कांग्रेसमा ‘स्वतस्फूर्त’ कि ‘बक्सिस’को नेतृत्व 

आज देउवाकहाँ गएर ‘हजुरको उत्तराधिकार तोकी पाऊँ’ भन्दै बिन्ती गर्नेले देउवा कसैको आशीर्बचन नमागीकन कांग्रेसको कोइराला विरोधी टिमको ‘स्वतस्फूर्त’ नेता बन्न पुगेको इतिहासलाई बिर्सेका छन्

फाल्गुन ६, २०८१

शंकर तिवारी

'Spontaneous' or 'Baxis' leadership in Congress

कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको गत मंसिरमा तीन वर्ष पूरा भएको छ । चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने वैधानिक नियमअनुसार २०८२ मंसिरमा १५ औं महाधिवेशन गरिसक्नुपर्नेछ । कांग्रेसको भावी नेतृत्वको बागडोर कसको हातमा पुग्ने चासो छ । गतसाता महामन्त्री गगन थापाले कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’ लाई दिएको अन्तर्वार्ताको अंश र पार्टी सभापति शेरबहादुर देउवा निवासमा उनका समूहका वरिष्ठतम नेताहरूको भेलाले कांग्रेसको आन्तरिक मात्र नभएर राष्ट्रिय राजनीति नै तरंगित छ । 

‘फायरसाइड’ को अन्तर्वार्तामा महामन्त्री थापाको धेरै ठूलो आत्मविश्वास झल्किन्थ्यो । त्यही आत्मविश्वासको जगमा उनले कांग्रेसको नेतृत्वको सोपानमा आफ्नो दावाबारे एउटा कहावत बनिसकेको १९८१ हिन्दी सिनेमा ‘कालिया’ मा अभिताभ बच्चनले बोलेको संवाद उद्धरण गरेका थिए– ‘हम भी वह आदमी है, जो किसी के पिछे खडे नही होता है । हम जहाँ खडे होते है वही से लाइन सुरु होता है ।’ 

बच्चन ७० को दशकमा जसरी चलचित्रमार्फत मौजुदा भारतीय समाज र संस्कृतिको खिलाफमा नयाँ संस्कृतिको उभार बोकेर पुरातन संस्कृति बदल्न लागिपरेका थिए, त्यस्तै थापा पनि २०६२/ ०६३ को जनआन्दोलनको युवा चरित्रनायकका रूपमा नेपाली राजनीतिमा स्थापित भएका पात्र हुन् । गणतान्त्रिक आन्दोलनको वारेसका रूपमा गिरिजाप्रसाद र प्रचण्डपछि कसैले हकदावा गर्छ भने त्यो थापामा ज्यादा प्राकृतिक देखिन्छ । एउटा विद्यार्थी नेताका रूपमा त्यो पनि पार्टीले आफ्नो भ्रातृ संस्थाबाट बर्खास्त गरेको, पार्टी पंक्तिमा केन्द्रीय सदस्य पनि नहुँदै उनले सडकबाट नै जुन उचाइ कायम गरेका थिए, अहिलेसम्म जोगाएर राखेका छन् ।

गगनलाई दबाब छ– समयको, प्रविधिले बदलेको राजनीतिक परिदृश्यको, राज्यका सामु सीमित स्रोत र साधनबाट आशा जगाउने, जनतामाझ रहेको आक्रोश र निराशालाई चिर्ने जिम्मेवारीको । त्योभन्दा ज्यादा हुटहुटी छ– राजनीतिबाट स्वैच्छिक विश्राम लिनुअघि केही नयाँ, सकारात्मक र आफ्नै विगत सम्झिएर गौरव गर्नलायक कामहरू गरेर जाऊँ भन्ने सचेतनाको । 

राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएयता नेपाली राजनीतिको कुनै एक पात्रका माध्यमबाट ‘केस स्टडी’ गर्ने हो भने थापा निःसन्देह उपयुक्त पात्र हुन्छन् । उनले सडक, संसद्, सरकार र पार्टी राजनीतिको दिशा र दशा बदल्दै गएको देखिन्छ । २०७८ सालमा पार्टी महामन्त्रीमा निर्वाचित हुँदा थापाको उमेरतर्फ लक्षित गर्दै पार्टीभित्रका केही नेताहरू उनलाई ‘नेविसंघको महामन्त्री’ भनेर उपेक्षा गर्थे । यो तीन वर्षमा थापाले आर्जन गर्दै गरेको उचाइबाट त्यस्तो अभिव्यक्ति दिनेहरू अत्तालिएको स्पष्ट छनक देखिन्छ । उनको राजनीतिक उचाइ देखेर पार्टीभित्रको अनुदार खेमाले अत्तालिएर कहिले सुजाता, कहिले सुशील, कहिले रामचन्द्र, कहिले कृष्ण सिटौला त अहिले आएर शेखर गुटको भनेर होच्याउँछन् । गगनले उनीहरूलाई आजसम्म कुनै जवाफ दिएका थिएनन् । उनले कान्तिपुर टीभीको ‘फायरसाइड’मा ती सबैलाई एकमुष्ट सांकेतिक जवाफ दिएका छन्– संयमित र कूटनैतिक तवरले । 

कुनै पनि संवादको खास पृष्ठभूमि र वस्तुस्थिति हुन्छ । कालिया सिनेमाको संवादको पृष्ठभूमि यहाँ किन चर्चा गरिएको हो भने थापाले अरू कसै बनिबनाउ लाइनमा उभिएर, गुटको सदस्य भएर हमेशा हिस्सा लिएको छ, लिने कोसिस गरेको छ’ भन्ने भ्रमपूर्ण भाष्यलाई चिर्न जरुरी थियो । सरल रूपमा भन्दा गगनले गणतन्त्रको आन्दोलनको र नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसिसको वारेस बनेर पार्टीभित्र र बाहिरका अनेक्न प्रहार झेल्दै, सामना गर्दै सूक्ष्म तरिकाले आफ्नो पुस्ताको बाटो तय गर्ने कोसिस गरेका छन् । त्यो कुरालाई पार्टीको प्रभावशाली तप्काले स्वाभाविक रूपमा ग्रहण गर्न इन्कार गरेको छ । उनलाई अनेक लाञ्छना लगाएर नेतृत्वबाट किनार गर्ने कोसिस छ । गिरिजाप्रसाद कोइरालाले समेत कुनै बेला गगन र नरहरि आचार्यलाई ‘दरबारिया एजेन्ट’ को आरोप लगाएका थिए । 

२०६२/६३ यता नेपाली राजनीतिमा पुरानो र नयाँ स्कुल, पुरानो र नयाँ चिन्तनबीच तीव्र प्रतिस्पर्धा छ । कांग्रेसभित्र नयाँ चिन्तनको नेतृत्व गगनले गरिरहेका छन् । आफ्नो विचार र सिद्धान्तको मजबुत जगमा लडिरहेका छन् । त्यही भएर नयाँ पुस्ता र विचारलाई दमन गर्नेहरूलाई उनले भनेका हुन्– ‘म पनि त्यही व्यक्ति हुँ । जो कसैको पछि खडा भएको छैन र म जहाँ खडा हुन्छु त्यहींबाट लाइन सुरु हुन्छ ।’ यहाँ कसैको हप्कीदप्की चल्दैन, अह्रनखटन सह्यै छैन सबै कुरा कार्यकर्ता र जनताको मन जितेर लिएको हुँ भन्ने उनको अभिव्यक्ति हो । 

पछिल्लो दुई वर्षयता उनी जहाँ गए पनि सोधिने एउटा प्रश्न हो,‘तपाईं १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हो कि होइन ?’ त्यसलाई उनले प्रायः कूटनीतिक शैलीमा उत्तर दिन्छन्, ‘म पार्टीको महामन्त्रीको जिम्मेवारीअनुसार कसरी अधिवेशन समयमा गर्ने हो, गराउने हो त्यसमा लागिरहेको छु । सभापतिको उम्मेदवारीका बारेमा टिप्पणी गर्नु हतारो हुन्छ ।’ गगनले सरकार सञ्चालनको राजनीतिक संयन्त्रमा बसेर र पार्टी सभापतिसँगसँगै उभिएर शीर्ष नेतृत्वको आत्मविश्वास जितेका छन् । पार्टीको काम गर्ने तौरतरिकामा पनि रूपान्तरण गरिसकेका छन् । सरकारलाई पनि प्रभावकारी बनाउन ‘क्याटलिस्ट’ को भूमिका निभाएका छन् । त्यसैले आज सहकारी प्रकरणले आहत रास्वपाको सिंगो पंक्ति केपी ओली वा शेरबहादुर देउवालाई भन्दा थापालाई बदनाम गर्न उद्यत देखिन्छन् । 

२००७ सालको क्रान्तिको सफलता लगत्तैदेखि २०१५ सम्मको राजनीतिलाई हेर्दा सिंगो लडाइँ बीपी कोइरालालाई प्रधानमन्त्री बन्नबाट रोक्नलाई भएको थियो । विलम्ब गरी सम्पन्न भएको आमनिर्वाचनले त्यो कुरा पुष्टि गरेको थियो । कांग्रेसको र संवैधानिक संसदीय नियम विधिविधान पालना गरेर ०६२/०६३ यता थापाले जुन तरंग लिएर आए र रोक्ने जुन कोसिस भएको छ त्यो यो २० वर्षको राजनीतिमा झल्किन्छ । २०८४ मा हुने आमनिर्वाचनअगावै सम्पन्न हुने कांग्रेसको १५ औं महाधिवेशनमा त्यो कुराको परीक्षण हुनेछ । 

आज शेरबहादुर देउवाकामा गएर नेतृत्वका लागि आशिर्बचनको याचना गरेर ‘हजुरको उत्तराधिकार तोकी पाऊँ’ भन्दै बिन्ती गर्नेहरूले देउवा कसैको आशीर्बचन नमागीकन कांग्रेसको कोइरालाविरोधी टिमको ’स्वतस्फूर्त ’ नेता बन्न पुगेको इतिहासलाई बिर्सेका छन् । कांग्रेसको कोइरालाइतर टिममा देउवा समूहगत संलग्नताको इतिहासका हिसाबले कनिष्ठ सदस्य थिए तर उनको कनिष्ठता त्यो टिमको नेतृत्व गर्नलाई बाधक होइन साधक बन्यो । उनी कोइराला परिवार बाहिरबाट पार्टी संस्थापनको नेता बन्न पुगे ।

गणतान्त्रिक कांग्रेसको नेतृत्वमा पुग्न चाहने जो कोहीले नेतृत्वको आशीर्वादभन्दा ज्यादा कार्यकर्ताको पदचाप बुझ्नु र त्यो अनुसार पाइला चल्नु ज्यादा महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न सक्नुपर्छ । पार्टी राजनीतिमा नेतृत्वको आशीर्वाद चाहिन्छ नै तर त्यो आशीर्वाद मात्र सधैँ पर्याप्त हुँदैन । खुला राजनीतिमा त झन् अपर्याप्त हुन्छ भन्ने कुराको हेक्का आशीर्बचनका लागि लामबद्ध नेताहरूले बिर्सनु महाभूल हुनेछ । कांग्रेसमा परम्परागत चिन्तन गर्नेहरूले विगत केही वर्षमा ‘गगनले पन्ध्रौं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा नगर्ने हो भने पार्टीभित्र सबै कुरा ठिक हुन्छ’ भनेर एक स्वरमा बोल्ने गरेको पाइन्थ्यो । अब भने गगनको विरुद्धमा कसको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भनेर एकमत गराउन खोजेको देखिन्छ । 

कांग्रेस पार्टीभित्र गगन थापाको सामर्थ्य बुझेर त्यसकाप्रतिको सम्मान, श्रद्धा, स्नेह र भरोसा कसैमा ज्यादा छ भने त्यो पार्टी सभापति शेरबहादुर देउवामा नै छ । ०६२/०६३ को जनआन्दोलनलगत्तै ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको सम्मुखमा संयोगले मध्यपश्चिमका पहाडी जिल्लाको राजनीतिक दौडाहामा संयोगले गगन थापा र शेरबहादुर देउवा सँगै हुन पुगेका थिए । देउवाले काठमाडौंभन्दा बाहिर दूरदराजका गाउँहरू, बस्तीहरूले गगनप्रतिको ‘क्रेज’ प्रत्यक्ष महसुस गरेका थिए । 

मध्यपश्चिम दौडाहाबाट फर्किएपछि कांग्रेसबाट संविधानसभामा समानुपातिकतर्फ नेताहरूको नाम सर्टलिस्ट गर्दा देउवाले नै गगनको नाम छुटाउनु हुन्न भनेर अग्रसरता लिएका थिए । पार्टीको आन्तरिक समीकरणमा त्यतिबेला थापा रामचन्द्र पौडेलको सिफारिसमा संविधानसभा सदस्य बनेका थिए । त्यसयता उनले चारवटै संसद्मा प्रतिनिधित्व गरेका छन् र सांसदको भूमिकामा उनले उत्कृष्ट भूमिका निभाएका छन् । थापाले १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने बेला देउवाले उनलाई बोलाएर आफ्नो टिमबाट लड्न अनुरोध गरेका थिए । उनले भनेका थिए, ‘भाइ के को गणतन्त्रवादी ? पार्टीभित्रका राजाहरू कोइरालाविरुद्ध उभिन नसक्ने कसरी गणतन्त्रवादी हुन्छ ?’ गगन थापाले शेरबहादुर देउवाको उक्त प्रस्तावलाई हाँसीहाँसी टारेका थिए । त्यो प्रकरणपछि पनि देउवाको गगनका प्रतिको अपनत्व र महत्त्व कहिल्यै घटेन । किनकि, उनले गगनको काँधमा कांग्रेसको भविष्य सुरक्षित रहने महसुस गरिसकेका थिए । 

 १४ औं महाधिवेशनसम्म आइपुग्दा थापा देउवासँग एउटै महाधिवेशनबाट आँखामा आँखा जुधाउँदै फरक खेमाबाट निर्वाचित हुँदै देउवालाई महामन्त्री भएर हाँक दिन सक्ने भए । देउवालाई गगनको यो उपलब्धिसँग कुनै चिडचिडाहट छैन । कांग्रेसभित्रको प्रजातान्त्रिक परिपाटीको पाठशालाबाट खारिएर आएकाले उनले गगनको हाँक र साथलाई बडो सहज र स्वाभाविक रूपमा लिने गरेको देखिन्छ । एमसीसी पारित गर्ने बेला होस् वा प्रचण्डले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मत दिएर सरकारको काँध फेर्ने बेला देउवाले गगनलाई जहाँजहाँ इन्गेज गरे ती सबै कुराहरू परिणाममा पुगेका छन् । त्यही कारणले देउवाले गगनको केही कार्यक्रमहरूमा खुला रूपमा तारिफ पनि गरे । उनले गगनको खुला रूपमा तारिफ गरिसकेपछि शेखर कोइराला मात्र नभएर उनकै समूहका नेता नेताहरू समेत हताश हुन पुगेको देखिन्छ । गगनले एकपटक त पार्टी सभापतिलाई भन्नु नै पर्‍यो– ‘तपाईंले मेरो पब्लिकमा तारिफ गरिदिनुभएन, मलाई घाटा पुग्छ ।’ त्यतिबेला पार्टी सभापति देउवाको जवाफ थियो, ‘भाइले राम्रो गरेको छ, राम्रो कुरालाई राम्रो भन्नुपर्छ ।’ 

राजकाजको काममा गगनले पार्टी सभापतिलाई सघाएका छन् । पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित कार्यमा महामन्त्रीका रूपमा आफ्नो पुस्ताका अर्का महामन्त्री विश्वप्रकाश शर्माको तथा महामन्त्रीमा पराजित प्रदीप पौडेललाई विश्वासमा लिएर हिँडेका छन् । त्यसले कार्यकर्ता पंक्तिमा अलग रक्तसञ्चार भएको छ । 

२०८० फागुनमा गोदावरीमा सम्पन्न महासमितिबाट गगनको निरन्तरको फरक मतलाई पार्टीले अनुमोदन गरेपछि, आज कांग्रेस पार्टीको नेतृत्व पंक्तिमा मुखर रूपमा फरक मत छैन । अहिले पार्टीलाई सरकारमा सफल बनाउने र जनतामाझ संगठित र मजबुत बनाउने र समयमा अधिवेशन गर्नेभन्दा अर्को तात्कालिक कार्यादेश छैन । त्यसमा गगन अग्रपंक्तिमा जुटेका छन्, पार्टी सभापति र पार्टीको तारणहार बनेका छन् । 

विख्यात राजनीतिक समाजशास्त्री रोबर्ट मिसेलले राजनीतिक दल पुरानो वा बुढो हुँदै जाँदा ती दलमा ‘आइरन ल अफ ओलिगर्की ’ हाबी हुन्छ भनेका छन् । त्यो ओलिगर्कीले कुन नेताको क्वारेन्टाइन ‘परीक्षण ’ अवधि पूरा भएको छ, छैन । पार्टी नेतृत्वमा कहाँ अवसर दिने जस्ता कुरा निर्क्योल गर्ने कोसिस वा जबर्जस्ती गर्दछन् । गगनले आफ्ना कामको सन्तुलन र परखबाट त्यो सबै बाधा अवरोध छिचोलेर पार्टीको संस्थापन बनेर नेतृत्व गर्न सक्ने सामर्थ्य प्रमाणित गरेका छन् । पार्टी सभापतिको निवासमा भएको भेलाले त्यो कुरालाई स्वयं सिद्ध बनाइदिएको छ । १५ औं महाधिवेशनले दिने नेतृत्व स्वतस्फूर्त र ओलिगर्कीबीचको प्रतिस्पर्धाबाट आउने निश्चित देखिएको छ । 

अन्त्यमा, २०४७ सालको संविधानअन्तर्गतको तेस्रो संसद् (२०५६) मा किसुनजीलाई बलात् हटाएर कांग्रेस संसदीय दलको नेता बनेका गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुपर्ने परिस्थिति निर्माण हुँदा पार्टीभित्र नयाँ संसदीय दलको नेता चयन गर्न सुशील कोइराला र शेरबहादुर देउवाबीच संसदीय प्रतिस्पर्धा हुने भयो । गिरिजाप्रसादलाई आफ्नो टिमको मात्र चिन्ता हुन्थ्यो भने उनले त्यतिबेला देउवालाई संसदीय दलको नेतामा विजयी बन्नबाट रोक्न खोजेका थिए । तर धेरैलाई आश्चर्यमा पार्दै गिरिजाप्रसाद उक्त प्रतिस्पर्धामा मौन बसे र देउवालाई संसदीय दलको नेतामा विजयी बन्न सहज भएको थियो । उक्त कुराको गूढ रहस्य गगनको लाइनका बारेमा कटाक्ष गर्ने र बूढानीलकण्ठमा उत्तराधिकारको बक्सिस माग्न लामबद्ध हुन पुगेका धुरन्धर नेताहरूको मानसपटलमा ताजै हुनुपर्दछ ।

शंकर नेपाली कांग्रेससम्बद्द तिवारी राजनीतिक विश्लेषक हुन् । उनको ‘कसले सुधार्छ कांग्रेस ?’ पुस्तक प्रकाशित छ ।

Link copied successfully