'मास हिस्टेरिया'को भय र जोगिने उपाय

फाल्गुन ५, २०८१

अजय रिसाल

Fear of 'Mass Hysteria' and how to avoid it

काठमाडौँ — 'मानसिक तनावले दिनहुँ ढल्छन् छात्रा, पढाइ प्रभावित !'कान्तिपुर दैनिकमा माघ २८ गते प्रकाशित सुदूरपश्चिम अछामको यो समाचारले ध्यान खिच्यो । त्यसपछि मेरो स्मृतिमा करिब डेढ दशकअघिको त्यो दिन फर्कियो।

सिन्धुपाल्चोक हेलम्बुको एउटा विद्यालयमा बालरोग विशेषज्ञ, नर्स, मेडिकल र नर्सिङ विद्यार्थीसहित मनोचिकित्साकर्मीको टोली पुगेको थियो। विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक अनि त्यो समुदायका प्रभावशाली सदस्यमाझ गरेको मनोसामाजिक सचेतना कार्यक्रमले ल्याएको सकारात्मक परिणाम झलझली आँखाअगाडि आयो । 

त्यसबेला पनि त्यहाँका छात्रा कक्षामा अचानक ढल्ने समस्या देखिएको थियो। केही गर्दा पनि समाधान हुन नसकेपछि विद्यालय नै बन्द हुने अवस्था आइपरेको थियो । शिक्षक, समाजका भद्रभलाद्मीले पूजापाठ, रुद्रीहोम, धामीझाँक्री लगाउनेजस्ता अनेक विधिविधान गर्दा पनि यो प्रवृत्तिमा कमी आउन सकेन । अभिभावकले शिक्षकहरुलाई नै यसका लागि जिम्मेवार मान्न थालेपछि, अझ कसैकसैले त आफ्ना छोराछोरीको विद्यालय नै परिवर्तन गरिदिने धम्की दिन थालेपछि त्यहाँका प्रधानाध्यापकले हामीसँग अनुरोध गरेकाले धुलिखेलबाट आफ्नो टोलीसहित पुगेका थियौं । 

विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक अनि समाजका गण्यमान्य व्यक्तिसँग गरिएको छुट्टाछुट्टै अनि सामूहिक छलफलपछि हामीले यो समस्याको सम्भावित कारकतत्व खुट्यायौं । मनोवैज्ञानिक उपचार विधि अवलम्बन गर्‍यौं । केही विद्यार्थी, अभिभावक, अनि शिक्षकलाई धुलिखेल अस्पतालस्थित हाम्रो विभागमा नै बोलाएर मनोपरामर्श उपचारसत्र पनि चलायौं । त्यसले अन्ततः सफलता नै पायौं । विद्यालय फेरि खुल्यो । अचेल त्यो भेगबाट माथि उल्लेख भएजस्ता समाचार आएका छैनन् जस्तो लाग्छ ।

एक दशकअघि नै होला, काभ्रेको बालुवास्थित एउटा स्कुलमा पनि यस्तै घटना भएर विद्यालय अनि समाजमा नै तनाव भइरहेको समाचार आयो । विद्यालयपक्षबाट अनुरोध आएपछि हामीले माथि उल्लेख भएजस्तै प्रकृतिको एकदिवसीय मनोसामाजिक कार्यक्रम सञ्चालन गर्‍यौं । पीडित छात्रा र शिक्षिकालाई मनोपरामर्श दियौं, अन्य शिक्षक, अभिभावकमा पनि मनोरोगहरुका बारेमा सचेतना जगाउने प्रयास गर्‍यौं । केही समयपछि त्यहाँ पनि परिस्थिति नियन्त्रणमा आएझैं भयो । अचेल त्यो भेगबाट पनि यस्ता समाचारमा कमी आएको छ ।

मानसिक स्वास्थ्य, मनोविज्ञान, मनोरोग आदिका बारेमा चेतनाको अभाव अनि नकारात्मक धारणाका कारण नै यस्ता घटनाले पत्रपत्रिका, टीभी, रेडियो, सामाजिक सञ्जालमा स्थान पाउने गर्छन् । अनि बजार, गाउँघर, समुदायमा अनावश्यक होहल्ला, गाइँगुइँ र त्रासका रुपमा जरा गाड्ने गर्छन् । चाहिने-नचाहिने विधिविधानमा समय, मेहनत र पैसा सबै खर्च गरिसकेर पनि पार नपाएपछि मात्रै त्यस्ता बालबालिका हाम्रो ओपीडीमा ल्याइन्छन् ।

तर खुसीको कुरा, एक दशक अगाडिको जस्तो स्थिति भने अचेल छैन । सुरुमै उल्लिखित आछामको समाचारमा समेत यो समस्यालाई मानसिक तनावसँग जोडेर हेरिएको छ । एक्लोपन, गार्हस्थ हिंसा, अध्ययनका अफ्ठ्यारा जस्ता मनोसामाजिक विषयलाई यसका सम्भावित कारकतत्वका रुपमा औंल्याइएको छ । अतः मानसिक स्वास्थ्यका बारेमा चेतनास्तर उहिलेको जस्ता पिछडिएको छैन ।

कस्तो हो यो समस्या ?
टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा चल्ने, मुर्छित बनाउने, सास फेर्न गाह्रो हुने जस्ता शारीरिक लक्षण, बेलाबेला दोहोरिरहने यस्ता समस्याले जनसमाजमा भय एवं आतंकको सञ्चार गर्छन् । जसको शारीरिक कारण पत्ता लगाउन सकिँदैन तर लक्षण भने छोटो समयमा नै नियन्त्रित हुन्छन् । यो श्रव्य एवं दृश्यको माध्यमद्वारा एउटा निश्चित (प्रभावशाली) व्यक्तिबाट अर्को अनि अर्कोमा गरी समूहगत रुपमा फैलिने गर्छ । जनजिब्रो अनि सञ्जालहरुमा यसलाई ‘मास हिस्टेरिया’का रुपमा चिनिन्छ । यद्यपि वैज्ञानिक आधारमा उक्त नाम विवादास्पद नै रहेको छ । यसलाई कतैकतै 'मास सोसियोजेनिक इलनेस' या 'मास साइकोजेनिक इलनेस' पनि भनिन्छ ।

पश्चिमी देश (बेलायत, दक्षिण अफ्रिका) मा यस्ता समस्या कारखानाका मजदूर, सैनिक, एयरपोर्टजस्ता सार्वजनिक स्थललमा मानिसमा देखा पर्ने गरेका तथ्य प्रकाशमा आएका छन् । हामीकहाँ भने स्कुले विद्यार्थी (प्रायः छात्रा) मा यसले बेलाबेला प्रकोपको  रुप लिएर स्कुल नै बन्द हुन पुगेको, स्कुलमा धामीझाँक्री बोलाइएको, पूजाआजा लगाइएको जस्ता समाचार सुन्ने–देख्ने–भोग्ने गरेका छौं ।

यस्ता समस्या मध्यकालीन युरोपेली मुलुकमा देखा पर्दा भूतप्रेत, बोक्सी आदिलाई कारकतत्व मानेर प्रार्थना गर्ने, बोक्सी भगाउन पीडितलाई शारीरिक यातना दिने, आगो लगाउने या टाउकामा प्वाल पार्ने जस्ता क्रिया गरिएको इतिहासमा पढ्न सकिन्छ । अहिले २१औं शताब्दीमा भने यस्ता समस्याको जडका रुपमा वातावरणीय प्रदूषण, विषालु ग्यास या युद्ध विभीषिका हुन सक्छन् भन्ने दिशामा अनुसन्धान त भइरहेका छन् । तर यकिन तथ्य भने प्रकाशमा आइसकेका छैनन् ।

अध्ययनद्वारा प्रमाणित भइसकेका तथ्यलाई दृष्टिगत गर्दा प्रायजसो ७-३० वर्षका महिलामा देखिने यो समस्याको मूल कारकतत्व तिनको मनोसामाजिक पक्षको अन्वेषण गर्दा मात्र छर्लंग हुन सक्छ । हतोत्साही मानसिकता, शारीरिक एवं मानसिक दुर्बलता, व्यक्तित्वजन्य मनोवैज्ञानिक समस्या एवं कामको बोझ, पारिवारिक चिन्ता, सामाजिक भेदभाव, गरिबी, पढाइको चाप आदिले गर्दा दमित एवं अवचेतन अवस्थामा रहेका मनोवैज्ञानिक अवयव सतहमा आई यस्ता शारीरिक लक्षणका रुपमा व्यक्त हुन सक्छन् ।

उल्लिखित सिन्धुपाल्चोकको स्कुलको घटनामा हामीले नै मनोवैज्ञानिक मनोचिकित्सकीय आधारमा अन्वेषणको प्रयास गरेका थियौं । स्कुलका प्रभावशाली विद्यार्थी (९ कक्षाकी प्रथम छात्रा अनि स्कुल क्याप्टेन) पहिले बेहोस हुन पुगेकी, त्यसपछि उनको नजिकको मिल्ने साथी, त्यसपछि अर्को, अनि अर्को गर्दागर्दै पूरै कक्षा मात्रै होइन अन्य कक्षाका छात्रासमेत एकैसाथ प्रभावित भएको पाइएको थियो । सबैभन्दा पहिले बेहोस हुने छात्राका बारेमा शिक्षकसँग र तिनीसँगै बसेर कुराकानी गरेका थियौं । उनी हालैको परीक्षामा दोस्रो हुने विद्यार्थी (एउटा छात्र) भन्दा केही अंकले पछि पर्न पुगेको तथ्य प्रकाशमा आयो ।

यसलाई कार्यकारण सम्बन्धका आधारमा निर्क्यौलमा ल्याउन सकिन्न । तापनि समाज (कक्षा या विद्यालय) मा उही उमेरसमूहका समवयी-समकक्षी छात्रामाझ साझा रहने या एउटै नै जस्तो गरी मिल्न जाने मनोवैज्ञानिक पीडा (पढाइलेखाइ, यौनजन्य, पारिवारिक या सामाजिक) या तनाव यसको एक कारण हुन सक्ने रहेछ । माथि उल्लेख भएजस्ता शारीरिक लक्षण तीमध्येको नै एक प्रभावशाली व्यक्तिमा पहिले, त्यसपछि अर्कोमा, अनि अर्कोमा गरेर पूरा कक्षा, स्कूल या समाजलाई नै 'मास हिस्टेरियाले' प्रभावित पार्ने रहेछ ।

स्कुले विद्यार्थी नै कसरी प्रभावित हुन्छन्
प्रायः ७-१७ उमेर समूहका बालबालिका दिनको अधिकांश समय स्कुलमा नै रहन्छन् । यस्ता लक्षण एउटाबाट अर्कोमा फैलने हुँदा विद्यालय नै यी समस्या प्रस्फुटित हुने सम्भावित क्षेत्र हुन सक्छन् । विद्यालयको जबरजस्ती कडा अनुशासनमा बाँध्ने वातावरण, पढाइको कष्ट, अनि शिक्षकको डर पनि कारक हुन सक्छ । कहीँकहीँ त दण्ड सजायले पनि यस्ता घटनाको सुरुवात गराएको तथ्य बाहिर नआएका होइनन् । 

छात्रामा दमित मनोवेगहरु छिटोछिटो प्रस्फुटित हुने भएर हो या तिनमा एकअर्काको देखासिकी गर्ने प्रवृत्ति । अरु बेला अवचेतनमा लुप्त भएर रहिरहे तापनि यस्तो बेला (आफ्नो नजिकको साथीमा अफ्ठ्यारा शारीरिक लक्षण देखापर्दा) अज्ञात रुपले नै अभिव्यक्त भएर हुन सक्छ, मास हिस्टेरिया छात्रामा नै बढी पाइएको छ । त्यस्तै, यही उमेर समूहमा किशोरकिशोरीमा यौनांगको तीव्रतर विकास हुने अनि यौनसम्बन्धित जिज्ञासा बढ्ने, एकअर्कासँग यही विषयकै कुराकानी ज्यादा हुने गर्दा घनिष्ठता पनि बढ्ने गर्छ । विशेषतः किशोरीमा यही समय नै मासिक चक्रको सुरुवात हुने भएकाले त्यसलाई सञ्चालन गर्ने हर्मोनको प्रभावले पनि छात्रामा यस्ता लक्षणको प्रधानता हुन सक्छ । यद्यपि मास हिस्टेरिया अध्ययन अन्वेषणकै चरणमा छ ।

विद्यालयमा नै बेलाबेला देखिने यस्ता समस्याको निराकरण गर्न पाइला चाल्नुको साटो स्कुल नै बन्द हुने अवस्थामा पुग्नु हामी सबैका लागि लज्जाको नै विषय हुनुपर्छ । त्यस्तै, धामीझाँक्री या पूजापाठद्वारा रोकथाम हुन सक्दैन यो समस्या । यसका लागि शिक्षक, अभिभावक, सामाजिक एवं राजनीतिक कार्यकर्ता, जनस्वास्थ्य एवं अन्य स्थानीय प्राशासनिक निकाय र स्वास्थ्यकर्मी सबैको समूहगत प्रयास जरुरी हुन्छ ।

शिक्षकले के गर्न सक्छन् ?
मनोसामाजिक दृष्टिकोणमा यो समस्या देखासिकीबाट नै द्रुततर रुपमा एउटा विद्यार्थीबाट अर्कोमा फैलिएर महामारीको झैं रुप लिने भएको हुँदा सबैभन्दा पहिले लक्षण देखाएको विद्यार्थीलाई अलग्गै सुरक्षित ठाउँमा सार्ने व्यवस्था गर्नुपर्छ । त्यसपछि अन्य विद्यार्थी र शिक्षकमा उत्पन्न हुन सक्ने त्रासको न्यूनीकरणका लागि यथोचित उपाय अवलम्बन गर्नुपर्छ । मनोचिकित्साकर्मी यस कार्यमा दक्षताप्राप्त हुन्छन्, अतः तिनलाई अभिभावक र शिक्षकमा चेतना फैलाउन र भ्रम निवारणका लागि प्रयोग गर्नुपर्छ । विद्यार्थीमा लुप्त अवस्थामा रहेको मनोवैज्ञानिक समस्याको यथोचित उपचारका लागि यथाशीघ्र संवादको थालनी गर्नुपर्छ । कसैमा साँच्चै नै शारीरिक समस्या (जस्तै: छारेरोग) छ भने चिकित्सकीय प्रयासबाट उपचार गराउनुपर्छ । जनचेतनामूलक सामग्रीको प्रचारप्रसारका लागि मिडियाकर्मी पनि सहायक बन्न सक्छन् ।

यी तथ्यलाई हृदयंगम गर्दै सबैको सामूहिक प्रयासद्वारा समूहगत रुपमा विकास हुने ‘मास हिस्टेरिया’को आतंकबाट मुक्त हुन सकिन्छ ।

यो पनि पढ्नुहोस् : 

मानसिक तनावले दिनहुँ ढल्छन् छात्रा, पढाइ प्रभावित

अजय प्राडा रिसाल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, धुलिखेलको मनोचिकित्सा विभागमा कार्यरत छन्।

Link copied successfully