काठमाडौंको जनघनत्व र सुरक्षित पाइप लाइन प्रणालीको अभावले ग्यासको वितरण कष्टकर र जोखिमपूर्ण हुन सक्छ । तर, सीएनजीजस्ता ग्यासको प्रयोगका लागि अन्तर्राष्ट्रिय उदाहरणको अध्ययन गरी सस्तो र सुरक्षित प्रविधि ल्याउन पनि सकिन्छ । ग्यास भएका क्षेत्र पहिचान गरेर वर्षौंसम्म बस्नुभन्दा व्यावसायिक प्रयोगका उपायहरू खोज्नु बुद्धिमानी हुन्छ । तत्काल उपयोग गर्न नसक्ने हो भने सम्भावित जोखिमको आकलन गरी सावधानी अपनाउन ढिला गर्नु हुँदैन ।
काठमाडौं उपत्यकामा जनघनत्व ठूलो भएकाले पानीको अभाव छ । नयाँ बस्ती विस्तार भएका स्थानमा पाइप लाइन नपुग्ने भएकाले खानेपानीका लागि बोरिङ गर्ने सजिलो उपाय अपनाइन्छ । कहाँ र कस्तो स्थानमा बोरिङ गर्ने भन्ने स्पष्ट नीति नहुँदा यसले ठूलो जोखिमसमेत निम्त्याइरहेको छ । यसकै पछिल्लो उदाहरण हो– ललितपुरको महालक्ष्मी नगरपालिका–५ शान्तिटोलमा मंगलबार बोरिङ निर्माणका क्रममा ग्यासबाट निस्केको ज्वाला ।
करिब ४५ वर्षअघि नै ग्यास रहेको क्षेत्र भनेर पहिचान भएका स्थानमा त्यसपछि थप उत्खनन र अध्ययन भएको छैन । उक्त ग्यास प्रयोगबारे राजनीतिक तहमा भाषणबाहेक कुनै पनि संरचनाले थप काम गरेका छैनन् ।
कम्तीमा ग्यास रहेका क्षेत्रहरूको संरक्षण गर्नसमेत सकेको भए भविष्यमा त्यसको पर्याप्त उपयोग गर्न सकिने अवस्था आउँथ्यो । विडम्बना, त्यस्ता स्थानहरू अहिले बस्तीले भरिइसकेका छन् । बाँकी खाली स्थानमा पनि संरचनाहरू बनिरहेका छन् । ग्यास उपयोगका लागि कुनै अध्ययन, अनुसन्धान र तयारी नभएकाले यसले अवसरभन्दा पनि पनि जोखिम बढाएको छ ।
स्थानीय टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बोरिङ गरेको थियो । झन्डै २७५ मिटर गहिराइको बोरिङ खनेर पाइप सिल गर्ने क्रममा आगोको लप्का निस्किएको थियो । काठमाडौं उपत्यकामा इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको यो पहिलो घटना होइन । यसअघि २०७९ साउनमा काठमाडौंको जोरपाटी लोसेटारमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो । ग्यासको मुस्लो तीन तला माथिसम्म पुगेको थियो ।
बस्तीभर ग्यासको गन्ध फैलिएको थियो । त्यस्तै, ८ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो । यी घटना गम्भीर सुरक्षा जोखिमका संकेत हुन् । जसबारे राज्य निकायहरूको पर्याप्त ध्यान पुग्नुपर्छ । भूगिगत ग्यास आगोको लप्काका रूपमा निस्किरहँदा वरिपरि मानिस रमिते बनेर हेर्ने, कुकर राखेर खाना पकाउने गरेका दृश्यले त जोखिमबारे नागरिक सचेतनाको समेत टड्कारो आवश्यकता देखिएको छ ।
उपत्यकामा ग्यासको सम्भावना नभएको होइन । २०३४ सालमै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र खानी तथा भूगर्भ विभागको टोलीले काठमाडौं उपत्यकामा रहेको प्राकृतिक ग्यासबारे अध्ययन गरेको थियो । उक्त टोलीले ललितपुरको टीकाथली, इमाडोल, बालकुमारी, शंखमूल, भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु, कालीमाटी, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा अध्ययनका लागि इनार नै खनेको थियो ।
जसलाई ‘ग्यास कुवा’ समेत भनिन्थ्यो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा करिब २६ वर्गकिलोमिटरमा ३ ब्लकमा विभाजित गरी १४ वटा ‘ग्यास कुवा’ ड्रिल गरिएको थियो । अहिले ग्यास निस्किएको टीकाथली क्षेत्रमा पनि उक्त टोलीले २०४९/५० मा ३ सय मिटर गहिराइको कुवा खनेर परीक्षण गरेको थियो ।
ललितपुरमा मंगलबार निस्केको मिथेन ग्यास भएको विज्ञहरूको भनाइ छ, मिथेन हरितगृह ग्यास हो । प्रकृतिमा यो विशेष गरी लामो समयसम्म रहेका जैविक वस्तुहरू थुप्रिँदा, खाँदिँदा पनि बन्ने गर्छ । यसको प्रयोग ऊर्जाका रूपमा हुने गर्छ । मिथेन ग्यास सामान्यतः पानीसँग मिसिएको हुन्छ र यसको उपयोग कहाँ गर्ने हो भन्ने प्राविधिक अध्ययन र वैज्ञानिक व्यवस्थापन अनिवार्य हुन्छ ।
सुरक्षा व्यवस्थापन र ग्यासको उत्खनन प्रक्रियामा लापरबाही भएमा ठूलो दुर्घटना हुन सक्छ । त्यसैले ग्यास रहेको क्षेत्रमा बस्ती बसेको र कतिपय खाली ठाउँमा निर्माण कार्य जारी रहेकाले खानी तथा भूगर्भ विभागको निगरानीमा रहेका ग्यासयुक्त क्षेत्रहरूमा तत्काल अवलोकन र अनुगमन गरी सम्भावित जोखिम पहिचान गर्नुपर्छ । ग्यास निस्किएर कुनै आपत्ति आउने सम्भावना भएमा तुरुन्तै उक्त क्षेत्र खाली गर्ने र अग्निप्रतिरोधक प्रणाली राख्नेबारे समेत पहल गर्नुपर्छ । बोरिङ वा खानी उत्खनन कार्य गर्ने कम्पनीहरूलाई ग्यास निस्कन सक्ने स्थानहरूको पहिचान र त्यहाँ विशेष सुरक्षा उपायहरू अवलम्बन गर्ने व्यवस्था अनिवार्य हुनुपर्छ ।
जाइकाले ४५ वर्षअघि गरेकै अध्ययनले काठमाडौं उपत्यकामा करिब ३ सय मिलियन क्युबिक मिटर ग्यास रहेको देखाएको थियो । त्यसैले, सबैभन्दा राम्रो त त्यो ग्यास हामीले ऊर्जाका रूपमा प्रयोग गर्दा हुन्थ्यो । विज्ञहरूले काठमाडौं उपत्यकाको प्राकृतिक ग्यास औद्योगिक प्रयोजनका लागि प्रयोग गर्न सकिने सुझाव पनि दिइरहेका छन् । प्राकृतिक ग्यास उद्योग, होटल र अटोमोबाइल्स क्षेत्रले प्रयोग गर्न सकिने उनीहरूको राय छ । छिमेकी मुलुक भारतमा त व्यावसायिक रूपमा सीएनजी प्रयोग हुँदै आएको छ । नेपालमा पनि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–२ मा एन्भी पावर इनर्जी एन्ड फर्टिलाइजर प्राइभेट लिमिटेडले सीएनजी उत्पादन गरिरहेको छ ।
नेपालमै समेत प्रयोग भइरहेकाले यस्तो ग्यासको सम्भावित उपयोगबारे नीति र कार्यक्रम बनेमा उत्तम हुनेछ । काठमाडौंको जनघनत्व र सुरक्षित पाइप लाइन प्रणालीको अभावले ग्यासको वितरण कष्टकर र जोखिमपूर्ण हुन सक्छ । तर, सीएनजीजस्ता ग्यासको प्रयोगका लागि अन्तर्राष्ट्रिय उदाहरणको अध्ययन गरी सस्तो र सुरक्षित प्रविधि ल्याउन पनि सकिन्छ । ग्यास भएका क्षेत्र पहिचान गरेर वर्षौंसम्म बस्नुभन्दा व्यावसायिक प्रयोगका उपायहरू खोज्नु बुद्धिमानी हुन्छ । तत्काल उपयोग गर्न नसक्ने हो भने सम्भावित जोखिमको आकलन गरी सावधानी अपनाउन ढिला गर्नु हुँदैन ।
