कसरी बन्यो ‘अति भ्रष्ट’ नेपाल ?

मुद्दा चलाउने, नचलाउने निर्णय गर्ने अधिकार अख्तियारको हो, सरकारले फाइल खोल्छु र बन्द गर्छु भनिरहँदा अख्तियारमाथि हस्तक्षेप गरेको स्पष्ट हुन्छ, यसलाई अख्तियारले विरोध गर्नुपर्दथ्यो

फाल्गुन १६, २०८१

बलराम केसी

How did Nepal become 'highly corrupt'?

ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै सार्वजनिक प्रतिवेदनमा १०० मा ३४ अंक मात्रै पाएर नेपाल ‘भ्रष्ट देश’ को सूचीमा रह्यो । यसैबीच मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक भयो । जसमा प्रधानमन्त्री कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको देखियो । १२ मन्त्रीले ३५ भन्दा कम प्रतिशत पाए ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पनि नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको छ ।

यसरी, भ्रष्टाचार र सुशासनको प्रतियोगितामा भ्रष्टाचारले जित्यो । प्रधानमन्त्री र मन्त्रीलाई करदाताले ‘बूढो सेतो हात्ती’ पाल्नुपरेको महसुस भयो । क्षमता नभएकोलाई ‘सर्भिस ल’ मा ‘डेडउड’ भनिन्छ । त्यस्तो अवस्थामा पदमा बस्न सुहाउँदैन । कार्यक्षमताको अभाव अविश्वासको प्रस्ताव लगाइनुपर्ने घटना हो । प्रधानमन्त्री कार्यालयकै २८ प्रतिशत क्षमताले प्रधानमन्त्रीले देशलाई नेतृत्व गर्न नसक्ने देखियो ।

अर्थतन्त्रको वृद्धिको प्रतिशतको स्थिरता कायम राख्न सक्नुपर्नेमा भ्रष्टाचार वृद्धिको स्थिरता कायम भयो । नेपालको पगरीमा अर्को ‘अति भ्रष्ट’ र ‘ग्रे लिस्ट’ जस्ता दुईवटा जवाहरत थपियो । सिंगापुर, नर्वे, डेनमार्कमा भए सरकारले राजीनामा गर्दथ्यो । शासकहरू जेलमा हुन्थे । तर नेपालमा अझ तीन वर्ष सरकार चलाउँछु भनिन्छ ।

साना दलसँग सरकार बनाउँदा काम गर्न सकिएन, ठूला दल मिले सकिन्छ भनेर ७ बुँदे सम्झौता गरियो । सरकारले कार्यक्षमतामा पाएको अंक हेर्दा दुई ठूला दल मिले पनि एउटा प्रधानमन्त्रीले मात्र काम गर्न सक्नुभएन । संविधानलाई बिगार्नु बिगारिएको छ । अब बाँकी केही छैन । त्यसैले अब ‘बाधा अड्काउ फुकाउने’ धारा प्रयोग गरेर एकसाथ सिंहदरबारमा दुई प्रधानमन्त्री बस्ने र एउटा ‘मुख्य प्रधानमन्त्री’ को पद सिर्जना गर्ने गरी ७ बुँदे संशोधनलाई ८ बुँदे बनाउन सुझाव छ । धारा ७५ र ७६ लाई पुनः एकपटक प्रयोगशाला बनाऊ । खिलराज रेग्मी एकसाथ कार्यकारी प्रमुख र न्यायपालिका प्रमुख बनेको नजिर बसेकै छ । अब एक पदमा दुई प्रधानमन्त्री भएर केही बिग्रँदैन । अनुभव गरेर हेरौं ।

सरकार संसद्प्रति जवाफदेही हुनुपर्नेमा ७ बुँदेले एमालेको सरकार कांग्रेसप्रति र कांग्रेसको सरकार एमालेप्रति जवाफदेही हुने बनाइएको छ । नेपाल ‘अति भ्रष्ट देश’ बनेको र ‘ग्रे लिस्ट’ मा परेको कानुन नभएर होइन । नेताहरूले राजनीतिलाई कमाउ धन्दाको व्यवसाय ठानेकाले हो । भइरहेको कानुनी पूर्वाधारलाई ध्वस्त पारियो ।

पूर्वाधार गलत र नपुग रहेछ भने ‘सही’ बनाउनुपर्नेमा भइरहेका ‘सही’ पूर्वाधारलाई भत्काइयो । ‘अति भ्रष्ट’ को सूचीबाट सुशासनतिर लैजाऔं भन्ने सोच भएन । नीतिगत निर्णयमा मन्त्रिपरिषद्लाई उन्मुक्ति दिने ऐन संविधानको धारा २३९(१) सँग बाझिने गरी ल्याइयो । संवैधानिक परिषद्लाई भ्रष्टाचारमा ‘हामीबाहेक अरूलाई कारबाही गर्ने’ अलिखित समझदारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भर्तीकेन्द्र बनाइयो । धारा २३८(१) विपरीत अख्तियारजस्तै समानान्तर आफ्नो नियन्त्रणमा हुने अन्य निकाय खडा गरियो ।

सरकार २०८४ सम्म चल्छ भनिन्छ । स्थायित्व, नेताहरूको ऐस आरामका लागि भयो । देश गणतन्त्र भएको १६ वर्ष भयो । अघिल्लो संसद्मा झन्डै दुई तिहाइ बहुमतको सरकार थियो । प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो तर काम गर्न सक्नुभएन । दुई पटक संसद् विघटन गर्नुभयो । रचनात्मक होइन, ध्वंसात्मक कामहरू भए । आज पनि सरकार दुई तिहाइको र प्रधानमन्त्री पनि उहाँ नै हुनुहुन्छ । देश भ्रष्टाचारबाट ग्रसित छ । प्रधानमन्त्री ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ र ‘जे भन्नुपर्छ चित्रगुप्तको अदालतमा भन्छु’ भन्नुहुन्छ ।

भ्रष्टाचारको जरो फाल्ने काम भने गर्नुहुन्न । चित्रगुप्तको अदालतको सट्टा यही धर्तीमा दुई काम गर्न सकिन्थ्यो । एउटा नागरिक समाज, ट्रान्सपरेन्सी, मिडिया, कानुन व्यवसायी र भ्रष्टाचारविरोधी अभियन्ताहरूको आयोग गठन गरेर २०४७ यता सबै सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्तिको स्रोत खोल्ने आयोग बनाउन आँट । दोस्रो, गिरीबन्धु, भुटानी शरणार्थीलगायतका सबै फाइल अख्तियारबाट अनुसन्धान गर्ने नरोक्ने । यति गरेपछि चित्रगुप्तको अदालतमा पुग्नै पर्दैन ।

‘अति भ्रष्ट’ र ‘ग्रे लिस्ट’ मा पर्ने देशले विदेशी लगानीको आस नगरे हुन्छ । नेतृत्वमा कार्य सम्पादन क्षमता १०० मा ३० अंक पनि नभएकाले औद्योगिक विकास हुँदैन । नेपाललाई ‘लगानीमैत्री’ बनाउन धेरै काम गर्न सकिन्थ्यो । तर प्रधानमन्त्रीले केही गर्न सक्नुभएन ।

भारतको प्रधानमन्त्रीको ‘सबका साथ, सबका विकास’ को नाराबाट सिकेर ‘समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिइयो । भारत ‘अति भ्रष्ट’ देश होइन र त्यहाँका नेता भ्रष्टाचारको घोटालामा आरोपित होइनन् । ‘अति भ्रष्ट’ नेपाल समृद्ध हुँदैन, नेपाली सुखी हुँदैनन् । त्यसैले सिकिएको नारा बन्द गरौं । भ्रष्टाचार नियन्त्रण गरौं । ‘भ्रटाचारी जति जेल, कडा भ्रष्टाचार कानुन’ भन्ने अभियान चलाऔं, मिसन ८४ को सट्टा । नेपालीको कान पाकिसकेको ‘भ्रष्टाचारीको मुख हेर्दिनँ’ र ‘चित्रगुप्तको अदालत’ को नारा बन्द गरौं ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि कानुन, अनुसन्धान र अभियोजन गर्ने निकाय तथा अदालत छन् । तर नेतागणमा इमानदारिता भएन । भ्रष्टाचार र पदको लोभ नगर्ने हो भने संविधानको धारा २३९ (१) सँग बाझिने ‘नीतिगत निर्णयमा मन्त्रिपरिषद्लाई भ्रष्टाचार नलाग्ने’ वर्तमान असंवैधानिक कानुन खारेज गरेर सुरुको अवस्थामा फर्काउनुपर्छ ।

संवैधानिक परिषद्को दुरुपयोग बन्द गर्नुपर्छ । अख्तियारलाई राम्रो आयुक्त दिने परिषद्ले नै हो । परिषद्ले दिने आयुक्तहरूकै कारण नेपाल ‘अति भ्रष्ट’ बन्न पनि सक्छ वा सिंगापुरजस्तो ‘भ्रष्टाचार शून्य’ देश बन्न पनि सक्छ । त्यसैले दुई दल मिलेर परिषद्लाई भागबन्डामा नियुक्ति गर्ने काम बन्द गर्नुपर्छ । ‘३० वर्ष पञ्चहरूले कमाए, अब हाम्रो पालो’ भन्ने बुझाइ गणतन्त्रमा बन्द गरौं । बरु सरकारले नेपाल ‘अति भ्रष्ट’ देश बनेको र ‘ग्रे लिस्ट’ मा परेको हाम्रै कारणले हो भन्ने स्वीकार गरौं । संविधानले भ्रष्टाचारमा प्रधानमन्त्री र पियनमा फरक देख्दैन । दुवै पद सार्वजनिक पद हो ।

‘नीतिगत निर्णय’ मा अलमलिन पर्दैन । नीतिगत निर्णय बुझ्न नसक्ने व्यक्तिले नेतृत्व कसरी दिन सक्छ ? संविधानको भाग ४ बुझ्नुपर्‍यो । भाग ४ को शीर्षक ‘राज्यको निर्देशक सिद्धान्त नीति तथा दायित्व’ मा ६ शब्द छन् । भाग ४ का सबै व्यवस्थाहरू सरकारले लागू गर्ने नीतिहरू हुन् । लागू सरकारी निर्णयबाट गरिन्छ । त्यस्ता सबै निर्णयहरू नीतिगत निर्णय मानिन्छ । नीतिगत निर्णय लागू गर्न नै मन्त्रिपरिषद् गठन गरिन्छ ।

मन्त्रिपरिषद्ले धारा ८२(१) अनुसार अन्य मन्त्रालय र कार्यालयहरू गठन गर्छ । धारा ८२(१) अन्तर्गत गठन हुने सबै मन्त्रालय कार्यपालिकाका कार्यालयहरू हुन् र तिनीहरूले सम्पादन गर्ने हरेक काम नीतिगत/प्रशासनिक/कार्यकारी कामहरू हुन् । न्यायिक वा विधायिकी होइन ।

नीतिगत निर्णय गर्ने मन्त्रिपरिषद्का सदस्य धारा २३९ (१) अनुसार ‘सार्वजनिक पद धारण गर्ने व्यक्तिहरू’ हुन् । प्रधानमन्त्रीसहितका मन्त्रीहरू समग्रमा धारा ७६(९) को मन्त्रिपरिषद् हो । यसभित्र प्रदेश र स्थानीय तहका त्यसरी नै गठन हुने राजनीतिक व्यक्तिहरू पनि पर्दछन् । मन्त्रिपरिषद्लाई धारा २३९(१) को प्रतिबन्धात्मक वाक्यांशले भ्रष्टाचारमा उन्मुक्ति र छुट दिएको छैन ।

भ्रष्टाचारमा मन्त्रिपरिषद्लाई कानुन नलाग्ने गरी ऐन संशोधन गरेकाले गिरीबन्धु, भुटाणी शरणार्थी, गोकर्ण रिसोर्ट, दललाई अर्बौंको व्यापारिक दानलगायतका धेरै भ्रष्टाचार फस्टाएको हो । भ्रष्टाचार गर्न नै उन्मुक्ति पाउने व्यवस्था गरियो । इमानदारिता छ भने मन्त्रिपरिषद्लाई भ्रष्टाचार गर्न छुट दिने असंवैधानिक कानुन खारेज गरौं । यस्तोमा अध्यादेश नै जारी गरे पनि समर्थन हुन्छ । ७ बुँदेको रचनाकार दुई ठूला नेताले धारा ५१(ख)(४) ‘भ्रष्टाचारमुक्त’ बनाउने राज्यको सिद्धान्त र नीति कडाइका साथ लागू गर्न र अख्तियारमा हस्तक्षेप नगर्ने संकल्प सार्वजनिक गरौं ।

संवैधानिक परिषद्को चरम दुरुपयोग आफैंमा भ्रष्टाचार हो । संवैधानिक परिषद् विश्वमै नौलो व्यवस्था हो । २३८(६) मा आयुक्तहरूमा ५ योग्यता तोकिए पनि खण्ड (ग) को अयोग्यता आयुक्तमा हुनुपर्ने अनिवार्य योग्यता हो । प्रत्येक प्रधानमन्त्रीले संवैधानिक परिषद्लाई आफ्नो मान्छे आयुक्त बनाउने मञ्च बनाइयो । धारा २८४ को दुरुपयोग गरेकाले नै भ्रष्टाचार फस्टाएको हो र नेपाल ‘अति भ्रष्ट’ बनेको र ‘ग्रे लिस्ट’ मा परेको हो । परिषद्मा राज्यका तीनै अंगका प्रमुखहरू र विपक्षी दलका नेतासमेत रहने व्यवस्था गरियो ।

यसको उद्देश्य अख्तियारमा धारा २३८(६) को खण्ड (ग) को व्यक्ति आयुक्त बनाउनका लागी हो । खण्ड (क), (ख), (घ) र (ङ) न्यूनतम सामान्य र कर्मकाण्डी योग्यताहरू हुन् । खण्ड (ग) मा लेखा, राजस्व, इन्जिनियरिङ, कानुन र विकासका क्षेत्रमा अनुभवी र ख्यातिप्राप्त व्यक्ति उल्लेख छ । उल्लेख गरिएका पाँच क्षेत्र भनेको धारा ८२(१) र ७६(९) अन्तर्गत गठन हुने सरकारले गर्ने काम हो । भ्रष्टाचार हुने निकाय र कार्यालय नै यी हुन् । इमानदार प्रधानमन्त्रीले खण्ड (ग) अन्तर्गतको योग्यता खोज्छ । स्वार्थी प्रधानमन्त्रीले (ग) हेर्दैन । अन्य ४ खण्ड मात्र हेर्छ । नेपाल ‘अति भ्रष्ट’ बन्नुमा यो पनि कारण हो । 

आयुक्तहरूको अवकाशको निश्चित उमेर, पारिश्रमिक र सुविधा सञ्चित कोषमाथि व्ययभार हुने र महाअभियोग प्रस्तावबाट पदमुक्त हुने व्यवस्थाले आयुक्तहरू सर्वोच्चका न्यायाधीशजस्तै स्वतन्त्र हुन् तर नेताहरूले अख्तियारको स्वतन्त्रतामा हस्तक्षप र दबाब दिएर भ्रष्टाचारको फाइल खोल्ने र बन्द गर्ने काम गरे । मुद्दा चलाउने नचलाउने निर्णय गर्ने अधिकार अख्तियारको हो । सरकारले फाइल खोल्छु र बन्द गर्छु भनिरहँदा अख्तियारमाथि हस्तक्षेप गरेको स्पष्ट हुन्छ । यसलाई अख्तियारले विरोध गर्नुपर्दथ्यो । 

परिषद्ले धारा २३८ को (छ) को खण्ड (ग) को योग्यता र अनुभव भएको आयुक्त छान्न नागरिक समाजका निष्पक्ष व्यक्तिको ‘सर्च कमिटी’ गठन गरेर त्यसले छानेको व्यक्ति आयुक्त बनाउनुपर्ने थियो । छानेको आधार र कारण लेखबद्ध हुनुपर्दथ्यो । खण्ड (ग) लाई बाहेक गर्न हुँदैनथ्यो । परिषद् भारतमा न्यायाधीश छान्ने त्यहाँको सर्वोच्च अदालतले बनाएको ६ सदस्यीय ‘कलेजियम’ जस्तै हो । त्यसले योग्य उम्मेदवार छान्ने सम्बन्धमा ‘पार्टिसिपेटोरी कन्सल्टेटिभ प्रोसेस’ अर्थात् सहभागीय छलफल प्रक्रिया विकास गर्‍यो ।

त्यहाँ एक मत नभए बहुमतअनुसार गर्नुपर्छ भन्यो । हाम्रो संवैधानिक परिषद्मा पनि ६ सदस्यबीच व्यापक छलफलको प्रक्रिया अपनाएर आयुक्त छानिनुपर्ने थियो । तर खल्तीबाट चिट झिक्ने काम भयो । अब नयाँ प्रधान न्यायाधीशबाट खण्ड (ग) हेरिनेछ भन्ने आस गरौं । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार ‘एक मात्र’ हो । संविधानमा ‘एक मात्र’ लेखिएकाले समानान्तर रूपमा अर्को निकाय गठन हुनै सक्दैन । धारा २३८

(१) को सुरुवातमै ‘एक’ अख्तियार रहने उल्लेख छ । धारा २३९(१) को पनि सुरुवातमै ‘सार्वजनिक पद धारणा गरेको व्यक्तिले भ्रष्टाचार गरी’ भन्नेबाट सुरु भएर अख्तियारले अनुसन्धान गर्ने वा गराउने उल्लेख छ । सरकारले भ्रष्टाचार प्रकृतिको अन्य अपराधमा कारबाही गर्न समानान्तर हुनेगरी अन्य धेरै निकायहरू गठन गर्‍यो । यो भनेको समानान्तर अर्को सर्वोच्च अदालत गठन गरेसरह भएन र ?

धारा २३८(१) सँग २३९(१) को प्रतिबन्धात्मक वाक्यांशको सौहार्दपूर्ण व्याख्या नगरेर स्वार्थवश प्रतिबन्धात्मक वाक्यांशको दुरुपयोग गरियो । धारा २३८(१) मा ‘एक’ अख्तियार रहनेछ भनेकाले ऐन बनाएर बेग्लै अस्तित्वको छुट्टाछुट्टै समानान्तर निकाय गठन गर्न हुँदैनथ्यो । समानान्तर धेरै निकायले गर्दा जवाफदेही पन्छाउने र अलमल हुने गर्‍यो र जिम्मा कसैले पनि नलिने भयो । २३८ (१) र धारा २३९ (१) को सौहार्दपूर्ण र समन्वयात्मक व्याख्या गर्ने हो भने अख्तियारलाई आवश्यक साधन स्रोत र जनशक्तिले सम्पन्न गराएर ऊभित्रै राजस्व चुहावट, सम्पत्ति शुद्धीकरणजस्ता विभिन्न ‘सेल’ गठन गर्ने भन्ने संविधानको मनसाय हो । तर आज प्रतिबन्धात्मक वाक्यांशको ‘एब्सर्ट इन्टरप्रिटेसन’ गरिएको छ । यसलाई सुधार गरौं ।

सरकारले बेलाबेलामा भ्रष्टाचारको विभिन्न फाइल खोल्छु भन्छ । अख्तियारमा हुनुपर्ने अपराधको फाइल सरकारसँग किन, कसरी, कहाँबाट पुग्यो ? यसको जवाफ सरकारले दिनुपर्‍यो । अख्तियार पनि बोल्नुपर्‍यो । ऊ नबोल्नाले आयुक्तहरू परिषद्का सदस्यहरूप्रति अनुग्रहित भएको सन्देश गयो । भारतको सर्वोच्च अदालतले सीबीआईलाई ‘तपाईंहरू सरकारको आदेश पालना गर्ने हल्कारा र पिँजडाको सुँगा होइन, सरकारको आदेश पालना गर्ने होइन’ भन्यो ।

हामीकहाँ पनि त्यस्तै हुनुपर्ने हो । अख्तियारले प्रमाणका आधारमा मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नुपर्ने हो । सरकारको फाइल खोल्छु भन्ने धम्कीले नै अख्तियारलाई सरकारी निन्त्रणमा राखेको देखिन्छ । अन्त्यमा, देश ‘अति भ्रष्ट’ मा दरिएको र ‘ग्रे लिस्ट’ मा परेकामा नेतृत्व वर्गमा चिन्ता हुनुपर्‍यो । गलतलाई सही बनाउने सुझावहरू पालना गरोस् । 

बलराम बलराम केसी पूर्वन्यायाधीश हुन् ।

Link copied successfully