के हो नेतातन्त्र ? 

नेतातन्त्रमा राजनीतिक संगठन र राज्य संरचनाहरू फगत नेताको कठपुतली बन्छन्, त्यसपछि के हुन्छ ? नेता तानाशाही, सर्वसत्तावादी र जब्बर बनेर निस्कन्छ

चैत्र १, २०८१

केशव दाहाल

What is dictatorship?

पछिल्लो समय दुइटा ‘नागरिक मञ्चहरू’ नेतातन्त्रको विपक्षमा प्रखर देखिन्छन् । पहिलो, ‘बृहत् नागरिक आन्दोलन’, जो नेतातन्त्रका विरुद्ध आन्दोलनको आवश्यकताबारे बोलिरहेको छ । दोस्रो, ‘नागरिक पहिलो अभियान’, जसले नेतातन्त्रको अन्त्यमा लागि राजनीतिक विकल्पका प्रस्तावहरू अगाडि सारेको छ ।

दुवैको साझा बुझाइ छ– ‘हाम्रो लोकतन्त्रलाई जोगाउने हो भने नेतातन्त्रको अन्त्य आवश्यक छ । अन्यथा, नेतातन्त्र यसरी नै पन्पिँदै जाने हो भने, यसले जनआन्दोलनका उपलब्धि, नागरिक भावना र सपनाहरूलाई नष्ट गर्नेछ । लोकतन्त्रलाई सिध्याउनेछ । र, राज्य स्वयं भ्रष्ट, अराजक, असहिष्णु र अन्यायपूर्ण हुँदै जानेछ ।‘ 

के हो नेतातन्त्र ? किन यसको अन्त्य आवश्यक छ ? नेतातन्त्रलाई बुझ्न सर्वप्रथम केही शब्दावलीहरू हेरौं र राजनीतिक अर्थ खोजौं । चारवटा राजनीतिक शब्दावली लिउँ– राजतन्त्र, दलतन्त्र, नेतातन्त्र र लोकतन्त्र । सबैलाई थाहा छ, राजतन्त्रको अर्थ हो, राजाको शासन ।

यस्तो शासनमा राजा सबैभन्दा माथि हुन्छन्, कानुन लाग्दैन । राजाले संविधान मान्नु पर्दैन । राजतन्त्र यस्तो शासन व्यवस्था हो, जहाँ देश, राज्य, सरकार र नागरिक सबै राजाको मातहतमा हुन्छन् । अर्थात्, राजतन्त्रमा राज्यको सार्वभौमिकता र राज्यशक्तिको स्रोत राजामा निहित हुन्छ ।

दलतन्त्रमा राज्यसत्ताको शिरमा हुन्छन् दलहरू । उनीहरू संविधान, कानुन र राज्य अंगमाथि यसरी गजधम्म बस्छन्, मानौं, यी सबैको स्वामी उनीहरू नै हुन् । उनीहरू आफू स्वयंमा राज्यसत्ता र राज्यशक्तिको स्रोत निहित छ भन्ठान्छन् । त्यसैले ठान्दछन्, उनीहरू नै सत्ता हुन् । यसरी हेर्दा, दलतन्त्रको अर्थ हुन्छ, दलीय सर्वोच्चता । 

त्यसो भए के हो त नेतातन्त्र ? नेतातन्त्रको अर्थ हो, नेताको सर्वोच्चता । यो राज्य सञ्चालनको यस्तो विकृत अवस्था हो, जहाँ देश, राज्य, राजनीति, राजकाज र नागरिकको शिरमा हुन्छन् खास नेताहरू । जसलाई कानुन लाग्दैन, नियम मात्रै होइन जनादेशै मान्नुपर्दैन ।

मुठ्ठीभर नेताहरू आफूलाई विशेषाधिकारप्राप्त पालनहार ठान्दछन् र त्यसैको आडमा सर्वत्र रजगज गर्दछन् । तर लोकतन्त्र भनेको राजतन्त्र, दलतन्त्र र नेतातन्त्रभन्दा भिन्न र उन्नत व्यवस्था हो । जहाँ राज्यको शिखरमा हुन्छन् नागरिक र उनीहरूको सार्वभौम शक्ति, सपना र अभिमत नै राज्य सञ्चालनको स्रोत हुन्छ । अर्थात्, लोकतन्त्रको अर्थ हो– लोकको सर्वोच्चता र सार्वभौमिकता । 

विचार गरौं, अहिले नेपालमा के छ ? जगजाहेर छ, राजतन्त्र छैन । त्यसैले अहिले राजाको मनमौजी छैन । राजाको इच्छाले आज केही पनि हुँदैन । आज राजा सत्ताको शिखरमा छैनन् । अहिले हामीकहाँ राजा स्वयं नागरिक बनेको अवस्था छ । अतः यो राजतन्त्र होइन । 

त्यसो भए अहिले हामी जे भोगिरहेका छौं, के यो दलतन्त्र हो ? अथवा, यहींनेर अर्को पनि जोडिनसक्छ, के दलतन्त्र र बहुदल भनेको एउटै कुरा हो ? कतिपय मान्छेहरू ठान्दछन्– बहुदल र दलतन्त्र एउटै हो । उनीहरू ठान्छन्– दलतन्त्रको विरोध गर्नु बहुदलको विरोध हो । वस्तुतः यो निकै कच्चा र सतही सोच हो । किनभने, दलतन्त्र र बहुदलमा धेरै फरक छ । यति धेरै फरक छ, जस्तो दल र दलतन्त्रमा फरक छ ।

जस्तो कि, बहुदलको अर्थ हो– समाजमा धेरैभन्दा धेरै दलहरूको राजनीतिक उपस्थिति र अस्तित्व स्वीकार गर्नु । बहुदलको अर्थ हो– दलहरूले गर्ने राजनीतिक आन्दोलनहरूलाई स्वीकार्नु । दलहरूले उठाएका मुद्दाहरूलाई बुझ्नु, हेर्नु र (अ)स्वीकार गर्नु । हाम्रोजस्तो बहुलवादी समाजमा, नागरिक स्वयं अनेक वैचारिक तथा राजनीतिक धारमा विभाजित हुन्छन् र दलहरूले त्यसको संगठित प्रतिनिधित्व गर्दछन् । अथवा, नागरिकका अनेक सपनाहरू हुन्छन् र ती सपनाहरू भिन्नभिन्न दलमार्फत अभिव्यक्त भइरहेका हुन्छन् ।

 यो अर्थमा, दलहरू नागरिकका राजनीतिक प्रतिनिधि हुन् । दलहरू आफ्ना उम्मेदवारमार्फत निर्वाचनमा उभिन्छन्, मतदाताहरू दलका विचार, एजेन्डा र उम्मेदवार हेरेर भोट हाल्छन् । यो लोकतान्त्रिक राजनीतिको महत्त्वपूर्ण पक्ष हो । त्यसैले स्पष्ट छ, दल (बहुदल) लोकतान्त्रिक राजनीतिका चालक तत्त्व हुन् । उनीहरू हुन्छन् र त लोकतन्त्र जीवन्त हुन्छ ।

तर दलहरूको अस्तित्वलाई स्विकार्नु र दलतन्त्रलाई स्विकार्नु फरक कुरा हो । यहाँ बहुदलले ‘राजनीतिक’ अर्थ दिन्छ । दलतन्त्रले ‘शासकीय’ (राजकीय) अर्थ दिन्छ । जब दलहरू आफ्ना राजनीतिक सीमा नाघेर राज्यसत्तामाथि सिधा हस्तक्षेप सुरु गर्दछन्, त्यसपछि दलतन्त्र प्रारम्भ हुन्छ । नभुलौं, दलहरूको ‘राजनीतिक’ उपस्थिति र ‘राजकीय’ उपस्थिति आफैंमा फरक अवस्था हो ।

लोकतन्त्रमा दलहरूको राजनीतिक उपस्थिति अनिवार्य हुन्छ तर राजकीय हस्तक्षेप अस्वीकार्य हुन्छ । किनभने, लोकतन्त्रमा राजकीय सत्ता भने निर्वाचित जनप्रतिनिधिको (मार्फत नागरिकको) हातमा हुनुपर्छ, दलको हातमा होइन । यसर्थ, दलतन्त्रको विरोध गर्नु, निर्दलीयताको पक्षपोषण हुँदैन । एउटा लोकतान्त्रिक नागरिक सधैं बहुदलको पक्ष र दलतन्त्रको विपक्षमा उभिनुपर्छ । 

यहाँनेर, दलहरूको राजनीतिक अस्तित्व स्वीकार गर्नु बहुदल स्वीकार गर्नु हो । तर दलहरू जब आफ्नो राजनीतिक भूमिकाभन्दा माथि गएर राजकीय हस्तक्षेपको भूमिकामा देखा पर्दछन् तब दलतन्त्र सुरु हुन्छ । बहुदल भनेको राजनीतिक कुरा हो । दलतन्त्र भनेको शासकीय (राजकीय) कुरा हो ।

बहुदलको अर्थ राजनीतिमा दलहरूको नेतृत्व स्वीकार गर्नु हो । तर दलतन्त्रको अर्थ हुन्छ– दलहरूको शासकीय प्रभुत्व । सफा र जीवन्त लोकतन्त्रमा बहुदल हुन्छ तर दलतन्त्र हुँदैन । किनभने लोकतन्त्रमा जनप्रतिनिधिले शासन गर्दछन् । तर दलतन्त्रमा जनप्रतिनिधिमाथि समेत दलहरूको नियन्त्रण रहन्छ । 

नियालेर हेर्दा, दलतन्त्रले मुख्यतः पाँचवटा राजनीतिक तथा शासकीय संकट सिर्जना गर्दछ । पहिलो, दलतन्त्रमा निर्वाचित जनप्रतिनिधिलाई जनमतले हैन, पार्टी निर्णयले निर्देशित गर्छ । दोस्रो, दलतन्त्रमा सरकारलाई जनप्रतिनिधिले हैन, पार्टी संयन्त्रले निर्देशित गर्छ । तेस्रो, दलतन्त्रमा सरकारको नीतिभन्दा प्रभावशाली हुन्छ पार्टीनीति ।

चौथो, दलतन्त्रमा पार्टी निर्णय, निर्वाचित जनप्रतिनिधिको निर्णयभन्दा प्रभावकारी भएर देखा पर्दछ । र, पाँचौं, दलतन्त्रमा राज्यअंगहरू दलको नियन्त्रणमा हुन्छन् । दलतन्त्र लोकतन्त्रको यस्तो विकृत अवस्था हो, जहाँ पार्टीको सिफारिसमा न्यायाधीश नियुक्त हुन्छन् । पार्टी संयन्त्रले संवैधानिक अंगको पजनी गर्छ । यसरी हेर्दा, दलतन्त्रमा मतदाताको अर्थ फगत भोट हाल्ने मात्र हुन्छ, जनप्रतिनिधिहरू मतदाताप्रति नभई दलप्रति उत्तरदायी हुन्छन् । स्पष्ट छ, जनप्रतिनिधिको शासन र दलको शासन भन्नु आफैँमा ठूलो भिन्नता हो । र, यही भिन्नता नै लोकतन्त्र र दलतन्त्रको भिन्नता हो । 

त्यसो भए, के हो त नेतातन्त्र ? नेतातन्त्र भनेको दलतन्त्र भन्दा अझ खराव अवस्था हो । जहाँ नेता असीमित शक्तिशाली र निर्णायक हुन्छ । नेतातन्त्रमा राजनीतिक संगठन र राज्य संरचनाहरू फगत नेताको कठपुतली बन्छन् । त्यसपछि के हुन्छ ? नेता तानाशाही, सर्वसत्तावादी र जब्बर बनेर निस्कन्छ । उसको नागरिकसँगको सम्बन्ध टुट्छ र ऊ घेरिन्छ केही मुठ्ठीभर आसेपासे र बिचौलियाबाट । तिनै बिचौलियाहरूका बीचबाट नेतालाई ‘ग्लोरिफाई’ गर्ने लम्फु र निर्लज्ज जमात प्रकट हुन्छ ।

नेताको स्तुति गाउन (भाट) कवि, कलाकार र र्‍यापरहरू निस्कन्छन् । त्यसपछि, आलोचना, प्रश्न र छलफल रोकिन्छन् । नेताले आफ्नो खल्तीबाट टिकट, राजनीतिक र संवैधनिक नियुक्ति बाँड्न थाल्छ । त्यसपछि राज्यअंग अमूक नेताको पाउमा पर्छ र लोकतन्त्रको थाहै नपाई चिरहरण गरिन्छ । नेतातन्त्र राज्य सञ्चालनको यस्तो विकृत अवस्था हो, जहाँबाट सत्ता र शक्तिको असीमित दुरुपयोग सुरु हुन्छ । भ्रष्टाचार सुरु हुन्छ । अनि सनैसनै, राज्य, राजनीति, दल र प्रणाली सबै भ्रष्ट, पंगु र अर्थहिन बन्न पुग्छन् ।

त्यसपछि नीति र प्रणालीको बहस सकिन्छ र सुरु हुन्छ– नेताको अलौकिकता र चामत्कारिक व्यक्तित्वको सार्वजनिक विमर्श । त्यसपछि, नेता मान्छेबाट भगवान् बन्छ । नेता ख्वामित बन्छ र उसलाई आसेपासेहरूले पार्टी, लोकतन्त्र, राज्यसंरचना आदिभन्दा माथि लगेर दरबारमा स्थापित गरिदिन्छन् । यसरी लोकतन्त्र, दलतन्त्र हुँदै नेतातन्त्रमा संकुचित हुन पुग्छ । यसरी पार्टी पन्थ बन्छ र नेता बन्छ– मुठ्ठीभर बिचौलियाहरूको पालनहार । 

दलतन्त्र, नेतातन्त्र र लोकतन्त्रलाई एउटै सूचकबाट हेर्दा यिनीहरूमा अत्यन्तै ठूलो फरक देखिन्छ । शक्ति निक्षेपणका आधारमा हेर्दा, लोकतन्त्रमा राज्यशक्तिको स्रोत नागरिक हुन्छन् । दलतन्त्रमा राज्यशक्तिको स्रोत दलमा केन्द्रित हुन्छ भने नेतातन्त्रमा नेतामा । लोकतन्त्र विशेषतः निर्वाचित जनप्रतिनिधिमार्फत नागरिकले 

आफ्नो सार्वभौम शक्ति अभ्यास गर्ने व्यवस्था हो । जसमार्फत नागरिकले राज्यमाथि नियन्त्रण गर्दछन् । लोकतन्त्रमा, नागरिकको सार्वभौम शक्ति नै राज्य सञ्चालनको मूलस्रोत हुन्छ र उनीहरूभन्दा माथि पार्टी वा नेता कोही पनि हुँदैनन् । तर दलतन्त्रमा शक्तिको स्रोत बन्छन्, दल र तिनका तहगत कार्यकर्ता ।

नेतातन्त्रमा पुगेपछि, त्यो अझ संकुचित हुँदै जान्छ र राज्यशक्तिको सर्वाधिकारी बन्न पुग्छन् फगत एक (दुई) नेता । लोकतन्त्रमा राज्य नागरिकप्रति उत्तरदायी हुन्छ । दलतन्त्रमा राज्य दलप्रति उत्तरदायी हुन्छ । नेतातन्त्रमा राज्य नेताप्रति उत्तरदायी हुन्छ । लोकतन्त्रमा नागरिकका एजेन्डा नै राज्यका एजेन्डा बन्दछन् । दलतन्त्रमा दलका एजेन्डा प्रबल हुन्छन् । र, नेतातन्त्रमा नेताका निजी सोच र सपनाहरू नै राज्यका सोच र सपना बन्न पुग्दछन् । 

भन्न पर्दैन कि, लोकतन्त्र विस्तारित, गहिरो, व्यापक र सहभागितामूलक हुन्छ । तर दलतन्त्र हुन्छ सङ्कीर्ण । नेतातन्त्र दलतन्त्रभन्दा पनि धेरै संकुचित र पक्षपाती हुन्छ । यसैगरी, लोकतन्त्रमा प्रश्न र आलोचनालाई उत्प्रेरित गरिन्छ । दलतन्त्रमा दलहरू आलोचनाभन्दा माथि हुन्छन् । त्यसैले प्रश्नहरूलाई दलहरू स्वयंले नियोजन गर्दछन् ।

नेतातन्त्रमा नेता प्रश्न र आलोचनाभन्दा माथि हुन्छ । जगजाहेर छ कि, लोकतन्त्र स्वयं गतिशील व्यवस्था हो किनभने आम नागरिकको गतिशीलताले त्यसलाई ऊर्जा दिन्छ । तर दलतन्त्र र नेतातन्त्रमा गतिशीलता स्वयं केही मुठ्ठीभर मान्छेको स्वार्थ र सनकमा बन्दी बन्न पुग्छ । लोकतन्त्र नागरिकका सपनाहरूको उदात्त अभिव्यक्ति हो । तर दलतन्त्र र नेतातन्त्र त्यसको संकुचन हो । 

यसरी हेर्दा, देशमा अहिले हामी जेजस्तो शासन (लोकतन्त्रका नाममा) भोगिरहेका छौं, यो नेतातन्त्र (केही दलतन्त्र र धेरै नेतातन्त्र) हो । किनभने, अहिले नेपालका सबै पार्टी र राज्यका सिंहासनमा विराजमान छन् फगत केही थान ख्वामितहरू ।

अहिले देश उनीहरूको भागबन्डामा चलिरेहको छ । दल, राज्य, सरकार र राजकीय संरचना सबैमा नेतातन्त्र छ । अतः भन्न सकिन्छ, अहिले हामी लोकतान्त्रिक राजनीतिको सबैभन्दा खराब अवस्थामा छौं । अर्थात्, आज हामी जे भोगिरहेका छौं, यो लोकतन्त्र हैन, यो नेतातन्त्र हो । अथवा हो गिरोहतन्त्र । र, यसलाई अन्त्य नगरी हामी गतिशील, सहभागितामूलक र परिणाममूखी लोकतन्त्र कसैगरी प्राप्त गर्न सक्दैनौं । 

त्यसो भए, अब के गर्ने ? नेतातन्त्रको अन्त्यका लागि एउटा सशक्त आन्दोलन आजको आवश्यकता हो । तर त्यो आन्दोलन फगत नेताको अनुहार बदल्ने आन्दोलन होइन र हुन हुँदैन । त्यो आन्दोलन हो– राजनीतिको अनुहार बदल्ने आन्दोलन । जसले एकैसाथ राजनीतिक विचार, एजेन्डा, संगठन र संस्कृतिको नवीकरण गर्ने हिम्मत गरोस् । यस्तो आन्दोलन, जसले एकै पटक राज्य, राजनीति र दललाई सफा गरोस् । राजनीतिलाई यति धेरै कञ्चन बनाओस् कि भविष्यमा नेतातन्त्रले कहीँकतैबाट पनि टाउको उठाउन नसकोस् । 

यद्यापि, बुझ्नुपर्ने कुरा के छ भने, नेतातन्त्र निकै जब्बर हुन्छ । अतः सानोतिनो बिन्तीभाउले यो ढल्दैन । भद्र कुरा गरेर र मुस्कुराएर निवेदन हाल्दैमा यो गल्दैन । त्यसैले नेतातन्त्रको अन्त्य गर्न तीनवटा काम एकसाथ गर्नुपर्छ । पहिलो मौजुदा पार्टीभित्रैबाट नेतातन्त्रको अन्त्यका लागि नयाँ पुस्ताले कठोर विद्रोह गर्नुपर्छ ।

दोस्रो, नेतातन्त्रको अन्त्य र लोकतन्त्रको पुनर्बहालीका लागि सचेत नागरिकहरू सबैले बोल्नुपर्छ । र, तेस्रो, आम नागरिक नेतातन्त्रविरुद्ध सडकमा आउनुपर्छ र आन्दोलन उठाउनुपर्छ । आन्दोलन यस्तो हुनुपर्छ, जसले आवश्यक पर्दा नयाँ विकल्पको रेखांकन गरोस् । अन्यथा, नेतातन्त्र अझ जब्बर बनेर निस्कनेछ र लोकतन्त्रलाई जरैबाट सिध्याउनेछ । मुख्य कुरा के भने, हामी अझै चुपचाप बस्ने हो भने, हाम्रो मौनता आउने पुस्तालाई महँगो पर्नेछ । त्यसैले अब बोलौं– हामी नेतातन्त्रको अन्त्य र लोकतन्त्र पुनर्बहाली चाहन्छौं । 

केशव दाहाल केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully