एउटा निकायले निर्माण गर्ने र अर्कोले भत्काउने प्रवृत्ति अन्त्य गर

मन्त्रालयहरूले नै आफूहरूका बीचमा सहकार्यका लागि संरचना बनाउन पनि सक्छन् वा अनौपचारिक ढंगले समन्वय गर्ने उपायको खोजी गर्न सक्छन् । मन्त्रिपरिषद्ले नै समन्वय र सहकार्यका लागि कुनै माध्यमबाट संयन्त्र निर्माण गर्न पनि सक्छ । उपाय अनेक हुन सक्छन् तर सकारात्मक नतिजाका लागि प्रयत्नशील हुन आवश्यक छ ।

फाल्गुन २, २०८१

सम्पादकीय

End the tendency for one body to build and another to tear down

काठमाडौंलगायतका ठूला सहरमा एउटा अमिल्दो घटना प्रकट भइरहन्छ– एउटा निकायले आफ्नो योजना भर्खरै सकेको हुन्छ, अर्को निकायले त्यसमा क्षति पुग्ने गरी योजना अघि बढाउँ । यही प्रवृत्तिसँग मिल्दोजुल्दो घटना बुधबार काठमाडौंको बबरमहल क्षेत्रमा भयो ।

नेपाल विद्युत् प्राधिकरणले ठेक्कामार्फत भूमिगत लाइन विस्तार गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको २० इन्च मोटाइको डीआई पाइप फुट्दा सडकमा लगातार चार घण्टासम्म पानी निष्कासित भयो । खेर गएको ३० लाख लिटर पानीका कारण जिल्ला अदालत, सडक, वनलगायतका सरकारी भवनका साथै बस्तीसमेत डुबानमा पर्‍यो ।

बबरमहलका साथै मीनभवन, अनामनगर र आसपासका क्षेत्रमा खानेपानी वितरण सेवा बन्द हुन पुग्यो । सडक भासियो । वरपर लेदो जम्यो । यस क्रममा खानेपानी, विद्युत् र सडकसँग सम्बन्धित तीन निकाय जोडिन्छन् । बबरमहलमा भएको क्षतिको मर्मत गर्न विद्युत् प्राधिकरणले सुरु गरिसकेको छ । केही समयपछि त्यहाँको अवस्था पुरानै लयमा फर्किने नै छ । तर, यस घटनाले अन्तरनिकायबीच समन्वयलाई बाध्यकारी बनाउनुपर्ने आवश्यकतालाई बोध गराउँछ ।

विद्युत् प्राधिकरणको कामले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको पछिल्लो सन्दर्भ हो । यसअघि मेलम्ची आयोजनाअन्तर्गतकै पाइप बिछ्याउने क्रममा सडकमा क्षति पुगेको थियो । विकास निर्माणका सानातिना काम नियमित चलिरहने सहरी क्षेत्रमा एउटाको कामले अर्कोलाई क्षति पुर्‍याउने गरेको छ । यो यति नियमित घटनाक्रम भइसक्यो कि सम्बन्धित निकाय तथा लाभान्वित वर्गसमेत अभ्यस्त हुँदै गएको भान हुन्छ । क्षणिक चर्चामै सबै सेलाउने गरेको छ । कोही कसैप्रति जवाफदेही हुनुपरेको पाइँदैन । युटिलिटी करिडोरसम्बन्धी कानुन ल्याइने भनेर मन्त्रीहरूले भाषणमा बताउने गरेका छन । नीति तथा कार्यक्रममै पनि यो विषय समेटिएको छ । तर, कानुन बन्न सकेको छैन । 

सहरी क्षेत्रमा फरक–फरक निकायको मनपरी चलिरहेको छ । जसले गर्दा लत्रेका बिजुली र दूरसञ्चारका तार, ढल्केका बिजुलीका पोल, भत्केका ढल, उप्केका फुटपाथका टायल, भत्केका सडक, चुहिएका खानेपानीका पाइपजस्ता दृश्य सहरमा यत्रतत्र देखिन्छ । एउटा निकायको कामप्रति पटक्कै संवेदनशीलता नराखेर अर्कोले आफ्नो काम अघि बढाउँदा कहिलेकाहीँ अस्वाभाविक क्षति पनि निम्तिने गर्छ ।

सडक खण्ड लथालिंग हुने गर्छ । पहिल्यै बजेट र श्रम खर्च भइसकेको कामलाई पुरानै स्वरूपमा ल्याउन फेरि पनि खर्च गर्नुपर्छ । मानिसले पाइरहेको सेवा तथा सुविधा अवरोध हुन्छ । सडक खनेर छाडिएको छ भने धूलो वा हिलोको सास्ती बेहोर्नुपर्छ । समन्वयमा एकै पटक खन्दा हुने खाल्डोलाई पटकपटक खन्नुपर्दा बजेट र श्रम पनि पटकपटक नै खर्च हुने गरेको छ । 

व्यवस्थित अध्ययनमा आधारित यकिन तथ्यांक उपलब्ध नभए पनि अन्तरनिकाय समन्वय र सहकार्य हुने हो भने राज्यको ठूलै रकम बचत हुने आकलन गर्न सकिन्छ, जुन बचत अन्यत्र प्रयोग गर्न सकिन्छ । विकास निर्माण तथा मर्मतको काम पनि दिगो र प्रभावकारी हुन्छ । अर्कोतिर, एक निकायको अवरोधका कारण अर्को निकायको काम रोकिने गरेको पनि गुनासो सुनिन्छ । जसले गर्दा तत्काल पाउनुपर्ने सेवा पाउन पनि ढिलाइ हुने गरेको छ ।

अहिले विद्यमान फरक–फरक कानुनहरूले पनि समन्वय र सहकार्यको अवधारणा राखेको पाइन्छ । तर, बाध्यकारी भने देखिँदैन । त्यसैले पनि कम्तीमा सहरी क्षेत्रमा नियमित हुने निर्माण तथा मर्मतको कामलाई समन्वयका साथ अघि बढाउन युटिलिटी करिडोरसम्बन्धी कानुनको आवश्यकता भइसकेको छ । कानुनले नै बाँध्दा समन्वय र सहकारी बाध्यकारी र प्रभावकारी हुन सक्छ ।

मन्त्रीहरूले सार्वजनिक गरेका प्रतिबद्धता र सरकारको नीति तथा कार्यक्रममै आइसकेको विषय भएकाले पनि यस्तो कानुनले प्राथमिकता पाउनुपर्छ । तर, कानुन बन्नुअघि फरक–फरक निकायबीच संयन्त्र गठन गरेर समन्वयका उपाय खोज्न सकिन्छ । वा, मन्त्रालयहरूले नै आफूहरूका बीचमा सहकार्यका लागि संरचना बनाउन पनि सक्छन् वा अनौपचारिक ढंगले समन्वय गर्ने उपायको खोजी गर्न सक्छन् । मन्त्रिपरिषद्ले नै समन्वय र सहकार्यका लागि कुनै माध्यमबाट संयन्त्र निर्माण गर्न पनि सक्छ । उपाय अनेक हुन सक्छन् तर सकारात्मक नतिजाका लागि प्रयत्नशील हुन आवश्यक छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully