विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास, धमिलो वर्तमान

सामाजिक/राजनीतिक चासोका कुनै पनि मुद्दाप्रति विद्यार्थीले राख्ने रचनात्मक कार्यक्रमलाई स्वीकार गर्दै अराजकपूर्ण व्यवहारलाई भने कठोरतापूर्वक नियन्त्रण गरिन आवश्यक छ । अध्ययनरत लाखौं विद्यार्थीका लागि मात्रै होइन, भविष्यमा जोडिने विद्यार्थीका लागि पनि शैक्षिक वातावरण धमिलिन दिनु हुँदैन ।

फाल्गुन २५, २०८१

सम्पादकीय

Glorious history of student movement, dim present

विद्यार्थी संगठनका कारण त्रिभुवन विश्वविद्यालयका कक्षाकोठा, परिसर, पदाधिकारीका कार्यकक्ष जस्ता स्थान पनि सुरक्षित रहेनन् । त्यहाँ कुनै पनि बेला आगजनी र तोडफोड हुन सक्छ । पदाधिकारीदेखि प्राध्यापकसम्मलाई मोसो दलिन सक्छ, रड प्रहार हुन सक्छ ।

फरकफरक संगठनमा आबद्ध विद्यार्थीबीच ‘ग्याङ फाइट’ नियमित घटना नै हो । यस्तो प्रवृत्ति विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पनि देखिने गरेको छ । यस्तो गैरशैक्षिक वातावरणको चेपुवामा परेर विद्यार्थीको गुणस्तरीय शिक्षा पाउने हक भने खोसिँदै गएको छ ।

कसैले पनि त्रिविमा भर्ना भएर शैक्षिक कार्यक्रम पूरा गर्नका लागि सुझाव दिनै नसक्ने अवस्था आएको छ । विश्व वरीयता पनि खस्किँदै गइरहेको छ । यस्तो प्रवृत्ति कायम रहुञ्जेल त्रिवि जीवन्त शैक्षिक थलो बन्न सक्दैन । त्यसैले विश्वविद्यालयलाई ज्ञान आर्जन, मन्थन र प्रसारको मुहान बनाउनका लागि त्यसका अवरोधकहरूलाई नियन्त्रण गर्न आवश्यक छ । विद्यार्थी संगठनका नाममा हुँदै आएका गुण्डागर्दीजन्य गतिविधिलाई दण्डनीय बनाएर शुद्धीकरणको सुरुवात गर्न सकिन्छ ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले शुक्रबार त्रिविमा रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन शंकर खनालको कीर्तिपुरस्थित कार्यकक्ष तोडफोड गर्‍यो । यही संगठनले केहीअघि त्रिविमै ४०० दिनभन्दा बढी तालाबन्दी गरेको थियो । त्यस्तै, २०७१ साउन १४ मा अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयलाई खरानी बनायो ।

२०७६ मंसिरमा त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई अनेरास्ववियुले कुटपिट गर्‍यो । त्यस्तै, २०७७ असोजमा त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघका विद्यार्थीले कुटपिट गरे । २०७९ जेठमा अनेरास्ववियुका एक जना विद्यार्थीले अस्कलका उपप्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरे ।

२०५९ सालमा विद्यार्थीहरूले त्रिविको अंग्रेजी केन्द्रीय विभागमै आगजनी गरेका थिए । यी बढी चर्चा पाएका घटना मात्रै हुन् । दुई–चार दिन तालाबन्दी गर्ने, प्राध्यापकलाई धम्क्याउने, टेबल ठोक्ने काम त विद्यार्थी संगठनका लागि सामान्य नै भइसक्यो ।

पञ्चायतकालमा विद्यार्थी संगठनलाई राजनीतिक रूपमा सचेत र विश्वको गतिबारे जानकार ठानिन्थ्यो । विद्यार्थी संगठन र यसको आवरणमा दलका नेताहरूले राजनीतिक गतिविधि गर्न सकेका थिए । राणाकालमै तीनधारा पाकशालाका विद्यार्थीहरूले पाठ्यक्रममा भूगोल, इतिहास र नागरिकशास्त्र पनि समावेश गर्नुपर्ने लगायतका माग राखेर सुरु गरेको ‘जयतु संस्कृतम्’ आन्दोलन अहिले पनि चर्चित छ ।

पञ्चायतकालभरि त दलीय गतिविधि भूमिगत भएकाले भूमिगत पार्टी र नेताको छविलाई बाहिर स्थापित गराइदिने नै विद्यार्थी संगठन थिए । तत्कालीन राजा वीरेन्द्र शाहलाई जनमत संग्रहको घोषणा गर्न बाध्य बनाउने नै विद्यार्थी संगठन थिए । २०५९ असोज १८ र २०६१ माघ १९ पछि जब ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिए, त्यतिबेला सडकमा उत्रिएर सैन्य शासनको प्रतिकार गर्ने र गणतन्त्रको नारालाई चर्चामा ल्याउने काम विद्यार्थी संगठनले नै गरेका थिए ।

त्यतिबेला विद्यार्थी संगठन संलग्न हुने राजनीतिक मुद्दाहरूको पनि औचित्य थियो । तर लोकतन्त्र र गणतन्त्रसँगै विद्यार्थी संगठनले आफ्नो मुद्दा पहिचान गर्न सकेनन् । आफ्नै शैक्षिक मुद्दाका विषयमा समेत ती बेखबर रहेको प्रतीत हुन्छ ।

बरु कुटपिट गर्ने, धम्क्याउने, कमिसन खोज्नेतिर उद्यत भए, पारंगत भए । तिनका गैरशैक्षिक गतिविधिमा बढ्दो संलग्नतालाई सम्बन्धित दल र विश्वविद्यालयले समयमै नियन्त्रण गर्न सकेनन् । दलले त संरक्षण नै गरे/गरिरहेका छन् । त्यसकै परिणाम आज देखिएको हो ।

शैक्षिक वातावरण बिथोलिएकै कारण त्रिविले नयाँ ज्ञान उत्पादन गर्न सकेको छैन । विश्वव्यापी रूपमा कैयौं नयाँ मुद्दाहरू जन्मिएका छन् । नयाँ समस्याहरू सतहमा आएका छन् । विश्वभर ‘एआई’ ले तहल्का मच्चाइरहेको छ ।

हाम्रा विद्यार्थी संगठन भने तोडफोड र तालाबन्दीमै रमाइरहेका छन् । परिणामतः आज संगठनसँग जोडिएका विद्यार्थीको छवि कक्षामा सबैभन्दा नपढ्ने, दादागिरी देखाउने, शिक्षक कुट्ने झुन्डका रूपमा स्थापित छ । यो छवि अरूले फेरेर फेरिँदैन, विद्यार्थी संगठनले नै आफ्ना गतिविधिमा सुधार ल्याउनुपर्छ ।

विद्यार्थी संगठनका ‘गुन्डागर्दी’ अति भइसकेको छ । उनीहरूका गतिविधिका कारण प्राध्यापक, विश्वविद्यालयका पदाधिकारीदेखि सहपाठी विद्यार्थीमा समेत आतंक सिर्जना भएको छ । सामाजिक/राजनीतिक चासोका कुनै पनि मुद्दाप्रति विद्यार्थीले राख्ने रचनात्मक कार्यक्रमलाई स्वीकार गर्दै अराजकपूर्ण व्यवहारलाई भने कठोरतापूर्वक नियन्त्रण गरिन आवश्यक छ ।

अध्ययनरत लाखौं विद्यार्थीका लागि मात्रै होइन, भविष्यमा जोडिने विद्यार्थीका लागि पनि शैक्षिक वातावरण धमिलिन दिनु हुँदैन । यसका लागि सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्छ । जस्तो शुक्रबार तोडफोड गर्ने विद्यार्थी संगठन कांग्रेसनिकट हो ।

सोही पार्टीका गृहमन्त्री पनि भएको अवस्थामा उनीहरूलाई जोगाउने होइन, कारबाही गरेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । विश्वविद्यालयमा सिर्जित अराजकतालाई विपक्षी पार्टी र सांसदहरूले पनि मूल मुद्दा बनाउनुपर्छ । त्यसले पनि सुधारका लागि दबाब सिर्जना गर्न सक्छ । आमविद्यार्थीदेखि सरोकारवाला अन्य सबै पक्षले पनि यसलाई बहसको विषय बनाइराख्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully