गुगलदेखि मेटासम्मले तिरेको करले खोल्ने बाटो

अहिले नेपालमा कर तिर्ने सूचना प्रविधि कम्पनीहरूमा माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पललगायत छन् । यी विश्वका ठूला र प्रतिष्ठित कर्पोरेट संस्थाहरू नेपालमा दर्ता भएर यहाँको प्रणालीसँग जोडिनु आम्दानीका दृष्टिबाट मात्रै होइन, नेपालको प्रतिष्ठा विस्तारका दृष्टिले पनि लाभदायक छ ।

माघ १६, २०८१

सम्पादकीय

From Google to Meta, the road to be opened by taxes paid

सामाजिक सञ्जाल तथा सूचना प्रविधि कम्पनीका सेवा विश्वभर जस्तै आम नेपालीका लागि पनि जीवनशैली भइसकेका छन् । मुख्यतः आफ्नो स्वतन्त्रता अभिव्यक्त गर्ने सहज माध्यमका रूपमा सामाजिक सञ्जालको उपयोग भइरहेको छ । त्यसका अतिरिक्त आफ्नो व्यवसाय प्रवर्द्धन, विभिन्न अभियान सञ्चालन तथा सामाजिक उत्तरदायित्व बहनका लागि समेत सञ्जालको प्रयोग हुने गरेको छ ।

परिणामतः आज कुनै घटनाप्रति सबैभन्दा पहिलो टिप्पणी सामाजिक सञ्जालमा प्रकट हुन्छ । बिरामीलाई अकस्मात् कुनै ग्रुपको रगत चाहियो भने सामाजिक सञ्जाल नै उपयोगी हुन्छ । व्यावसायिक सेवा लिन र दिन सहज भएको छ । जसमार्फत सम्बन्धित व्यक्तिले आफ्नो व्यक्तिगत वा व्यावसायिक कामलाई प्रभावकारी ढंगले गर्न सकेका छन् । कामको गतिमा मात्रात्मक र गुणात्मक तीव्रता आएको छ ।

भविष्यमा यस्ता कम्पनी र प्लेटफर्मप्रति निर्भरता बढ्दै जाने र कम्पनीले आम्दानी पनि बढाउँदै जाने निश्चित छ । जसकारण उनीहरूलाई आफ्नो आर्थिक गतिविधिको आकारअनुसार नेपालमा पनि कर तिर्ने प्रणालीको अभ्यास भएको हो । त्यसैको प्रतिफलस्वरूप पछिल्ला वर्षमा सूचना प्रविधि सेवा प्रदायक कम्पनी पनि नेपालको कर प्रणालीसँग जोडिएका छन् । यो सकारात्मक सुरुवात हो । यसले बृहत् सम्भावनाको बाटो खोलेको छ ।

सरकारले आव २०७९/८० को बजेटमार्फत पहिलो पटक विद्युतीय सामाजिक सञ्जाललाई कर प्रणालीमा समावेश गर्ने घोषणा गरेको थियो । त्यसपछि नै सामाजिक सञ्जाल तथा सूचना प्रविधि कम्पनी नेपालमा दर्ता हुन थालेका हुन् । जसअनुसार, आन्तरिक राजस्व विभागमा दर्ता भई प्यान नम्बर लिएका १८ कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७५ करोड ८० लाख ३२ हजार रुपैयाँको कारोबार गरेको अभिलेख सरकारमा दर्ता भएको छ ।

यो कारोबारबापत ती कम्पनीले नेपाल सरकारलाई ३५ करोड ८५ लाख ४४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) र ५ करोड ८१ लाख ७५ हजार रुपैयाँ विद्युतीय सेवा कर तिरेका छन् । यसरी सरकारले यो नयाँ द्वारबाट कुल ४१ करोड ६७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । यस वर्ष थप एउटा कम्पनी दर्ता भएसँगै यस्ता कम्पनीको संख्या १९ पुगेको छ । आगामी दिनमा कम्पनीको संख्या, तिनीहरूको सेवा, कारोबार र कर पनि विस्तार हुँदै जानेछ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४९ करोड ३० लाख ४१ हजार रुपैयाँको कारोबार गरेका कम्पनीहरूले मासिक बुझाउनुपर्ने भ्याटबापत ६ करोड ४० लाख ९५ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिल गरिसकेका छन् । हाम्रो जनसंख्या र प्रयोगकर्ताको आकारसँग तुलना गर्दा राज्यको यस आम्दानीलाई सुखद मान्नुपर्छ । राज्यको आम्दानीका लागि एउटा दिगो र वैकल्पिक क्षेत्रका रूपमा यसलाई लिन सकिन्छ । 

अहिले नेपालमा कर तिर्ने सूचना प्रविधि कम्पनीहरूमा माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पललगायत छन् । यी विश्वका ठूला र प्रतिष्ठित कर्पोरेट संस्थाहरू नेपालमा दर्ता भएर यहाँको प्रणालीसँग जोडिनु आम्दानीका दृष्टिबाट मात्रै होइन, नेपालको प्रतिष्ठा विस्तारका दृष्टिले पनि लाभदायक छ ।

उनीहरूलाई हेरेरै अन्य यस्तै स्वरूपमा कम्पनीहरू पनि नेपालमा दर्ता हुन, आफ्नो व्यवसाय गर्न र राज्यलाई कर तिर्न उत्प्रेरित हुन सक्छन् । यसमार्फत प्रयोगकर्ताले विकल्पमाथि पहुँच पाउँदै जानेछन्, राज्यले आम्दानी पनि गर्दै जानेछ । यस्तो प्रक्रियामार्फत नेपालको प्रतिष्ठा थप वृद्धि हुन र अन्य खालका लगानीका लागि पनि वातावरण बन्दै जाने हुन सक्छ । 

नेपालमा जुनसुकै विदेशी कम्पनीहरू दर्ता हुने आधार भनेको यहाँ उसले देख्ने बजार र व्यावसायिक वातावरण हो । जनसंख्यालाई मात्रै आधार बनाउँदा सामाजिक सञ्जाल तथा सूचना प्रविधि कम्पनीका लागि नेपाल ठूलो बजार होइन, तर सानो पनि होइन । तुलनात्मक रूपमा खुला समाज भएकाले यस्ता कम्पनीका प्लेटफर्मप्रति बढ्दो निर्भरता आगामी दिनमा झनै बढ्दै जाने निश्चित छ । यसका लागि सरकारले नै आफ्ना कानुनी वा अन्य वैधानिक प्रबन्धलाई व्यवसायमैत्री बनाउँदै लैजानुपर्छ । आफ्ना नीति स्थिर वा सुधारोन्मुख बनाउनुपर्छ ।

उनीहरूलाई घरेलु कानुनप्रति जवाफदेही त बनाउनुपर्छ, तर हैरानी दिने वा खराब उद्देश्य राखेर होइन । सरकारको सहयोगी र सकारात्मक वातावरण बन्दै जाँदा ठूला कम्पनीले नेपालमा आफ्नो कार्यालय नै खोल्ने अवस्थासम्म सिर्जना हुनेछ । त्यो विषय थप प्रतिष्ठा आर्जन, थप लगानी प्राप्ति र रोजगारीसम्मै जोडिन्छ । त्यसैले सरकारले तत्कालका संकेतलाई हेरेर दीर्घकालीन लाभका रणनीति तय गर्न सक्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully