जलवायु परिवर्तन बढाउँदै डढेलो

वनमा डढेलो लगाउनेलाई कडा सजायका साथसाथै नीति, जागृति, फन्ड र दण्डको व्यवस्था गर्न सकियो भने वन डढेलो शून्य दशक मनाउन सम्भव छ

फाल्गुन १९, २०८१

कमलजंग कुँवर

Climate change exacerbating wildfires

वन डढेलोले वन, वन्यजन्तु र वातावरणलाई मात्रै असर गर्दैन, मानिस, जल, जलाधार, जंगल, जनावर, जडीबुटी एवं जैविक विविधतालाई पनि ठूलो नोक्सानी पुर्‍याउँछ । यसबाट उत्सर्जन हुने विशाक्त वायुका कारण जलवायु परिवर्तनमा समेत प्रभाव पर्छ । नेपालमा बर्सेनि माघदेखि जेठसम्मका पाँच महिनामा दैनिक सयौं स्थानमा वन डढेलो लाग्ने गरेको छ । 

नेपालमा २०५७ सालयताको तथ्यांकका आधारमा ४२ हजारभन्दा बढी वन क्षेत्र डढेलोबाट नष्ट भएको छ । वनबाट बस्ती र बस्तीबाट वनमा डढेलो विस्तार भएर करोडौं धनसम्पत्ति खरानी भएको छ भने अग्नि नियन्त्रणमा खटिँदा दर्जनौं वनकर्मी, समुदाय, संरक्षणकर्मी र सुरक्षाकर्मीले मृत्युवरण गर्नुपरेको छ भने त्यत्तिकै संख्यामा घाइते तथा अपांग हुनुपरेको छ । 

प्राकृतिक र मानवजन्यका आधारमा वनमा डढेलो लाग्छ । चट्याङ पर्दा, हावाहुरीले सुकेका बाँस, रूखको घर्षण हुँदा, पहिरो जाँदा ठूला ढुंगा ठोक्किँदा पनि आगो बल्न सक्छ । मानवजन्य डढेलो अज्ञान वा भूलवश लाग्छ भने नियतवश र आफ्नो निहित स्वार्थका लागि लगाइने वन डढेलो अझै घातक सिद्ध भएको छ । ‘रोगको उपचारभन्दा रोग लाग्नै नदिनु उत्तम हो’ भन्ने लोकोक्तिजस्तै वन डढेलोका सन्दर्भमा पनि ‘नियन्त्रणभन्दा रोकथाम नै उत्तम उपाय हो’ भन्नु सान्दर्भिक छ । 

नेपालमा वन डढेलो रोकथामभन्दा नियन्त्रणमा धेरै ध्यान दिइँदै आइएको छ । वन डढेलो नियन्त्रण गर्न खर्चिलो तथा जोखिमपूर्ण छ भन्ने नेपालमा विगतका थुप्रै घटना र हालैको अमेरिकामा लागेको वन डढेलो नियन्त्रण गर्न परेको कठिनाइबाट पनि बुझ्न सकिन्छ । वन डढेलो रोकथाम गर्न सक्यौं भने वायु प्रदूषण न्यूनीकरण भएर जलवायु परिवर्तन र मानव स्वास्थ्यमा पर्ने असरलाई न्यून गर्न सक्छौं ।

जलाधार क्षेत्र सुरक्षित हुँदा पानीको सञ्चिति क्षमतामा वृद्धि हुन्छ भने हिउँदमा आवश्यक पानीको आपूर्तिमा सघाउ पुर्‍याउँछ । वन डढेलो रोकथाम हुँदा वन्यजन्तु बस्तीमा प्रवेश गर्ने क्रम घटेर मानव–वन्यजन्तु सहअस्तित्व कायम हुन सम्भव हुनेछ । एक पटक वन डढेलो लागेपछि त्यो स्थानलाई पुरानै अवस्थामा फर्काउन १८—१९ वर्ष लाग्ने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छ । त्यसो भए, के साँच्चै नेपालमा हरेक दृष्टिकोणले घातक वन डढेलो शून्यमा झार्न सम्भव छ त ? 

२०५८/५९ सालताका चितवन राष्ट्रिय निकुञ्जभित्र सिकारीबाट मारिएका र खाग निकाल्न नाकमाथि ताछिएका गैंडाको लाम देख्दा लाग्थ्यो, चितवनबाट पूरै गैंडा सिकार गरेर सखाप भए । द्वन्द्व कालको समय थियो, असम्भवजस्तै लाग्ने गैंडाको शून्य चोरीसिकार पनि अठोट, आत्मविश्वास, धैर्य र गल्तीबाट पाठ सिक्दै २०५८ मा एकै वर्ष कम्तीमा ३७ वटा गैंडा चोरीसिकारबाट मारिएकामा त्यो संख्या क्रमशः घट्दै गएर २०६४ सालमा शून्यमा पुर्‍याउन सफल भएका थियौं ।

२०६६ र २०६७ मा पुनः गैंडाको चोरीसिकार बढेकामा सरकार, सुरक्षा निकाय, समुदाय र संरक्षण साझेदारको सहकार्यमा २०६८ देखि हालसम्म लगभग शून्यको हाराहारीमा गैंडाको चोरीसिकार पुर्‍याउन हामी सफल हुनु नेपालका लागि गौरवको विषय हो । 

नेपालमा वन डढेलो रोकथाम गर्न असम्भवजस्तो लागे पनि यसलाई शून्य वन डढेलो दशकको लक्ष्य तोकेर सरकार र समुदाय संयुक्त रूपमा सहकार्य गर्दै लाग्यौं भने असम्भव छैन । वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रणनीति तथा योजना तर्जुमा गरिनुपर्छ ।

आवश्यक बजेटका साथै कार्यान्वयनयोग्य कार्यक्रम, समर्पित जनशक्ति, समुदाय र सरकारी कर्मचारी एवं सुरक्षाकर्मीलाई सेवा, सुविधा, प्रोत्साहन, बिमाको व्यवस्था र वन डढेलो लगाउनेलाई कडा सजायको व्यवस्था गरिनुपर्छ । यसका साथै नीति, जागृति, फन्ड र दण्डको व्यवस्था गर्न सकियो भने गैंडाको शून्य चोरीसिकार वर्षझैं नेपालमा वन डढेलो शून्य दशक मनाउन पनि उत्तिकै सम्भव छ । 

वन डढेलो विशेषतः पतपतिङ्गर, सुकेका झिँझामिझालगायतका प्रज्वलनशील पदार्थ, ताप र अक्सिजनको संयोजनबाट उत्पन्न हुने गर्छ । यसको रोकथामका लागि दुई तत्त्व हाम्रो नियन्त्रणमा छन् । वन डढेलो रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण विषय प्रज्वलनशील पदार्थ र तापलाई कम गर्ने उपायप्रति ध्यान दिन जरुरी छ । गोरखालगायतका डिभिजन वन कार्यालयले झैं वनकर्मी, समुदाय, सुरक्षाकर्मी मिलेर वनबाट प्रज्वलनशील पदार्थ निकालेर सफा गर्नु नै वन डढेलो रोकथामको सबैभन्दा उत्तम उपाय हो । अरूलाई सुझाव दिन धेरै सजिलो छ तर हामी आफैंले के गर्‍यौं त ? यो आत्मसमीक्षा गर्ने विषय हो । 

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनका नाममा लगाइने आगो बढेर निकुञ्ज नै ध्वस्त हुने गरी लागेको वन डढेलो देखेर आक्रान्त हुने गरेको म शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि अत्यधिक वन डढेलो फैलिएको देखेर मेरो शरीरभित्र आगोबिना नै जलन हुन्थ्यो । बागमती नदीको जलाधार क्षेत्र एवं काठमाडौं उपत्यकाको खानेपानीको मुहानमा वन डढेलो लाग्नु चितवनमा गैंडा मर्नुसरह हो ।

प्रज्वलनशील पदार्थ हटाउने उपायका लागि चितवनमा स्थानीय समुदायलाई खरखडाइ संकलन गर्न अनुमति दिने व्यवस्थाको अनुभवले मध्यवर्ती क्षेत्र समितिसँगको समन्वयमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि निश्चित दिनसम्म स्थानीय उपभोक्तालाई झिँझामिझा, पातपतिङ्गर, सल्लाका सल्लेरी र सिम्टा निकाल्ने अनुमति दिने व्यवस्था भयो ।

पछि यसलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ को नियम २० मा व्यवस्था गरेर वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने प्रयास चल्दै आइरहेको छ । यसो गर्दा एकातिर प्रज्वलशील पदार्थ हट्यो भने अर्कोतिर निकुञ्जभित्रको वन स्रोत उपयोग गर्न पाएर स्थानीय समुदायमा निकुञ्जप्रति अपनत्वको भाव जागृत भयो । तसर्थ देशैभरिका वन क्षेत्रबाट बिनाकञ्ज्युस्याइँ सम्पूर्ण प्रज्वलशील पदार्थ निकाल्न समुदायलाई अवसर दिनु नै बुद्धिमत्तापूर्ण वन डढेलो रोकथामको उपाय हो । 

चुरे, मध्य पहाड र महाभारत पहाडजस्ता भिरालो परेका क्षेत्रमा वन डढेलो लाग्नु हाम्रा लागि चुनौतीपूर्ण छ । जंगल छेउका प्रत्येक घरदैलोसम्म पुग्न सक्ने गरी बनाइएको सामुदायिक वन उपभोक्ता समूह र मध्यवर्ती क्षेत्र उपभोक्ता समूहलाई परिचालन गरेर जनचेतना जागृत गर्नुपर्छ । निकुञ्ज–आरक्ष कार्यालयले घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित आगोको प्रयोग गर्नुपर्छ । पशुपालकले नयाँ घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउनु भएन, कृषकले खेतबारीमा मलका लागि पातपतिङ्गर पोल्ने काम गर्दा सावधानी अपनाउनुपर्‍यो ।

निकुञ्ज र वन क्षेत्रभित्र प्रवेश गर्नेलाई चुरोट, बिँडी, गाँजा, हुक्का, पटाका, मैनबत्ती, विस्फोटक पदार्थ, सलाई, लाइटर, झुला, हाइड्रोजन भरेका बेलुन, ग्यास, ताप उत्पन्न गर्ने विद्युतीय उपकरण लैजान दिनु भएन । शिवपुरीको तारकेश्वर मन्दिर नजिक लागेको वन डढेलोको अनुभवका आधारमा जंगलमा गाँजा खान जाने युवाको निगरानी गरेर सुक्खा मौसममा त्यसलाई दुरुत्साहन गर्नु जरुरी छ । जंगलभित्र कुटी बनाएर युवालाई गाँजा खान आकर्षित गर्ने गँजडीहरूलाई यो मौसममा जंगलबाहिरै राख्ने व्यवस्था मिलाउनुपर्छ । 

गोल पोल्ने कामलाई पूर्णतः निषेध गर्नुपर्छ । मौरीको मह काढ्न जाने, जंगलमा क्याम्प गरेर बस्ने र क्याम्प फायरलाई पूर्णतः नियन्त्रण गर्नुपर्छ । रातिमा सिठा, राँको बालेर हिँड्ने कार्यलाई निरुत्साहन गरेर विकल्पको उपयोग गर्न लगाउनुपर्छ । खेताला, गोठाला, भरियाले जंगलमा खाना पकाउँदा सतर्कता अपनाउन सचेत गराउनुपर्छ । खोरिया फँडानी गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्नुपर्छ । वन अतिक्रमणकारीले रूख हटाउन करोडौंका राष्ट्रिय सम्पत्ति जलाएर खरानी पार्ने कार्यलाई रोक्नुपर्छ । 

वन पैदावार संकलन गर्नका लागि रूखलाई सुकाउन आगो लगाउने कार्यलाई निरुत्साहन गर्नुपर्छ । वन्यजन्तु चोरी सिकार गर्नका लागि वनमा आगो लगाउने अपराधीलाई कारबाही गर्नुपर्छ । वनदेवी, वनझाँक्री, वन क्षेत्रभित्रका मठमन्दिरमा पूजाआजा गर्दा आगो जंगलमा नजाओस् भन्ने कुरामा आयोजक चनाखो हुनुपर्छ । सुरक्षा निकायले पनि यो अवधिमा जंगल क्षेत्रभित्र चाँदमारी अभ्यासलाई बन्द गर्नुपर्छ । सुकेका रूख, बाँस, बाबियो, सिम्टा, सल्लेरी सम्भव भएसम्म जंगलबाट निकाल्नुपर्छ । रूखका हाँगाबिँगाले विद्युतीय तारलाई छोएका छन् र घरगोठका छानामा रूखका हाँगा नुहेका छन् भने घर धनी, समुदाय र सम्बन्धित निकायसँग समन्वय गरेर छिमल्नुपर्छ । 

नाम वनभोज भए पनि पहिले–पहिलेका वनभोज बारीका पाटामा र पानीको स्रोत नजिक भएको खाली खेतका गरामा हुने गर्थे । तर, अचेल वन कार्यालय, निकुञ्ज कार्यालय, सामुदायिक वन उपभोक्ता समूहले नै आम्दानीका स्रोतका नाममा वन, निकुञ्ज क्षेत्रभित्रै वनभोज गर्ने स्थल निर्माण गरिदिएका छन् ।

नेपालमा वन डढेलो लाग्ने कारणहरूमध्ये वनभोज पनि एक हो । ‘हलो काटेर मुंग्रो’ भनेझैं केही रकमको लोभमा वन क्षेत्रभित्र वनभोज खाने व्यवस्थाका कारण वन डढेलो लाग्दा करोडौंको वन ध्वस्त हुने गरेको छ । पछिल्लो समय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पनि वनभोज स्थल निर्माण गरिएको छ । 

एकातिर वन्यजन्तुलाई असर पर्छ भनेर निकुञ्ज प्रवेश गर्दा पर्यटकलाई हल्ला गर्न हुँदैन भन्ने अर्कोतर्फ निकुञ्जभित्रै वनभोज स्थल बनाएर प्रोत्साहन गर्नु आफैंमा त्रुटिपूर्ण छ । निकुञ्जभित्रको वनभोजमा कुखुरा, खसी, बोका, हाँस लगेर काट्ने हुँदा त्यसलाई धोइपखाली गर्दा काठमाडौं उपत्यकाको पानीको मुहान, खानेपानीको स्रोतमा फोहोर पदार्थ मिसिएर पानी अशुद्ध हुने र मासु र रगतको गन्धले चितुवालगायत मांसाहारी जनावर आकर्षित हुन्छन् । वनभोज पकाउन बालेको आगोले वन डढेलो लाग्न सक्ने, रक्सीका बोतल, प्लास्टिकलगायत फोहोरले निकुञ्ज नै विरूप हुने स्थिति छ । यस्ता वनभोज स्थल बिनासर्त बन्द गर्नुपर्छ । 

वन डढेलोमा रोक्न नसकिने खतरनाक तत्त्व भनेको हावाको दिशा र वेग हो । यसले डढेलोलाई थप व्यापक र शक्तिशाली बनाउँछ । वन डढेलो नियन्त्रण गर्न पानी छर्केर, माटो, बालुवा हालेर, स्याउलाको मुठो, पिटर वा स्वाटरले पिटेर सतहमा रहेको २१ प्रतिशत अक्सिजनलाई १५ प्रतिशतभन्दा कम गरेपछि आगो निभ्छ । यो वर्ष सुक्खा खडेरीका कारण प्रज्वलनशील पदार्थ बेस्सरी सुकेका छन् ।

तसर्थ, पूर्वतयारीका रूपमा वन डढेलो नियन्त्रण गर्न जमिनको भिरालोपन, चौडापाते, कोणधारी, सदावहार, पतझड र वनको प्रकार हरेर उपलब्ध सरकारी र समुदायमा विद्यमान जनशक्ति, स्रोत र साधनको व्यवस्थासमेत भएको कार्यान्वयन योजना निर्माण हुनुपर्छ । विगतमा लागेको आगोको विश्लेषण गरेर न्यून, संवेदनशील र अति संवेदनशील क्षेत्र छुट्याएर अग्निरेखा निर्माण, वन क्षेत्रको नजिक कम गहिराइका चाक्ला खाल्डामा प्लास्टिक ओछ्याएर पानी भरेर राख्नुपर्छ ।

वन डढेलो लगाउनेलाई अनुसन्धान गरेर मुद्दा दायर गर्ने प्रचलन अत्यन्तै न्यून छ । वन डढेलो लाग्न नदिने संयन्त्र निर्माण र लगाउनेको सूचना दिनेलाई पुरस्कार, तलब सुविधा दिने व्यवस्था गर्न सकियो भने वन डढेलो नियन्त्रण सम्भव छ ।

वन डढेलोले जमिन नांगो पार्छ भने माटो खुकुलो बनाइदिन्छ । जसले गर्दा पानीको थोपाले माटोलाई विच्छेद गर्न र बगाउनका लागि सहज स्थितिको सिर्जना हुने हुँदा अत्यधिक भूक्षय र भूस्खलन हुन्छ । हामीले वन डढेलो शून्य बनाएर जनताका लागि आवश्यक पर्ने पिउने पानी, सिँचाइ तथा जलविद्युत् निकाल्ने जलको संरक्षण र जलवायु परिवर्तनलाई प्रभाव पार्ने प्रदूषित वायुलाई पनि रोक्न सक्छौं । वन डढेलो रोकथाम गर्न सक्यौं भने जैविक विविधता, जंगल, जनावर, जडीबुटीदेखि जलाधार क्षेत्र मात्रै सुरक्षित हुँदैन, वर्षामा आउने भयानक विध्वंसात्मक बाढी, पहिरो, डुबान र कटानबाट पनि बच्ने छौं र भौतिक पूर्वाधारको सुरक्षा हुनेछ । 

कमलजंग वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील कमलजङ्ग प्रमुख संरक्षण अधिकृत थिए । उनकाे गैँडालाई चार वर्ष पुस्तक प्रकाशित छ ।

Link copied successfully