कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा संयन्त्रको व्यावासायिक सीप, क्षमता र रणनीतिको पनि मूल्यांकन जरुरी देखिएको छ । हामीकहाँ सुरक्षाकर्मीको तैनाथीलाई सुरक्षाका लागि उपयोग गर्नेभन्दा पनि रवाफ देखाउने उद्देश्यले मात्र खटाउने गरिएको छ ।
सामान्यदेखि ठूला कार्यक्रमका लागि झकिझकाउ मञ्च बनाउने, अनेकौं ओहदाका व्यक्तिलाई मञ्चमा बोलाउने, खादा माला लगाउने, असान्दर्भिक प्रविधि प्रयोग गरेर उद्घाटन गराउने लहडले हाम्रा सार्वजनिक कार्यक्रमलाई तमासामा परिणत गरिरहेको छ ।
कार्यक्रमलाई भव्य देखाउन दर्शकको भीड जम्मा गर्न सबै जुक्ति लगाए पनि कार्यक्रमको सुरक्षा विश्लेषणमा भने पटक्कै ध्यान दिएको देखिँदैन । देशका उपप्रधान तथा अर्थमन्त्री, प्रदेशका मुख्यमन्त्री, महानगरका मेयर, विभिन्न सरकारी पदाधिकारी, कर्मचारी र व्यवसायी तथा आम सयौं नागरिक उपस्थित कार्यक्रममा शनिबार भएको दुर्घटनाले नै हामी पूर्वतयारीमा कति लापर्बाह छौं भन्ने प्रस्ट पारेको छ ।
अत्यधिक प्रज्वलनशील ग्यास हाइड्रोजनले भरिएका सयौं बेलुनको झुप्पा आगोको झिरझिरेसँगै ल्याउने गरी तय गरिएको उद्घाटन कार्यक्रम सिर्जनात्मक होइन, बहुलट्ठी ढोंग थियो भन्ने घटनाक्रमले पनि पुष्टि गरेको छ । ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्किँदा भएको दुर्घटनाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन्, यसले हाम्रो शैलीको निर्मम आलोचना गर्दै भविष्यका लागि गम्भीर पाठ पनि पढाएको छ ।
पोखरा भ्रमण वर्षको औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर झिरझिरे बत्ती बालिएको थियो । त्यसलगत्तै भ्रमण वर्ष लेखिएको ब्यानर उडाउन पौडेल र आचार्यका हातमा बेलुनको झुप्पा थमाइएको थियो । तर, उनीहरूले उडाउनुअघि नै बेलुनको झुप्पालाई आगोको झिल्काले भेट्यो, प्रज्वलनशील हाइड्रोजन भरिएका बेलुनको झुप्पा एकसाथ पड्किएपछि पौडेल र आचार्य घाइते हुन पुगेका थिए ।
गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएका उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको । घटनाबारे छानबिनका लागि आइतबार गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेका छन् । समितिले दिने प्रतिवेदनपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक हुने नै छ ।
पौडेल र आचार्य उपचारपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किने नै छन् । तर, यो घटनाबाट हामीले के सिक्यौं र अब हाम्रा सार्वजनिक कार्यक्रम कुन शैलीमा हुन्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ । किनकि सार्वजनिक कार्यक्रमबाट हुने अनावश्यक तडकभडकले हामीले विगतमा अनेक मूल्य चुकाइसकेका छौं । उदाहरणका लागि पोखरामै ६ वर्षअघि आयोजित एक कार्यक्रमलाई लिन सकिन्छ ।
२०७५ असार १ मा पोखराका तत्कालीन मेयर मानबहादुर जीसीले फिर्के खोलामा पैदल मार्गको उद्घाटनमा डोजर चलाउँदा फोटो खिच्न पुगेका पत्रकारलगायत केही व्यक्ति घाइते भएका थिए । लापर्बाहीले हुने यस्ता दुर्घटना मात्र होइन, योजनाबद्ध हमलामा पनि दलका नेताहरू परेका छन् । टुप्पीसम्म छोपिने गरी माला लगाउने नेताहरूको रुचिले गर्दा विगतमा धेरै अप्रिय घटना निम्त्याएका छन् ।
एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौंको भृकुटीमण्डपमा, कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई कपनमा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा दुर्व्यवहार भएको थियो । नेतामाथि भौतिक रूपमै जाइलाग्ने व्यक्तिहरू उनीहरूकै समर्थक कार्यकर्ताका रूपमा कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । यस्ता अप्रिय घटनाले नेताहरूको मानमर्दन हुने मात्र होइन, सामाजिक मनोविज्ञान पनि बिथोलिने हुन्छ । तर, फूल वा माला पाइने मोहमा प्रबल हुने र सुरक्षा मापदण्ड कमजोर हुने हो भने यस्ता घटना दोहोरिन सक्छन ।
कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा संयन्त्रको व्यावासायिक सीप, क्षमता र रणनीतिको पनि मूल्यांकन जरुरी देखिएको छ । हामीकहाँ सुरक्षाकर्मीको तैनाथीलाई सुरक्षाका लागि उपयोग गर्नेभन्दा पनि रवाफ देखाउने उद्देश्यले मात्र खटाउने गरिएको छ । झोला वा पानी बोकिदिन त अरू सहयोगी हुन सक्छन्, पदाधिकारी आफैंले पनि यति काम गर्न सक्छन् । त्यसैले सुरक्षाकर्मीलाई उच्च पदाधिकारीको अघिपछि हिँड्ने उर्दी दिएर मात्र पुग्दैन, सुरक्षा जोखिमप्रति चनाखो हुने गरी तालिम पनि दिनुपर्छ ।
पदाधिकारीको पछाडि एकटकले उभिँदैमा सुरक्षा हुने होइन, कार्यक्रमस्थलको मञ्च कस्तो छ, त्यहाँ बस्ने र आउने पहुँच क–कसको छ ? उद्घाटनका लागि प्रयोग गरिएको शैली र प्रविधि के–के छन् ? अतिथि र सर्वसाधारणको सुरक्षाका लागि के–कस्तो प्रबन्ध गरिएको छ भन्ने पनि स्पष्ट अनुगमन हुन जरुरी छ ।
झिरझिरे र बेलुन एकै ठाउँमा राखेर उद्घाटन गर्दा दुर्घटना हुन सक्छ भन्ने जानकारीका लागि पनि सुरक्षाकर्मीलाई पर्याप्त तालिम आवश्यक पर्छ । कम्तीमा पोखरा घटनाले सम्बन्धित सबैलाई पाठ पढाएको छ, अब सावधानीमा कमजोरी नहोस् ।
