ट्रम्पको दोस्रो कार्यकालमा उनको साथमा म्याडम्यान थ्यौरीवादका पोष्यपुत्रका रूपमा एलन मस्क, विवेक रामास्वामी र एक दर्जन बढी उद्दण्डहरूको जमात खडा भएको छ । ट्रम्प, मस्क र तिनका सहायकहरूले सम्पूर्ण संसारलाई धम्की दिएर ठिक पार्न सकिने ठानिरहेका छन् ।
डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिँदा असीमित आक्रोश चुनावी सभाहरूमा पोख्थे । रिपब्लिकन प्राइमरी बहसमा उनले यही शैली अपनाएर उम्मेदवारी हात पारेका थिए ।
‘क्रुद्ध सन्काहा’ व्यक्तित्व स्वीकार्दा उनी खुसी देखिन्थे । देशलाई अयोग्य व्यक्तिहरूले चलाइरहेका छन् भन्नेमा उनको गहिरो विश्वास थियो ।
(द विक, जनवरी १५, २०१६) । त्यही कारण ट्रम्प आफूलाई स्वघोषित फरक प्रकारको सन्काहा करार गर्नुलाई पुरुषार्थ ठान्छन् । एकपछि अर्को गर्दै उनले आफूलाई फरक प्रकारको राष्ट्रपति बन्न केही हदसम्म अनपेक्षित सन्काहा हुन तयार बनाएका छन् । ‘ट्रम्पका बारेमा एउटा निश्चित अनपेक्षितता छ, जुन उत्कृष्ट छ (भक्सडटकम, सेप्टेम्बर ४, २०१५) ।’ ट्रम्पले पहिलोपटक विदेश नीतिका बारेमा बोल्दै ओबामाकालीन नीतिले देश बर्बाद भएको दलील गर्दै भनेका थिए, ‘हामीलाई एक राष्ट्रका रूपमा अधिक अनपेक्षित हुनुपर्नेछ (फरेन पोलिसी, अप्रिल २७, २०१६) ।’ ग्रोभर क्लेभल्यान्डको रेकर्ड पछ्याउने क्रममा ट्रम्पले यही शैलीलाई झनै सुन्दर ढंगले पछ्याएर रिपब्लिकन पार्टीलाई नै मागावादी दलमा रूपान्तरण गर्न सफलता प्राप्त गरेका छन् ।
ट्रम्पले राष्ट्रपतिका रूपमा अपनाएको दृष्टिकोणले सन् १९६८ मा रिचर्ड निक्सनको चुनावी अभियानसँग उल्लेखनीय समानताहरू झल्काउँछ । दुबै नेताले आफ्नो छविलाई ‘बाहिरिया’ र ‘शान्तिका समर्थक’ का रूपमा प्रस्तुत गरेका छन् । जुन कुरालाई ट्रम्पले दोस्रोपटक शपथ लिँदै गर्दा आफूलाई पुनः एकताको प्रतीक र शान्तिवादी घोषित गरेका छन् । निक्सन र ट्रम्प दुवैको मिडियासँग विवादास्पद सम्बन्ध थियो र छ । उनीहरूले परम्परागत कूटनीतिक नियमहरू विपरीत, विदेशी मामिलामा अनौठो शैली अपनाएर आलोचकहरूलाई उल्झनमा पार्ने तरिकामा समानता प्रदर्शन गरेका छन् । संयोग नै मान्नुपर्छ यी दुवै नेताहरू महाभियोगको विषय बन्नुका साथै उनीहरूको प्रशासनमा ठूलो राजनीतिक तनाव र विवाद छरपष्ट थियो । यसरी ट्रम्पको पहिलो राष्ट्रपतिकाल र निक्सनको भियतनाम युद्धकालीन समानताले अमेरिकी राजनीतिको पुनरावृत्ति उद्घाटित गरेको छ । ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमै अनपेक्षित रूपमा गाजा युद्धविराम र युक्रेनको अलपत्रताले त्यही सन्दर्भलाई स्पष्ट गरेको छ ।
निक्सन उत्तर भियतनामीलाई जे पनि गर्न तयार रहेको देखाएर निमिट्यान्न पार्नका लागि आत्मसमर्पण गराउन चाहन्थे । आणविक हतियारको प्रयोग हुन सक्ने धम्कीसमेत दिन पछि परेका थिएनन् । तर भियतनामी देशभक्तहरूले निक्सन प्रवृत्तिलाई सदाका लागि विराम लगाइदिएको विश्व चर्चित वीरताको इतिहास स्थापित गरेका छन् । यो प्रवृत्तिले नेताको व्यवहारलाई अनिश्चित र अप्रत्याशित देखाएर प्रतिद्वन्द्वीलाई कुनै पनि विकल्प सम्भव छ भन्ने धारणा बनाउनुमा केन्द्रित छ । यो शैलीमा अत्यधिक बल प्रयोगको सम्भावनासमेत समावेश हुन्छ ।
२०१७ मा, अमेरिका–दक्षिण कोरिया मुक्त व्यापार सम्झौताका सर्तहरूको पुनःमूल्यांकन गर्ने भन्दै ट्रम्पले आफ्ना प्रमुख वार्ताकारलाई भनेका थिए– ‘ट्रम्प यति सन्की छ कि ऊ कुनै पनि समय सम्झौताबाट बाहिर जान सक्छ ।’ कोरियामाथि दबाब सिर्जना गर्न लगाउँदै उनले मजा लिन्थे (जोनाथन स्वान, एक्सिओस, अक्टोबर १, २०१७) । यद्यपि ट्रम्प वास्तवमै पूर्णरूपमा तर्कसंगत कारणका लागि अपारदर्शी देखिनका लागि सन्की व्यवहार गर्दछन् भन्ने ठानिन्छ । सीएनएनका जिम सिउटोले त ट्रम्पको विदेश नीतिबारेमा ‘द म्याडम्यान थ्यौरी (२०१८)’ शीर्षकको पुस्तक नै लेखेका छन् । प्रसिद्ध पत्रकार बब वुडवार्डको ‘फियर’ पुस्तकमा ह्वाइटहाउसका चिफ सेक्रेटरी रोब पोर्टरले आफ्नो समयको एकतिहाइ भाग ट्रम्पका आवेगपूर्ण विचारहरूलाई रोक्न खर्च गर्नुपरेको उल्लेख गरेका छन् ।
म्याक्याभेलीले ‘डिस्कोर्सेज अन लिवी’ मा मानव स्वभावबारेको गहन अध्ययनका साथ सन् १५१७ मै भनेका थिए, ‘कहिलेकाहीँ सनकको अनुकरण गर्नु निकै बुद्धिमानीपूर्ण काम हुन सक्छ ।’ राष्ट्रपति ट्रम्पले म्याक्याभेलीको नीतिलाई अनुपालन गरिरहेका छन् भन्न कन्जुस्याइँ गर्नु पर्दैन । निक्सन भन्थे, ‘तपाईंका विरोधीहरूलाई यति सन्की र नक्कली बनाउनुहोस् कि उनीहरूले तपाईंलाई जे पनि गर्न सक्षम ठानुन्, यहाँसम्म कि इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपणसमेत पनि । ट्रम्पले त्यस्तै सन्देश उत्तर कोरिया र इरानलाई दिएर ‘म्याडम्यान’ रणनीतिलाई नयाँ स्तरमा पुर्याएका छन् (विलियम फ्लेक, द विक: २०१८) । १९७० ताका, निक्सनले विदेशमन्त्री हेनेरी किसिन्जरलाई शत्रु साम्यवादी राष्ट्रहरूका नेताहरूलाई आफूले जे पनि गर्न सक्ने भन्ने भयका बारेमा आश्वस्त पार्न लगाएका थिए । ‘रियल–पोलिटको’ का अभ्यासकर्ता किसिन्जरले यसखाले ‘म्याडम्यान थ्यौरी’ मा नै अमेरिकी विजयको सम्भावना देखेर सजिलै कार्यान्वयनमा उत्रे । निक्सन सन्की त थिएनन्, तर ‘वाटरगेट काण्ड’ को चरमोत्कर्षको समयमा उनको अधिक मद्यपानको बेहोसीले गर्दा किसिन्जर र रक्षामन्त्री जेम्स श्लेसिन्जरलाई राष्ट्रपतिसँग रहने आणविक कोडहरूको नियन्त्रणलाई अनुगमन गर्ने तरिका स्थापना गर्न सहज भयो । (निना ख्रुश्चेभः प्रोजेक्ट सिन्डिकेट, सेप्टेम्बर २९, २०१७) । आफ्नो कथित अनियमित स्वभावको प्रचार गरेर विरोधीहरूमा भयावह भय सिर्जना गराएर दबाबमा राख्ने निक्सनको उद्देश्य स्थापित अमेरिकी शीतयुद्धकालीन विदेश नीति रहेको निकिता ख्रुश्चेभकी नातिनी निनाले रोचक ढंगले उल्लेख गरेकी छन् ।
शीतयुद्धको सुरुवाती समयमा रणनीतिकार एल्सबर्ग र थोमस शेर्लिङले दबाबको स्थितिमा सनकको प्रतिष्ठा निर्माण गर्ने सम्भावित गुणहरूका बारेमा लेखेका थिए । शेर्लिङ ‘द स्ट्राटेजी अफ कन्फ्लिक्ट’ नामक पुस्तकमा भन्छन्– ‘विवादको स्थितिमा, पूर्णरूपमा र प्रकट रूपमा तर्कसंगत हुनु एक सार्वभौमिक लाभ होइन ।’ ‘नेटो, दक्षिण कोरिया वा अफगानिस्तानसँग व्यवहार गर्ने कुरा होस् या शत्रुहरू जस्तै उत्तर कोरिया, इरान वा चीनसँग, ट्रम्पले प्रायः अधिक मागहरू प्रस्तुत गरेर दीर्घकालीन अमेरिकी नीतिहरूको दायरा नाघेका छन् । अन्य देशहरूले आफूलाई चाहिएका चिजहरू नदिएमा कडा परिणाम भोग्नुपर्ने धम्की दिएर ट्रम्पले आफैंलाई ‘सन्की मान्छे’ का रूपमा सम्बोधन गरेका छन् (स्यामुएल र क्याट्लिन, द वासिङ्टन क्वाटर्ली, जुलाई २, २०२०) । यही अवस्था दोस्रो पटक पदभार ग्रहणलगत्तै उनले जारी गरेका एक सय कार्यकारी आदेशमा चुनावी अभियानमा मुख्य दुस्मन करार गरिएको चीनप्रति नरम र आफ्नै साझेदार रहेका क्यानडा र मेक्सिकोप्रतिको आक्रामकताले उनको अनपेक्षिता मात्र नभएर कायरतालाई पनि प्रकट गरेको छ ।
सनकको जुवाले लामो कालसम्म काम गर्दैन । निक्सनको सन्की जुवाले कुनै पनि प्रकारका सम्झौताहरू प्राप्त गर्न सकेन । पेन स्टेट विश्वविद्यालयकी प्राध्यापक रोजेन म्याक्मानको निष्कर्ष छ– सन्की मानिसको दृष्टिकोण ‘संकटको समयमा व्यापारिक दबाबका लागि मद्दत पुर्याउन सक्छ... जब सनकको प्रतिष्ठा थोरै मात्र हुन्छ भने ।’ यो ट्रम्प र उनी जस्ता शासकहरूका लागि निकै सानो सुझाव हो ।
ट्रम्पको पहिलो कार्यकालमा उनका कूटनीतिक दबाबहरू प्रायः बेकार मानिन्छन् । आर्थिक दबाबको ट्र्याक रेकर्ड असाधारण थिएन । ट्रम्पको सबैभन्दा ठूलो विदेश नीति सफलता—अब्रहाम एकर्ड्स—प्रलोभनहरूको प्रस्ताव हो, तर यो सन्की ढंगले धम्की दिइएको रणनीति भने थिएन । उनको दोस्रो कार्यकालमा पनि यो मामिला पुनः बल्झिने निश्चित छ । त्यसमाथि सिरिया, गाजा र लेबनान थपिएको छ । युक्रेन त ट्रम्पको ट्यारिफ जत्तिकै प्रिय शब्दावली बनेको विश्व प्रसिद्ध नै छ ।
ट्रम्पको सनकको शैली अमेरिकाले दुस्मन ठहर्याएकाहरूमाथि भन्दा अमेरिकाकै सहयोगी राष्ट्रहरूका लागि बढी प्रभावकारी देखिन्छ । दीर्घकालीन गठबन्धन र व्यापार सम्झौताहरूबाट बाहिर जाने धम्की दिएपछि युरोपेली देशहरूले कम्तीमा पनि सार्वजनिक रूपमा नेटोप्रति आफ्नो निष्ठा देखाउन थालेका थिए र छन् । इरानसँग सनकको जुवा खेल्दै उनले कासेम सुलेमानीलाई मार्नका लागि ड्रोन हवाई हमलाको अनुमति दिएका थिए । तर यसो गर्नुअघि उनले साउदी अरेबियामा इरानी हमलाप्रति प्रतिकार नगर्ने निर्णय भने अन्तिम समयमा बदलेका थिए । ट्रम्पले आफूलाई उनका सुरक्षा सल्लाहकार जोन बोल्टनको तुलनामा शान्त र तर्कसंगत मान्छे भएको ठान्छन् ।
अधिकांश विदेशी नेताहरू अहिले ट्रम्पले खेल्न खोजेको जुवाका बारेमा राम्रोसँग परिचित छन् । जसरी निक्सनको सनकवाला जुवा असफल हुनुको कारण भनेको सोभियत अधिकारीहरूलाई सार्वजनिक कार्यालयमा दशकौंदेखि चिनेका कारण निक्सनले सनकको अभिनय गरेको बुझ्न गाह्रो भएन । निक्सनले प्रायः आफ्नो अभिप्रायलाई बढाइचढाइ गरेको सहजै बुझेजस्तै ट्रम्पलाई पनि अतीतको ट्र्याक रेकर्डले उनलाई विदेशी नेताहरूको समूहमा बढी पूर्वानुमानयोग्य बनाएको छ । उनले पानामा क्यानलमाथिको धम्की वा ग्रिनल्यान्डप्रतिको जग्गा कारोबारी शैली वा क्यानडालाई अमेरिकी राज्य बनाउने व्यंग्य यी सबैलाई विश्व नेताहरूले गम्भीरतापूर्वक लिएका छैनन् ।
सफल कूटनीतिक दबाबका लागि दुईखाले विश्वसनीय प्रतिबद्धताको आवश्यकता हुन्छ ।
पहिलो, लक्षित देशले प्रतिद्वन्द्वी वा समकक्षी नेताले आफ्ना धम्कीहरूलाई कार्यान्वयन गर्नेछ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । दोस्रो, लक्षित देशले विश्वास गर्नुपर्छ कि धम्की दिने नेताले एउटा सम्झौता भएपछि आफ्नो दबाबलाई रोक्नेछ । सनकको प्रदर्शनले पहिलो प्रकारको प्रतिबद्धताको बढी सम्भावना ल्याउन सक्छ । तर दोस्रो प्रकारको प्रतिबद्धतालाई कम सम्भाव्य बनाउँछ । कूटनीतिज्ञहरूले विभिन्न सन्दर्भमा निष्कर्ष निकालेजस्तै ‘धेरै सनकपन्थी’ हरूले उनीहरूको झुर प्रतिष्ठाबाट लाभ उठाउन सम्भव छैन ।
‘ट्रम्प चालहरू कम चाल्ने मान्छे हुन् । उनका राजनीतिक सहयोगीहरूले पहिलो कार्यकालको दौरानमा भनेजस्तै ट्रम्प प्रायः तीन–आयामी चेस खेलिरहेका हुँदैनन्– ‘अधिकांश समय उनी केवल प्युसाहरू मात्र खान्छन् (बजफिडन्युज, जुन १, २०१८) ।’ ट्रम्पले यसपटक म्याडम्यान थ्यौरीलाई लागू गर्ने जोस देखाउन सक्छन् । तर बाँकी संसारले उनलाई सहजै त्यसमा सफल हुन दिने छैन नै । तर ट्रम्पलाई दोषी ठहराइएको आपराधिक अभियोगका बीचबाट दोस्रो कार्यकालको असम्भाव्य यात्रा सहज बनाएकाले उनले अझ बढी जोखिम लिने अति आत्मविश्वास लिएका हुन सक्छन् । ट्रम्पका एक जना सल्लाहकारले भनेका छन् ‘हेर्नुहोस्, उनी दुई पटक हत्या प्रयासबाट बाँचेका छन्, उनी कति धेरैपटक अभियुक्त भएका छन् —उनी वास्तवमै यस क्षणमा आफूलाई अभिजित र अज्ञात रूपमा हिम्मत भएको महसुस गर्दै छन् (पोलिटिको, नोभेम्बर ११, २०२४) ।’
तर ट्रम्पको दोस्रो कार्यकालमा उनको साथमा म्याडम्यान थ्यौरीवादका पोष्यपुत्रका रूपमा एलन मस्क, विवेक रामास्वामी र एक दर्जन बढी उद्दण्डहरूको जमात खडा भएको छ । ट्रम्प, मस्क र तिनका सहायकहरूले सम्पूर्ण संसारलाई धम्की दिएर ठिक पार्न सकिने ठानिरहेका छन् । ट्रम्प अहिले एलन मस्क नेतृत्वको एक धनाढ्य स्वार्थी समूहबाट घेरिएका छन् । वासिङ्टन पोस्ट र लसएन्जल्स टाइम्सका अर्बपति मालिकहरूले चुनावकै क्रममा आत्मसमर्पण गरेका थिए । एबीसी न्युज (डिज्नी स्वामित्व) ले ट्रम्पको ‘भविष्यको राष्ट्रपति फाउन्डेसन र म्युजियम’ लाई १५ मिलियन डलर दिएर आफूविरुद्ध ट्रम्पले लगाएको मानहानि मुद्दा समाधान गरेको छ । मार्क जुकरबर्गले मेटा प्लेटफर्महरूलाई ‘स्वतन्त्र अभिव्यक्ति’ वरिपरि पुनःकेन्द्रित गर्दै आफ्नो कम्पनीलाई ‘डिइआई’ भनिने विविधता, समानता र समावेशीकरणको विरोधमा उभ्याएनन् मात्र ट्रम्पको सिद्धान्त बनाइदिएका छन् । अमेजनले मेलानिया ट्रम्पको आफ्नै बारेको डकुमेन्ट्रीका लागि ४० मिलियन डलर चन्दा दिएको छ । टिम
कुक, सुन्दर पिचाई र अन्य थुप्रै प्रमुख कार्यकारीहरू मार–ए–लागोमा ट्रम्पसँग डिनरका लागि दौडिरहेका छन् । यो २०१७ को ट्रम्पको पहिलो कार्यकालभन्दा धेरै तरिकाले फरक छ । अर्बपतिहरू नियमहरू बदलिएको देखेर आफूहरूलाई ती नियमहरूको पालना गर्नुमा कल्याण हुने मान्न बाध्य छन् । सानका साथ ट्रम्पले जेफ बेजोससँगको डिनरपछि ‘ट्रुथ सोसल’ मा लेखे ‘सबै मेरा साथी हुन चाहन्छन् ।’ वास्तवमै उनी गलत छैनन् । एलन मस्कले सदावहार साझेदार ब्रिटेनको डाउनिङ स्ट्रिटमाथि लगातार धावा बोलेका छन् भने बर्लिनको संसद्भित्र समेत हात घुसाएका छन् । जर्जिया मेलोनीले बिरलै हुने भेटवार्ताका रूपमा मारा– ए– लागोदेखि रोटुन्ड हलमा पुगेर ‘फन्टास्टिक लेडी’ को उपाधि भिरेकी छन् । लोकतन्त्र अन्धकारमा आफैं मर्दैन । यसलाई सौदाबाजी गरेर कमजोर बनाइन्छ । शक्ति भएका र त्यसका इच्छुक अथवा शक्तिबाट त्रसित व्यक्तिहरू बीचमा प्रशस्त व्यावहारिक लेनदेन खुलेआम हुन थालेको छ । पैसा र मिडियाले शान्तिपूर्ण अधिनायकवादी शासनलाई स्वीकार गर्न विवश किन छन् भनेर प्रश्न गर्ने अन्यथा तरिका उनीहरूलाई निकै महँगो पर्दछ ।
ट्रम्पले छोरी इभान्का र ज्वाइँ जारेड कुश्नरलाई उनको पहिलो कार्यकालमा आन्तरिक र विदेश मामिला दुवैमा प्रमुख भूमिका दिएका थिए ।
सम्धी चार्ल्स कुश्नरलाई फ्रान्सका लागि राजदूत नियुक्त गरेका छन् भने टिफ्नी ट्रम्पका ससुरा मसाद बोलोसलाई मध्यपूर्व सल्लाहकार बनाएका छन् । यसखाले नियुक्ति र जिम्मेवारीले गाजा नरसंहार र भूराजनीतिक तनावका बीचमा आगामी दशकमा डरलाग्दो गरी भूगोल नै परिवर्तन हुने सन्त्राससमेत फैलिन पुगेको छ । यो अवस्था भनेको शीतयुद्धपछिको सबैभन्दा नाजुक विश्व राजनीतिक परिदृश्य हो ।
आधुनिक अमेरिकी राजनीतिमा ‘सन्की मानिसको सिद्धान्त’ को प्राज्ञिक आधार हार्वर्ड विश्वविद्यालयका विद्वान्हरूः थोमस स्केलिङ, डानियल एल्सबर्ग र हेनरी किसिन्जरको विचारमा आधारित देखिन्छ ।
स्केलिङ भन्छन्, ‘संघर्षको स्थितिमा पूर्णरूपमा तर्कसंगत हुनु सधैं फाइदाजनक हुँदैन ।’ एल्सबर्गले १९५९ ‘सनकको राजनीतिक उपयोग’ सम्बन्धी धारणा प्रस्तुत गरेका थिए । उनले परमाणु ब्ल्याकमेलको सन्दर्भमा प्रतिद्वन्द्वीलाई त्रास सिर्जना गर्न सनक देखिनु कत्तिको प्रभावकारी हुन सक्छ भन्ने सन्दर्भको चर्चा गर्दै भनेका थिए, ‘सन्की व्यक्तिले यो संसारमा जित्न सक्छ, अझ सुरक्षित रूपमा जित्न सक्छ ।’ ‘सनकको खेतीले विनाशलाई नजिक ल्याउनेछ’ भन्ने एल्सवर्गको आशय थियो । तर उनले गरेको यो दाबी उनका भविष्यका नेताहरूले म्याडम्यान थ्यौरीलाई कसरी सबैभन्दा मिठो गरी अँगाल्नेछन् भन्ने अनुमान गर्न नसकेको देखाएको छ । यसको प्रमुख पात्रका रूपमा अवश्य नै राष्ट्रपति ट्रम्प उभिएका छन् । यसरी ट्रम्पले सदियौं पुरानो नीति मामिलाको चिहानलाई पुनः उत्खननको बाटोमा ल्याइपुर्याएको मान्नु स्वाभाविक हुनेछ ।
