सम्बन्ध बिग्रनुका तीन मुख्य कारण जात, वर्ग र पितृसत्ताको हैकम हुन् । यी तीनै कुरालाई माओवादी विद्रोहले तीव्र रूपमा परिवर्तन गर्न चाहेको थियो । तर लडाकु घर फर्किएपछि जातभातको पुनरागमन हुनु तथा श्रीमान् र श्रीमतीको वर्गमा निकै ठूलो खाडल हुनु ‘डिभोर्स’ का प्रमुख कारण देखिन्छन् ।
What you should know
फेब्रुअरीको दोस्रो हप्ता विद्यावारिधि शोधको डिफेन्स सकेपछि सामाजिक सञ्जालमा शोधको शीर्षक– ‘नेपालका माओवादी पूर्वलडाकुको विवाह र डिभोर्स’ देखिने गरी राखें । एकैछिनमा धेरैले बधाई दिए । बिस्तारै ट्रोल पनि हुन थाल्यो । ट्रोल गर्नेमध्ये अधिकांश विदेशी र केही नेपाली पनि थिए । ट्रोल गर्ने प्रायः ‘नकाबधारी’ थिए । जसको प्रोफाइलमा आफ्नो फोटो थिएन । उनीहरूको कुराको एउटै सार थियो– समाज विज्ञानबाट ‘काम लाग्ने’ अनुसन्धान हुन सक्दैन ।
विश्वभर थुप्रै वर्षदेखि समाज विज्ञान मर्यो कि मरेको छैन ? भन्ने विषयमा व्यापक बहस चलिरहेको छ, यो त्यसैको बाछिटा हो । खासगरी पश्चिमा धनी राष्ट्रमा समाज विज्ञान होइन, विज्ञान तथा प्रविधिजस्ता विषयले मात्रै समाज उन्नतिमा गति दिन्छ त्यसैले सामाजिक विज्ञान अर्थात् सोसल साइन्सलाई खारेज गरौं भन्ने आवाज मुखरित भइरहेको छ । विकासशीलदेखि विकसित देशसम्म कट्टरपन्थीहरूको प्रभाव बढ्दै गएपछि यो आवाज झनै बलियो भएको छ । भारतको जवाहरलाल युनिभर्सिटीको नजिकैको उदाहरण छ । त्यसमा फरक मतको आवाज गुन्जने समाज विज्ञान सम्बन्धित विभागमा केही वर्षयता कट्टरपन्थीको व्यापक हस्तक्षेप छ । राष्ट्रियतालाई फरक ढंगमा व्याख्या गर्नेलाई त जेलै पुर्याइएको उदाहरण छ । साथै, त्यस्तो आवाज कम गर्न सरकारले आफ्नै कार्यकर्ता भर्ती तीव्र बनायो जो सत्ताप्रति नतमस्तक छन् । सत्ता र समाजलाई प्रश्न र खबरदारी गर्ने समाज विज्ञानलाई लगभग निस्तेज नै बनाइएको छ । जेएनयू मात्रै होइन, भारतभर समाज विज्ञानप्रति तीव्र घृणाको स्वर सत्ताले नै मुखरित बनाइरहेको छ । अमेरिकी सन्दर्भमा, भर्खरैको एउटा अनुसन्धानले भन्छ, एलन मस्कले ट्वीटर किनेपछि ट्वीटरमा ‘हेट स्पिच’ अत्यधिक फैलिएको छ । कुनै पनि कुरालाई कसरी देखाइन्छ आममान्छेको बुझाइ त्यस्तै हुँदै जान्छ, कट्टरपन्थीहरू त्यही गर्दै छन् । त्यसैले पश्चिमा मिडिया तथा ज्ञानशास्त्रमा के देखाइएका छन्, त्यही कुरा आम मानिसमार्फत यसरी अभिव्यक्त भइरहेका हुन्छन् ।
के समाज विज्ञान मर्यो त ?
विद्यमान सामाजिक, सांस्कृतिक तथा आर्थिक परिप्रेक्ष्य, समाज र मानवीय सम्बन्धभित्रको जटिलतालाई केलाउन समाज विज्ञानको महत्त्वपूर्ण भूमिका छ । विज्ञान तथा प्रविधिको खोज र अन्वेषणले भन्दा फरक तवरमा समाज विज्ञानले मानवीय व्यवहारका जटिल पक्षको सूक्ष्म अध्ययन गर्छ । जसको केन्द्रबिन्दुमा आम मानिस र समाज हुन्छन् । यसका सार्वजनिक नीति, शिक्षा, स्वास्थ्य तथा मानव समाजका अभिन्न सामाजिक शक्तिजस्ता कुरामा हुने अनुसन्धानले समग्र आम मानिस र समाजको दैनन्दिनमा प्रभाव नै पार्न सक्छ । पश्चिमा समाजमा, समाज विज्ञानलाई खारेज गर्नुपर्छ भन्ने भाष्य मुखरित हुनुका विभिन्न कारण हुन सक्छन् । उनीहरूले समाज विज्ञानको प्रत्यक्ष उपयोगितामाथि शंका गर्छन् । अध्ययनको क्रममा प्रयोग हुने विधिमाथि शंका गर्छन् र अध्ययनले निकाल्ने निष्कर्षमाथि पनि प्रश्न गर्छन् । समाज विज्ञानको सांस्कृतिक तथा परिप्रेक्षीय सीमितताका कारण निष्कर्ष पनि पक्षपाती हुन्छ भन्ने बुझाइ पनि उनीहरूको छ । समाज विज्ञानले हातहातै फाइदा हुने वा उत्तिखेरै परिणाम देखिने गरी काम नगरे पनि सुदूर भविष्यका लागि रोडम्याप कोरिदिन सक्छ । तर, उनीहरू यो विषयलाई अनदेखा गर्छन् ।
समाजशास्त्रको जरो : परिवार, समाज र सम्बन्ध
माथि व्याख्या गरिएका ट्रोलको मूल आशय थियो, ‘तिम्रो अध्ययनले के फरक पार्छ ?’ अर्थात्, समाज विज्ञानले के गर्ने भयो ? ट्रोलको यही प्रश्नको उत्तर अनुहार नभएको एउटा खाताबाट आएको छ, जेम्स नामको, ‘...तर यो त आधिकारिक समाजशास्त्रीय अध्ययन हो । समाजका आधारस्तम्भ नै परिवार निर्माण र सम्बन्ध हुन् ।’ मूल कुरा यही हो, समाज विज्ञानको चरित्र नै यही हो । मेरो अध्ययनको मूल ध्येय नै क्रान्तिकारी विचारधारा र सामाजिक शक्ति अन्तरघुलन हुँदा के हुन्छ भन्ने हो । अर्थात्, क्रान्तिकारी कम्युनिस्ट विचारधाराले निर्देशित माओवादी लडाकुले प्रेम, जातभात, विवाह, समाज, परिवार, डिभोर्सजस्ता सामाजिक शक्तिसँग अन्तरघुलन भए जसरी काम गरे र त्यसको परिणाम के भयो ? यसैमाथि विमर्शको कोसिस हो ।
माओवादी विद्रोह र आमविमर्श
थोरै पछि फर्केर हेरौं, माओवादी विद्रोह आफैंमा मूलधारका सामाजिक तथा राजनीतिक (कुरीतिलाई ‘ध्वस्त’ पार्ने उद्देश्यसाथ सुरु गरेको उनीहरूको दाबी थियो । त्यसका सफलता र असफलताका कुरा पनि विषयवस्तुमा आधारित छन्, यसबारे अद्यापि बहस जारी छ । बहसको एउटा पाटो छ, जुन हचुवा वा आफ्नो स्वार्थअनुसार नेपालका मिडियामा यदाकदा अद्यापि देखिइरहेका छन् । त्यो हो, माओवादी लडाकुको बिहे । माओवादी विद्रोहबारे बहसमा छुटेको/बहकिएको युद्धकालीन अन्तरजातीय बिहे (विशेषतः दलित र गैरदलीतबीचमा) काबारे नगन्य बहस भएको छ । वा, विषयको सम्पूर्णतामा नभएको देखिन्छ । मूलधारका सञ्चारमाध्यममा थुप्रै वर्षदेखि एकपक्षीय जस्तो देखिने गरी अझै पनि ‘माओवादी विद्रोहमा लागेर बिहे गरेकाहरूको डिभोर्स मात्रै भएको छ’ जसरी कुरा आइरहेका छन् । त्यो पूर्ण सत्य होइन ।
माओवादी भर्खरै मूलधारमा आएपछि सञ्चारमाध्यममा छ्यापछ्याप्ती बिकेको यौटा चिज थियो, युद्धकालमा भएका (अन्तरजातीय) बिहे ध्वस्त भए...। अर्थात् माओवादी भर्खरै शान्ति प्रक्रियामा आएपछि मिडियामा देखिएका प्रायः रिपोर्टिङका अनुसार लडाकुहरूको वैवाहिक स्थिति भताभुंग भयो । ती लेख तथा चिन्तनहरू तत्कालीन अवस्थाका सनसनी थिए । जुन मानिसले चासोसाथ पढे । गमे । तर, आम मानिसमाझ टकारिएका ती कन्टेन्टले क्रान्तिकारी विचारधारा र सामाजिक शक्ति (जस्तै, जात, विवाह, परिवार, समाज आदि) सँगसँगै हुँदा वा ठोकिँदा कसरी काम गर्ने रै’छन् भन्नेबारे बृहत् विश्लेषण राखेनन् । माओवादी लडाकुको घरवापसीबारे विद्वत् वृत्तमा देखिएका समाजशास्त्रीय विश्लेषण पनि यस्तै एकपक्षीय खालका थिए, कि त औधि तारिफले भरिपूर्ण कि त नकारात्मक टिप्पणी मात्रै, वा भनौं, समाजशास्त्रीय चिन्तन कम भएका ।
क्रान्तिकारी विचारधारा र सामाजिक शक्ति
माओवादी विद्रोहले युद्धका बेला आफ्ना कार्यकर्तामाझ बलियो वैचारिक प्रभाव राखेको थियो तर शान्ति प्रक्रियापछि, उक्त वैचारिक प्रभाव कमजोर भयो । नेपालमा विचारधारा र सामाजिक शक्तिबीचको अन्तरक्रियाले कसरी काम गर्छ ? सामाजिक र सांस्कृतिक परिवर्तनको सीमारेखा कोर्ने उद्देश्य लिएको क्रान्तिकारी माओवादी विचारधाराका शक्ति र सीमाहरू के हुन् ? यस्तो उद्देश्य भएको अध्ययनको मूल निचोड थियो, क्रान्तिकारी विचारधारा सामाजिक शक्तिसँग घुलमिल भएको खण्डमा यी दुईले सहअस्तित्वको सम्बन्ध देखाउँदै समाज अघि बढाउने दिशाबोध गर्न सक्छन् । क्रान्तिकारी विचारधारा यस अर्थमा कहिले शक्तिशाली हुन्छ भने कहिले समाजमा घुलमिल हुनुपर्दा कमजोर पनि हुन सक्छ । लडाकुहरूसँग गरिएको प्रत्यक्ष अन्तर्वार्तापछि यो निष्कर्ष आएको हो ।
नेपालको माओवादी विद्रोहको एउटा महत्त्वपूर्ण पक्ष भनेको लडाकुहरूलाई बिहेतर्फ डोर्याउने प्रेमसम्बन्धको सन्दर्भमा धेरै नै उदार अवधारणा थिए । लडाकुबीचको प्रेम (जसले बिहेसम्म पुर्याउँछ) प्रति यस्तो उदारता श्रीलंकामा लिट्टे र भारतमा नक्सलवादजस्ता विद्रोहमा भएका थिएनन् । माओवादीका तत्कालीन ठूला नेताले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘माओवादी लडाकु कुनै चामत्कारिक वा तिलस्मी शक्ति थिएनन्, उनीहरूलाई पनि प्रेम र साथ चाहिन्छ ।’ एकनिष्ठ सम्बन्धमा (मोनोगेमिक रिलेसनसिप) कटिबद्ध पार्टी नीतिले लडाकुहरूलाई अन्तरजातीय बिहे गर्न प्रोत्साहन नै दियो । केही समस्या पर्दा, जोडीबीच पुल बनेर समाधान पनि गरिदियो । यद्यपि, तल्लो तहका (बाहुन–क्षेत्री) नेताहरूले भने अन्तरजातीय बिहेका लागि तयार लडाकुलाई रोक्ने प्रयास पनि गरे । यो पार्टी नीतिविपरीत भए पनि यसको अर्थ निस्कन्छ, क्रान्तिकारी विचारधाराले माओवादी वृत्तमा बराबर काम गरेको थिएन । माओवादी लडाकुहरू चाहे युद्धका बेला होस् वा युद्धपछाडि नै, आफूले मन पराएको मान्छेलाई परिवार वा आफन्तसँग चिनजान गराएर (यसमा महिला अग्रपंक्तिमा थिए) मात्रै सम्बन्धमा अगाडि बढेको देखिएको छ । यसको अर्थ, लडाकुले आफ्नो सम्बन्ध घरपरिवारबाट स्वीकृत गराउन चाहेका थिए । निचोड निकाल्न सकिन्छ, माओवादी लडाकु एकातर्फ क्रान्तिकारी अन्तरजातीय बिहे गरी आफ्नो क्रान्तिकारी छवि कायम राख्न चाहन्छन्, अर्कातिर बाआमा तथा परिवारको आज्ञाकारी सन्तान पनि हुन चाहन्छन् ।
अन्तरजातीय सम्बन्ध हुँदै बिहेतर्फ अघि बढिरहँदा विशेषगरी महिला लडाकुहरूले बाआमा तथा परिवारलाई अघि सार्ने गरेका थिए । त्यसरी बाआमा र परिवारलाई अघि सारेर बिहे गर्दा भविष्यमा परिवारमा अप्ठ्यारो नपर्ने निर्क्योल उहीबेला गर्नु, क्रान्तिकारी विचारधारामा समाज र परिवारको बलियो उपस्थिति थियो भन्ने बुझिन्छ । यसर्थ, नेपालका माओवादी लडाकुको वैवाहिक सम्बन्धमा घर, परिवार र समाजले सधैं जमेर वर्चस्व देखायो । बिहे स्विकारेका गैरदलित उच्च जातीय परिवारमा भने समाजले के भन्ला ? भन्ने भावना धेरै गढेको देखियो । गैरदलित बाआमा सन्तानको रोजाइलाई तिरस्कार पनि गर्न नसक्ने र समाजबाट के आक्षेप आउने हो भन्ने कुरामा चिन्तित पनि हुने देखिन्छ । यस मानसिकताबाट सुरक्षित अवतरण गर्न उनीहरूले मैले त मानेको थिइनँ, समाजको रीति भाँड्न हुन्न तर छोराछोरीको जिद्दी पनि भयो, भन्ने रणनीतिक न्यारेटिभ तयार पारेर बसेका थिए । यस्ता सफल वैवाहिक अवस्थितिले सामाजिक अन्तरघुलनमा क्रान्तिकारी विचारधारा र सामाजिक मूल्य, मान्यताको उत्तिकै भूमिका देखिन्छ । थप, अनुसन्धान गर्दाको समयसम्म लडाकुको अन्तरजातीय दाम्पत्य जीवन सफल हुनुका कारणमा यिनै सामाजिक शक्तिको उल्लेखनीय भूमिका देखिन्छ भने कतिपय सन्दर्भमा क्रान्तिकारी विचारधाराले नै डोर्याएको पनि देखिन्छ । जस्तो कि, परिवारका सदस्य पनि विद्रोहमा लागेको परिप्रेक्ष्यमा त्यस्ता अन्तरजातीय सम्बन्ध सजिलै स्विकारिएको देखियो भने ब्राह्मण–क्षेत्रीजस्ता उच्च जातीय जनसांख्यिकी बढी भएको ग्रामीण भेगमा यस्ता सम्बन्धमा समस्या आएको पनि देखियो । माओवादी विद्रोहमा सामेल भई क्रान्तिकारी बिहे गरेर सहरी इलाकामा बसेका अन्तरजातीय जोडीमा भने समस्या देखिएन ।
सञ्चारमाध्यममा आएझैं के माओवादी लडाकुले गरेका दलित र गैरदलितबीचको बिहे अधिकांश भत्किएका थिए ? सिधा उत्तर– होइन, सबै भत्किएका थिएनन् । उसो भए के भएको हो त ? यो सन्दर्भमा, सञ्चारमाध्यमले समग्र अवस्था नकेलाईकन मानिसमाझ बढी बिक्ने सनसनी देखाएको हो । द्वन्द्वमा त्यसरी भएका केही बिहेमा समस्या आएको भने हो । यसमा पनि सामाजिक शक्तिको वर्चस्व नै देखिन्छ । जस्तै, सम्बन्ध बिग्रनुका तीन मुख्य कारणमध्ये, जात, वर्ग र पितृसत्ताको हैकम हुन् । यी तीनै कुरालाई माओवादी विद्रोहले तीव्र रूपमा परिवर्तन गर्न चाहेको थियो । तर विद्रोह सकिएपछि यिनै सामाजिक शक्ति तिनका सामु मुखरित भए । लडाकु घर फर्किएपछि जातभातको पुनरागमन हुनु र श्रीमान् र श्रीमतीको वर्गमा निकै ठूलो खाडल हुनु डिभोर्सका प्रमुख कारण देखिन्छन् । त्यस्तै, माओवादीले उद्घोष गरेको नारी पुरुषको समान सम्बन्ध निर्माणको कुरा पनि युद्ध सकिएपछि निकै कमजोर भयो । पितृसत्ता वा महिलाप्रतिको कमजोर दृष्टिदोष पनि लडाकुको अन्तरजातीय वैवाहिक सम्बन्ध बिग्रनुका कारण हुन् ।
समग्रमा, अन्य कुनै पनि परिप्रेक्ष्यभन्दा फरक माओवादी विद्रोहको अन्त्यपछि लडाकुको व्यापक सामाजिक अन्तरघुलन भएको छ । यस्तो सामाजिक अन्तरघुलनले उनीहरूलाई समग्रमा फाइदा नै पुगेको देखिन्छ । यसर्थ, विद्रोहका बेला नेताहरूले लडाकुलाई सामाजिक अन्तरघुलनका यी विविध पाटाबारे पनि ज्ञान दिलाएको भए यस्ता अन्तरजातीय सम्बन्धले अझ बलियो टेको पाउने थिए ।
