बाँदर र बँदेल मारेर होइन, सहअस्तित्वमा समाधान खोज

माघ १५, २०८१

सम्पादकीय

Find a solution in coexistence, not by killing monkeys and boars

किसानका दुःख अनेक छन् । बाली लगाउन बीउ, हुर्काउन सिँचाइ र प्रतिफल बढाउन मलको अभाव सामान्यजस्तै छ । धेरै परिवार यस्ता छन्, जसको कृषि उत्पादनले परिवारकै गुजारा चल्दैन ।

ठूलो क्षेत्रमा खेती गर्नेले पनि फसल बिक्रीमा यथोचित मूल्य पाउँदैन । जसले गर्दा कृषिलाई नै मूल पेसा बनाउन मात्र होइन, यसबाट गुजारा गर्न पनि गाह्रो छ । दुःखको यही सिलसिलामा थपिएको छ– बाँदर र बँदेलले बालीनालीमा पुर्‍याउने नोक्सानी । खेती खाइदिने मात्रै होइन, फल लाग्दानलाग्दै नस्ट गरिदिने भएकाले यी दुई जनावरबाट किसान हैरान छन् । कतिपय ठाउँमा त घरभित्र राखेका अन्न पनि जोगाउन कठिन छ । लामो समयदेखि बहस भए पनि यो समस्यालाई सम्बोधन गर्न भन्दै सरकारले माघ १० को राजपत्रमा एउटा सूचना जारी गरेको छ, जसका आधारमा बाँदर र बँदेल नियन्त्रण हुने अपेक्षा गरिएको छ । यद्यपि यो प्रबन्ध पर्याप्त हुने देखिएको छैन । 

वन तथा वातावरण मन्त्रालयले जारी गरेको सूचनाअनुसार केही सर्तसहित रातो बाँदरलाई धपाउन, लखेट्न, पक्रन र बँदेललाई मार्न पनि सकिनेछ । यसअघि यी जनावर मार्नु सम्पूर्ण रूपमा दण्डनीय थियो । अब भने एक्लै वा सामूहिक रूपमा धपाउन सकिने सर्त तय गरिएको छ । पक्रिएको स्थितिमा सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । बँदेलको मृत्यु भएमा गाड्न वा राजस्व तिरेर उपभोग गर्न सकिनेछ भने बाँदरको मृत्यु भएमा गाड्नुपर्नेछ । मन्त्रालयको सूचनाले जनावर मार्न सकिने बाटो खोलिदिएको छ तर भरपर्दो समाधानको दिशानिर्देश गरेको छैन । खेतीमा आएका दुई/चारवटा जनावर मारेर किसानका दुःख अन्य हुने छैनन् । यसका लागि रचनात्मक उपायको खोजी आवश्यक छ ।

आजकाल बाँदर र बँदेलले दिएकै दुःखका कारण मुख्यतः पहाडी भेगका कैयौं ठाउँका किसानले खेती छाडेका छन्, कतिपय बस्ती त विस्थापित भएका छन् । जसकारण खेतीयोग्य जमिन बाँझो भइरहेको छ भने किसानलाई गर्जो टार्न गाह्रो भएको छ । यसले खाद्यान्न आयातको दर बढाइदिएको छ । जहाँ खेतीपाती वा जीविकोपार्जनको आधार थियो, जहाँ श्रम गरेरै परिवार पालिएका थिए, त्यहाँबाट अर्को ठाउँमा जानु र आम्दानीको अर्को स्रोत खोज्नुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । यसले परम्परागत अनुभव र विरासतलाई खण्डित गरेर मानिसलाई नयाँ अन्योलमा पुर्‍याउँछ । पहाडी भूगोलमा जनसंख्या घट्दै जाने र सहरी वा तराई क्षेत्रमा अस्वाभाविक चाप बढ्दै जाने हुन्छ । अहिले भौगोलिक रूपमा जनसंख्याको सन्तुलनमै असर पार्ने अनेकौं कारणमध्ये पहाडमा बाँदर तथा बँदेलजस्ता वन्यजन्तुबाट सिर्जित समस्या पनि एउटा हो ।

परिवारका सक्रिय सदस्य, जो खेतीबाहेकका इलममा जोडिन सक्थे, उनीहरू पनि बाँदर लखेट्ने काममा अल्झिनुपरेको छ । किसानले एकआसपमा साट्ने गरेका दुःख, सरोकारवालाले आयोजना गर्ने सार्वजनिक कार्यक्रम, संसद् वा संसदीय समितिमा निरन्तर भइरहेका छलफलका, विभिन्न निकायले गरेका अध्ययनले बाँदर वा बँदेलजस्ता वन्यजन्तुले नित्याएका दुःख राष्ट्रिय मुद्दा नै बनिसकेको प्रस्ट छ । त्यसैले पनि समस्या समाधानका लागि ठोस र दिगो उपाय पहिल्याउन ढिला भइसकेको छ । अवश्य पनि यसको कुनै एउटै विधि छैन, त्यस्ता विधिको पूर्ण सफलताको सुनिश्चितता पनि छैन । धेरैथरी उपाय अपनाउँदै अंशअंशमा प्राप्त हुने सफलता नै उपलब्धि हुने गरेको छ । त्यस्ता उपायका लागि सरकारले कानुनी मार्ग पनि खोलिदिनुपर्ने हुन सक्छ । तालिम दिएर दक्ष जनशक्ति पनि तयार गर्नुपर्ने हुन सक्छ । स्थानीय सरकारले यसका लागि सक्रियतापूर्वक भूमिका निर्वाह गर्न सक्छ । उसले किसानसँगको समन्वयमा यस्ता जनावरको गतिविधि पछ्याउन र भगाउनका लागि समूह बनाउन सक्छ । बन्ध्याकरणको अभियान पनि अर्को उपाय हुन सक्छ । जसले बाँदरको संख्यालाई क्रमिक रूपमा कम गर्दै लैजाओस् । 

बाँदर र बँदेलको समस्या राष्ट्रिय संकट नै भएकाले कुनै राजपत्रका सूचनाबाट मात्र समस्या समाधान सम्भव छैन । यसका लागि तत्कालीन र दीर्घकालीन नीतिहरू अलम्बन गर्नुपर्छ । तत्कालका लागि बाँदर धपाउने उपाय र उपकरणमा नवीनताको आवश्यकता छ । पटाकाजस्ता उपकरणबाट बाँदर तर्सिन थालेकाले यसमा पनि नवप्रवर्तनको आवश्यकता छ । व्यक्ति वा समूहले कुनै उपायले लखेट्दा बाँदर केही पर त जाला तर त्यो जीव पनि बाँच्नका लागि संघर्ष त गर्छ । तर, हामीकहाँ पछिल्ला चार दशकमा भएका वृक्षरोपणले उस्तै प्रकृतिका रूखहरू हुर्काएको छ, जहाँ फलफूल भेटिन छाडेका छन् । तर प्राकृतिक सहअस्तित्वका लागि त जैविक विविधता अनिवार्य हुन्छ । जंगलमा विविध फलफूल नभए बाँदर अन्ततः खेतीबारीमा आउँछ, एउटा प्राणीको रूपमा यो उसको पनि संघर्षको लडाइँ हो । त्यसैले सरकार र समुदायकै पहलमा सामुदायिक वनमा पनि जंगली फलफूल वृक्षरोपण हुनुपर्छ । त्यस्तै बाँदरजस्ता जनावरले अतिक्रमण गरेका हुन कि मानव जातिले भन्ने प्रश्न पनि उत्तिकै छ । त्यसैले जनावरको बासस्थान र मानवबस्तीका बीचमा मध्यवर्ती क्षेत्र विकास गर्नुपर्छ, जहाँ फलफूल विविधका रूख हुर्काउन सकियोस् । यी सबै काम रातारात हुन सक्ने होइनन्, त्यतिन्जेलका लागि बाँदरको संख्या घटाउने गरी बन्ध्याकरणका उपायमा पनि अध्यास गर्नुपर्छ । त्यस्तै, किसानको पसिनाको कमाइ सुरक्षित गर्न बाँदरले मन नपराउने नगदेबालीलाई प्रोत्साहित 

गर्नुपर्छ जसका अदुवा, बेसार, अलैँची र विभिन्न किसिमका जडीबुटीको खेती गर्न सकिन्छ । यति गर्दा पनि बाँदरबाट हुने क्षतिबाट प्रभावित किसानलाई राहत दिन क्षतिपूर्ति र बिमासम्बन्धी कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । यसरी तत्कालीन र दीर्घकालीन नीतिहरू समानान्तर रूपमा अघि बढाए मात्र बाँदर र बँदलेको उपद्रोबाट मानवबस्तीलाई राहत हुनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully