कांग्रेसमा अन्तर्घातको एक स्मरण

वर्तमानको चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीको ऐतिहासिक भूमिका, राष्ट्रिय जिम्मेवारी, सांगठनिक एकता र आफ्नो शक्ति पुनर्प्राप्तिको पूर्ण सुधारका लागि अन्तर्घातको क्यान्सर निदान अनिवार्य छ

फाल्गुन २०, २०८१

नारायण खड्का

A recollection of the infighting in Congress

नेपालको दलीय राजनीतिक इतिहासमा सबै दलहरूमा घात, अन्तर्घातका आरोप, प्रत्यारोपहरू सुन्न र पढ्न पाइन्छ । आमनिर्वाचनमा दलहरूको घात, अन्तर्घातको राजनीतिमा कांग्रेस अग्रपंक्तिमा छ । २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि र खासगरी २०५१ को उपचुनावबाट कांग्रेसमा अन्तर्घात अत्यन्तै गम्भीर र जटिल समस्याका रूपमा रहेको कुरा स्मरणीय छ । तीन दशकभन्दा अघिको यो घटना कांग्रेसका युवाजनहरूका लागि इतिहासको एक पाठ हुन सक्छ । उक्त घटनाको एक प्रत्यक्षदर्शीका रूपमा बिनाआग्रह/पूर्वाग्रह अन्तर्घातको तत्कालीन र दीर्घकालीन प्रभावको विषयमा यो लेख प्रस्तुत गरिएको छ ।

२०४८ को आमनिर्वाचनदेखि नै कांग्रेसमा अन्तर्घातको बीजारोपण भएको थियो यद्यपि यसपछिका आमनिर्वाचनमा जस्तो एकअर्कालाई दोषारोपण गर्ने गरी सतहमा आएन । कांग्रेसमा अन्तर्घात अस्त्रको पहिलो र खुला रूपमा निर्मम प्रयोग २०५१ को माघमा भएको उपनिर्वाचनमा काठमाडौं–१ बाट सुरु भएको थियो । यसको पूर्वसंकेतको वातावरण त्यसै वर्षको असोज अन्तिम साता अमेरिकाको न्युयोर्कमा निर्माण भएको थियो । सन् १९९१ मा आइपुग्दा कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आँखामा निरन्तर आँसु बग्ने समस्याबाट ग्रस्त थिए । सरकारसँग राज्यकोषको अनुरोध गरिएको भए त्यसबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भट्टराईको उपचारका लागि सरकारी सहयोग सजिलै प्राप्त हुन सक्थ्यो होला । तर, उनले त्यस्तो माग गरेनन् । उनका अनुयायीहरू सरकारमा मन्त्री थिए तैपनि कसैले भट्टराईलाई आँखा उपचारका लागि आर्थिक सहयोग गर्ने सोचेनन् । 

विद्यार्थी आन्दोलन र तत्पश्चात् जेलमा रहँदा मलाई किसुनजी चिन्ने र भेट्ने राम्रो अवसर प्राप्त भएको थियो । मेरा केही क्यानेडियन मित्रहरूको सहयोगमा २०५३ असोजको दोस्रो साता (अक्टोबर १९९३) क्यानडाको लन्डन ओन्टारियोको एक प्रसिद्ध अस्पतालमा भट्टराईको आँखाको उपचारको व्यवस्था भयो । करिब दुई हप्ताको उपचार र आरामपछि भट्टराईलाई क्यानडाका वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका पिताजी लोकप्रिय नेता एवं पूर्वप्रधानमन्त्री पियार एलियट ट्रुडोसँग मन्ट्रेरियलमा उनकै ल फर्ममा भेट गराएपछि भट्टराई र म अमेरिकाको राजधानी वासिङ्टनमा पुग्यौं । त्यहाँ भट्टराईकै विश्वासिला सहयोगी मित्र योगप्रसाद उपाध्याय अमेरिकाका लागि राजदूत थिए । एउटा संयोग नै भयो कि, त्यही दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संयुक्त राष्ट्रसंघको ४८ औं महासभामा भाग लिन न्युयोर्क आइपुगे । पदीय जिम्मेवारीअनुरूप राजदूत उपाध्याय प्रधानमन्त्री कोइरालालाई स्वागत गर्न न्युयोर्क विमानस्थल पुगे । प्रम कोइरालाले ‘न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका प्रतिनिधि छँदै छन् तपार्इं किसुनजीको स्वागत सत्कारका लागि वासिङ्टन फर्कनुहोस्’ भनेर उपाध्यायलाई त्यहीँबाट बिदा दिए । 

जननेता बीपी कोइरालाको देहावसानपछि भट्टराई–कोइराला र गणेशमान सिंह–कोइरालाका बीच सम्बन्ध औपचारिक मात्र थियो । उनीहरूको सम्बन्ध कहिल्यै न्यानो पनि भएन । यसका पछि मनोवैज्ञानिक कारणहरू थिए । त्यसै पनि २०४८ को आमनिर्वाचनमा भट्टराई पराजित भएपछि दुई नेताहरूबीचको सम्बन्धमा न्यानोपन आउन सकिरहेको थिएन । कांग्रेसका दुई शीर्ष नेता, सभापति भट्टराई र प्रधानमन्त्री कोइराला न्युयोर्क र वासिङ्टनमा भए पनि आपसमा भेट मात्र होइन टेलिफोन सम्पर्क नै नभई आफ्नो–

आफ्नो समयतालिकाअनुसार स्वदेश फर्किए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपश्चात् २०५३ असोज २७ मा न्युयोर्कस्थित एसिया सोसाइटीमा प्रजातन्त्र र विकास विषयमा प्रवचन दिएर कोइराला सोझै नेपाल फर्के । कोइरालाले न्युयोर्क छोडेपछि भट्टराई र म पनि वासिङ्टन डीसीबाट न्युयोर्क हुँदै बेलायतको लन्डनमा केही दिन बसी नेपाल फर्कियौं । 

त्यही समयमा नेपालमा भने एमालेका महासचिव तथा काठमाडौं–१ बाट निर्वाचित सांसद मदन भण्डारीको जेठ ३, २०५० मा जिप दुर्घटनामा परी मृत्यु भएका कारण सो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गर्दै थियो । कांग्रेस वृत्तमा भट्टराईको पनि उम्मेदवारीका विभिन्न चर्चा परिचर्चा र प्रतिक्रिया आइरहेका थिए । भट्टराईको उम्मेदवारी सम्भावनाको चर्चा चल्नु र उनी अमेरिका भ्रमणमा हुँदा अमेरिकी सहायकमन्त्री रविन राफेल र केही सांसदहरूसँगको भेटघाट हुनुलाई त्यस देशको समर्थन प्राप्त गर्नका लागि हो भन्ने आशंका प्रम कोइरालाको थियो । भट्टराईको अमेरिका भ्रमणको समयमा उपनिर्वाचनमा उम्मेदवारीको चर्चाले उत्पन्न गरेको आशंका कोइराला अमेरिका भएकै समयमा एउटा यथार्थ जस्तै भएर त्यसबेला प्रस्टियो । किनभने, जब वासिङ्टन डीसीस्थित एसिया सोसाइटीद्वारा असोज २८, २०५० मा आयोजित ब्रेकफास्ट प्रवचनमा भट्टराईले ‘नेपालका जनताले आग्रह गरेमा आफू आगामी उपचुनावमा खडा भई प्रधानमन्त्री हुनसमेत तयार रहेको’ कुरा बताए । सोही कार्यक्रममा एसिया सोसाइटी सल्लाहकार समितिका अध्यक्ष फिलिप जोसेपले भट्टराईलाई परिचय दिने क्रममा ‘भट्टराई हाल पूर्वप्रधानमन्त्री हुनुहुन्छ र उहाँ नेपालका आगामी प्रधानमन्त्री बन्दै हुनुहुन्छ’ भनेर चिनाएका थिए । वासिङ्टनस्थित कान्तिपुर दैनिकका संवाददाता पनि त्यस कार्यक्रममा थिए र भोलिपल्टको कान्तिपुर दैनिकको (असोज २९, २०५०) मुख्य पृष्ठमा ‘भट्टराई पुनः प्रधानमन्त्री बन्न तयार’ भन्ने हेडलाइनमा समाचार छापियो । यो सबै कोइराला न्युयोर्कमै भएको समयमा घटेको घटना थियो ।

 आफू प्रधानमन्त्रीका रूपमा अमेरिका भएको समयमा केही महिनापछि हुने उपचुनावबाट भट्टराई ‘प्रधानमन्त्री बन्न इच्छुक’ भन्ने समाचारले कोइरालालाई निराश मात्रै बनाएन यसलाई उनले आफूविरुद्धको ठूलै षड्यन्त्रका रूपमा लिए । आपसी समझदारीमा बाहेक सायद अरू कोही प्रधानमन्त्रीका लागि पनि सायद यो सकारात्मक कुरा हुने थिएन । अर्कोतर्फ भट्टराई उपचुनावमा उम्मेदवार बन्ने भन्ने समाचारले नेपाली कांग्रेसमा कोइराला र भट्टराईको समूहबीचको ध्रुवीकरणमा ठूलो भूमिका खेल्यो । वास्तवमा यही घटना र समाचार नै भट्टराईको उम्मेदवारीमा अन्तर्घातको बीजारोपणको सूत्र बन्यो । 

काठमाडौं–१ मा उपचुनावको सम्भावना र चर्चा र परिचर्चाको सन्दर्भमा भट्टराईको अमेरिका भ्रमण र त्यसमा पनि निर्वाचन लड्ने प्रारम्भिक घोषणा पनि त्यहीँबाट हुनुलाई कोइरालाले सुनियोजित योजना (षड्यन्त्र ?) का रूपमा लिए । भट्टराईलाई नेपालबाट क्यानडा हुँदै अमेरिका लानुमा मेरो पनि भूमिका ठहर गर्दै कोइरालाले मलाई पनि शंकाको घेरामा राखेका थिए । यद्यपि दुवै नेताप्रति मेरो आदर र सम्मानमा कुनै भेदभाव थिएन । त्यसपछि गिरिजाबाबुका मप्रतिका दृष्टिकोण र व्यवहारमा त्यो प्रतिबिम्बित थियो । जसलाई परिवर्तन गर्न मलाई निकै समय लाग्यो । कोइराला न्युयोर्कमा आइपुग्दा राजदूत उपाध्याय त्यहाँ नबसी भट्टराईको आतिथ्यका लागि वासिङ्टन डीसी फर्केको बहानामा (महासभामा संयुक्त राष्ट्रसंघका लागि आवासीय राजदूतले साथ र सहयोग गर्ने परम्परा छ) उनलाई फिर्ता बोलाउने कुरा सुनिन थाल्यो । राजदूत उपाध्यायले भट्टराई लन्डनमा भएको समयमा फोन गरी आफूलाई प्रधानमन्त्रीले फिर्ता बोलाउन लागेको कुरा सुनाए । भट्टराईले आफू देश बाहिर भएकोले ‘यस विषयमा तुरुन्त सर्वोच्च नेता गणेशमानजीलाई फोनबाट सम्पर्क गरी जानकारी गराउँदै यसलाई रोक्न’ भने ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिई काठमाडौं फर्केपछि एयरपोर्टमा पत्रकार सम्मेलनकै बीचमा कोइरालाले ‘आफू न्युयोर्कमा रहँदा राजदूत उपाध्यायले देखाउनुभएको अकूटनीतिक व्यवहारबारे टिप्पणी गरेपछि’ (कान्तिपुर, कात्तिक ५, २०५०) राजदूतले पद छोड्ने निर्णय गरे । कोइरालाको यो निर्णय भट्टराईको अमेरिकामा अनौपचारिक उम्मेदवारीको घोषणाको प्रतीकात्मक विरोध मात्रै नभएर उम्मेदवारी घोषणा भएको खण्डमा यो भावी प्रतीकारात्मक कदमको संकेत पनि थियो । 

२०५० कात्तिकको पहिलो साता भट्टराई नेपाल फर्केपछि अमेरिकामा हुँदा उनको उपचुनावमा उम्मेदवारी दिन इच्छुक रहेको भनाइले कांग्रेसभित्र राम्रै बहसको विषय बन्यो । यसै पनि २०४८ को आमनिर्वाचनमा भट्टराई पराजित भएपश्चात् सर्वोच्च नेता गणेशमान सिंह र भट्टराई एकातिर र अर्कोतर्फ प्रम कोइराला थिए । दोस्रो तहका कांग्रेसका नेता र कार्यकर्ताहरूका बीच पनि यसैअनुरूपको ध्रुवीकरण भयो । २०४८ पुस १४ मा पार्टीलाई बिनाजानकारी र सम्बन्धित मन्त्रीहरूलाई कुनै संकेत नै नदिई औपचारिक कार्यक्रममा मन्त्रीको हैसियतमा सहभागी भएकै समयमा गणेशमान सिंह र भट्टराई नजिकका ६ जना मन्त्रीहरूलाई प्रम कोइरालाले बर्खास्त गरे । यसपश्चात् यी दुई नेता र प्रधानमन्त्री कोइरालाबीच विश्वासको संकट गहिरिइसकेको थियो । उपचुनावको समयमा आइपुग्दा यो ध्रुवीकरणले भट्टराईको उम्मेदवारीको पक्ष र विपक्षमा खरो बहसको विषय बन्न पुग्यो । अन्ततः मंसिर १०, २०५० मा निर्वाचन आयोगले २०५० माघ २५ मा काठमाडौं–१ र झापा–१ को उपचुनावको सूचना सार्वजनिक गर्‍यो । मंसिर १६ मा भट्टराईले आफू त्यस निर्वाचनमा उम्मेदवार बन्न दृढ रहेको विचार व्यक्त गरे । उनलाई उठाउनका लागि सर्वमान्य नेता सिंह, कांग्रेस केन्द्रीय समितिका बहुमत सदस्य र ३० जनाभन्दा बढी सांसदहरू र कार्यकर्ताको एउटा ठूलै पंक्तिको दबाब थियो । विपक्षी दलहरू, दरबार र अन्य शक्तिहरूले त स्वाभाविक रूपमा कांग्रेसको यो विवाद बढाउनमा भूमिका खेल्ने नै भए । निर्वाचनका लागि मनोनयनको केही दिनअगाडि केन्द्रीय समितिको बैठकले भट्टराईको उम्मेदवारीलाई सर्वसम्मत अनुमोदन गर्‍यो र कोइरालाले सो बैठकमा आफूले सहयोग नै गर्ने बताएका थिए । तर त्यसको ४/५ दिनपछि पार्टी कार्यालयमै प्रधानमन्त्री कोइरालाले आफ्नो त्यो निर्णयको खण्डनयुक्त धारणा राखे । तर करिब २० जना कांग्रेसका सांसदहरूले यदि भट्टराई नउठ्ने भए आफूहरूले सांसद पदबाट राजीनामा दिने भन्ने दबाबको राजनीतिका कारण अन्ततः उनको उम्मेदवारी अगाडि बढ्यो ।

चुनावी अभियान बढ्दै जाँदा भट्टराईको उम्मेदवारीको विषयमा प्रम कोइराला र पार्टी सभापति पक्षहरूबीचको शीतयुद्ध बढ्दै गयो । आफ्नै सरकारको कामकारबाहीको नकारात्मक टिप्पणी पनि चुनावी प्रसारको विषय बनाइयो । जसलाई कोइरालाले भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा यस्तो रणनीति अघि सारिएको भन्ने अर्थमा लिए । परिणामतः निर्वाचन अभियानको उत्कर्षमा माघ १७ मा कोइरालाले ‘पार्टी प्रमुखले सरकारका नीतिहरूप्रति असहमतिका स्वर तीव्र पारेका बेला मैले चुनावी अभियानमा कसरी जान मिल्छ’ र ‘स्वाभिमानी साथीहरूको छाती टेकेर पार्टी तोड्ने मनोकांक्षा भएका पार्टी एकता र संगठनविरोधी शक्तिले पार्टी र सरकारमा कब्जा जमाउने कुटील षड्यन्त्रको विरुद्ध भने म जीवनपर्यन्त संघर्ष गर्नेछु’ भन्ने १७ मिनेट लामो वक्तव्य जारी गरे । माघ २२ को अन्तिम आमसभामा पनि कोइराला अनुपस्थित नै भए । 

२०५० माघ २५ मा भएको निर्वाचनमा भट्टराई पराजित भए । भट्टराई पक्षले उनको पराजय पार्टीबाट भएको ठूलो अन्तर्घातलाई प्रमुख कारणका रूपमा लिँदै अन्तर्घातमा संलग्नलाई अनुशासनको कारबाहीको माग राखी प्रदर्शन गर्‍यो । प्रधानमन्त्री कोइराला समूहले प्रतिकार गर्‍यो । दुई पक्षको यो विवाद ठूलै द्वन्द्वका रूपमा विस्फोट भयो । पार्टीका मानिसहरूबाट ‘सूर्यमा मतदान गरेकाले हार भएको’ भन्दै माघ २७ बाट भट्टराई पक्षधर ७ हजार युवाहरूले ‘प्रधानमन्त्रीको विरोधमा जुलुस’ लगाउँदै सिंहदरबार र पार्टी परिसरमा विरोध गरे । प्रम पक्षधरहरूले पनि यसको प्रतिकारमा जुलुस निकाले । कांग्रेसको इतिहासमा पार्टीका सर्वमान्य र ठूला नेताहरूको बीचमा यति ठूलो द्वन्द्व सायदै भएको थियो होला न त हुने नै छ । 

केही महिनाको आन्तरिक तनावपश्चात् कोइराला र भट्टराईको बीचमा २०५१ असारमा भएको आपसी समझदारीमा पार्टीको विघटन तत्कालका लागि त टर्‍यो । तर पनि कांग्रेसमा अन्तर्घात तत्कालीन समयमा एउटा जीवित कीटाणु जसरी हुर्किंदै गयो । वर्तमान समयमा आएर यसले क्यान्सरको रूप धारण गरिसकेको छ । यसको एउटा तत्कालीन असर भनेको संसदीय दलभित्र पनि नराम्रोसँग गुटगत राजनीति मौलायो । अन्ततः छत्तिसे र चौहत्तरे भन्ने संख्याधारित विशेषणका उपनामबाट क्रमशः सिंह–भट्टराई र कोइराला पक्षधर भनिएर तत्कालीन सांसदहरू पक्ष, विपक्ष जस्तै विभाजित भए । सिंह–भट्टराई र कोइरालाका बीच अविश्वास र असमझदारी शीतद्वन्द्वका रूपमा रह्यो । अन्तर्घातकै एउटा तत्कालीन नकारात्मक परिणाम भनेको २०५१ असार २७ मा सिंह–भट्टराई समूह भनेर चिनिने कांग्रेसका ३६ सांसदहरू आफ्नै सरकारले पेस गरेको नीति र कार्यक्रमको मतदान हुने दिनमा अनुपस्थित भए ।

नीति तथा कार्यक्रम असफल हुँदा कोइराला सरकार तीन वर्ष र दुई महिनामै ढल्यो । त्यही वर्षको कात्तिक २९ मा मुलुक मध्यावधि निर्वाचनमा होमियो । मध्यावधि निर्वाचनमा कांग्रेसले बहुमत ल्याएन । दोस्रोमा खुम्चियो । कांग्रेसको कलह संस्थागत (यद्यपि पात्रमा केही फेरबदल भए पनि प्रवृत्ति बदलिएन) हुँदै यसैको अप्रत्यक्ष परिणामस्वरूप २०५९ असोज ७ मा नेपाली कांग्रेस विभाजित भयो । केही दुष्परिणामहरू भोग्दै २०६४ असोज १० मा कांग्रेस एकीकरण भयो । यसपछिका प्रायः सबै आमनिर्वाचनहरूमा क्यान्सर जस्तै बनेको अन्तर्घातको रोगले कांग्रेस पार्टी संक्रमित छ । पार्टीको केन्द्रीय कार्यालयमा प्रत्येक आमनिर्वाचनपश्चात् अन्तर्घात गर्नेहरूमाथि कारबाहीको माग राख्दै परेका उजुरीको संख्या अत्यधिक छ । २०७४ को तीनै तहको निर्वाचनपछि यस्ता उजुरीहरू १ हजार ३ सय थिए भने २०७९ को निर्वाचनपश्चात् परेका उजुरीको संख्या २ हजार १ सय छन् । यी उजुरी निर्वाचनमा पराजित भएकाहरूबाट परेको हो ।

वर्तमानको चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीको आफ्नो ऐतिहासिक भूमिका, राष्ट्रिय जिम्मेवारी, सांगठनिक एकता र आफ्नो शक्ति पुनर्प्राप्तिको पूर्ण सुधारका लागि अन्तर्घातको क्यान्सरको निदान पनि अनिवार्य छ । 

अन्तर्घात न्यूनीकरण महाधिवेशनको मितिसँग पनि जोडिएको छ । म आफैं पनि २०५६ को आमनिर्वाचनमा अन्तर्घातको सिकार बनें । भावी प्रधानमन्त्री भट्टराईले चुनावी आमसभामा मलाई जिताए अर्थमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । १५ औं महाधिवेशन २०८२ मंसिरभित्र या आमनिर्वाचनपश्चात् ? अनि यो महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिले कस्तो क्षमता, भूमिका र दूरदर्शिता अपनाउँछन्, यसैमा अन्तर्घात न्यूनीकरण हुन्छ कि बढोत्तरी भन्ने भर पर्छ ।

नारायण खड्का नारायण खड्का पूर्वपरराष्ट्रमन्त्री हुन् ।

Link copied successfully