मञ्च झकिझकाउ, सुरक्षा कामचलाउ

कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा संयन्त्रको व्यावासायिक सीप, क्षमता र रणनीतिको पनि मूल्यांकन जरुरी देखिएको छ । हामीकहाँ सुरक्षाकर्मीको तैनाथीलाई सुरक्षाका लागि उपयोग गर्नेभन्दा पनि रवाफ देखाउने उद्देश्यले मात्र खटाउने गरिएको छ ।

फाल्गुन ५, २०८१

सम्पादकीय

Shake the stage, work security

सामान्यदेखि ठूला कार्यक्रमका लागि झकिझकाउ मञ्च बनाउने, अनेकौं ओहदाका व्यक्तिलाई मञ्चमा बोलाउने, खादा माला लगाउने, असान्दर्भिक प्रविधि प्रयोग गरेर उद्घाटन गराउने लहडले हाम्रा सार्वजनिक कार्यक्रमलाई तमासामा परिणत गरिरहेको छ ।

कार्यक्रमलाई भव्य देखाउन दर्शकको भीड जम्मा गर्न सबै जुक्ति लगाए पनि कार्यक्रमको सुरक्षा विश्लेषणमा भने पटक्कै ध्यान दिएको देखिँदैन । देशका उपप्रधान तथा अर्थमन्त्री, प्रदेशका मुख्यमन्त्री, महानगरका मेयर, विभिन्न सरकारी पदाधिकारी, कर्मचारी र व्यवसायी तथा आम सयौं नागरिक उपस्थित कार्यक्रममा शनिबार भएको दुर्घटनाले नै हामी पूर्वतयारीमा कति लापर्बाह छौं भन्ने प्रस्ट पारेको छ ।

अत्यधिक प्रज्वलनशील ग्यास हाइड्रोजनले भरिएका सयौं बेलुनको झुप्पा आगोको झिरझिरेसँगै ल्याउने गरी तय गरिएको उद्घाटन कार्यक्रम सिर्जनात्मक होइन, बहुलट्ठी ढोंग थियो भन्ने घटनाक्रमले पनि पुष्टि गरेको छ । ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्किँदा भएको दुर्घटनाले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन्, यसले हाम्रो शैलीको निर्मम आलोचना गर्दै भविष्यका लागि गम्भीर पाठ पनि पढाएको छ । 

पोखरा भ्रमण वर्षको औपचारिक घोषणा कार्यक्रममा डिजिटल स्विच अन गरेर झिरझिरे बत्ती बालिएको थियो । त्यसलगत्तै भ्रमण वर्ष लेखिएको ब्यानर उडाउन पौडेल र आचार्यका हातमा बेलुनको झुप्पा थमाइएको थियो । तर, उनीहरूले उडाउनुअघि नै बेलुनको झुप्पालाई आगोको झिल्काले भेट्यो, प्रज्वलनशील हाइड्रोजन भरिएका बेलुनको झुप्पा एकसाथ पड्किएपछि पौडेल र आचार्य घाइते हुन पुगेका थिए ।

गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएका उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको  । घटनाबारे छानबिनका लागि आइतबार गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेका छन् । समितिले दिने प्रतिवेदनपछि घटनाबारे विस्तृत जानकारी सार्वजनिक हुने नै छ । 

पौडेल र आचार्य उपचारपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किने नै छन् । तर, यो घटनाबाट हामीले के सिक्यौं र अब हाम्रा सार्वजनिक कार्यक्रम कुन शैलीमा हुन्छन् भन्ने प्रश्न महत्त्वपूर्ण छ । किनकि सार्वजनिक कार्यक्रमबाट हुने अनावश्यक तडकभडकले हामीले विगतमा अनेक मूल्य चुकाइसकेका छौं । उदाहरणका लागि पोखरामै ६ वर्षअघि आयोजित एक कार्यक्रमलाई लिन सकिन्छ ।

२०७५ असार १ मा पोखराका तत्कालीन मेयर मानबहादुर जीसीले फिर्के खोलामा पैदल मार्गको उद्घाटनमा डोजर चलाउँदा फोटो खिच्न पुगेका पत्रकारलगायत केही व्यक्ति घाइते भएका थिए । लापर्बाहीले हुने यस्ता दुर्घटना मात्र होइन, योजनाबद्ध हमलामा पनि दलका नेताहरू परेका छन् । टुप्पीसम्म छोपिने गरी माला लगाउने नेताहरूको रुचिले गर्दा विगतमा धेरै अप्रिय घटना निम्त्याएका छन् ।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौंको भृकुटीमण्डपमा, कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई कपनमा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा दुर्व्यवहार भएको थियो । नेतामाथि भौतिक रूपमै जाइलाग्ने व्यक्तिहरू उनीहरूकै समर्थक कार्यकर्ताका रूपमा कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । यस्ता अप्रिय घटनाले नेताहरूको मानमर्दन हुने मात्र होइन, सामाजिक मनोविज्ञान पनि बिथोलिने हुन्छ । तर, फूल वा माला पाइने मोहमा प्रबल हुने र सुरक्षा मापदण्ड कमजोर हुने हो भने यस्ता घटना दोहोरिन सक्छन ।

कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा संयन्त्रको व्यावासायिक सीप, क्षमता र रणनीतिको पनि मूल्यांकन जरुरी देखिएको छ । हामीकहाँ सुरक्षाकर्मीको तैनाथीलाई सुरक्षाका लागि उपयोग गर्नेभन्दा पनि रवाफ देखाउने उद्देश्यले मात्र खटाउने गरिएको छ । झोला वा पानी बोकिदिन त अरू सहयोगी हुन सक्छन्, पदाधिकारी आफैंले पनि यति काम गर्न सक्छन् । त्यसैले सुरक्षाकर्मीलाई उच्च पदाधिकारीको अघिपछि हिँड्ने उर्दी दिएर मात्र पुग्दैन, सुरक्षा जोखिमप्रति चनाखो हुने गरी तालिम पनि दिनुपर्छ ।

पदाधिकारीको पछाडि एकटकले उभिँदैमा सुरक्षा हुने होइन, कार्यक्रमस्थलको मञ्च कस्तो छ, त्यहाँ बस्ने र आउने पहुँच क–कसको छ ? उद्घाटनका लागि प्रयोग गरिएको शैली र प्रविधि के–के छन् ? अतिथि र सर्वसाधारणको सुरक्षाका लागि के–कस्तो प्रबन्ध गरिएको छ भन्ने पनि स्पष्ट अनुगमन हुन जरुरी छ ।

झिरझिरे र बेलुन एकै ठाउँमा राखेर उद्घाटन गर्दा दुर्घटना हुन सक्छ भन्ने जानकारीका लागि पनि सुरक्षाकर्मीलाई पर्याप्त तालिम आवश्यक पर्छ । कम्तीमा पोखरा घटनाले सम्बन्धित सबैलाई पाठ पढाएको छ, अब सावधानीमा कमजोरी नहोस् ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully