विघटनको संघारमा पुगेको छ वा त्यसले पनि प्रतिगमनसँग सहकार्य गरेर आफ्नो घुम्टो खोल्नेछ । जे भए पनि, पपुलिजम अब हस्तक्षेपकारी शक्तिका रूपमा विकास हुने आधार देखिँदैन ।
मुख्य राजनीतिक दलहरूको पार्टी सञ्चालन विधि, तिनका योजना, संगठन संयन्त्र र कार्यकर्ता उत्पादन वा नेतृत्वको विकास अनि चुनावदेखि चुनावसम्मको यात्रा र नियुक्तिदेखि मनोनयनसम्म मात्र कैद भएको यो परिवेशमा राजावादीहरूले आफ्नो स्पेस बढाउने प्रयत्न गरे । स्वयम् गणतन्त्रवादी कित्ताका बौद्धिक जमातवाट वा नागरिक समाजबाट त्यसको प्रतिवाद गर्नुको साटो गणतन्त्रवादी नेताहरूमाथि नै प्रहार हुनु भनेको चाहिँ डरलाग्दो प्रवृत्ति र चिन्ताको विषय हो ।
४० वा ६० को दशकमा भएका विशाल जनक्रान्तिमा वैचारिक वा भौतिक रूपले गुप्त वा खुल्ला रूपमा बहुदलीय व्यवस्था, गणतन्त्र वा लोकतन्त्रको पक्षमा आफ्ना पेसा व्यवसाय र दैनिकीलाई जोखिममा राखेर लोकतन्त्र वा गणतन्त्रको महायज्ञमा होमिएको बौद्धिक वर्ग वा नागरिक समाज आज मूर्च्छित र लज्जित अवस्थामा छ । यही अवस्थाको भावभूमिबाट प्रतिगमनले टाउको उठाउने दुःस्वप्न देखिरहेको छ । जुन देशमा बौद्धक वर्गको स्पेस खुम्च्याइन्छ, त्यो देशले रूपान्तरण र अग्रगमनको बाटो हिँड्न सक्दैन ।
जहाँ बौद्धिकस्तरको बहस विमर्श र अनुसन्धान गरिन्छ, त्यहाँ बौद्धिकजगत्को उन्नयन हुन्छ । त्यसको प्रतिफल राजनीतिको पुस्तौंपुस्ताले प्राप्त गर्न सक्छ । राजनीतिक दलका औपचारिक संयन्त्र, जनसंगठन, नियुक्ति, मनोनयन, निर्वाचन र अन्य अवसरहरूमा बौद्धिकताको कुनै कदर गरिँदैन । तिनका विचार र अनुसन्धानले कुनै स्थान पाउँदैनन् भने त्यस्तो अवस्थामा बौद्धिकजगत्का सामु तीनवटा विकल्प हुन्छन्– विदेश पलायन, निष्क्रियता वा भक्तिगानमा लामबद्धता ।
अहिले नेपालका प्रायः सबै बौद्धिकहरूमा राजनीतिक निष्क्रियताको मात्रा अधिकतर बढेर गएको देखिन्छ र सबै दलनिकट बौद्धिक वर्ग आफ्नै दल र नेताप्रति आक्रोशित देखिन्छन् । रूपान्तरण र अग्रगमनको कित्तामै उभिएका प्रायः सबै बुद्धिजीवी वर्गमा एकैसाथ देखा परेको यो लक्षण ‘बौद्धिक सिन्ड्रोम’ हो ।
राजनीतिक निष्क्रियता बढेपछि स्वाभाविक आक्रोशको मात्रा बढ्छ । त्यसैको परिणाम हो, आफैंले ल्याएको गणतन्त्रमाथि प्रतिगमनको कित्ताबाट प्रहार हुँदा पनि सबै दलनिकटका बौद्धिक वर्ग या त निष्क्रिय या स्वयं गणतन्त्रवादी दलका नेताविरुद्धको प्रहारमा निरन्तर लागिरहेको देखिन्छ । यो ‘बौद्धिक सिन्ड्रोम’ को अवस्थामा तत्काल परिवर्तन गर्न गणतन्त्रवादी दलहरू सक्षम भएनन् भने त्यसको फाइदा स्वतः व्यवस्थाविरोधी शक्तिले प्राप्त गर्नेछ ।
अहिले देखिएको ‘बौद्धिक सिन्ड्रोम’ का कारणहरू समान छन् । गणतन्त्र पक्षधर दलसँग निकट बौद्धिक वर्ग अहिले करिब किनारीकृत अवस्थामा देखिन्छन् । यसका प्रमुख दुई कारण हुन सक्छन् । एक, उनीहरूको बौद्धिकताको कदर नभएको महसुस हुनु । अर्को, दलहरू जेजसरी चलेका वा चलाइका छन् त्यसमा बौद्धिक वर्ग सन्तुष्ट नहुनु । बौद्धिकहरू स्वभावैले बहस, विमर्श र वाद प्रतिवादमा रमाउँछन् । उनीहरू आलोचनात्मक दृष्टिकोण राख्दछन् । तथ्यद्वारा सत्य स्थापित भएको मन पराउँछन् । त्यसैगरी आफ्नो बौद्धिकताको कदर भएको, उनीहरूसँग पर्याप्त राय परामर्श गरिएको, बौद्धिकताले उत्पादन गर्ने ज्ञानको उपयोग भएको वा त्यस्तो ज्ञानको सम्मान गरिएको, सामाजिक रूपान्तरणका नीति, योजना कार्यक्रम र अवसरमा सहभागी गराइएको उनीहरू रुचाउँछन् । त्यस्तै, दलभित्रको अन्तरपार्टी लोकतन्त्र फस्टाएको, दल र समाजको सम्बन्ध सुमधुर भएको, दलका नेता कार्यकर्ताहरू बौद्धिकजगत् र समाजले पचाउन सक्ने आचरण र क्षमता भएका, दलभित्र फरक मत राखेबापत् कारबाहीको भागिदार बन्नु नपर्ने कुराको प्रत्याभूति हुँदा बौद्धिक वर्ग राजनीतिमा सक्रिय र सन्तुष्ट हुन्छन् ।
बौद्धिक वर्गको सक्रियता र ज्ञानको पहिलो लाभग्राही समूह स्वयम् दलका नेता र कार्यकर्ता नै हुन्छन् । तर पनि दलहरूले बौद्धिकताको उपयोग गर्न किन सकिरहेका छैनन् ? यसका पनि अनेक कारण हुन सक्छन् । जस्तै, बौद्धिक वर्गको सक्रियता र हस्तक्षेपले आफ्नो पद, प्रतिष्ठा र ज्ञानमा धक्का पुग्ने महसुस हुनु । आफू खुसी दल सञ्चालन गर्न नसक्ने परिस्थितिको निर्माण हुन सक्ने पूर्वानुमान गरिनु । बौद्धिक वर्गको सक्रियताले अवसरको बाँडफाँटमा तिनले हिस्सा खोज्न सक्ने भयको सिर्जना भई आफ्ना गुटका कार्यकर्ताको भाग खोसिन्छ भन्ने भ्रम पर्नु वा यस्तै अरू कारण हुन सक्छन् ।
कारणहरू जेसुकै भए पनि अहिले गणतन्त्रवादी बौद्धिक वर्गको ठूलो हिस्सा असन्तुष्ट, निराश वा पलायनको अवस्थामा छ भन्ने तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रको सुस्वास्थ्यका लागि यो लक्षण एकदम हानिकारक छ । दलनिकट बौद्धिक संघसंगठनहरू छन् । सदस्यहरू पनि छन् तर तिनीहरू राजनीतिकभन्दा यान्त्रिक रूपले चलेका देखिन्छन् । संगठनहरूमा सजीवता भेटिँदैन । यो डरलाग्दो लक्षण हो ।
पञ्चायतकालको अन्तिमको दशक वा बहुदलीय व्यवस्थाको सुरुको १० वर्षको अवधि परिवर्तनकारी कित्ताका नेपालका बौद्धिक वर्गको सम्भवतः स्वर्णयुग थियो । त्यस बखत दलनिकट बौद्धिक संघसंस्थामा समाज परिवर्तनका एजेन्डामा देशव्यापी बहस हुन्थ्यो । कुनै एक बुद्धिजीवीले लेखेको लेखले तरंग पैदा गर्दथ्यो । नेताहरू बुद्धिजीवीको घरडेरा पुगेर अन्तरक्रिया गर्थे । लिखित सुझाव लिन्थे । ध्यानपूर्वक बुद्धिजीवीका कुरा सुन्थे । पार्टी र सरकारका दस्ताबेजहरूको मस्यौदा गर्न वा अवधारणा बनाउन बौद्धिकहरूलाई नै दिइन्थ्यो । त्यसैको परिणामस्वरूप दलका नेताको बौद्धिकता बढेको थियो । पार्टी र जनसंगठनहरू चलायमान थिए । औपचारिक शिक्षाको अवसर नपाएर भूमिगत वा प्रवासनमा रहेका नेताहरूको ज्ञान, तर्क र विश्लेषण औपचारिक शिक्षामा विद्यावारिधि गरेको कुनै बुद्धिजीवीको भन्दा कम हुँदैनथ्यो । उसको कुरा सुन्न र गर्व गर्नलायक हुन्थ्यो । आज त्यो अवस्था छ कि छैन ? छैन भने, त्यसको कारण के होला ? यी केही सवालहरू हुन्, जसले सबै वुद्धिजीवीहरूमा ‘बौद्धिक सिन्ड्रोम’ देखा परेको छ ।
तर यो निराशा, कुण्ठा, आक्रोश र निष्क्रियता वा पलायनताको बाटो रोजेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगामी कित्ताबाट हुने वा भइरहेको प्रहारको मूकदर्शक बन्नु हुँदैन र बन्न सक्दैनन् नेपालका बौद्धिक वर्गहरू । देश र आफूनिकट दलको सुशासनको अवस्थाको सुधारमा सक्रिय र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने दायित्व पनि हो भन्ने तथ्यबाट बौद्धिक वर्ग निरपेक्ष बस्न सक्दैन । नेपालका प्रमुख राजनीतिक दलभित्र देखा परेको पार्टी सञ्चालनका प्रक्रिया र पद्धतिका बारेमा एकै ठाउँमा बसेर छलफल र विमर्शका माध्यमद्वारा राजनीतिक दलहरूलाई सबल र सक्षम अनि रूपान्तरणकारी यात्रामा अघि बढाउने नागरिक कर्तव्य हो भन्ने कुरा बौद्धिक वर्गले बिर्सनु हुँदैन ।
गणतन्त्रको प्रारम्भिक युगमा पनि सामान्तवादका अवशेषहरू सांस्कृतिक रूपमा रहन्छन् । अनि त्यही समाजका सदस्य राजनीतिक दलका नेताहरूमा वा स्वयम् बौद्धिक व्यक्तिहरूमा पनि त्यस्ता अवशेषहरू स्वाभाविक रूपमा प्रतिविम्बित हुन्छन् । यो तथ्यलाई हृदयगंम गर्दै आफ्नै वर्ग वा नेतृत्व वर्गलाई पनि सुधार्दै सामाजिक रूपान्तरणको महायज्ञबाट एक असल नागरिकको हैसियतले कुनै पनि बुद्धिजीवी पलायन हुन सक्दैन र हुनु हुन्न ।
देशको राजनीति लिकबाहिर जाने खतरामा पर्नु वा प्रतिगमनको दुःस्वप्नको खेती हुने परिस्थितिको निर्माण हुनु भनेको देशको बौद्धिक वर्गको अर्को दुर्दशा निम्तिनु हो । तीसवर्षे पञ्चायत र दुई सय चालिसवर्षे राजतन्त्रको विभिन्न कालखण्ड भोगेका र देखेका जीवित बौद्धिक वर्गले राम्ररी बुझेकाले देश, व्यवस्था र राजनीतिक दललाई सुधार्न पलायनता र निष्क्रियता होइन, सक्रिय हस्तक्षेपकारी भूमिका बौद्धिक वर्गले निभाउनुपर्छ ।
असल र बौद्धिक वर्गको निष्क्रियताले देश र परिवर्तनकारी राजनीतिक दलहरू भ्रष्ट, दलाल र बिचौलियाको कब्जामा पर्नेछन् भन्ने तथ्यलाई वुझ्नु जरुरी छ । राजनीतिक दल र नेतालाई खबरदारी गरौं तर निष्क्रियता र निराशा नपस्कौं । देश बनाउने र राजनीति सपार्ने युगीन दायित्वबाट बौद्धिक वर्ग भाग्न मिल्दैन । अहिलेको ‘बौद्धिक सिन्ड्रोम’ अन्त्य गर्न गणतन्त्रवादी नेता र दलहरूले पनि आफ्नो दलभित्र साहसिक र रूपान्तरणकारी योजना बनाउनु जरुरी छ । आसेपासे पुँजीवाद र बिचौलियाको भरथेगले होइन, क्रान्ति र परिवर्तनप्रति निष्ठावान् कार्यकर्ता र बौद्धिकजगत्ले मात्र दल र लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने मान्यतालाई दलहरूले
स्थापित गर्नु जरुरी छ । तसर्थ गणतन्त्रवादी कित्ताका बौद्धिक वर्गहरू एकै ठाउँ बसेर दल र देशको रूपान्तरणका एजेन्डामा विमर्श गर्दै साझा धारणा बनाउन लागौं । लोकतान्त्रिक गणतन्त्र नेताको कैदभित्रको विषय मात्र बन्नु हुँदैन र बन्न सक्दैन भन्ने तथ्यमा स्पष्ट होऔं ।
