भाइरल पुँजीवाद

कतिपय व्यक्ति वा समूहको प्रसिद्धिको भोक, उनीहरूको राजनीतिक र आर्थिक उद्देश्यका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता दुरुपयोग भइरहेका छन् 

फाल्गुन २६, २०८१

तेजप्रसाद वाग्ले

Viral capitalism

नेपाली बौद्धिक जगत्मा सम्भवतः अहिलेसम्म छलफल नभएकाले हुन सक्छ, इन्टरनेटमा समेत सूचना आतंकवाद, भाइरल पुँजीवाद र डिजिटल श्रमिकबारे नेपाली भाषामा सामग्री भेटिँदैनन् । सामाजिक सञ्जालको एल्गोरिदममा निर्भर डिजिटल श्रमिकले मिथ्या सूचनालाई हतियार बनाएर कसरी आर्थिक लाभ लिन्छन् भन्ने परिघटनासँग सम्बन्धित छ यो अवधारणा । यसले हामीलाई मिथ्या सूचना फैलावटको कारण बुझ्न केही हदसम्म सहयोग गर्छ ।

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न सरकारले हालै ल्याएको विधेयक पनि यी अवधारणाबारे बेखबर छ । डिजिटल समाजमा सूचना, पुँजी र श्रमको स्वरूपमा भइरहेको परिवर्तन र त्यसले हाम्रो दैनन्दिन जीवनमा पारिरहेको गहिरो असर र प्रभावबारे बुझ्न सहयोग गर्ने यी प्रवृत्तिबारे यस आलेखमा चर्चा गर्न खोजिएको छ । 

सामाजिक सञ्जालका विज्ञ सिनान अरेल तथा सञ्चारविज्ञहरू देव रोय र सोरेस वोसोघीले सन् २००६ देखि २०१७ सम्म ४५ लाखभन्दा बढी पटक सेयर भएका १ लाख २६ हजार सूचनाको विश्लेषण गरी साइन्स जर्नलमा प्रकाशित गरेको एक अध्ययनले भन्छ– मिथ्या सूचना सत्य समाचारको तुलनामा ६ गुणा छिटो फैलिन्छ । अझ सत्य समाचार विरलै हजार व्यक्तिसम्म पुग्दा राजनीतिक मिथ्या सूचना भने करिब १० हजारसम्म पुगिसकेको हुन्छ । मिथ्या सूचनाको फैलावटबारे गहन अध्ययन गरेका उनीहरूको निष्कर्ष छ– अझ राजनीतिक मिथ्या सूचना त धेरै छिटो फैलिन्छन् । 

मिथ्या सूचना प्रायः नयाँ र अप्रत्याशित हुन्छन्, जसले मानिसमा आश्चर्य, डर वा घृणाजस्ता भावना उत्पन्न गर्छ र यसले ती ‘सूचना’ सेयर गर्ने सम्भावनालाई बढाउँछ । उदाहरणका लागि कोभिड महामारीको समयमा ‘फाइभ जी नेटवर्कले कोरोना फैलाउँछ’ भन्ने मिथ्या सूचना फेसबुकमा १० करोडभन्दा धेरै पटक हेरिएको थियो । मिथ्या सूचना छिटो फैलिनुमा दुई मुख्य कारण छन्– फेसबुक, युट्युब, ट्विटर र टिकटकजस्ता प्लेटफर्ममा सामग्री फैलावटका लागि ‘एल्गोरिदमिक सिफारिस प्रणाली’ को मुख्य भूमिका रहन्छ र अर्कोतर्फ मिथ्या सूचना चिन्न सक्ने क्षमता ‘डिजिटल साक्षरता’ को अभावको पनि भूमिका रहन्छ । 

सामाजिक सञ्जाल कम्पनीले किन, कसरी र कस्ता सामग्री प्रवर्द्धन गर्छन् भन्ने कुरा पारदर्शी छैन । एल्गोरिदमले उत्तेजक सामग्रीलाई अझ बढी प्रवर्द्धन गर्ने गरेको छ । ‘यसले कसरी निर्णय गर्छ’ भन्ने जान्न पाउने जनताको अधिकारलाई सामाजिक सञ्जालसम्बन्धी कानुनले स्पष्ट पार्न सक्छ । एल्गोरिदम पारदर्शिताको विषयमा युरोपियन युनियन तथा फ्रान्सले ल्याएको कानुन उदाहरण हुन सक्छ । यसका साथै विभिन्न समूहले गर्ने टार्गेटेड डिजिटल विज्ञापन, क्लिकवेट प्रविधि तथा ट्रोल फ्याक्ट्रीहरू पनि मिथ्या सूचना फैलाउन प्रयोग हुने गरेका छन् । 

डिजिटल समाजमा ‘सूचना आतंकवाद’ र ‘भाइरल पुँजीवाद’बीचको अन्तरसम्बन्धले मिथ्या सूचना फैलावटको कारण बुझ्न सहयोग गर्छ । सूचनालाई हतियारका रूपमा प्रयोग गरी मिथ्या सूचना तथा प्रोपोगान्डा फैलाउने प्रवृत्तिलाई सूचना आतंकवाद भनिन्छ । पछिल्लो समय यसको सम्बन्ध ‘भाइरल पुँजीवाद’सँग छ । भाइरल पुँजीवाद डिजिटल अर्थतन्त्रको नयाँ अवधारणा हो । डिजिटल प्लेटफर्ममा सामग्रीको तीव्र प्रसार गरी त्यसबाट आर्थिक फाइदा लिने प्रवृत्ति ‘भाइरल पुँजीवाद’ हो । यस्तो प्रवृत्तिले पुँजीवादको नयाँ रूपलाई जन्म दिएको छ, जहाँ व्यक्तिहरू सामाजिक सञ्जालबाट धन र प्रसिद्धि कमाउँछन् । सूचना आतंकवादले भाइरल पुँजीवादलाई सहयोग गर्छ । जहाँ सामग्रीको तीव्र प्रसार र प्रयोगकर्ताको ध्यानलाई ‘नाफामा’ रूपान्तरण गर्छ । सामग्री निर्माताहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूमा भाइरल सामग्री निर्माण गरी आर्थिक लाभ लिने गर्छन् । 

सामाजिक सञ्जालमा मिथ्या सूचनाले भाइरल पुँजीवादलाई प्रवर्द्धन गर्छ । सामाजिक सञ्जाल प्लेटफर्महरूमा भाइरल हुने सामग्रीको ठूलो हिस्सा आपत्तिजनक वा विवादास्पद विषयमा आधारित हुने गरेको छ । भाइरल पुँजीवादले आर्थिक लाभका लागि संवेदनशील घटनाको कसरी दुरुपयोग गर्छ भन्ने बुझ्न नेपालमा केही समयअघि चर्चामा रहेको कथित ‘अमला काण्ड’ एक उदाहरण हुन सक्छ । आर्थिक मुनाफाका लागि ‘डिजिटल श्रमिक’ कुन हदसम्म जान सक्छन् भन्ने यस्ता कैयौं उदाहरण छन् । 

डिजिटल युगले विभिन्न प्रकारका सञ्चार श्रमिक जन्माएको छ । कतिपयलाई ‘पत्रकार’ र ‘डिजिटल श्रमिक’बीचको भेद छुट्याउन पनि सकस हुने गरेको छ । जो सामाजिक सञ्जाल, भिडियो स्ट्रिमिङ प्लेटफर्म तथा अन्य डिजिटल माध्यममा सामग्री सिर्जना गरेर आम्दानी गर्छन्, उनीहरूलाई ‘डिजिटल श्रमिक’ भनिन्छ । 

सामाजिक सञ्जाल एल्गोरिदम, विज्ञापन नीति र प्रविधिको निरन्तर परिवर्तनले अस्थिर आम्दानीमा निर्भर रहेका डिजिटल श्रमिकले ‘भाइरल पुँजीवाद’ को सहारा लिने गरेका छन् । डिजिटल श्रमिक एल्गोरिदममा निर्भर हुन्छन् । भ्युज, लाइक, सेयर र एन्गेजमेन्ट दर उच्च भएमात्र उनीहरूको सामग्रीले एड रेभेन्युबाट आम्दानी गर्छ । कुनै वस्तु, सेवा वा पात्र यदि डिजिटल मिडियामा भाइरल हुन्छ भने त्यसले तुरुन्तै ब्रान्डिङको सम्भावना र आर्थिक मुनाफा सिर्जना गर्छ । 

डिजिटल श्रमका अध्येता टार्लटन गिलेस्पीका अनुसार ९० प्रतिशत डिजिटल श्रमिक अस्थिर आम्दानीमा निर्भर छन् । अधिकांश सामग्री निर्माताको आम्दानी निश्चित हुँदैन, किनभने उनीहरूको आम्दानी एल्गोरिदमद्वारा प्रभावित हुन्छ । युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा सामग्री निर्माताको आम्दानीमा प्लेटफर्मले गर्ने नीति परिवर्तनले ठूलो प्रभाव पार्छ । 

अर्कोतर्फ डिजिटल सामग्री बजारमा प्रतिस्पर्धा पनि उच्च छ र परम्परागत रोजगारीका लाभ बिमा, पेन्सन वा स्थिर पारिश्रमिक नहुँदा गलत सूचना भाइरल बनाएर छिटो आर्थिक लाभ लिने ध्याउन्नमा त्यस्ता सामग्री निर्माता लागेका हुन्छन् । डिजिटल श्रमिकलाई सम्बद्ध प्लेटफर्मले न्यूनतम रोजगारी तथा सामाजिक सुरक्षाजस्ता अधिकार दिएमा ‘भाइरल’को सहारा लिने प्रवृत्तिमा कमी आउन सक्छ र उनीहरूलाई उत्तरदायी बन्न प्रेरित गर्छ । डिजिटल श्रमिकले आफूलाई एक जिम्मेवार र लोकतान्त्रिक डिजिटल समाजको अंगका रूपमा लिनुपर्छ । ‘डिजिटल श्रमिक’को जानकारी र डेटाबाट फाइदा लिइरहेका प्लेटफर्मले बदलामा उनीहरूलाई एड रेभेन्युबाट आउने रकममात्र दिने गर्छन्, जसको आम्दानी निश्चित हुँदैन ।

मनोरञ्जन, शिक्षा, प्रविधि, जीवनशैली वा अन्य विविध विधामा सामग्री निर्माण गरेर पनि डिजिटल प्लेटफर्मबाट आम्दानी गर्नेहरू नभएका होइनन् । फोर्ब्स पत्रिकाका अनुसार जिम्मी डोनाल्डसनले केवल युट्युब भिडियोबाट सन् २०२३ मा ५४ मिलियन अमेरिकी डलर कमाएका थिए । उनले कुनै ‘सूचना आतंकवाद’ को सहारा लिएनन् । यस्ता कैयौं सामग्री निर्माता सिर्जनात्मक तथा ज्ञानमूलक सामग्री प्रदान गर्छन् । सौन्दर्य, फेसन, फिटनेस तथा जीवनशैलीमा केन्द्रित ब्रान्ड सहयोग तथा प्रायोजनबाट पनि ठूलो रकम कमाएका सामग्री निर्माता छन् । उदाहरणका लागि क्याइली जेनरले इन्स्टाग्राममा एउटा पोस्ट गरेबापत १.२ मिलियन अमेरिकी डलर लिने गर्छिन् । 

नेपालमा धेरै युट्युबर तथा डिजिटल मिडियाले नकारात्मक सामग्री उत्पादन गरी दर्शकको ध्यान आकर्षित गरिरहेका छन् । पुराना नेतामाथि हुने आलोचना तथा व्यंग्यात्मक सामग्री डिजिटल मिडियामा तीव्र रूपमा फैलिने गरेको छ । ‘यो नेता अब सकियो !’ जस्ता शीर्षक भएका युट्युब भिडियो अत्यधिक भाइरल हुने गरेका छन् । पुराना नेतालाई लक्षित गर्दै ट्रोलिङ गर्ने, ह्यासट्याग ट्रेन्ड गर्ने तथा मिथ्या सूचना फैलाउने प्रवृत्ति यहाँ प्रशस्त देखिएको छ । यस्तै विवादास्पद सामग्रीले सामाजिक सञ्जाल प्रयोगकर्ताको चासो र अर्कोतर्फ विवाद उत्पन्न गर्दै डिजिटल प्लेटफर्मका लागि आर्थिक लाभ सिर्जना गर्दछ । नकारात्मक सामग्रीमा बढी कमेन्ट, सेयर तथा इन्गेजमेन्ट हुने भएकाले यी सामग्री स्वतः भाइरल हुन्छन् । प्रतिद्वन्द्वी दलहरूले समेत यसैलाई उपयोग गरी प्रतिपक्षी दल वा नेतामाथि आक्रमण गर्न सुरु गर्छन् । 

मिथ्या सूचना तीव्र गतिमा फैलिने भएकाले समाजलाई दिग्भ्रमित गर्ने व्यक्ति तथा समूहले यसको जबर्जस्त दुरुपयोग गरिरहेका छन् । कतिपय व्यक्ति वा समूहको प्रसिद्धिको भोक, उनीहरूको राजनीतिक र आर्थिक उद्देश्यका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता दुरुपयोग भइरहेका छन् । कसैको आर्थिक लाभ र सामाजिक शक्तिको निहित स्वार्थका लागि आफू मिथ्या सूचना र विवादास्पद सामग्री प्रसारमा दुरुपयोग त भइरहेको छैन भन्नेबारे सामाजिक सञ्जाल प्रयोगकर्ताले मनन गर्नुपर्छ । हाम्रोजस्तो डिजिटल साक्षरता कम भएको मुलुकमा जनतालाई भ्रममा पार्ने र उनीहरूको निर्णयमा अन्यायपूर्ण प्रभाव पार्ने जोखिम धेरै छ । त्यसैले ‘मिथ्या सूचना’ लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका दुस्मन पनि हुन् । 

सन् २०२१ मा एन्ड्र्यु जोन्सले गरेको भाइरल सामग्रीको अध्ययनअनुसार सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीमध्ये ४० प्रतिशत सामग्री आपत्तिजनक वा विवादास्पद विषयमा आधारित हुन्छन् । विवादास्पद सामग्रीले अन्यको तुलनामा बढी लाइक, कमेन्ट र सेयर प्राप्त गर्छन् । यस्ता सामग्री अपुष्ट वा झूटा सूचनामा आधारित हुन्छन्, जसले गलत धारणा र भ्रम सिर्जना गर्छ । 

सूचना आतंकवाद र भाइरल पुँजीवाद परस्पर निर्भर छन् । जब मिडिया उपभोक्ता आफ्नो भ्युज, लाइक्स, कमेन्ट र सेयर गरेर सामग्रीको प्रचार गर्छन्, तब त्यो सामग्रीको भौतिक र आर्थिक प्रभाव ‘भाइरल पुँजीवाद’ मा रूपान्तरण हुन्छ । भाइरल पुँजीवादको नाफा प्रेरित मोडेलले सूचना आतंकवादलाई प्रवर्द्धन गर्छ । किनभने गलत सूचना फैलाउने प्रक्रियाबाट उनीहरूले ठूलो वित्तीय लाभ लिइरहेका हुन्छन् तर अनियन्त्रित रूपमा फैलिएको सूचना आतंकवादले लोकतान्त्रिक प्रक्रिया, सामाजिक स्थायित्व र विश्वसनीय पत्रकारितामाथि भने गम्भीर खतरा पैदा गरेको छ ।

– वाग्ले चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् ।

तेजप्रसाद वाग्ले चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् ।

Link copied successfully