म्याक्यावेलीको बाटोमा ट्रम्प

ट्रम्प कुनै राजा, हिटलर, स्टालिन वा मुसोलिनीको बाटो नभएर म्याक्यावेलीको आदर्श राजकुमार बन्ने बाटो हिँडिरहेका छन्

फाल्गुन १८, २०८१

शुभशंकर कँडेल

Trump on Machiavelli's road

राजनीतिक पुनःसंरचनाको अवधिले विश्व प्रणालीलाई अद्यावधिक र पुनः आकार प्रदान गर्न पुस्ता–दर पुस्तालाई अवसरहरू प्रदान गर्छ भन्ने रिचर्ड निक्सनले जस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले मसिनो गरी बुझेका छन् (सन्डर्स पीजे, फ्रिडम अनट्रायल, २०२४) । निक्सनले प्रस्तुत गरेको १९७० को पहिलो वार्षिक विदेश नीति प्रतिवेदन र अहिलेको भूराजनीतिक वातावरण उल्लेखनीय रूपमा सान्दर्भिक मान्ने हो भने ट्रम्पको कार्यशैलीले त्यही पछ्याएको छ ।

 निक्सन ह्वाइटहाउस प्रवेश गर्दा विश्व आधारभूत पुनःसंरचनाबाट गुज्रिरहेको थियो । उनले एउटा राजनेतृत्वको चुनौती त्यतिबेलाको परिवर्तनको प्रकृति बुझ्नु, त्यसको खुलासा हुँदा अमेरिकी लक्ष्यहरूको परिभाषित गर्नु र तिनलाई प्राप्त गर्ने नीतिहरू तय गर्ने दायित्वलाई राम्ररी बुझेको देखिन्थ्यो । 

दोस्रो विश्वयुद्धपछिका दुई दशकमा स्थिरता र समृद्धि सिर्जना गर्ने अवस्थाहरूमा परिवर्तन भइरहेको थियो । अमेरिका मुख्य शक्ति भए पनि युरोप र जापान आर्थिक रूपमा नजिक आउँदै थिए । युरोपको आर्थिक र राजनीतिक आत्मविश्वास बढ्दै जाँदा, सोभियत संघबारे युरोपेली दृष्टिकोण परिवर्तन भइरहेको थियो । विली ब्रान्ट १९६९ मा पश्चिम जर्मनीको चान्सलर बनेपछि ‘ओस्टपोलिटिक नीति’ अघि सारेर सोभियत संघ र पूर्वी ब्लकका देशहरूसँग तनावको सट्टा सहकार्यको बाटो रोजेका थिए । सोभियतसँग १९७० मा ‘मस्को सन्धि’ मा हस्ताक्षर गरिएको थियो ।

आणविक सन्तुलनमा उत्पन्न परिवर्तनका कारण अमेरिका सोभियतको तुलनामा रणनीतिक श्रेष्ठतामा कमजोर महसुस गर्दै थियो । चीनले समेत आणविक हतियारको विकास गरिरहेको थियो । यस्ता परिवर्तनहरूबाट सैन्य शक्ति सन्तुलनमा परिवर्तन भएको यथार्थवादी संश्लेषणमा निक्सन पुगेका थिए । बदलिँदो आणविक परिदृश्यले नेटोका लागि नयाँ चुनौती ल्याएको भन्दै निक्सनले बेलायती पूर्वप्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनको धारणालाई अघि सार्न पुगे–गठबन्धनहरू प्रेमले होइन, डरले एकसाथ हुन्छन् । 

निक्सनले अन्तर्राष्ट्रिय कम्युनिस्ट एकताको मार्क्सवादी सपना विघटन भइरहेको परिवेशबाट फाइदा उठाउने नीति अख्तियार गरे । सोभियत संघ र कम्युनिस्ट चीन शत्रुका रूपमा आमनेसामने हुँदै थिए । कम्युनिस्टहरूकै बीचमा त्यसलाई ‘महान् विवाद’ नामकरण गरिएको थियो ।

शान्ति स्थिर छैन, यसलाई कायम राख्न अन्य शक्तिहरूले आफ्नो हितमा काम गर्दा निरन्तर ‘क्यालिब्रेसन’ आवश्यक पर्छ भन्दै निक्सनले आफ्नो पुस्तक ‘वास्तविक शान्ति’ मा लेखेका छन्: वास्तविक शान्ति कुनै जादुयी सूत्रबाट आउने छैन, जुन अचानक र एक पटकका लागि ‘फेला पारिनेछ’, जस्तै वाचा गरिएको भूमि वा पवित्र ग्रेल । वास्तविक शान्ति एउटा प्रक्रिया हो— प्रतिस्पर्धी राष्ट्रहरू, प्रतिस्पर्धी प्रणालीहरू र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय महत्त्वाकांक्षाहरूबीच द्वन्द्व व्यवस्थापन र नियन्त्रण गर्ने निरन्तर प्रक्रिया । शान्ति द्वन्द्वको अन्त्य होइन, बरु द्वन्द्वसँग बाँच्ने साधन हो । एक पटक स्थापित भएपछि, यसमा निरन्तर ध्यान दिनु आवश्यक हुन्छ, नत्र यो टिक्दैन (पृ. ७, १९९०) । 

शान्तिका सर्तहरू

हामी यतिबेला अन्तर्राष्ट्रिय सम्बन्धमा पुनःसंरचनाको क्षणको किनारामा उभिएका छौं । यो १९९० को दशकमा एकीकृत भएको उदार अन्तर्राष्ट्रिय व्यवस्थाको अन्त्यको आशा र डरले भरिएको क्षण हो, किनकि पुराना खराब र राम्रा दुवै निश्चितताहरू हराउँदै छन् । यस्ता निर्णायक क्षणहरूमा सक्षम सञ्चालकहरूभन्दा करिश्मायी अवसरवादीहरू चम्किन्छन् ।

शान्तिलाई कायम राख्न जिम्मेवारी बाँडफाँट आवश्यक हुन्छ । साझेदारीमा दायित्व र लाभ दुवै हुन्छन् र दुवै बाँडिनुपर्छ । अमेरिकाको विशिष्ट रूपले ‘आफैं गर’ भन्ने भावना र स्वस्थ अधैर्यताले अमेरिकी विदेश नीतिमा ‘सबै आफैं गर्ने’ प्रवृत्ति निम्त्याउन सक्ने जोमिखलाई निक्सनले सूत्रबद्ध गरेका थिए । ‘हाम्रा विदेशी मित्रहरूको थप जिम्मेवार सहभागिता’ आवश्यक छ भन्ने निष्कर्षमा निक्सन पुगेका थिए ।

समयक्रममा यसलाई नै ‘निक्सन डक्ट्रिन’ का रूपमा चिनियोः अमेरिकाले आफ्ना सहयोगी र मित्रहरूको रक्षा र विकासमा भाग लिनेछ तर सबै ‘कल्पना गर्न’ सक्दैन र गर्दैन । खतरामा परेको राष्ट्रले आफ्नो रक्षाका लागि जनशक्ति उपलब्ध गराउने र कार्य गर्ने प्राथमिक जिम्मेवारी उसले नै बहन गर्नुपर्नेछ । अहिले ट्रम्पले यही वास्तविकता युक्रेन र नेटो देशहरूलाई स्मरण गराएका मात्र हुन् । 

ह्वाइटहाउसमा पुगेर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले दाबी गरेका साना कदमहरू अगाडि बढ्न अर्थपूर्ण साबित हुन्छन् कि हुँदैनन् भन्न अहिले धेरै हतार हुनेछ । ट्रम्पको बचनको मूल्य जति छ, त्यति नै हो (द इकोनोमिस्ट, २४ फेब्रुअरी २०२५) । शान्ति स्थापनाको सर्तले गर्दा त्यही दिनको बिहान नेटो सहयोगीहरूमा चिन्ताका बीच अमेरिका रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावको विपक्षमा र रुसको पक्षमा मतदान गर्न पुग्यो ।

अर्कातिर युरोपेलीहरूले आफ्नो महादेशमा युद्धपछिको सुरक्षा व्यवस्थाको उल्टोपाल्टोको जवाफ दिन हतार गर्दै छन् । पहिले अमेरिकाको एकपक्षीय कूटनीतिक पहलप्रति असहमत रहेका म्याक्रोंले वासिङ्टन भ्रमणअघि ३० युरोपेली र सहयोगी नेताहरूसँग छलफल गरेका कारण नै ट्रम्पसँगको कुराकानीलाई निकै उत्पादनशील तरिकाले अगाडि बढाउन सकेका हुन् । युक्रेन युद्ध सुरु भएदेखि नै कुनै पनि युरोपेली नेताभन्दा बढी वार्ता पक्षधरका रूपमा उनी उभिँदै आएका थिए । 

निक्सनलाई टिकाउ शान्ति कायम राख्न शक्ति आवश्यक छ भन्नेमा गहिरो विश्वास थियो (हर्मन ए, एपी, २२ जुलाई २०२४) । अमेरिकी कमजोरीले आक्रमणलाई निम्त्याउने र त्यसले धेरै महँगो लागतमा पुर्‍याउनेछ भन्नेमा उनको सही दृष्टिकोण थियो । निक्सनले वार्तालाई कमजोरीको संकेतका रूपमा नभएर शक्तिका रूपमा हेर्थे । त्यसका लागि लिंकेजको अवधारणा निक्सनको वार्ता शैलीको केन्द्रमा थियो ।

उनका राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्री रहेका हेनरी किसिन्जरले भनेका छन् : राष्ट्रपति शान्तिको समस्यालाई सम्पूर्ण मोर्चामा सम्बोधन गर्न चाहन्थे, जसमा शान्तिलाई चुनौती दिइएको थियो, न कि केवल आणविक हतियार वार्तामा (ब्रान्डन हेनरी, न्युयोर्क टाइम्स, २१ जनवरी, १९७३) । लगभग तीन वर्षदेखि नेटो देशहरूले रुससँग कूटनीतिक सम्पर्क बन्द गरेका थिए ।

युद्धभूमिमा लाखौं मानिसहरू मरेका छन् । कूटनीतिज्ञहरूले कूटनीति अस्वीकार गर्ने निर्णय नैतिक रूपमा घृणित छ, किनभने कूटनीतिले हिंसाको अतिरिक्तता कम गर्न, हिंसालाई रोक्न र शान्तिको बाटो खोल्ने काम गर्दछ । तथापि, राजनीतिक–सञ्चारमाध्यमका अभिजात वर्गले कूटनीतिक बहिष्करणलाई जनतासमक्ष आफ्नो नैतिक धार्मिकताको प्रमाणका रूपमा कुशलतापूर्वक बेचिरहेको परिदृश्य विडम्बनापूर्ण थियो । राष्ट्रपति ट्रम्पले यसलाई ब्रेक गरेर कुनै अनैतिक काम गरेका छैनन् । गर्नैपर्ने ट्रम्पकै लोकप्रिय शब्द ‘कमनसेन्स’ को दायित्व पूरा गरेका छन्, जुन काममा बाइडेन प्रशासन पूर्णरूपले चुकेको थियो । 

शान्तिका तीन उपकरणहरू— साझा जिम्मेवारी, शक्ति र वार्तालाई निक्सनले मुख्य नीति बनाए जस्तै अहिले ट्रम्पले त्यसको अभ्यास गरिरहेका छन् । नयाँ ट्रम्प प्रशासन अहिले विश्वमा भइरहेको पुनःसंरचनाबारे राम्ररी जानकार छ (लसन, जर्ज आर, नेसनल इन्ट्रेस्ट, २०२४) । ट्रम्पले २०२४ मा पुनः निर्वाचन जितेका कारण नै उनले पहिलो कार्यकालमा सम्बोधन र व्यवस्थापन गर्न सुरु गरेका परिवर्तनहरू पूरा गर्न आवश्यक थियो भन्ने कुरालाई संश्लेषण गरेजस्तो देखिन्छ ।

निक्सनले जस्तै ट्रम्पले विश्वमा शक्ति र यसको वितरण कसरी भइरहेको छ भन्ने बुझेका छन् (समेट डीजे, डिस्केलेसन एन्ड डबल स्ट्यान्डर्ड, २०२५) । आजको भूराजनीतिक वातावरणका विशिष्ट पक्षहरू निक्सनको कार्यकालको समयका भन्दा निश्चय नै फरक छन् । शीतयुद्धको सिनो–सोभियत विभाजनले निक्सनका लागि अवसर सिर्जना गरेको थियो । उनले जोखिम उठाए र त्यसमा सफल पनि भए ।

ट्रम्पसँग फरक अवसरहरू हुनेछन् । निक्सनले जस्तै उनले अरूले नदेखेका ठाउँमा अवसरहरू देखेका हुन सक्छन् । ट्रम्पले शक्तिमार्फत शान्तिको मञ्चमा आफ्नो अभियान चलाए, आफ्नो २०२५ को शपथ सम्बोधनमा ‘विश्वले कहिल्यै नदेखेको सबैभन्दा बलियो सेना निर्माण गर्ने’ उनको वाचा स्मरणीय छ ।

प्राविधिक शक्तिको पूर्ण फाइदा उठाउँदै घातक बलहरू छिटो प्राप्त गर्न, निवारणका लागि अमेरिकाले आफ्ना विरोधीहरूलाई आवश्यक परेमा हामी लडाइँ कायम राख्न सक्छौं भन्ने देखाउनुपर्छ भन्ने कुराप्रति ट्रम्पमा कुनै दुविधा देखिँदैन (सोलिमन एम, नेसनल इन्ट्रेस्ट, १३ फेब्रुअरी २०२५) । रुस–युक्रेन द्वन्द्वले राजनीतिज्ञ, रणनीतिज्ञ र नागरिक जनसंख्याले युद्धलाई बुझ्ने तरिकामा आमूल परिवर्तन गराइदिएको छ । 

ट्रम्पले अमेरिकी सहयोगीहरूबाट साझा जिम्मेवारीको माग जारी राख्नेछन् (वेवर विल्सन, द नेसनल इन्ट्रेस्ट, २० नोभेम्बर २०२४) । उनले आफ्नो पहिलो कार्यकाल युरोपेली साझेदारहरूलाई आफ्नो सेना निर्माण गर्न र नेटोभित्र आफ्नो भार बहन गर्न दबाब दिएका थिए । अहिले त्यसलाई अरू बढी जोड दिँदै उनले कमजोर युरोप नचाहेको स्पष्ट गरेका छन् । अहिले युरोप विभिन्न मोर्चाहरूमा विभाजित र स्थिर छ ।

निक्सनले जस्तै ट्रम्पले प्रमुख क्षेत्रहरूमा अमेरिकी स्थान सुधार गर्न वार्ताको प्रयोग थालिसकेका छन् । उनले विशेषगरी विश्व व्यापार प्रणालीको पुनःसंरचनातर्फको ‘ड्राइभ’ जारी राख्नेछन् । निक्सनलाई जस्तै ट्रम्पलाई पनि ‘लिंकेज’ धेरै मन पर्छ । उनले यसलाई यसको सीमासम्म तन्काउन खोज्दै छन् । क्यानडा र मेक्सिकोमाथि ट्यारिफको घोषणाबाट दुवै देशलाई सीमा सुरक्षा बल तैनाथ गर्न बाध्य बनाए । पानामामाथि अमेरिकी पारवहन शुल्कमा सहुलियत खोज्न धम्की र कूटनीतिक दबाब एकसाथ अघि बढाइरहेका छन् । यसलाई उनले 

ट्यारिफहरूमा लिंक गर्न खोज्दै छन् (हल्पर्ट एम र मर्फी जे, बीबीसी न्युज, ४ फेब्रुअरी २०२५) । प्रायः ट्रम्पले अरूलाई आफूलाई मन लागेको दिशामा हिँडाउन विघटनकारी दृष्टिकोणहरू अपनाउँछन् (माग्डी एस, एपी, १८ फेब्रुअरी २०२५) । गाजा कब्जा गर्ने उनको प्रस्तावले त्यस क्षेत्रका राज्यहरूलाई क्षेत्र पुनर्निर्माण गर्न प्रेरित गर्न बाध्य पार्न पनि सक्छ ।

पानामा नहरको अडानले पानामा सरकारलाई चीनका बारेमा ट्रम्पको दृष्टिकोणतर्फ अघि बढ्न बाध्य पार्‍यो (ग्रे अलेक्जेन्डर, नेसनल इन्ट्रेस्ट, ५ जनवरी, २०२४) । युक्रेनबारेको रियाद वार्ता थप लिंकेजका रूपमा अर्को परीक्षामा छ । कथित युक्रेनी सैन्य सहयोगको बदलामा ट्रम्पले त्यहाँबाट लिन सक्ने सबै कुरा लिने निश्चित छ । युक्रेन र त्यहाँका अतुलनीय स्रोतहरू नियन्त्रण गरेर रुस–अमेरिका साझेदारीमार्फत ट्रम्पले चीन र इरानलाई उत्तेजक संकेत दिँदै छन् ।

निक्सनले आफ्नो पुस्तकमा उल्लेख गरेजस्तै शान्ति संरक्षण गर्न शक्ति सन्तुलन कायम राख्न आवश्यक मार्गमा ट्रम्प अघि बढेको प्रतीत हुँदै छ । जुनसुकै मूल्यमा भए पनि नरसंहार रोकिनुपर्छ भन्ने मान्यतालाई सहज बुद्धिको कसैले पनि अस्वीकार गर्न हुँदैन । विचित्र के हो भने, ट्रम्पले विरलै नाम लिने निक्सनबाट नै सबै कुरा सिकिरहेका छन् । 

ब्रिटिस लेखक पल जोन्सनले एक सन्दर्भमा रोचक प्रसंग उल्लेख गरेका छन्, ‘इतिहासको एउटा पाठ भनेको कुनै पनि सभ्यतालाई निश्चित मान्न सकिँदैन । यसको स्थायित्व कहिल्यै सुनिश्चित गर्न सकिँदैन । यदि तपाईंले आफ्ना कार्डहरू गलत तरिकाले खेल्नुभयो र पर्याप्त गल्तीहरू गर्नुभयो भने सधैं अन्धकार युग तपाईंको पर्खाइमा कोप्चामा पर्खेको हुन्छ (मोर्डन टाइम्स, द वर्ल्ड फर्म द ट्वान्टिज टु द नाइन्टिज–१९८३) ।’ निक्सन जस्तै ट्रम्पले पनि भूराजनीतिक पुनःसंरचनाको अवधिले विश्व प्रणालीलाई अद्यावधिक र पुनः आकार दिन पुस्ता–दर पुस्ताको अवसरहरू प्रदान गर्छ भन्ने प्रमाणित गर्न सक्छन् कि सक्दैनन् भन्ने भविष्यको किनारामा छ । 

हामीले के सिक्ने ? 

नेपालले ट्रम्प–म्याक्रों तथा ट्रम्प र जोर्डनका राजा अब्दुल्लाहबीचको वार्ताबाट गम्भीर पाठ सिक्नुपर्दछ । राष्ट्रिय स्वार्थ देखिने कुनै पनि छिद्रलाई उपयोग गर्न तयार हुनैपर्छ । ट्रम्पका ‘प्रथम साथी’ इलन मस्कले नेपालमा स्टारलिंक स्याटेलाइट सञ्चालन गर्ने इच्छा हाम्रा लागि अवसरका रूपमा उपयोग गर्न सक्नु बुद्धिमानी हुनेछ । बेइजिङ र दिल्लीसँग पेन्टागनको स्वार्थ र द्वन्द्वमा हामी अलमलिनुको कुनै अर्थ छैन ।

तर दुर्भाग्य पछिल्लो पटक संयुक्त राष्ट्रसंघको प्रस्तावका सन्दर्भमा नेपालले अमेरिका–रुस विरोधी र थकित युरोपेलीहरूको पक्षमा उभिएर एकैपटक बेइजिङ, दिल्ली र मुख्यतः ट्रम्प प्रशासनलाई चिढाउन पुगेको छ । यो मामिलामा सुरुदेखि नै चीन र भारत तटस्थ बस्न हुने तर नेपाल उत्ताउलो बन्ने शैली घातक थियो नै । युक्रेन मामिलामा नेपाल पूृर्णरूपले तटस्थ रहनुपर्ने थियो । गल्ती सच्याउने अन्तिम अवसर पनि नेपालले गुमाएर हाम्रो बेवारिसे कूटनीतिक टाट पल्टाइको प्रदर्शन हुन पुगेको छ । त्यस्तै 

बेफ्वाँकको गल्ती प्यालेस्टिनी मामिलामा प्रकट गरेर कस्तो खाले कूटनीतिक अभ्यासतिर जान लागेको हो भन्नेमा सायद ओली–देउवा गठबन्धन नै ‘कुहिरोका काग’ जस्तो प्रतीत हुँदै छ । कोही पनि उत्कृष्ट रणनीतिक नेताहरूले केही पनि हासिल गर्न सक्दैनन्, यदि उनीहरूको देशको रणनीति खराब छ वा कुनै रणनीति छैन— वा अन्यथा उनीहरूले विश्वास गरेको कुराका लागि लड्ने इच्छा पनि छैन भने । युद्ध, स्वार्थ र दाउपेचहरू आखिरमा, मानव इच्छाका प्रदर्शन हुन्, केवल रणनीतिक चातुर्य मात्र होइनन् । यो तथ्य नेपालले कहिल्यै बुझ्न सकेन ।

यतिबेलाको आवश्यकता ट्रम्प प्रशासन अनुमानयोग्य नभएको रटान दिएर दिन कटाउने होइन, सम्भवतः शीतयुद्धपछिका कुनै पनि राष्ट्रपतिभन्दा ट्रम्प नै आफ्नो बाटोमा प्रस्ट छन् । उनीसँग हेरिटेज फाउन्डेसनको ‘प्रोजेक्ट २०२५– म्यान्डेट फर लिडरसिप’ नामक ९ सय २० पृष्ठको प्लेबुक छ ।

‘यूएसए टर्निङ प्वाइन्ट’ ले अहोरात्र काम गरिरहेको छ । जनताको तात्तातो अभूतपूर्व समर्थनकै बीचमा ट्रम्प प्रशासन घरभित्र र बाहिर एकैपटक योजनाबद्ध र आक्रामक रूपमा अघि बढेको छ । अन्तर्राष्ट्रिय रूपमा कहिल्यै नदेखिएको ‘सिपाक’ नामक रुढिवादीहरूको बलियो सञ्जाल खडा भएको छ । आर्थिक उन्नतिको दौडमा बेइजिङ र सैन्य–आणविक दौडमा मस्कोसँगको प्रतिस्पर्धा र सन्तुलन तथा ‘मुन्रो डक्ट्रिन’ का रूपमा अमेरिकी परिधीय क्षेत्रबाहेक बाँकी क्षेत्रतिर ट्रम्प प्रशासनको उति धेरै अभिरुचि नहुने स्पष्ट भइसकेको छ ।

अहिलेको अमेरिकी अवस्था वा राष्ट्रपति ट्रम्पका हकमा यथास्थिति त उनका विरोधीहरूका लागि सहयोगी छ । ट्रम्पले नयाँ र अप्रमाणित कुरालाई स्थापित गर्न खोजिरहेका छन् । उनका शत्रुहरूले उनले पहिचान गरेका शैतानहरूको रक्षा गरिरहेका छन् । त्यसबाट उनीहरूले लाभ उठाइरहेका हुन्छन् भन्ने निकोलो म्याक्यावेलीको सूत्रअनुसार आफ्नै डिपस्टेटदेखि कथित सफ्ट पावरको नाइके यूएसएआईडी विघटन गर्दै छन् ।

‘नयाँ व्यवस्थाबाट लाभ उठाउन नसक्ने सबैमा उनीप्रतिको समर्थन न्यानो हुँदैन’ भन्ने भाष्यमा यतिबेला ट्रम्पसँग विरोधभन्दा बढी अमेरिकाभित्र अभूतपूर्व समर्थन छ । ट्रम्प कुनै राजा, हिटलर, स्टालिन वा मुसोलिनीको बाटो नभएर म्याक्यावेलीको आदर्श राजकुमार बन्ने बाटो हिँडिरहेका छन् । 

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully