लोकरिझ्याइँको नियति : न जनलोकपाल न केजरीवाल

केजरीवाल कति पटक मुख्यमन्त्री बने र कतिन्जेल बने भन्ने हिसाब गर्ने हो भने उनी असफल भन्न नसकिएला । तर कस्तो राजनीतिक संस्कार स्थापित गराए भन्ने प्रश्नमा भने निराशाजनक जवाफ आउनेछ, जसको लेखाजोखा इतिहासले पनि अवश्य गर्नेछ ।

माघ २८, २०८१

सम्पादकीय

Destiny of Lokrizhya: Neither Jan Lokpal nor Kejriwal

भारतको राजधानी प्रान्त दिल्ली विधानसभाका लागि सम्पन्न निर्वाचनमा सत्तारूढ आम आदमी पार्टी (आप) को पराजयको परकम्प भारतीय सीमाभन्दा बाहिरसम्म महसुस भएको छ । लोकतान्त्रिक मुलुकमा हुने आवधिक निर्वाचनमा कुनै नेता वा दल विशेषको हारजित स्वाभाविक प्रक्रिया हुन् ।

तर, आपको उदय र पराजयको पृष्ठभूमिले विशिष्ट राजनीतिक विश्लेषणको माग गर्दछ । किनकि भारतीय राजनीतिक मैदानमा केजरीवाल राजनीतिक नेताभन्दा भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा उदाएका हुन् ।

सायद त्यसैले समाजसेवी अन्ना हजारे, वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, राजनीतिक अभियन्ता योगेन्द्र यादव, पूर्वप्रहरी अधिकारी किरण वेदी यो अभियानमा जोडिएका थिए । तर आन्दोलनले जब सफलता प्राप्त गर्‍यो, यसलाई नगदीकरण गर्न केजरीवालले पार्टी घोषणा गरे ।

उनका सहयोगीहरूले मूल उद्देश्य थाहा पाउन्जेल केजरीवाल दिल्लीका मुख्यमन्त्री भइसकेका थिए । उनी मुख्यमन्त्री हुनासाथ आन्दोलनको मुख्य माग जनलोकपालको एजेन्डा छायामा मात्र परेन, केजरीवाल र उनका टिमका नेताहरू मदिरा ठेक्कामा भ्रष्टाचारको आरोपमा पक्राउ परे, लगत्तै भएको निर्वाचनमा महत्त्वपूर्ण नेताहरूसहित केजरीवाल आफैंले पनि चुनाव हारेका छन् । भ्रष्टाचारविरोधी अभियानको यो त्रासदी राजनीतिशास्त्रका विद्यार्थीका लागि एउटा मौलिक ‘केस स्टडी’ हो ।

भ्रष्टाचारविरुद्ध सफाइ अभियानको उद्घोष गरेर लोकप्रिय बनेका अरविन्द केजरीवालले प्रतीकात्मक रूपमा चुनाव चिह्न पनि कुचो लिएका थिए । कुल ७० सिट भएको दिल्ली विधानसभामा २०१३ मा पहिलो पटक प्रतिस्पर्धा गर्दा आपले २८ सिट जितेर सनसनी मच्याएको थियो । अल्पमतको सरकारको मुख्यमन्त्री हुँदा र सहयोगी कंग्रेसले काम गर्न दिएन भनेर ४९ दिनमै राजीनामा दिँदा उनको लोकप्रियता झन् चुलिएको थियो ।

फलतः २०१५ मा ६७ र २०२० मा ६२ सिट जितेर केजरीवालले आफूलाई दिल्लीका निर्विकल्प नेताका रूपमा खडा गरेका थिए । तर, भ्रष्टाचार आरोपमा थुनामा बस्दा पनि मुख्यमन्त्री पद नछाडेका उनी कुनै बेला भ्रष्टाचारविरोधी अभियन्ता थिए भन्ने तथ्यले पनि संकोच मान्नुपर्ने अवस्था आयो । सायद त्यसैले होला, २०१५ मा जम्मा ३ र २०२० मा ८ सिट जितेको भाजपाले यसपालि केजरीवाललाई कुचो लगाएको छ र ४८ सिटसहित दुई तिहाइको सरकार सुनिश्चित गरेको छ ।

केजरीवाल एक व्यक्तिभन्दा पनि चल्तीको राजनीतिक रंगमञ्चका प्रवृत्ति हुन् । पार्टी गठनपछिको १४ महिनामै मुख्यमन्त्री बनेका उनी पार्टी कार्यालयबाट मेट्रो रेल चढेर शपथका लागि रामलीला मैदानमा पुगेका थिए । मारुती सुजिकी कम्पनीको वागनर गाडी र दुई कोठे अपार्टमेन्टमा बस्ने उनको प्रतिबद्धता समृद्धिको दृष्टिकोणभन्दा पनि सस्तो लोकप्रियताको भूलभुलैया थियो भन्ने प्रकारान्तरले पुष्टि गरेको छ ।

उनले कति ठूलो गाडी चढे, कस्तो घरमा बसे भन्ने विषय उनको जीवनशैलीमा आएको परिवर्तन हुन सक्छ, जसले आम जनताको जीवनमा खास प्रतिकूल प्रभाव पार्ने होइन । तर, भ्रष्टाचारविरोधी अभियान चलाएका उनले मदिराको ठेक्का दिँदा भ्रष्टाचार गरेको भन्ने विषय भने साँच्चै गम्भीर हो । यसको छिनाफानो अदालतले आगामी दिनमा गर्ला, तर यो प्रकरणले आप वैकल्पिक संगठन बने पनि वैकल्पिक धार बन्न सकेन भन्ने प्रस्ट भएको छ ।

केजरीवालले दिल्लीमा केही पनि सुधार गरेनन् ? तथ्य त्यसो पनि होइन । उनले निश्चित परिमाण खानेपानी र विद्युत् निःशुल्क गरेका थिए । ‘मोहल्ला क्लिनिक’ चलाएर सानोतिनो स्वास्थ्य उपचार छिमेकमै हुने प्रबन्ध गरे । सामुदायिक विद्यालयमा सुधार गरेर निजी विद्यालयका विद्यार्थी फर्काउन पनि सफल भए । त्यस्तै महिलालाई सरकारी बसमा निःशुल्क यातायातलगायतका सामाजिक कल्याणका कार्यक्रम पनि लागू गरे । तर उनी आफैंले बनाएको छवि बचाउन यी कार्यक्रम पर्याप्त थिएनन्, मूलतः वित्तीय अनुशासनको कसीमा मात्र मतदाताले उनको परीक्षण गरिरहेका थिए ।

तर, भ्रष्टाचार आरोपमा थुनामा बस्दा पनि उनले मुख्यमन्त्री पद त्यागेनन्, त्यसले सुशासनप्रतिको उनको नारा खोक्रो थियो भन्ने पुष्टि गर्‍यो । त्यतिमात्र होइन, उनका उपमुख्यमन्त्री मनीष सिसोदिया, स्वास्थ्यमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद सञ्जय सिंह पनि भ्रष्टाचार आरोपमा जेल गए । यो एउटा यस्तो सन्दर्भ बन्यो जसले आप पनि अरू जस्तै एक थान पार्टी हो भन्ने भाष्य स्थापित भयो । उस्तैउस्तै पार्टीबीचको प्रतिस्पर्धामा जसलाई रोजे पनि हुन्छ भन्ने मतदाताको मनोविज्ञानको परिणामस्वरूप आप खुम्चिएको छ ।

केजरीवाल व्यक्तिपूजामा पनि केन्द्रित भएको देखियो जहाँ आलोचना गर्ने र सुन्ने अभ्यास स्थापित हुन सकेन । तत्कालीन सत्तारूढ पार्टी कंग्रेसको कठोर आलोचना गरेर चर्चित भएका उनले आफ्ना पुराना सहयात्री प्रशान्त भूषण, योगेन्द्र यादव र कुमार विश्वासजस्ता नेतालाई आन्तरिक मतभेदकै कारण पार्टीबाट बाहिरको बाटो देखाए । पार्टीको नेतृत्व कतिसम्म केन्द्रीकृत थियो भने अदालतबाट तारिखमा छुटेका उनले आफूलाई नै चौथो पटक मुख्यमन्त्रीको दाबेदारका रूपमा पनि प्रस्तुत गरे ।

आपलाई बलियोसँग उभ्याउन सक्ने कुनै सैद्धान्तिक र वैचारिक जग थिएन नै, सुशासनप्रतिको प्रण पनि फितलो भएकाले उनको धरातल कमजोर भइसकेको थियो । जसको परिणाम निर्वाचनले दिएको छ । केजरीवाल कति पटक मुख्यमन्त्री बने र कतिन्जेल बने भन्ने हिसाब गर्ने हो भने उनी असफल भन्न नसकिएला । तर कस्तो राजनीतिक संस्कार स्थापित गराए भन्ने प्रश्नमा भने निराशाजनक जवाफ आउनेछ, जसको लेखाजोखा इतिहासले पनि अवश्य गर्नेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully