चिकित्सा शिक्षा एवं पेसालाई विशिष्टीकृत गर्नु अत्यावश्यक छ । तर, यसलाई ‘सेवा’ को नैतिक लेपन गरिदिएर ‘व्यावसायिक’ पक्षको घाँटी निमोठ्न उद्यत छ हाम्रो समाज ।
रमाको कन्फर्मेसन लेटर आयो नि ! अब त अर्को महिना पुग्छे यूएस ।’ ‘हरिको पनि म्याचिङ भएछ नि । मेडिसिन पाएछ ।’
‘तिम्रो पनि त ग्रिनकार्ड होल्डरसित बिहे पक्का भइसक्यो ! अब उतै गएर सेकेन्ड पार्ट दिए भैगो नि ।’
‘आफ्नो त अब यतै नै सड्ने भाग्य होला । ठिकै छ, तर मेडिकल अफिसर काम गर्दै प्रयास भने जारी राख्ने हो । यहाँ बसेर त के उँभो लागिएला र खै ?’
‘हेर्दै जाऊँ अब के हुन्छ ? यहाँ पीजी गरेर काम गर्ने त पटक्कै मन छैन ।’
भर्खर एमबीबीएस सकेर मेडिकल अफिसरका लागि अन्तर्वार्ता दिन आएका युवाबीचको संवाद हो यो । हाम्रो अस्पतालनजिकैको क्यान्टिनमा जम्मा भएर खाजा खाँदै छन् उनीहरू । म पनि नजिकैको टेबलमा चियाको चुस्की लिँदै उनीहरूको कुरा मनमा गुन्दै छु ।
मुलुकको स्वास्थ्यको बागडोर आफ्नो हातमा लिएर कर्तव्यपथमा डटेर लाग्नुपर्ने स्नातक युवा चिकित्सकको वर्तमान मनस्थितिको चित्रण गर्छ, माथिको संवादले । ती कसैलाई पनि स्वदेशमा बस्न मन छैन । मानौं, यो देश एउटा कारखाना हो, सस्तो (?) मा योग्य प्राविधिक (चिकित्सक) उत्पादन गर्ने, अनि अमेरिका, बेलायत, अस्ट्रेलिया, युरोपका देशतिर आपूर्ति गरिदिने । अनि, हाम्रो देश एउटा प्लेटफर्म मात्र हो ती प्राविधिक जनशक्तिका लागि, बाहिरी देशतिरको अवसर तयार नहोउञ्जेल केही काम गरेजस्तो गरी कुरिरहने ।
हामी प्राध्यापक ती सबै ‘भविष्यका चिकित्सक’ लाई पढाउँछौं । उपचार प्रणालीका सीप सिकाउँछौं । अनुसन्धान विधिमा पोख्त बनाउँछौं । गर्न सक्ने, बोल्न सक्ने, लेख्न सक्ने, हाँक्न सक्ने योग्यता प्रदान गर्छौं । उत्तीर्ण गराउँछौं, चिकित्सकको प्रमाणपत्र थमाइदिन्छौं । तर जब स्वदेशमा तिनले काम गर्न थाल्छन् भन्ने समय आउँछ, तिनका लागि रिकमेन्डेसन लेटर बनाइदिनुपर्दछ, गुड स्टान्डिङ सर्टिफिकेटका लागि सिफारिस गरिदिनुपर्दछ ।
त्यसैले पनि मलाई यस्तो लाग्न थालिरहेको छ, हाम्रो मुलुकमा चिकित्साशास्त्र पढ्ने विद्यार्थी त टन्नै छन्, तर चिकित्सा सेवा दिने योग्य प्राविधिकको भने अभाव छ । बाहिर जाने अवसर नपाएर या प्रक्रिया नमिलेर यहाँ बाँकी रहेका मेडिकल स्नातक पनि जेनतेन तीन वर्ष स्नातकोत्तर गरुन्जेल यहाँ रहन्छन्, त्यसपछि त फेरि उही चक्र, उही नतिजा ।
छापा सञ्जालमा आएका समाचारले यही कुरा भन्छन्, अध्ययनका तथ्यले पनि त्यही नै देखाउँछन् । एक वर्षअघि (सन् २०२३) को तथ्यांक हेर्दा २६९२ नयाँ चिकित्सक दर्ता भएका अनि २३१८ ले विदेश जाने कागजात बनाएका थिए । चिकित्सक उत्पादन अनि पलायनको अनुपात झन्डैझन्डै बराबर नै भएको यो परिदृश्यले त नेपालमा चिकित्सक टिक्दै नटिक्ने कथनलाई सम्पुष्टि गर्छ । अनि हाम्रो देशको स्वास्थ्य अवस्थाको भविष्य दर्दनाक रहेको मान्न करै लाग्दैन त ?
नेपाल मेडिकल काउन्सिलको दर्ता रजिस्टर (सन् २०२३ को अन्त्यतिर) ले ३४९१० स्नातक चिकित्सक, तीमध्ये झन्डै एकतिहाइ (१०५८८) विशेषज्ञ चिकित्सक रहेको जनाए पनि माथि भनिए जस्तो पलायन दरका आधारमा अनुमान गर्दा कतिचाहिँ होलान् त नेपालमा ? यो अझै अध्ययन गर्नैपर्ने विषय हो । के साँच्चै विश्व स्वास्थ्य संगठनको सिफारिसअनुरूपको चिकित्सक जनसंख्या अनुपात १ः१००० हासिल गरिसकेको हो त नेपालले ? कागजी रूपमा त होला तर व्यावहारिक रूपमा भने छैन जस्तो लाग्छ ।
स्वास्थ्यकर्मीको बढ्दो पलायनका विषयमा अन्तर्राष्ट्रिय श्रम संगठनले तयार गरेको अध्ययन प्रतिवेदनमा नेपालीले विदेशमा अध्ययन र काम गर्न चाहनुका केही कारण औंल्याइएको रहेछ । गुणस्तरीय शिक्षा, राम्रो जीवनशैली र बस्ने वातावरण, अध्ययनपछि रोजगारी पाउन सजिलो, विदेशी डिग्रीको विश्वस्तरमा मान्यता, राम्रो तलब र काम गर्ने वातावरणले नेपालीलाई विदेशतिर लोभ्याउने रहेछ । नेपालमा राजनैतिक अस्थिरताका कारण पनि धेरैको योजना बिदेसिनु नै देखिन्छ । किनकि त्यहाँ छात्रवृत्तिको राम्रो व्यवस्था छ, स्थायी बसोबासको कार्ड पाउन सहज छ ।
नेपाली स्वास्थ्यकर्मी (विशेषगरी इन्टर्न, मेडिकल अधिकृत, रेसिडेन्ट चिकित्सक) को विविध समस्याका बारेमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयद्वारा गठित समिति (बारकोटी, २०८१) ले गत साता बुझाएको प्रतिवेदन अध्ययन गर्दा पनि नेपालमा कार्यरत चिकित्सकको मनस्थिति उपरोक्त कारकतत्त्वकै वरिपरि घुमिरहेको देखिन्छ ।
आफ्ना सहपाठी–सहकर्मीले विदेशमा राम्रो जीवनशैली बनाएको, पर्याप्त बिदा, आरामसहित आत्मसम्मानका साथ बसिरहेको देख्दा सधैंभरि त्रास अनि जोखिम (कार्यस्थलमा बिरामी पक्षबाटै समेत असुरक्षा) मा रहेर अत्यधिक निम्न आम्दानी र आत्मग्लानिमा बाँचिरहनुपर्दा मानव मन किन विचलित नहोस् ? झन्डै अढाई दशक चिकित्सा क्षेत्रमा लगाएको, सरकारी छात्रवृत्तिमा एमबीबीएस, विश्वविद्यालयकै सौजन्यमा एमडी अनि विश्वविद्यालयस्तरीय सहकार्यमा नै पीएचडी र हाल विश्वविद्यालयकै प्राध्यापकका रूपमा कार्यरत मलाई पनि यदाकदा हीनताग्रन्थिले गाँज्न पुग्छ । भर्खरै पखेटा पलाएका यी चिकित्सक भाइबहिनीमा आफ्नै मनोसामाजिक, पारिवारिक, आर्थिक अनि नेपालको गार्हस्थ्य कारणले नै किन नहोओस्, बिदेसिने मन किन नपलाओस् र ?
मानवजीवन रक्षाजस्तो अति गहन एवं संवेदनशील कामअनुसारको आत्मसम्मान नपाउँदा, परिवारदेखि अलग भएर, अनेक तरहका जोखिम मोलेर, बिदासमेतको ख्याल नगरेर पालन गरिएको पेसागत धर्मको मूल्यांकन नहुँदा कहिलेकाहीं मेरो मन पनि अमिलो हुन्छ । मासिक कमाइको झन्डै एक तिहाइजति नै कर राज्यलाई बुझाउँदा पनि सामाजिक सुरक्षाका हरेक विषयमा व्यक्तिगत जिम्मेवारी नै लिनुपर्दा, अवकाश अवस्थामा सीमित निम्न पुँजीको भर पर्नुपर्ने अवस्था आकलन गर्दा अनि अन्य विधा या पेसाका तुलनामा लागेको अत्यधिक समय–श्रमको लगानी त्यसै खेर गएको भान भइरहँदा मलाई पनि ‘किन तँ यतै छस् ?’ भन्ने प्रश्नले नन्याँक्ने होइन ।
आफ्नै व्यक्तिगत अनुभव अनि व्यावहारिक तथ्यका आधारमा पनि चिकित्सा शिक्षा एवं पेसालाई विशिष्टीकृत गर्नु अत्यावश्यक छ । तर, यसलाई ‘सेवा’ को नैतिक लेपन गरिदिएर ‘व्यावसायिक’ पक्षको घाँटी निमोठ्न उद्यत छ हाम्रो समाज । सोझो रूपमा हेर्दा एमबीबीएस को सााढे पाँच वर्ष अनि एमडी/एमएसको तीन वर्षले अन्य विधामा स्नातकोत्तर गर्न लाग्ने समयको तुलनामा दुई–तीन वर्ष ज्यादा लाग्छ । त्यो भन्दा माथिको विशेषज्ञताको कुरा गर्दा डीएम/एमसीएच/पीएचडीको तीन–चार वर्षको समय थप भई नै हाल्छ । छात्रवृत्तिइन्ट्रान्स परीक्षा आदिको तयारीमा लाग्ने परिश्रम, त्यसको आधार तयार पार्न गरिएको लगानी, अभिभावक एवं परिवारले गर्ने त्यागको हिसाब गाह्रै हुन्छ । निजी खर्चमा नै पढे त्यसका लागि हुने आर्थिक लगानी अरू विधाको भन्दा ज्यादा हुन्छ ।
चिकित्सा शिक्षालाई पेसामा ढाल्नका लागि पार गर्नुपर्ने लाइसेन्सिङ परीक्षा पनि कम तनावपूर्ण छैन । विधागत एवं स्क्रिनिङ परीक्षाको फरक नबुझ्दा मिडियामा नै यसलाई चिकित्सकीय योग्यताको कसी लगाएर पास–फेलको विषय बनाइन्छ । फेरि पेसागत धर्म निर्वाह गरी बिरामीको उपचार गर्दा कथंकदाचित भवितव्य पर्न गइहालेमा ती चिकित्सकलाई ‘हत्यारा’ को बिल्ला भिराएर समूहगत रूपमा भौतिक आक्रमण गर्न पनि पछि पर्दैन हाम्रो समाज । त्यस प्रक्रियामा जानी–नजानी मिडियासमेत सामेल रहन्छ । अनि रह्यो उपचार शुल्कको कुरो ।
अन्य प्राविधिक विषय, मर्मतसम्भार, सरसफाइ, निर्माण कार्य, सिलाइबुनाइ, क्याटरिङ, कपाल काट्ने जस्ता सीपमूलक काममा मात्र नभई ट्युसन पढाउने, ज्योतिष हेर्ने, वकालतमा जति पनि शुल्क तिर्न तयार हामी आफ्नो ज्यान बचाउने जस्तो अत्यावश्यक विषयमा शुल्कको कुरा उठ्नासाथ ‘नैतिक शिक्षा’ दिन पछि पर्दैनौं । दैनिक १०–५ अफिस टाइममा बाँधिएका सरकारी–गैरसरकारी कर्मचारीको भोलिप्रवृत्ति अनि हाम्रै मत पाएर बनेका जनप्रतिनिधि, सांसद, मन्त्रीगणले बारम्बार भ्रष्टाचार गरी अकुत सम्पत्ति बनाउँदा पनि त्यत्तिसाह्रो वास्ता गर्दैन हाम्रो समाज । तर चौबिसै घण्टा बिरामी सेवामा तत्पर चिकित्सकको खाने पेट, निजी जीवन नै नभए जस्तो गरी धम्क्याउने, चारित्रिक–व्यक्तिगत आक्रमण गर्ने अनि आचारसंहिताको प्रवचन दिने गर्छन् । अति देवत्वकरण अनि शीघ्र दानवीकरणको चपेटामा हर्दम पर्दछन् चिकित्सक ।
हाम्रो समाजको विडम्बना पनि कस्तो ? चिकित्सकलाई दानवीकरण गर्न उद्यत व्यक्ति नै आफ्ना छोराछोरी भने भविष्यमा डाक्टर नै बनून् भन्ने कामना गरिरहेका हुन्छन् । यसरी आत्मसम्मान, व्यक्तिगत–सामाजिक सुरक्षा, सन्तोषजनक जीवनशैली, सन्तानको भविष्य, तनावमुक्त जीवन, आर्थिक सबलता विषयमा सम्बन्धित निकायले सकारात्मक कदम नचाल्ने हो भने चिकित्सक पलायनको आँकडामा कमी आउने सम्भावना देखिँदैन । खोक्रो राष्ट्रवादले मात्र व्यवहार चल्दैन । अतः चिकित्सकलाई स्वदेशमा नै रम्ने वातावरण तयार गर्ने अनि विदेसिएकालाई यतै आकर्षित गर्ने हो भने चिकित्सा शिक्षा अनि स्वास्थ्य सेवामा आमूल परिवर्तन आवश्यक भइसकेको छ । सरकारले अहिले सार्वजनिक भएको प्रतिवेदन कार्यान्वयन गर्ने दह्रो आँट गरेर नै सुधारको पहिलो पाइला चाल्न सक्छ ।
– रिसाल काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको मनोचिकित्सा विभागमा कार्यरत छन् ।
