स्वनामधन्य नेताहरू भन्दै छन्– बलियो सरकार । बलियो सरकार भनेको के हो ? श्री ३ को झैं बलियो सरकार ? राजा महेन्द्रको झैं बलियो सरकार ? के हाम्रा नेताहरूलाई पुटिन वा किम जोङ बन्ने भूत सवार भएको हो ?
आजकल राजनीतिमा एउटा वाक्यांश खुबै चर्चित छ । त्यो हो– ‘बलियो र स्थिर सरकार’ । चाहे विवाहमा होस् या त प्रीतिभोजमा, क्याफेमा होस् या त मधुशालामा जब सत्ताधारीहरूसँग भेट हुन्छ, उनीहरू गर्वसाथ सुनाउँछन् वर्तमान सत्ता गठबन्धनको मुख्य प्रयोजन ।
उनीहरू यसरी बोल्छन्, मानौं उनीहरूले भर्खरैमात्र सत्ताको सूत्र पत्ता लगाएका छन् । अथवा, पत्ता लगाएका छन् देश विकासको अचुक अस्त्र । कुराकानी गर्दा, उनीहरू ‘बलियो र स्थिर सरकार’ भित्रका तीन शब्दलाई यसरी उच्चारण गर्दछन् मानौं यी उनका सर्वाधिक मनप्रिय शब्द हुन् । प्रियतमाको नामभन्दा प्रिय । अथवा, आफूले गाउने ख्वामितको भजनभन्दा अद्भुत । जब आफ्ना सेवकहरूलाई वरिपरि राखेर भाषण गर्दै गरेको सत्ताधारी भेटिन्छ, यस्तो लाग्छ कि ऊ ‘बलियो र स्थिर सरकार’ को अभिनय गर्दै छ । जो थोरै मुख बटार्छ, जिब्रो घुमाउँछ, आँखा तन्काउँछ र आफ्ना सेवकहरूलाई भन्छ– ‘तीन शब्द याद गर केटा हो, स्थिर, बलियो र सरकार । यति याद गर्यौ भने तिम्रो राजनीति सफल भयो ।’ ऊ यी शब्दहरू यसरी उच्चारण गर्छ मानौं कुनै ‘सी ग्रेड’ चलचित्रको खलनायक कण्ठ गरिएको संवाद बोलेर दर्शकको मन बहलाउँदै छ ।
म भने जब सत्ताधारीहरूको मुखबाट ‘बलियो र स्थिर सरकार’ को रसगान सुन्छु, त्यसै त्यसै खट्पटी हुन्छ । यस्तो हुन्छ कि, कसैले दूध चियामा कागतीको रस हालिदिएको छ । जब कसैले यी शब्द उच्चारण गर्दछन्, म अनायासै ट्वाल्ल परेर उनीहरूको अनुहारमा हेर्न पुग्छु । जहाँ देखिन्छ बेपर्वाह मुस्कुराउँदै गरेको सत्ताको कुटिल छाया । तर कांग्रेस र एमालेजनका (केहीलाई छाडेर) लागि भने यो यस्तो वाक्यांश बनेको छ, जो उनीहरूले इतिहासदेखि भनिल्याएको समाजवाद र लोकतन्त्रभन्दा प्यारो छ । र, जसलाई पटकपटक दोहोर्याउन पाउँदा उनीहरू धन्य–धन्य भएका छन् ।
तर मेरो कुरा उल्टो छ । मलाई लाग्छ, सत्ताधारीहरू गलत संकथनको नर्सरी लगाउँदै छन् । जसभित्र छ मुख्यतः अलमल, दिशाहीनता र सत्तामोह । अलमल यसकारण कि, आउने निर्वाचनमा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् भन्ने उनीहरू (एमाले र कांग्रेसहरू) बिर्सिरहेका छन् । दिशाहीनता यसकारण कि, सत्ताधारीहरू फगत बलियो सरकार चाहन्छन् । लोकतन्त्रसँग उनीहरूको कुनै लगाव छैन । सत्तामोह यसकारण कि, यो वाक्यांशले अंकगणितभन्दा धेरै अर्को कुनै अर्थ बोक्दैन । यस्तो अंकगणित, जसले गठबन्धनबाट नै सही बलियो सरकार बनाउन त ढोका खोल्छ तर राजनीतिलाई अगाडि बढाउन कुनै योगदान गर्दैन । यसरी हेर्दा, यो संकथन आफैंमा अलोकतान्त्रिक छ र जो भविष्यमा राजनीतिलाई नै बोकी नसक्नुको भारी पर्नेछ । प्रश्न आउन सक्छ, त्यसो भए के हामीलाई स्थिर सरकार चाहिँदैन ? अथवा, के हामीलाई बलियो सरकार चाहिँदैन ? यहाँनेर उल्टो प्रश्न गरौं अप्राकृतिक गठबन्धन गरेर (लोकतन्त्रलाई कमजोर बनाएर) आउने स्थिरताको के अर्थ ? परिणामबिनाको जडताको के अर्थ ? त्यसैले स्थिरता फगत सत्ता राजनीतिको ठगी धन्दा हो । यो लोकतान्त्रिक भाष्य हैन ।
वस्तुतः आज हामीलाई स्थिर सरकार हैन गतिशील, प्रभावकारी र उदार सरकार चाहिएको छ । सरकार बलियो हैन, नागरिक (लोकतन्त्र) बलियो चाहिएको छ । स्थिर सरकार त हिजो राणा र शाहहरूले चलाएकै थिए । अथवा, स्थिर सरकार त उता रुसमा पुटिनको छ, अथवा उत्तर कोरियामा छ किम जोङ उनको । किनभने लोकतन्त्रमा स्थिर र बलियो सरकार हैन, गतिशील, न्यायपूर्ण र उदार सरकार चाहिन्छ । लोकतन्त्रमा सरकार हैन, नागरिक बलियो हुनुपर्छ । हेर्दा साधारण लाग्ने यो यस्तो विपरीत भाष्य हो, जसको गन्तव्य नै फरक छ र त्यसले निर्माण गर्ने राजनीतिक स्कुल नै फरक हुन्छ ।
संकथन एक
स्थिर सरकार (सरकारको स्थायित्व) कि प्रभावकारी सरकार भन्ने प्रश्नलाई थोरै विचार गरौं । यहाँ स्थिर सरकारको अर्थ लामो समयसम्म एउटै दल वा गठबन्धनले सत्ता सञ्चालन गर्ने अवस्था हो । प्रभावकारी सरकार भनेको जनताको आवश्यकता पूरा गर्न सक्षम, लोकतान्त्रिक, सिर्जनात्मक र न्यायपूर्ण सरकार हो । विचार गरौं त, सरकार कति समय टिक्छ के त्यो महत्त्वपूर्ण हो ? कि महत्त्वपूर्ण हो सरकारको काम ? भन्न पर्दैन, स्थिर सरकार जड हुन सक्छ (हुन्छ) । गतिशील सरकार नदी जस्तै कञ्चन र अग्रगामी हुन्छ ।
अब विचार गरौं त हामीलाई चाहिएको के हो ? ठोस, स्थिर र अजंगको बलियो सरकार कि उदार, लोकतान्त्रिक, गतिशील र नरम सरकार ? मानौं कि, हामीलाई स्थिर सरकार आवश्यक छ । तर भ्रष्टहरूको सरकार स्थिर भयो भने के हुन्छ ? तानाशाही सरकार स्थिर भयो भने के हुन्छ ?
मान्छेहरू भन्छन्, स्थिरताले राजनीतिमा बारम्बार आउने अन्योल र अराजकतालाई रोक्न मद्दत गर्छ । तर यो भ्रमपूर्ण कुरा हो । किनभने लोकतान्त्रिक राज्य संरचना, विधि र प्रणालीले राजनीतिक अन्योल, अराजकता र अस्थिरतालाई रोक्छ, सरकारले होइन । त्यसैले हामीले स्थिर सरकार खोज्ने होइन । स्थिर राज्य, प्रणाली र संरचना खोज्ने हो । हामीले व्यवस्थाको स्थिरता, उत्तरदायी र प्रभावकारी सरकार खोज्ने हो । हामीले लोकतान्त्रिक, समावेशी र न्यायपूर्ण सरकार खोज्ने हो । अन्यथा, सरकार स्थिर भयो तर प्रभावकारी भएन भने के हुन्छ ? त्यसले काम गर्दैन । तर सरकार प्रभावकारी भयो भने, स्वभावतः स्थिरता आउँछ । अतः चोरबाटो र अप्राकृतिक गठबन्धन गरेर फगत सरकारको स्थिरता खोज्नु आफैंमा अराजनीतिक र अलोकतान्त्रिक काम हो ।
कतिपय मान्छेहरू अर्थतन्त्रको सुधारका लागि स्थिरता आवश्यक छ भन्ने दलील गर्दछन् । कतिपय मान्छेहरू समृद्धिका लागि स्थिरता खोज्दछन् । अवश्य नै, स्थिरता आवश्यक छ । तर स्थिरता भनेको सरकारको स्थिरता होइन । प्रणालीको स्थिरता हो । सरकारको स्थिरताले विधि, प्रणाली र पद्धतिको स्थिरता सुनिश्चित हुँदैन । अन्यथा, प्रणालीलाई कमजोर बनाउने, तर सरकार स्थिर हुने, त्यसरी के हुन्छ ? यसले अर्थतन्त्रमा सुधार आउँदै छ । संविधान र कानुनलाई पटक पटक हत्या गर्ने तर सरकार स्थिर बनाउने, त्यसरी परिणाम आउँदैन । अध्यादेशबाट शासन गर्ने तर सरकार स्थिर हुने त्यसरी न त विकास आउँछ न त समृद्धि । अप्राकृतिक गठबन्धन गरेर सरकार बनाउने र त्यस्तो सरकारको स्थिरता खोज्ने, के त्यसले लोकतन्त्र बचाउँछ ? बरु त्यसरी आउँछ, दलतन्त्र । बरु त्यसरी आउँछ, निरंकुशतन्त्र । नभुलौं, विकास र समृद्धि गतिशीलतामा हुन्छ, जडतामा होइन ।
त्यसैले स्थायित्व वा स्थिर सरकारको भाष्य भ्रमपूर्ण भाष्य हो । यो सैनिक तानाशाही, जहाँनियाँ सत्ता वा तानाशाही कम्युनिस्टहरूले बोल्ने भाष्य हो । अतः यो भाष्यलाई लोकतान्त्रिक राजनीतिले प्रवर्द्धन गर्नु हँ‘ुदैन । किनभने, हामीलाई प्रभावकारी सरकार चाहिन्छ । हामीलाई भविष्यउन्मुख, ताजा र निर्वाचित सरकार चाहिन्छ । यस्तो सरकार जसले निर्णयमा पारदर्शिता, जवाफदेहिता र नतिजा सुनिश्चित गरोस् । जसले संस्थागत सुधार, स्वतन्त्र न्यायपालिका, प्रभावकारी संसद् र सक्षम स्थानीय सरकारको ग्यारेन्टी गरोस् । लोकतान्त्रिक नीतिको प्रवर्द्धन आजको आवश्यकता हो । वस्तुतः हामीलाई स्थिर सरकार चाहिएको हो भनेर ठूला दलहरूले भन्नु तानाशाही मनोविज्ञानको उद्घाटन मात्र हो । यो राजनीतिक अहंकार हो । अहंकारी राजनीति र तानाशाही स्थायित्व हामीलाई चाहिएको होइन । हामीलाई चाहिएको हो– विधिको शासन, प्रभावकारी सरकार, गतिशील र समावेशी संरचना ।
संकथन दुई
अहिले कांग्रेस र एमालेका नेताले (केहीलाई छोडेर) दोहोर्याउने एउटा अर्को मन्त्र छ– ‘बलियो सरकार ।’ प्रश्न आउँछ, लोकतन्त्रमा सरकार बलियो हुनुपर्छ कि नागरिक ? अथवा हामीलाई बलियो सरकार चाहिएको हो कि बलियो नागरिक ? यहाँनेर म स्मरण गराउन चाहन्छु कि, हिजो इतिहासमा हामीले सत्ता र शासनको ऐतिहासिक दम्भसँग निरन्तर संघर्ष गर्यौं । हामीले मात्र हैन, मानव सभ्यताले नै यो संघर्षमा भाग लियो, जुन संघर्षको सिलसिला अझै संसारभर चलिरहेको छ । किनभने, सत्ता (सरकार) भन्छ म ठूलो, बलियो र विशेष हुँ । राजनीति भनेको यही शासकीय अहंविरुद्ध भुइँमान्छेले गरेको संघर्षको एक महाकथा हो । हामीले सत्ता र सरकारको अहंसँग निरन्तर लडेर लोकतन्त्र ल्याएका हौं । उदाहरणका लागि, हिजो राणाहरू यही अहंमा थिए । उनीहरूलाई लाग्थ्यो उनीहरू विशेष छन् । उनीहरूका सन्तान विशेष छन् । उनीहरूको रगत विशेष छ । उनीहरूको जाति, भाषा, धर्म, गोत्र सबै विशेष छ । यही अहंकारले हिजो सत्तामा वंशवाद हाबी थियो । हिजो देश, सत्ता, सरकार सबै त्यही अहंकारको बन्दी थियो, त्यसैले हामीले संघर्ष गरेका देश, सत्ता, सरकारलाई त्यो अहंकारबाट विमुक्त गरेका हौं । हिजो सरकारले नागरिकलाई रैती वा प्रजा ठान्दथ्यो त्यसैले हामीले आफूलाई नागरिक बनाउन संघर्ष गरेका हौं । र, त्यही संघर्षले लोकतन्त्र स्थापित गरेको हो । जसको अर्थ हुन्छ, नागरिक सर्वोच्चता ।
तर कस्तो उल्टो कि आज स्वयं स्वनामधन्य नेताहरू भन्दै छन्– बलियो सरकार । बलियो सरकार भनेको के हो ? श्री ३ को झैं बलियो सरकार ? राजा महेन्द्रको झैं बलियो सरकार ? के हाम्रा नेताहरूलाई पुटिन वा किम जोङ बन्ने भूत सवार भएको हो ? अन्यथा, व्यवस्था फेरियो तर सत्ताको (सरकारको) अहं फेरिएन भने हामीले लोकतन्त्र ल्याएको अर्थ के ? अझै पनि हामी नागरिकलाई कज्याउने बलियो सरकारकै भाष्य स्थापित गर्न चाहन्छौं भने, यो भन्दा उल्टो बाटो हुन्छ के ? अतः आजका दिनमा सरकार बलियो हुनुपर्छ भन्ने होइन, बलियो हुनुपर्छ नागरिक । किनभने आधुनिक लोकतन्त्रमा सरकार बलियो भयो भने, त्यो निर्वाचित तानाशाहीमा फेरिन्छ । जस्तो नेता बलियो भयो भने, त्यो नेता सर्वसत्तावादी बन्छ । दलहरू बलिया भएनन् भने, त्यो दलतन्त्र बन्छ । यदि हामी लोकतन्त्र बलियो बनाउन चाहन्छौं भने सरकार हैन नागरिक बलियो हुनुपर्छ ।
अवश्य नै बलियो सरकारलाई निर्णय लिन र कार्यान्वयन गर्न सहज हुन्छ । तर, बलियो सरकारले जनताको आवाज दबाउने जोखिम पनि त हुन्छ । उदाहरणका लागि, रुसमा भ्लादिमिर पुटिनको शासनलाई बलियो सरकारका रूपमा हेर्न सकिन्छ । बाहिरबाट हेर्दा बलियो सरकार हुनासाथ सबै कुरा स्थिर र प्रभावकारी देखिने भए पनि त्यहाँको सरकारले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानवअधिकारमा गम्भीर आघात पुर्याउने खतरा रहन्छ । जब सरकार बलियो हुन्छ, भ्रष्टाचार त्यति नै बलियो हुन सक्छ । परिणाम, आफ्नो भ्रष्टाचारको साम्राज्यलाई जोगाउन बलियो सरकार तानाशाही बन्दै जान्छ । जब सरकार अत्यधिक शक्तिशाली बन्छ, नागरिक स्वतन्त्रता जोखिममा पर्न सक्छ । बलियो सरकारले आफूलाई नागरिकभन्दा माथि राख्न खोज्छ । उदाहरणका लागि इतिहासको सम्झना गरौं जस्तो, जर्मनीमा एडोल्फ हिटलरको शासन सुरुमा जनताको विश्वासमा आधारित थियो । उसले आर्थिक सुधार र राष्ट्रवादको नारा दिएर सरकार बलियो बनायो तर पछि त्यो तानाशाहीमा परिणत भयो । नेपालको सन्दर्भमा पनि राजा ज्ञानेन्द्रको शासनकालमा बलियो सरकारको नाममा लोकतान्त्रिक अधिकारमाथि हनन गरिएको उदाहरण अझै ताजै छ ।
त्यसो भए कुरा के हो भने, लोकतन्त्रमा सरकार बलियो हुनुभन्दा नागरिक बलियो हुनु महत्त्वपूर्ण हो । किनभने पहिले नागरिक, अनि सत्ता । पहिले नागरिक, अनि सरकार । उदाहरणका लागि, स्वीडेन, जहाँ सरकारभन्दा नागरिक सशक्त छ । जहाँको जनता राजनीतिक रूपमा सचेत छ, जसले सरकारलाई कानुनी, आर्थिक र सामाजिक उत्तरदायित्व निर्वाह गर्न बाध्य बनाउँछ । किनभने, नागरिक बलियो भए भने, जनप्रतिनिधिहरूलाई नियमित प्रश्न गर्न सक्छन् । नीति निर्माणमा भाग लिन सक्छन् । प्रेस स्वतन्त्रता, विधिको शासन र जवाफदेहिता सुनिश्चित गर्न सक्छन् । स्वतन्त्र न्यायपालिका, सक्षम संसद्, आलोचनात्मक नागरिक समाज र स्वतन्त्र प्रेस हुनु भनेको नागरिक बलियो हुनु हो । जसले सरकारलाई पारदर्शी र जवाफदेही बनाउँछ । जसले सरकारलाई उदार बनाउँछ । हामीलाई फलामजस्तो बलियो हैन, पानी जस्तो कञ्चन र गतिशील सरकार चाहिन्छ । अनि मात्र लोकतन्त्र प्रभावकारी हुन्छ । अनिमात्र नागरिक बलियो हुँदै जान्छन् ।
आजलाई अन्तिम कुरा के भने, स्थिर सरकारको ‘मोटिभेसन’ ले सरकारलाई अन्तै लैजान्छ, जुन हाम्रो बाटो होइन । त्यो तानाशाही बाटो हो । बलियो सरकारको ‘मोटिभेसन’ ले हर्दम अंकगणितको उल्झनमा सरकार फस्छ । कसरी बहुमत जुटाउने, कसरी दुई तिहाइ बनाउने ? आदि । अतः अब बलियो र स्थिर सरकारको कुरा छोडौं । यो भाष्यले हामीलाई ठिक दिशा दिँदैन । त्यसैले अब हामी, गतिशील, लोकतान्त्रिक र प्रभावकारी सरकारको कुरा गरौं । अन्यथा, जसले, बलियो र स्थिर सरकारको महत्त्वाकांक्षा प्रवर्द्धन गरिरहेका छन्, उनीहरूलाई भनौं यो अलोकतान्त्रिक महत्त्वाकांक्षा हो । या त उनीहरू आफैं भ्रममा छन् या त नियतवश उनीहरू भ्रम बाँडिरहेका छन् । अथवा, उनीहरू गलत भाष्य खडा गरेर नागरिकलाई भुल्याइरहेका छन् । किनभने नभुलौं, स्थिरता भनेको मात्र सरकार लामो समय टिक्नु होइन, सरकारले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो । त्यसैले, हाम्रो ध्यान सरकारको स्थिरतातर्फ हैन, नागरिक सशक्तीकरण र राज्यको लोकतान्त्रिक सबलीकरणतर्फ जानुपर्छ । अन्यथा, असफलता स्थिर र बलियो भयो भने ? अथवा, भ्रष्टाचार स्थिर र बलियो भयो भने ? त्यो खतरनाक हुन्छ । अतः गलत भाष्यको फन्दा नकसौं, यस्तो पनि नहोस् कि जसलाई भविष्यमा फुकाउनै नसकियोस् ।
