सञ्चार र समग्र उद्योगको आत्मबल बढाउन रचनात्मक बहसको वातावरण बढाउनुपर्नेछ, यसका लागि कान्तिपुरले आफ्नो व्यावसायिक भूमिका अवश्य पूरा गर्नेछ ।
कान्तिपुर पब्लिकेशन्स् आज ३३ औं वर्षमा प्रवेश गरेको छ । देशको लोकतन्त्रका लागि पटकपटक भएका संघर्ष, संघीयता संस्थागत गर्न भएका पहल, सुशासन स्थापनामा उठेका आवाज र अर्थतन्त्रको सबलीकरणका लागि भएका बहससँगै कान्तिपुरको यात्रा अघि बढिरहेको छ ।
प्रविधि विकासले राजनीतिक, आर्थिक तथा सामाजिक बहसको शैली र आयामलाई पनि परिवर्तन गर्दै ल्याएको छ । परिवर्तनका सबल पक्षलाई अंगीकार र दुर्बल पक्षलाई परिस्कार गर्दै सूचना र संवादको साझा मञ्च सञ्चारमाध्यमलाई अझ उदार र फराकिलो बनाउने जिम्मेवारी हामीसँग छ, आफ्नो यात्रालाई अझ गतिशील बनाउन कान्तिपुर पब्लिकेशन्स् प्रतिबद्ध छ ।
सूचना लोकतन्त्रको प्राणवायु हो । तर, सूचनाको सञ्चार कसरी हुन्छ भन्ने विषयले लोकतन्त्रको स्वास्थ्य पनि प्रभावित गर्छ । प्रशोधन गरिएका प्रमाणित सूचनाले समाजलाई जागरुक बनाउँछ भने दुराशयले रचना गरिएका सूचनाले समाजलाई दिग्भ्रमित बनाउँछ । जागरुक समाजले जिम्मेवार प्रश्न सोधेर प्रणालीलाई जवाफदेही र विधिलाई बलियो बनाउँछ भने दिग्भ्रमित मनोविज्ञानले ध्वंस मात्र गर्छ । ‘मिसइन्फर्मेसन र डिसइन्फर्मेसन’ ले सामाजिक चिन्तनलाई नै प्रदूषित बनाएको विषयमा राष्ट्रसंघीय नियोग युनेस्कोदेखि विश्वभरका जिम्मेवार संघसंस्था र सञ्चारमाध्यमसमेत चिन्तित छन् । नेपालमा हामीलाई पनि निराश होइन, जागरुक समाज चाहिएको छ, कान्तिपुरले आफ्ना सूचना संयन्त्रलाई यही अभियानमा समर्पित गरेको छ ।
जिम्मेवार सञ्चारमाध्यमले जहिले पनि सत्ता र शक्तिमाथि प्रश्न गर्छ । तर, प्रश्नलाई सत्ताले जिम्मेवार रूपमा ग्रहण गर्छ भन्ने निश्चित हुँदैन । प्रश्नले कतिपय समूह र शक्ति अत्तालिन्छन् र सञ्चारमाध्यममाथि प्रतिशोधपूर्ण आक्रमणमा उत्रन्छन् । कान्तिपुरले पनि त्यसको सामना गर्दै आएको छ । सार्वजनिक पदमा पुगेको व्यक्तिले आफ्नो प्रतिरक्षाका लागि राज्य संयन्त्र दुरुपयोग गर्छ भने त्यसको जवाफदेहिता उसैले लिनुपर्छ । तर, यस्तो प्रवृत्तिबाट किञ्चित् पनि विचलित नभएको कान्तिपुरको इतिहास छ, वर्तमान र भविष्यमा पनि कान्तिपुर आफ्नो व्यावसायिक अडानमा अविचलित रहनेछ ।
निःसन्देह देशको अर्थव्यवस्थाको आधार खलबलिएको छ । उद्योगले आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन्, व्यापार–व्यवसायमा लगानी बढ्न सकेको छैन, भएको लगानीप्रति आत्मविश्वास छैन । रोजगारी संकुचित भएकाले उपभोक्ताको क्रय शक्तिमा पनि ह्रास आएको छ । यसरी समग्र उद्योग व्यापार नै अलमलिएको अवस्थामा सञ्चारमाध्यमको अर्थतन्त्र बलियो हुन सक्दैन । त्यसको परिणामस्वरूप सञ्चार उद्योग पनि संघर्षरत छ । सञ्चार र समग्र उद्योगको आत्मबल बढाउन रचनात्मक बहसको वातावरण बढाउनुपर्नेछ, यसका लागि कान्तिपुरले आफ्नो व्यावसायिक भूमिका अवश्य पूरा गर्नेछ ।
कान्तिपुरको सफलतापूर्ण ३२ वर्षे यात्रामा सबैभन्दा ठूलो भरोसा हामीले पाठकबाट पाएका छौं, त्यसका लागि हामी सदासर्वदा आभारी छौं । हरेक अनुकूल/प्रतिकूल समयमा विज्ञापनदाता र विज्ञापन एजेन्सीबाट साथ पाएका छौं । त्यस्तै, हरेक बिहान झिसमिसेमै पाठकको घरघरमा पत्रिका पुर्याउने डेलिभरी कर्मचारीदेखि सम्पूर्ण विभागका सहकर्मीको लगन र मिहिनेतले कान्तिपुर र नेपालको पत्रकारितालाई समृद्ध बनाएको छ, सबैलाई धन्यवाद ।
