एआईको प्रवेश र प्रयोगले खेलकुद प्रसारणमा क्रान्ति ल्याइरहेको छ । नेपाली प्रसारकहरूले पनि अब स्पोर्टस् च्यानलको विकासका लागि प्रविधिको नवीनतम र उच्चतम प्रयोग गर्नु जरुरी छ ।
टेलिभिजनमा अहिले कुनै विषयले सबैभन्दा बढी समय खपत गर्छ भने त्यो खेलकुदले नै हो । खेलकुदबाहेक त्यस्तो अन्य कुनै कार्यक्रम छैन जहाँ दर्शकको स्वाभाविक चासो रहन्छ । किनकि खेलकुद व्यापक रूपमा प्रचारित र अपरिहार्य नतिजा उत्पादन गर्ने र बृहत् दर्शक सिर्जना गर्ने माध्यम बनिसकेको छ ।
अवस्था सधैं यस्तो थिएन, अझ बर्लिन ओलम्पिक १९३६ अघि त छँदै थिएन । बर्लिनमा आयोजित खेलहरू एथलेट भिलेज र बर्लिन र पोट्सडममा अवस्थित २५ विशेष कोठाहरूमा श्यामश्वेत टेलिभिजनमा प्रत्यक्ष रूपमा प्रसारण गरियो । विश्वमा कुनै खेलकुद कार्यक्रम टेलिभिजन स्क्रिनमा प्रत्यक्ष देखेको त्यो पहिलो पटक थियो । र, यसले सम्भावनाका नयाँ ढोकाहरू खेलिदियो । १९६० मा इटालीको रोममा आयोजित ओलम्पिक युरोपभर प्रत्यक्ष प्रसारण गरियो ।
जबकि १९६४ को टोकियो ओलम्पिक विश्वव्यापी दर्शकहरूमा पुग्ने पहिलो प्रतियोगिता बन्यो । नेपालले पनि १९६४ बाटै ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । यतिबेलासम्म सबै प्रत्यक्ष प्रसारण श्यामश्वेत हुन्थ्यो । तर, टोकियो ओलम्पिकको ४ वर्षपछि मेक्सिको सिटीमा अर्को संस्करण आयोजना हुँदा खेलहरू रंगीन दृश्यमा प्रत्यक्ष प्रसारण भए ।
अमेरिकामा पनि ८० वर्ष पहिले मात्रै खेलकुदको प्रत्यक्ष प्रसारण भएको इतिहास छ । कोलम्बियामा १७ मे, १९३९ मा पहिलो पटक न्युयोर्कको बेकर फिल्डमा कोलम्बिया लायन्स र प्रिन्सटन टाइगर्सबीचको कलेजस्तरीय बेसबल प्रतियोगिता नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) ले प्रत्यक्ष प्रसारण गरेको थियो ।
भारतमा डिसेम्बर १९६६ मा वेस्ट इन्डिजहरूले भारत भ्रमण गर्दा प्राइम मिनिस्टर इलेभेनविरुद्धको खेल दूरदर्शन टीभीले प्रत्यक्ष प्रसारण गरेको इतिहास छ । त्यो खेलभन्दा पहिले, मानिसहरूले रेडियोमा लाइभ कमेन्ट्री सुनेर मात्रै क्रिकेट फलो गर्थे ।
नेपालमा २०४१ सालमा नेपाल टेलिभिजन सुरु भयो । त्यसको ३ वर्षपछि २०४४ सालमा एनटीभी कप भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेको रेकर्ड छ । सन् १९८६ को विश्वकप नेपाली दर्शकले नेपाल टेलिभिजनबाटै हेरेका थिए । सन् १९९९ मा नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदको उद्घाटन र समापन समारोह पनि नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भयो । तर, खेलहरू भने प्रत्यक्ष प्रसारण गरिएको थिएन ।
विश्वव्यापी रूपमा, खेल प्रसारण उद्योगले तीव्र वृद्धि छ । नेपालमा टेलिभिजन उद्योगको भविष्यलाई लिएर चिन्ता व्यक्त हुन थाल्दा पनि विश्वमा खेलकुद प्रसारकहरूलाई आफ्नो बजार विस्तारको अपूर्व सम्भावनाले स्वागत गरिरहेको छ । फिफा विश्वकप, ओलम्पिक, क्रिकेटका सबै फर्म्याटका प्रतिस्पर्धा, अमेरिकन सकर, रग्बी, भलिबलजस्ता प्रमुख कार्यक्रमहरू अरबौं मानिसले हेर्छन् । ती खेलका खेलाडीहरू रातारात सेलिब्रेटी बन्छन् ।
उदाहरणका लागि, २०२२ फिफा विश्वकप फाइनलले अनुमानित डेढ अर्ब दर्शकलाई आकर्षित गर्यो । यसले आधुनिक प्रसारणको शक्ति र सामर्थ्यलाई थप प्रमाणित गरेको छ । एचडी भिजुअलहरू, धेरै क्यामेराका कोणहरू, तत्काल रिप्लेहरू, र आकर्षक कमेन्ट्रीहरूमार्फत, प्रसारकहरूले यस्तो माहोल सिर्जना गर्छन् जुन प्रतियोगिताको स्पर्धाभन्दा धेरै गुणा भव्य हुन्छ ।
खेल अघि र पछिका विश्लेषणहरू, खेलाडी अन्तर्वार्ताहरू र खेलाडीहरूको यात्राको वरिपरि कथा कथनले दर्शकलाई भावनात्मक गहिराइमा पुर्याउँछ । जसले खेल प्रशंसकहरूलाई टेलिभिजन वरिपरि तान्छ र व्यापारिक घरानाहरूलाई त्यति नै बेला विज्ञापन देखाउने आवश्यकताबोध हुन्छ ।
अझ, पछिल्लो समय यान्त्रिक सुझबुझमा आधारित बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रवेश र प्रयोगले खेलकुद प्रसारणमा क्रान्ति ल्याइरहेको छ । एआई चालित क्यामेराहरूले बल र खेलाडीहरूलाई स्वचालित रूपमा ट्र्याक गर्न सक्छन् । यसले दृश्य माध्यमको कल्पनाशीलतालाई पनि बढाउँछ । मानव संशाधन प्रयोगमा व्यापक कटौती गर्छ ।
वास्तविक–समयमै एनालिटिक्स, मेसिन लर्निङद्वारा सञ्चालित, खेलाडीको गति, सट र्ट्याजेक्टोरीहरू र खेल तथ्यांकहरूजस्ता आवश्यक अन्तरदृष्टिहरू तत्कालै प्रदान गर्न सक्ने भएकाले यसले दर्शकलाई टेलिभिजन सेट छाडेर नजान प्रेरित गर्छ । नेपालमा यही प्रविधिलाई भित्र्याउने बेला भइसकेको छ । नेपाली प्रसारकहरूले पनि अब स्पोर्ट्स च्यानलको विकासका लागि प्रविधिको नवीनतम र उच्चतम नमुनालाई प्रयोगमा ल्याउन जरुरी छ ।
यसबाहेक, एआईले विश्वव्यापी भाषाको अवरोधलाई पन्छाउन पनि मद्दत गर्छ । एआई–सञ्चालित अनुवादहरू र उपशीर्षकहरूले प्रसारित सामग्री विश्वव्यापी दर्शकका लागि पहुँचयोग्य छ भन्ने मान्यता स्थापित गर्छ ।
नेपालको हकमा जहिले पनि खेलकुदको कुरा गर्दा प्रसारण र उत्पादन फरक हुन भनेर बुझाउनै हम्मेहम्मे पर्छ । हेर्दा उस्तैजस्तो देखिए पनि तिनीहरूको उद्देश्य र प्रदान गर्ने सेवा नै अलग हुन्छ । उत्पादनमा सामग्रीको निर्माण र उत्पादनको पाटो महत्त्वपूर्ण हुन्छ । जस्तैः फिल्मिङ, निर्देशन र प्रत्यक्ष फिड सम्पादन । अर्कोतर्फ, प्रसारणले टेलिभिजन, रेडियो, वा डिजिटल प्लाटफर्महरूमार्फत दर्शकलाई यो सामग्री वितरण गर्नमा ध्यान केन्द्रित गर्दछ ।
उदाहरणका लागि, क्रिकेट म्याचको समयमा, उत्पादन टोलीले क्यामेराको प्लेसमेन्ट, सटहरूको अनुक्रम र स्कोरबोर्डहरूजस्तै ग्राफिक्स समावेशको व्यवस्थापन गर्दछ । प्रसारण टोलीले यो सामग्रीलाई सिमलेस ट्रान्समिसनमार्फत लाखौं दर्शकमा पुग्ने सुनिश्चित गर्दछ । प्रायः प्रायोजनहरू र विज्ञापनहरूलाई एकीकृत गरेर राजस्व उत्पन्न गर्ने काममा उत्पादनभन्दा प्रसारण माध्यमको भूमिका प्रमुख हुन्छ ।
तर, नेपालमा अझै पनि पूर्ण रूपमा खेलकुद च्यानलहरू विकास भई नसकेको अवस्थामा टेलिभिजन स्वयंले खेलकुदका कार्यक्रम र प्रत्यक्ष प्रसारण आफैं उत्पादन र प्रसारण गर्नुपर्ने बाध्यता कायमै छ । त्यसले गर्दा पनि हाम्रा खेलकुदका प्रत्यक्ष प्रसारणहरू अन्तर्राष्ट्रियस्तरका हुन सकेका छैनन् । जबकि हालै आयोजना भएको एनपीएलमा उत्पादन संस्था विदेशी हुँदा स्वदेशी प्रसारण माध्यममा पनि उनीहरूको फिड लिँदा प्रसारण विश्वस्तरीय भएको हामी सबैले अनुभव गरेकै कुरा हो ।
खेलका नतिजा अखबारमा पढ्न, रेडियामा सुन्नभन्दा टेलिभिजनमा प्रत्यक्ष हेर्दा बेग्लै आकर्षण हुने भएकाले दर्शकलाई टेलिभिजन सेटसम्म तान्छ । टेलिभिजनको गतिशील र निकटको उपस्थितिले खेलकुद क्षेत्रलाई नै प्रोत्साहन गरेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाद्वारा आफ्ना स्थापनाका एक सय वर्ष पुगेको उपलक्ष्यमा सन् २००४ मा प्रकाशन गरेको पुस्तकमा उल्लेख भएअनुसार टेलिभिजनमा प्रसारित फुटबलले जालोका रूपमा सम्बन्ध सुदृढ बनाउँछ जसले आधनिक समाजलाई एकीकृत गराउँछ ।
भिन्दाभिन्दै समाजबीच आपसी सम्बन्ध बढाउन पनि मद्दत पुर्याउँछ । टेलिभिजनले खेलका साथसाथै अदृश्य रूपमा यस्ता विश्वबन्धुत्वको भावनालाई आम समुदायमा पुर्याउँछ । साथसाथै राष्ट्रियताको भावना जगाउनमा पनि टेलिभिजनमा प्रसारित खेलकुद कार्यक्रमको भूमिका ठूलो हुन्छ ।
समग्रमा, खेलकुदलाई विश्वव्यापी घटनामा रूपान्तरण गर्न प्रसारकहरू निर्णायक छन् । विश्वभरका दर्शकमा खेलको रोमाञ्चकता विकास गर्न र जोश ल्याउन पनि उनीहरू सहायक नै देखिएका छन् । नेपालको बढ्दो खेलकुद परिदृश्यदेखि लिएर एआईको अत्याधुनिक प्रयोगसम्म, खेलकुदलाई थप आकर्षक र पहुँचयोग्य बनाउँदै यसलाई उद्योगको रूपमा विकास गर्ने हो भने प्रसारक संस्थाहरूले लगानी बढाउन जरुरी भइसकेको छ ।
नेपाली खेलको जादू विश्वको हरेक कुनामा पुर्याउने हो भने खेल सामग्री उत्पादक र प्रसारकको भूमिकालाई छुट्टाएर एकअर्काले आफूलाई विश्वस्तरीय प्रविधिसँग घुलमिल गराउनुपर्छ ।
