कृषि अनुदान प्रणालीमा आमुल सुधारको आवश्यकता

माघ २२, २०८१

सम्पादकीय

The need for radical reforms in the agricultural subsidy system

देशमा एकथरी कृषक छन्– उनीहरूले खनजोत, बिउ, मल, सिँचाइलगायतका काममा अत्यधिक खर्च गर्नुपर्छ । जसकारण बाली लगाउनेदेखि फसल भित्र्याउने बेलासम्मको एकीकृत लागतको तुलनामा उत्पादित फसलको मूल्य कम वा हाराहारी मात्रै हुन आउँछ ।

त्यसरी हुने उत्पादन पारिवारिक खपतमै सकिनेहरूको त कुरै भएन, बिक्री गर्न पुग्नेहरूले पनि उचित मूल्य पाउँदैनन् । यीलगायत अनेकौं कारणले कृषि पेसाप्रति आकर्षण घट्दो छ । नयाँ पुस्ता त विरलै कृषि कर्ममा जोडिन्छ । देशमै अर्काथरी ‘कृषक’ पनि छन्– जो भूमिमा होइन, कागजमा खनजोत गर्छन् । कुखुरा, गाई, भैंसी, दूध, दही जस्ता विषय उनीहरूका निम्ति हिसाबकिताब मिलान गर्ने बुँदा मात्रै हुन् । तर उनीहरूले नै कृषक बनेर सरकारबाट लाखौं–करोडौं अनुदान पाउँछन् । यसरी अनुदानमै राज्यको लगानी अर्बौं देखिने तर त्यसको प्रभाव न्यून मात्रै देखिनुको कारण स्पष्ट छ– अनुदान प्रवाहमा बेथिति छ । तसर्थ राज्यले दिने अनुदानको दुरुपयोग 

रोक्नका लागि यसको वितरण पद्धतिमा परिवर्तन ल्याउन आवश्यक छ । साथसाथै, अहिलेसम्म प्रवाह गरिएको अनुदानको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

गत पुस २८ मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पत्रकारमार्फत कृषि अनुदान लिनेको सूची सार्वजनिक गरेका थिए । अनुदानको सूची खोज्न कात्तिक २ मा मन्त्रालयले सहसचिव हरिबहादुर केसीको संयोजकत्वमा गठन गरेको समितिले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह भएको प्रतिवेदन तयार पारेको थियो । त्यतिबेलादेखि नै अनुदान दुरुपयोग गर्नेहरूको सूची सार्वजनिक गर्न र दुरुपयोगकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ । मन्त्रालयले औपचारिक ढंगले त्यस्तो सूची सार्वजनिक गरेको छैन । तर कान्तिपुरले एक करोडभन्दा बढी अनुदान लैजाने संस्थाको विवरण खोजी गर्दा दुरुपयोगका अनेकौं विवरण पत्ता लागेको हो । त्यस्ता संस्था कम्तिमा ३२ वटा रहेको पाइएको छ ।

सरकारका विभिन्न शीर्षकका कार्यक्रम/परियोजनाबाट कृषि अनुदानका नाममा मोटो रकम लिएर सदुपयोग नगर्ने वा दुरुपयोग नै गर्नेहरूको तरिका अनौठा छन् । जस्तो कि, बाँकेको बैजनाथ गाउँपालिकामा कैलाश कोल्ड सेन्टर स्थापना गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ करोड ३० लाख अनुदान लिइएको थियो । २०७७ सालमै सञ्चालनमा आउनुपर्ने उक्त कोल्ड स्टोर अहिलेसम्म सञ्चालन नै भएको छैन । बाँकेमा दुईवटा कोल्ड स्टोर पहिल्यै सञ्चालनमा रहेकाले त्यहीँ आसपास अर्को कोल्ड स्टोर आवश्यक छ वा छैन भन्ने प्रश्न छँदै छ, अर्कोतिर त्यति ठूलो रकमको सदुपयोग हुन नसक्नु अर्को समस्या हो । त्यस्तै, रूपन्देहीमा २१ जनाले गठन गरेको त्रिशा पशुपालन समूहले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट अनुदान प्राप्त गरेको थियो । ८८ लाख अनुदानबाट ६० वटा भैंसी खरिद गरिएको दाबी गरिए पनि अहिले गोठमा ३ वटा मात्र छन् । अनुदानको रकम टाठाबाठाले दुरुपयोग गरेको स्थानीयको बुझाइ छ । अनुदान लिएका कतिपयले भने सदुपयोग पनि गरेका छन् । झापा मेचीनगर–१ को अपेक्षा गाई फार्म र २ को सञ्जीव गाई तथा कृषि फार्मले गाईपालनसँगै अर्ग्यानिक खेती पनि गरेका छन् । चितवन–गौरीगन्ज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दूध विविधीकरण तथा प्रशोधन र प्याकेजिङका मेसिनहरू जडान गरेको छ । यस्ता विवरणको खोजी गरेर सरकारले अनुदानको दुरुपयोग गर्नेलाई कारबाही र सदुपयोग गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।

करोडौं अनुदानको मात्रै सन्दर्भ होइन, लाखमा अनुदान लिनेहरूको विवरण सार्वजनिक हुने हो भने दुरुपयोगका अनेकौं र थप विस्तारित आयाम भेट्न सकिन्छ । मन्त्रालयले त्यस्तो सूची सार्वजनिक गर्न सक्नुपर्छ । त्यसले अनुदान कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र शुद्धीकरणका लागि योगदान पुर्‍याउँछ । तर समस्या अनुदान दुरुपयोगमा मात्रै सीमित छैन । किनकि, जुन उद्देश्यसहित करोडौं र लाखौं रकम अनुदानमा प्रवाह गरिएको हो, त्यसअनुसारको सकारात्मक नतिजा हासिल भएको वा नभएको बारेमा सरकारले चासो लिएको पाइँदैन । यस्तो पृष्ठभूमिमा उत्पादन वृद्धिदेखि रोजगारी सिर्जनासम्मका विषय त बहसभन्दा बाहिर हुने नै भए ।

त्यसैले अनुदानसँग जोडेर केही विषयमाथि गम्भीर बहस र समीक्षाको आवश्यकता छ । पहिलो, वास्तविक कृषकले मात्रै अनुदान पाउन सक्ने प्रणाली विकास गर्नुपर्छ । दोस्रो, कस्ता कार्यक्रमका लागि अनुदान दिने र कति दिने भन्नेमा राज्यको पारदर्शी, सार्वजनिक र व्यावहारिक मापदण्ड हुनुपर्छ । तेस्रो, कसले, कस्तो आयोजनाका लागि, कति अनुदान प्राप्त गरेको हो भन्ने विवरण सार्वजनिक पहुँचमा हुनुपर्छ, ताकि अनुदानको विषय सार्वजनिक निगरानी र जवाफदेहिताको दायरामा परोस् । चौथो, अनुदान दिइएको रकमको दुरुपयोग नहुने सुनिश्चित गर्नुपर्छ । पाँचौं, अहिलेसम्मको अनुदान दुरुपयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । छैटौं, राज्यले आफूद्वारा दिइएको अनुदानको सदुपयोग भएको वा नभएको, लक्षित समूहले लाभ पाएको वा नपाएको र सम्बन्धित ढाँचाको आयोजनाका लागि अनुदान दिनु उचित भएको वा नभएको भन्ने विषयमा निरन्तर अनुगमन गर्नुपर्छ र त्यसको निष्कर्षका आधारमा रणनीति तय गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully