विद्यार्थी संगठनको चुनौती भनेको आफूलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी वास्तविक विद्यार्थी मुद्दामा क्रियाशील बनाउनु हो । विद्यार्थी संगठनहरूले अब राजनीतिक दलका भ्रातृ संगठनका रूपमा मात्र होइन, विद्यार्थीकै सरोकार सम्बोधन गराउने संयन्त्रका रूपमा आफूलाई पुनःपरिभाषित गर्नुपर्छ । त्यस्तो नेतृत्वको अभाव आगामी निर्वाचनले पूर्ति गर्नुपर्छ ।
विश्वविद्यालयका विद्यार्थीका संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भन्नासाथ अहिले समाजमा कस्तो छवि बनेको छ ? आफैं पढ्ने क्याम्पस–विश्वविद्यालयमा महिनौं तालाबन्दी गर्ने, प्राध्यापक र पदाधिकारीको नियुक्तिमा भागबन्डा माग्ने, सम्बन्धन दिन फाइल बोकेर हिँड्ने, पूर्वाधार निर्माणमा कमिसन खोज्ने र आफ्नो स्वार्थ नमिलेमा कुटपिटमा पनि उत्रने ।
समग्र विद्यार्थीको चरित्र यो होइन तर चल्तापुर्जाको यो शैलीले समग्र विद्यार्थी समुदायको छवि धुमिल भएको छ । विद्यार्थीका हकहितलाई संगठित र व्यवस्थित रूपमा उठाउने गरी अभ्यास सुरु भएको स्ववियुको छवि पनि यस्तै छ । शैक्षिक उन्नयनबाहेकका सबै गतिविधिमा संलग्न हुने रूपमा स्ववियुको साख पनि दाउमा परेको छ । त्यसैले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचन हाल भइरहेका विकृति र विसंगति सुधार्ने प्रस्थान बिन्दु बन्नुपर्छ ।
त्रिविअन्तर्गतका ६२ आंगिकसहित सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी करिब ३ सय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । करिब ४ लाख विद्यार्थीका प्रतिनिधि चयन हुने यो निर्वाचन एक महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास हो ।
प्रत्येक क्याम्पस र त्रिविको सबैभन्दा उच्च निकाय सिनेटमा समेत प्रतिनिधित्व गर्ने विद्यार्थी प्रतिनिधि छान्ने भएकाले पनि यो निर्वाचनको गुरुत्व बढी छ । तर, त्रिविमा करिब ४ सय दिनसम्म तालाबन्दी गर्ने, उपकुलपतिलगायतका पदाधिकारीलाई कार्यालय नै प्रवेश गर्न नदिने, प्राध्यापकहरूमाथि भौतिक आक्रमण गर्ने, विश्वविद्यालय र क्याम्पसमा हुने नियुक्तिमा हस्तक्षेप गर्ने, शैक्षिक पूर्वाधारहरूमा तोडफोड गरी क्षति पुर्याउने, पठनपाठन र परीक्षाको मर्यादा भंग गर्नेलगायतका गतिविधिले विद्यार्थी संगठनको प्रतिष्ठा घटेको हो । अब भने शैक्षिक, भौतिक पूर्वाधार, नीतिगत सुधारजस्ता विषयलाई बेवास्ता गर्दै केवल राजनीतिक प्रतिस्पर्धाको अखडा बन्ने विगतको प्रवृत्तिबाट स्ववियुका दाबेदार संगठन तथा विद्यार्थीहरू बाहिर उठ्नुपर्छ ।
स्ववियु चुनावमा भाग लिन केन्द्रीय निर्वाचन समितिमा २५ विद्यार्थी संगठन दर्ता भएका छन् । राजनीतिक दलनिकटभन्दा बाहिरबाट विद्यार्थीको स्वतन्त्र समूह बनाएर पनि चुनावमा भाग लिन सकिने व्यवस्था छ । तर, राजनीतिक दलका भ्रातृ संगठनहरूकै मात्र वर्चस्व रहेकाले विद्यार्थीका वास्तविक मुद्दा ओझेलमा परेका छन् । कुनै पनि विद्यार्थी संगठनको मुख्य उद्देश्य विद्यार्थीको हकहित हुनुपर्ने हो । तर, अधिकांश संगठनहरू पार्टीका नेता, त्यसभित्रका पनि गुट/उपगुटको निर्देशनअनुसार मात्र चल्ने गरेका छन् ।
अब भने स्ववियु निर्वाचनलाई राजनीतिक दलको शक्ति प्रदर्शन गर्ने र प्रभाव विस्तार गर्ने अखडा बनाउनु हुन्न । विद्यार्थी संगठनका मातृ पार्टीहरूले पनि स्ववियु विद्यार्थीको अधिकार र आवश्यकतासँग सम्बन्धित संस्थागत निकाय हो भन्ने बुझ्न जरुरी छ । स्ववियुलाई राजनीतिक दलका बफादार कार्यकर्ता उत्पादन गर्ने होइन, मुलुककै लागि आवश्यक पर्ने बौद्धिक, उच्च नैतिकवान नेतृत्व विकासको मञ्च बनाउनुपर्छ ।
विद्यार्थीको अहिलेको मुख्य सरोकार गुणस्तरीय शिक्षा हो । तर, विश्वविद्यालयमा शैक्षिक वातावरण सुधार हुन सकेको छैन । समयमा परीक्षा सञ्चालन हुँदैन, नतिजा प्रकाशनमा ढिलाइ भइरहेको छ, पुस्तकालय तथा प्रयोगशालाको स्तर खस्किएको छ । प्रविधियुक्त शिक्षण प्रणाली अवलम्बन हुन नसकेकाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सकिएको छैन । शिक्षाको गुणस्तरमै प्रश्न उठाउँदै बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश गइरहेका छन् ।
गत वर्ष मात्र करिब एक लाखभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । वैदेशिक अध्ययनका लागि वार्षिक एक खर्बभन्दा बढी मुद्रा बाहिरिने गरेको छ । शैक्षिक वातावरण राम्रो भएको भए शिक्षाका लागि विदेश गइरहेको पैसा मात्र जोगिन्न, गुणस्तरीय शैक्षिक जनशक्ति नेपालमै बस्ने अवस्था पनि सिर्जना हुन्छ ।
विद्यार्थी संगठनहरूले यी मुद्दालाई उठाएर सुधारको भूमिका खेल्नुपर्छ । विद्यार्थी संगठनको चुनौती भनेको आफूलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी वास्तविक विद्यार्थी मुद्दामा क्रियाशील बनाउनु हो । विद्यार्थी संगठनहरूले अब राजनीतिक दलका भ्रातृ संगठनका रूपमा मात्र होइन, विद्यार्थीकै सरोकार सम्बोधन गराउने संयन्त्रका रूपमा आफूलाई पुनःपरिभाषित गर्नुपर्छ । त्यस्तो नेतृत्वको अभाव आगामी निर्वाचनले पूर्ति गर्नुपर्छ ।
