जसले परिस्थितिअनुकूल सेतोलाई कालो र कालोलाई सेतो बनाउन सक्छ, तिनै बोलवाला हुन्छन् । यस्तो प्रवृत्ति जबसम्म रहन्छ, तबसम्म देशमा सकारात्मकताको खडेरी परिरहनेछ । सक्षम र योग्य व्यक्ति पाखा लागिरहनेछन् ।
समाजमा विभिन्न प्रकृतिका पेसा तथा व्यवसायमा व्यक्ति तथा संस्था आबद्ध रहेका हुन्छन् । त्यस्ता व्यवसाय समयअनुसार फरकफरक प्रकृतिका हुन्छन् । समयको माग, भौगोलिक संरचना, हावापानी, सांस्कृतिक परिवेश, जनघनत्व, रीतिरिवाजले पनि तिनको व्यवसायमा विविधता पाइन्छ ।
कुनै समयमा अत्यन्त फस्टाएको व्यवसायको कुनै समय अस्तित्वसमेत सकिएका उदाहरण प्रशस्तै रहेका छन् । हिजो खाद्यान्न, लत्ताकपडा, जडीबुटीलगायतका सामान निर्यात गर्ने व्यापार आज हरियो धनियाँ, खुर्सानी, तरकारीसमेत आयात गर्नेमा आइरहेको छ । जसबाट बुझ्न सकिन्छ, वैदेशिक व्यापारको अवस्था हिजोको भन्दा बिलकुल फरक छ, जहाँ निर्यात हुन्थ्यो आज आयात भइरहेको छ ।
व्यवसायको प्रकृति रूपान्तरित भएको छ । यो स्वाभाविक प्रक्रिया हो । समयको विकासक्रमसँगै मानिसका इच्छा, चाहना, काम गर्ने शैली, रहनसहन, सोच, उन्नत प्रविधि, आर्थिक क्षमता आदिले उपभोग गर्ने वस्तु, प्रयोग गर्ने साधन, निर्माण गर्ने संरचनामा फरक आउनु स्वाभाविक हो । आजको व्यवसाय फरक ढंग, तौरतरिकाले पनि भिन्न छन् ।
व्यवसायमा वस्तु तथा सेवा जोडिएको हुन्छ । व्यवसाय भन्नेबित्तिकै ‘इनपुट’ को प्रशोधनबाट ‘आउटपुट’ निस्कन्छ । चाहे त्यो वस्तु होस्, चाहे सेवा, जहाँ उपभोक्ताले उपभोग गर्न पाउँछ । तर, इनपुटको प्रशोधनबाट आउटपुट शून्य हुने व्यवसायले पनि आजको दिनमा बजार लिने गरेको देखिन्छ । यो व्यवसायको नाम हो, ‘कार्यक्रम गर्ने व्यवसाय’ ।
व्यवसायको एउटा यस्तो क्षेत्र, जुन कार्यक्रम गर्नका लागि कार्यक्रम गरिन्छ π त्यहाँ इनपुट हुन्छ, प्रशोधन गरिन्छ तर आउटपुट आउँदैन । आउटपुट नआउने कार्यक्रम कसरी सञ्चालन गरिन्छन् त ? जहाँ ठूला ओहदाका व्यक्ति, ठूलाठूला होटल, ठूला लागत, ठूला कुराका पुलिन्दा जोडिन्छ । जहाँ धेरै राम्रा र सकारात्मक कुरा गरिन्छ, ठूलो बजेट खर्च गरिन्छ, उल्लेख्य सहभागिता देखाइन्छ । कामका कुराभन्दा पनि कुराको काम गरिन्छ । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुन्छ । ती महँगा होटलको कार्यक्रम हलमा सबै चिज भेटिन्छ । हुने नहुने, भएका नभएका, गर्न सकिने नसकिने सबैको चर्चा, परिचर्चा गरिन्छ । कार्यक्रम सम्पन्न भएर गेटबाट बाहिरिँदै गर्दा सबै विषयवस्तु हलमै सीमित हुन्छ । बाहिर केही आउँदैन, हुँदैन र गरिँदैन पनि ।
कार्यक्रममा ठूलाठूला फ्लेक्स तथा ब्यानर प्रयोग गरिएको हुन्छ । विभिन्न स्पोन्सरहरूका विज्ञापन बजिरहेका हुन्छन् र लोगो टाँसिएका हुन्छन् । ती राखिदिएबापत कार्यक्रम आयोजकले राम्रै रकम असुल गरेको हुन्छ । स्पोन्सर गर्ने फर्म, कम्पनीहरूको विज्ञापन पनि आकर्षक नै हुन्छन् । तर त्यो विज्ञापनअनुसारको वस्तु तथा सेवा कस्तो छ ? गुणस्तरयुक्त छ, छैन, कस्तो हुनुपर्छ भन्ने विषय भने उपभोक्तालाई मात्रै थाहा हुन्छ ।
पछिल्लो समय यस्तै कार्यक्रम गर्न कार्यक्रममा आफ्ना लोगो झुन्ड्याउने होडबाजी देखिन्छ । कसले कति मोटो रकम दिन सक्छ र कति ठूलो लोगो राखिदिने भन्ने होडबाजी छ । विभिन्न नाममा बैंकिङ पार्टनर, व्यावसायिक पार्टनर, टाइटल स्पोन्सर, को–स्पोन्सर यस्तै अनेक नामका ट्याग बनाइन्छ ।
कार्यक्रम तर्जुमा गरिन्छ, कुनै निश्चित समयमा । प्रमुख अतिथि, विशेष अतिथि, सहयात्री, सहयोगी सबैको व्यवस्था गरिन्छ । उक्त समयमा सबै उपस्थित भइसकेका हुन्छन्, मात्रै उपस्थित नभएको भनेको प्रमुख अतिथि हो र कुराइन्छ घण्टौं । सबैतिर भ्याउनुपर्ने ठूला प्रमुख अतिथि ढिलो आइसिन्छ π तैपनि पञ्चेबाजाका साथ खादामालाले स्वागत गरिन्छ । लेखेर ल्याएका केही शब्द सकिनसकी वाचन गरिसिन्छ । अन्त्यमा व्यस्तता रहेकाले कार्यक्रमको सफलताको कामना गर्दै लागिसिन्छ ।
ढिलो आएपछि छिटो त जानैपर्यो ! किनकि यस्तै अर्को कार्यक्रममा अरूले घण्टौं कुरिरहेका हुन्छन् । न त आयोजकले आफ्ना कुरा सुनाउन पाउँछन् न त उसको आशा र अपेक्षा सम्बोधन गरिन्छ । तैपनि आयोजक गुणगान गाइरहन्छन् । अन्य वक्ता पनि उस्तै शैलीमा प्रमुख अतिथिको व्यस्तताको चर्चा गर्न थाल्छन् । अन्त्यमा आयोजकले कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै ककटेल डिनरमा सहभागी हुन अनुरोध गर्छन् ।
अतिथिहरू ड्यासमा बसी खोक्रा भाषण दिन पाएकामा खुसी नै हुन्छन् । स्पोन्सर गर्नेहरू राम्रै काममा रकम खर्चिएकामा दंग देखिन्छन् । तारे होटलको ककटेल डिनरमा सहभागी हुन पाउनुलाई सहभागी अहोभाग्य सम्झन्छन् । यस्तो तामझामसहित कार्यक्रम सम्पन्न हुन्छ, सबै सरोकारवाला अलि ढिलो घर पुग्छन् । यस्ता कार्यक्रमको सिलसिलाले हामी, हाम्रो समाज र समग्र राज्यव्यवस्था कता पुग्ने हो ? एउटा गम्भीर प्रश्न खडा भएको छ ।
यस्ता कार्यक्रममा कामका कुरा, कमीकमजोरी, आत्मसमीक्षा, सुधार र योजनाका होइन तारिफ, चाकडी चाप्लुसी, चम्चागिरीको दृश्य साक्षात्कार गर्न पाइन्छ । यस्तै प्रकृतिको व्यवसाय फस्टाएकाले आज इमानदारिता, नैतिकता र क्षमतावान्को मूल्य हराउँदै गएको छ । जसले परिस्थितिअनुकूल सेतोलाई कालो र कालोलाई सेतो बनाउन सक्छ, झूटका पुलिन्दा बुन्न सक्छ, आदर्शका कुराले मानिसलाई जिल्याउन सक्छ, तिनै बोलवाला हुन्छन् ।
कामको सिन्को नभाँच्ने, सत्ता र शक्तिको वरिपरि घुम्नेहरू नै हाइ–हाइ हुन्छन् । यस्तो प्रवृत्ति जबसम्म रहन्छ, तबसम्म देशमा सकारात्मकताको खडेरी परिरहनेछ । सक्षम र योग्य व्यक्ति पाखा लागिरहनेछन् । विधि र पद्धति केवल आदर्श मात्र रहन्छ ।
आज दैनिक करिब २५ सय युवाले देश छाडिरहेका छन् । यस्तै प्रवृत्ति, राजनीतिक बेथिति र अनावश्यक ढर्राले युवामा निराशा छ । तसर्थ यस्तो परिस्थितिको क्रमभंग हुन ढिला भइसकेको छ । हरेक सचेत नागरिकले यस्ता कार्यक्रम बहिष्कार गर्न सक्नुपर्छ । स्पोन्सर गर्नेहरूले पनि आफूले खर्चिएको रकमको प्रभावकारिता रहन गयो, गएन, कार्यक्रमको आवश्यकता र औचित्यता थियो, थिएन, मूल्यांकन गर्नुपर्छ ।
