विचारधारामा पुनर्विचार, पार्टीमा पुनःसंरचना

जसरी बीपीले कांग्रेस र मदन भण्डारीले एमाले तथा ब्लेयरले लेबर र देङ स्याओपिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई समयको गति र जनभावनाअनुसार सैद्धान्तिक–वैचारिक रूपान्तरण गरेका थिए, त्यसरी नै सैद्धान्तिक–वैचारिक रूपान्तरण गरी पार्टीलाई पुनर्जीवन दिन सक्षम भिजनरी नेतृत्व आजको आवश्यकता हो

माघ १४, २०८१

गेजा शर्मा वाग्ले

Rethinking ideology, restructuring the party

एक्काइसौं शताब्दीको उत्तरआधुनिक (पोस्ट–मोडर्न), उत्तरवैचारिक (पोस्ट–आइडियोलोजी) तथा सत्योत्तर (पोस्ट–ट्रुथ) युगमा राजनीतिक वाद, विचारधारा, सिद्धान्तको सान्दर्भिकता र औचित्य कति छ भन्ने प्रश्न स्वयं राजनीतिशास्त्रीका बीचमा बहस र विवादको विषय हो । सन् १९६० मा प्रकाशित ‘द इन्ड अफ आइडियोलोजी’ पुस्तकका लेखक अमेरिकी राजनीतिशास्त्री ड्यानियल बेलले वाद र विचारधाराको अन्त्य भएको विचार व्यक्त गरेपछि नयाँ बहसको प्रारम्भ भएको थियो ।

सन् १९९२ मा अर्का अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाको बहुचर्चित पुस्तक ‘द इन्ड अफ हिस्ट्री’ मा कम्युनिस्ट विचारधारा पराजित भई उदार लोकतन्त्रको विजय भएको घोषणाले नयाँ तरंग सिर्जना गरेको थियो । अहिले त झन् विश्वव्यापी रूपमै राज्य, सरकार, संस्थापन, मूलधार, मध्यमार्गीविरोधी सशक्त जनमत सिर्जना भएको छ भने उग्रराष्ट्रवादी, पपुलिस्ट, अनुदारवादी, दक्षिणपन्थी पार्टी, प्रवृत्ति र भाष्य हाबी हुँदै गएको देखिन्छ । 

नेपालका राजनीतिक पार्टीको वाद, विचारधारा, सिद्धान्तसँग अन्योन्याश्रित तर अन्तरविरोधपूर्ण सम्बन्ध भएको देखिन्छ । एकातिर पार्टी र नेताहरूले उदारवाद, समाजवाद, पुँजीवाद, मार्क्सवाद, साम्यवाद, जनवाद, विकासवादजस्ता बहुप्रचलित राजनीतिक जार्गनका आधारमा ठूला, कोरा र अमूर्त भाषण गर्दै आइरहेका छन् । तर अर्कोतिर सत्ताका लागि ती सबै विचारधारा, सिद्धान्त, नीतिलाई तिलाञ्जली पनि दिँदै आएका छन् ।

त्यसैले लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास भए पनि कांग्रेस, एमालेलगायतका मूलधारका पार्टी कमजोर र अलोकप्रिय हुँदै गएका छन् भने नयाँ, उग्रराष्ट्रवादी, पपुलिस्ट र अनुदारवादी पात्र, प्रवृत्ति र पार्टीको आकस्मिक लहर आएको देखिन्छ । पार्टी र विचार निर्माणको आधार र आयाम परिवर्तन भएका हुन् कि मूलधारका पार्टी असान्दर्भिक हुँदै गएका हुन् भन्ने स्वाभाविक प्रश्न उठेका छन् । यो लेखमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवर्तित सन्दर्भमा वाद र विचारधाराको सान्दर्भिकता, पार्टी निर्माण तथा रूपान्तरणका अवसर र चुनौतीबारे वस्तुनिष्ठ विश्लेषण गरिएको छ ।

सैद्धान्तिक–वैचारिक पुनरावलोकन किन ? 

बीसौं शताब्दीको अन्त्यसम्म कुनै पनि पार्टी निश्चित राजनीतिक दर्शन, विचारधारा, सिद्धान्त र वर्गीय आधारमा निर्माण हुने पद्धति थियो । नेपालका कांग्रेस र कम्युनिस्ट मात्रै होइन, अमेरिकाका रिपब्लिकन र डेमोक्रेटिक, बेलायतका लेबर र कन्जरभेटिभ, भारतका बीजेपी र कंग्रेसलगायत सबै पार्टी सोही सैद्धान्तिक–वैचारिक आधार र प्रक्रियाबाट निर्माण भएका हुन्  । तर एक्काइसौं शताब्दीजस्तो उत्तरवैचारिक युगमा पार्टी निर्माणका परम्परागत पद्धति विघटन भई नवीन मानक स्थापित भएका छन् ।

अहिले वाद, विचारधारा र सिद्धान्तभन्दा पनि विचार, नीति र कार्यक्रम पार्टी निर्माणका प्रमुख आधार भएका छन् । यद्यपि सिद्धान्त र विचारविहीन पार्टी र नेतृत्वको वकालत र परिकल्पना पंक्तिकारको उद्देश्य होइन, पार्टी निर्माणका विश्वव्यापी लहर र नयाँ प्रवृत्तिका आधारमा विश्लेषण गरिएको मात्रै हो । यसको निष्कर्ष सिद्धान्त, निष्ठा र नीतिको राजनीति समाप्त भएको होइन, डेलिभरीको युग प्रारम्भ भएको मात्रै हो । 

कुनै पनि पार्टीका आदर्श, विचारधारा, सिद्धान्त धार्मिक ग्रन्थ वा पवित्र मन्त्र होइनन् । समाजको गति, चेतनाको विकास, राजनीतिक–आर्थिक परिवेश र जनताको भावनाअनुसार सुधार, अद्यावधिक र विकसित हुँदै जान्छन् । किनभने आदर्श, विचारधारा, सिद्धान्त गतिशील हुन्छन् । लोकतन्त्र र उदारवाद चिरस्थायी हुनुको प्रमुख कारण गतिशीलता हो । त्यसैले पार्टीका सिद्धान्त, विचार, नीति पनि अपडेटेड (अद्यावधिक) हुनुपर्छ । यदि अपडेटेड भएनन् भने आउटडेटेड (असान्दर्भिक) हुन्छन् । बेलको निष्कर्ष जस्तै राजनीति अब कोरा विचारधारा र सिद्धान्तको द्वन्द्व, बहस तथा आरोप–प्रत्यारोपबाट नीति, योजना र एजेन्डाको दिशातर्फ उन्मुख भएको भएको छ, जुन सकारात्मक हो । 

उन्नाइसौं र बीसौं शताब्दीभन्दा एक्काइसौं शताब्दीका समस्या जटिल र चुनौतीपूर्ण छन् । दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, आर्थिक असमानता, जलवायु परिवर्तन, तापक्रम वृद्धि, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासन, सहरीकरण जस्ता नयाँ विषय, समस्या र चुनौती सिर्जना भएका छन् । शास्त्रीय सिद्धान्त र नीतिले यी समस्या समाधान हुने सम्भावना छैन । यदि देश र जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन ।

जनतालाई शास्त्र र सिद्धान्तभन्दा पनि एक्काइसौं शताब्दीका यस्ता चुनौती सामना गर्ने स्पष्ट दृष्टिकोण र ठोस मार्गचित्र चाहिएको छ र डेलिभरी गर्ने सरकार चाहिएको छ । त्यसैले अब शास्त्रीय सिद्धान्तवादीभन्दा गतिशील विचार र नीतिप्रधान पार्टीको सान्दर्भिकता र भविष्य छ । जुन पार्टीले समयसापेक्ष जनमुखी नीति अनुसरण गर्छन्, ती जीवन्त हुन्छन्, लोकप्रिय हुन्छन् र सान्दर्भिक हुन्छन् । तर, जुन पार्टीले समयसापेक्ष नीति अनुसरण गर्न सक्दैनन्, ती अलोकप्रिय हुन्छन्, जनताले विस्थापित गरिदिन्छन् र इतिहासको गर्तमा बिलाउँछन् । त्यसैले कुनै पनि पार्टीको विचार, सिद्धान्त र नीतिहरू समयानुकूल परिमार्जित, अद्यावधिक र विकसित गर्दै जानुपर्छ ।

आइडियोलोजी गतिशील, पार्टी यथास्थितिवादी 

कांग्रेस र कम्युनिस्टका आदर्श पुरुषहरू बीपी र मार्क्स गतिशील र प्रगतिशील थिए तर यथास्थितिवादी थिएनन् । तर कांग्रेसले बीपीलाई, कम्युनिस्टले मार्क्सलाई र माओवादीले माओलाई यथास्थितिवादी तथा जडसूत्रवादीका रूपमा व्याख्या गर्दै आएका छन् र बीपी, मार्क्स र माओलाई गायत्री मन्त्रजस्तै जप्दै आएका छन् ।

त्यसैले कांग्रेस, एमाले, माओवादीलगायतका मूलधारका पार्टीहरू सैद्धान्तिक–वैचारिक दृष्टिले यथास्थितिवादी भएका छन् । यदि जनताको भावनाअनुसार गतिशील, जीवन्त र सान्दर्भिक पार्टीका रूपमा विकसित गर्दै जाने हो भने कांग्रेसले बीपी, एमालेले मार्क्स र माओवादीले माओलाई पुनः अध्ययन (रिभिजिट) र पुनर्विचार वा पुनरावलोकन (रिथिंक) गर्नु आवश्यक देखिएको छ । यसैगरी बीपी, मार्क्स र माओका विचारधारा, आदर्श र मूलभूत सिद्धान्तलाई निरन्तरता दिँदै समयानुकूल पुनः परिभाषा (रिडिफाइन) वा पूरक व्याख्या गर्नु अपरिहार्य देखिएको छ ।

मार्क्सले राज्यविहीन, वर्गविहीन र शोषणरहित समाज अर्थात् साम्यवादको परिकल्पना गरेका थिए । मार्क्सवादका अनुसार निजी सम्पत्तिको अन्त्य शोषणरहित समाज स्थापनाको पूर्वसर्त थियो । तर हालसम्म साम्यवाद पनि स्थापना भएन र निजी सम्पत्तिको पनि अन्त्य भएन । राजनीतिक र आर्थिक दुवै दृष्टिले मार्क्सवादको यो ठूलो असफलता हो ।

सन् १९८९ मा बर्लिनको पर्खाल ढलेर पूर्वी र पश्चिम जर्मनी एकीकरण तथा ७० वर्षभन्दा लामो कम्युनिस्ट सत्ता भएको पूर्वसोभियत संघ पनि विघटन भएपछि मार्क्सवाद र कम्युनिस्ट सिद्धान्त असफल भएको पुष्टि भइसकेको छ । तर सन् १९०७ मा नै मार्क्सवादी प्लेखानोभले ‘फन्डामेन्टल प्रब्लम अफ मार्क्सिजम’ पुस्तकमा मार्क्सवादका मूलभूत समस्या औंल्याएका थिए ।

माओको नेतृत्वमा सशस्त्र जनयुद्धमार्फत कम्युनिस्ट शासन स्थापना गरिएको चीनमा कम्युनिस्ट प्रणाली त छ । तर माओवादको कारणले होइन, उदारवादी अर्थनीति (कम्युनिस्टका शब्दमा पुँजीवादी) अनुसरण गरेको कारणले मात्रै चीनमा कम्युनिस्ट शासन टिकेको वास्तविकता घाम जत्तिकै छर्लंग छ । यो वास्तविकतालाई नेपालका कम्युनिस्ट पार्टीहरूले आत्मसात् गर्नु अपरिहार्य छ । 

विशेषगरी कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीले हालसम्म अनुसरण गर्दै आएको अर्थनीति र विकास मोडलबारे पुनर्विचार गरी समयानुकूल उपयुक्त नीति अवलम्बन गर्नु आवश्यक देखिएको छ । कांग्रेस–एमालेको सरकारले केही आर्थिक तथा शासकीय सुधार गर्न गरेको पहल सकारात्मक छ । कांग्रेस–एमालेको बलियो सरकारले केवल सामान्य सुधार मात्रै होइन, दोस्रो चरणको आर्थिक सुधार (सेकेन्ड जेनेरेसन रिफर्म) को प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाउनुपर्छ ।

अब गौरवशाली र संघर्षपूर्ण इतिहास मात्रै पर्याप्त छैन । अतीतमुखी होइन, भविष्यमुखी विचार, पार्टी र नेतृत्व आजको आवश्यकता हो । जनताले शासक होइन, सेवक खोजेका छन् । शासन होइन, सुशासन खोजेका छन् र सरकार होइन, डेलिभरी खोजेका छन् । जुन प्रणाली जनताको जीवन पद्धति बन्न सक्दैन र जुन पार्टीले डेलिभरी दिन सक्दैन, त्यसको भविष्य छैन । 

बीपी र मदन भण्डारीको वैचारिक योगदान 

बीपीले कांग्रेस र मदन भण्डारीले एमालेको मार्गनिर्देशक सिद्धान्तलाई समय र आवश्यकताअनुसार पुनः व्याख्या गरी पार्टीको सिद्धान्त र संगठनलाई पुनर्जीवन दिएका थिए । २००३ सालमा कांग्रेसको स्थापना गरेको मात्रै होइन, वैचारिक प्रणेता र सिद्धान्तकार नै बीपी हुन् । स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतन्त्र, उदारवाद, बहुलवाद, मानव विकास, समुन्नति, समतामूलक समाज र सामाजिक न्यायलाई बीपीले कांग्रेसका मूलभूत सिद्धान्तका रूपमा स्थापित गरेका छन् ।

लोकतान्त्रिक समाजवाद कांग्रेसको स्थापनाकालीन मार्गनिर्देशक सिद्धान्त होइन । तत्कालीन राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थराजनीतिक परिदृश्यलाई आत्मसात् गर्दै २०१२ मा भएको वीरगन्ज महाधिवेशनबाट लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरेको थियो । गतिशील सिद्धान्तकार भएको कारणले बीपीले तत्कालीन सन्दर्भमा लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

समाजवादबारे थप गहन अध्ययन गरेर नेपालका लागि उपयुक्त, स्पष्ट नीति र कार्यक्रमसहितको ठोस दस्ताबेज प्रकाशित गर्ने चाहना अधुरो रहेकोप्रति बीपी स्वयंले आत्मवृत्तान्तमा पश्चाताप गरेका छन् । राजनीतिक तथा सामाजिक चेतनाको स्तर न्यून भएको कन्जरभेटिभ समाज भए पनि समयको गति र जनताको भावना बुझ्ने दूरदर्शी बीपीकै सैद्धान्तिक तथा वैचारिक नेतृत्वको कारणले कांग्रेस लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील र जनताप्रति उत्तरदायी पार्टीका रूपमा स्थापित भएको थियो । त्यसैले नेपालमा लोकतन्त्र, बहुलवाद, उदारवाद, संविधानवाद र सार्वभौमसत्ता सम्पन्न जनताको जग बीपीकै कारणले बसेको हो, कांग्रेसको बलियो सैद्धान्तिक, वैचारिक र वर्गीय आधारशिला बीपीकै कारणले बनेको हो । 

नेकपा (माले) का तत्कालीन महासचिव मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । शास्त्रीय कम्युनिस्ट सिद्धान्तलाई पुनः परिभाषित गर्दै जनताको बहुदलीय जनवाद (जबज) लाई उनले मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गरेका थिए । सशस्त्र संघर्षबाट सत्ता कब्जा गर्ने कम्युनिस्ट सिद्धान्त त्यागेर जबजमार्फत लोकतान्त्रिक र संसदीय प्रणाली स्वीकार गर्ने नयाँ सिद्धान्त अंगीकार गरेका थिए ।

तत्कालीन सन्दर्भमा पुराना पुस्ताका नेता र जडसूत्रवादीले ‘संशोधनवादी तथा संसदीय भासमा भासिएको’ आरोप लगाउँदै तीव्र आलोचना गरेका थिए । तर उनले स्थापित गरेको नीति युगसापेक्ष भएको कारणले एमालेले परिवर्तित सन्दर्भमा पुनर्जीवन पाएको थियो । यदि भण्डारीले सैद्धान्तिक–वैचारिक रूपान्तरण नगरेको भए एमाले पनि माओवादी जस्तै अर्को उग्रवामपन्थी हुन सक्ने जोखिम कायमै थियो । 

पार्टी निर्माण वा पुनर्निर्माणको नयाँ पद्धति 

पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, विचार, संगठन र नेतृत्व हुन् । उन्नाइसौं र बीसौं शताब्दीसम्म नेता तथा कार्यकर्ताले पार्टीका सिद्धान्त, विचार, नीति लिएर जनतासमक्ष जान्थे । त्यही आधारमा संगठन गरिन्थ्यो, जनमत हासिल गरिन्थ्यो । कुनै पनि पार्टीका जनतासँग जाने माध्यम भनेका केही हदसम्म सार्वजनिक सञ्चारमाध्यम भए पनि मूलभूत रूपमा नेता र कार्यकर्ता मात्रै थिए । तर अब त्यस्तो परम्परागत पद्धति, प्रक्रिया र शैलीबाट पार्टी निर्माणको सम्भावना पनि छैन र आवश्यकता पनि छैन । अब परम्परागत होइन, गैरपरम्परागत पद्धतिले पार्टी निर्माण हुन्छन् । त्यसैले सबैभन्दा पहिले पार्टी निर्माण वा पुनर्निर्माण प्रक्रियालाई नै पुनः परिभाषित गर्नुपर्ने परिवेश सिर्जना भएको छ । 

अहिलेको डिजिटल युगमा पार्टी निर्माणका पद्धति, प्रक्रिया र शैली मौलिक परिवर्तन भएका छन् । शैक्षिकस्तर, चेतनाको विकास, सूचना प्रविधि तथा सामाजिक सञ्जालको विकासको कारणले पार्टी निर्माणको नवीन अध्याय सुरु भएको छ । स्पष्ट भिजन र ठोस नीति, योजना, एजेन्डा र कार्यक्रम भएको भिजनरी नेताको दृष्टिकोण र सार्वजनिक छविका आधारमा पार्टी निर्माण हुने प्रक्रिया विकसित हुँदै गएको छ ।

सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत प्रत्यक्ष रूपमा जनतासमक्ष जान सकिन्छ । अहिले यही प्रक्रियामार्फत पार्टी, नेतृत्व र कार्यकर्ताले जनतासमक्ष प्रत्यक्ष संवाद, अन्तर्क्रिया र विचार आदानप्रदान गरिरहेका छन् । राजनीतिक सञ्चार र संवादका दृष्टिले यो सबैभन्दा प्रभावकारी र लोकप्रिय माध्यम भएको छ । 

सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा डिजिटल प्ल्याटफर्ममार्फत प्रत्यक्ष संवाद गरी जनताको समर्थन र सहयोग हासिल गर्न सक्ने लोकप्रिय पात्र नेताका रूपमा स्थापित हुने डिजिटल परिवेश सिर्जना भएको छ । हिजोसम्म संगठनमा पकड भएको तथा नेतृत्वको विश्वास अर्थात् आशीर्वाद प्राप्त पात्र नेतृत्वमा पुग्ने वा पुर्‍याउने अभ्यास र प्रक्रिया थियो । तर अब केवल नेता र कार्यकर्ताको मात्रै होइन, जनताको विश्वास हासिल गरेको पात्र नेतृत्वमा पुग्ने जस्तो नेतृत्व विकासको नयाँ पद्धति र प्रक्रिया विकसित हुँदै गएको छ । त्यसैले अब नीति, सिद्धान्त र एजेन्डाका आधारमा पार्टी तथा भिजन र छविका आधारमा नेतृत्व विकसित हुने युग सुरु भएको छ । पार्टी निर्माण र नेतृत्व विकासको दृष्टिले यो उल्लेखनीय उपलब्धि हो । 

अब केवल नेता–कार्यकर्ताले पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा जनतामा सम्प्रेषण गर्न सक्ने सम्भावना छैन । किनभने नेता–कार्यकर्ताको सार्वजनिक छवि यति नकारात्मक छ कि सकारात्मक सन्देश लिएर गए पनि जनताले विश्वास नगर्ने परिस्थिति सिर्जना भएको छ । बौद्धिक तथा व्यावसायिक, सेलिब्रेटी, सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ स्वतन्त्र नागरिकमार्फत विचार निर्माण तथा न्यारेटिभ स्थापित हुने परिस्थिति सिर्जना हुँदै गएको छ । पार्टीका संगठन विभागभन्दा सामाजिक सञ्जाल विभाग शक्तिशाली र प्रभावशाली हुँदै गएका छन् । सार्वजनिक सञ्चारमाध्यम, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल व्यवस्थापन गरी निर्वाचनमा विजय हासिल गर्ने तथा प्रतिस्पर्धी पार्टीलाई कमजोर बनाउने नयाँ अभ्यास र रणनीति प्रारम्भ भएको छ । 

राज्य सञ्चालनका दृष्टिले जनता सार्वभौम छन् भने पार्टीमा कार्यकर्ताको सार्वभौमिकता पनि स्थापित हुँदै गएको देखिन्छ । केवल नयाँ पार्टी निर्माणका लागि मात्रै होइन, मूलधार वा पुराना पार्टीलाई पुनर्निर्माण तथा रूपान्तरण गर्नका लागि पनि यही नयाँ पद्धति र प्रक्रिया अनुसरण गर्नु अपरिहार्य छ । होइन भने पुराना वा मूलधारका पार्टीले पुनर्जीवन पाउने सम्भावना क्षीण हुँदै गएको देखिन्छ । 

लेबर र कम्युनिस्ट पार्टी रूपान्तरणको शिक्षा

अहिले बेलायतमा कन्जरभेटिभभन्दा लेबर पार्टी उदार र प्रगतिशील छ । तर इतिहासको कुनै कालखण्डमा कन्जरभेटिभभन्दा पनि सैद्धान्तिक–वैचारिक दृष्टिले लेबर पार्टी कन्जरभेटिभ थियो । विशेषगरी अर्थनीतिको कारणले लेबर पार्टी असान्दर्भिक र अलोकप्रिय हुँदै गएको थियो । तर परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश बुझेका भिजनरी नेता टोनी ब्लेयरले परम्परागत राज्य नियन्त्रित अर्थतन्त्र पक्षधर नीति मौलिक रूपमा परिवर्तन गरी उदारवादी र प्रगतिशील अर्थनीति स्थापित गरे ।

ब्लेयरले लेबरलाई परम्परागत लोकतान्त्रिक समाजवादीबाट सामाजिक लोकतन्त्रवादी पार्टीका रूपमा रूपान्तरण गरे । सैद्धान्तिक–वैचारिक दृष्टिले शास्त्रीय लेबरलाई ब्लेयरले ‘न्यु लेबर’ का रूपमा रूपान्तरण मात्रै गरेनन्, पार्टीको संगठन प्रणालीमा समेत आमूल परिवर्तन गरे । त्यसैले सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतका साथ लेबरले विजय हासिल गरेको थियो । लेबरले अनुसरण गरेको नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीन पटक विजय भई प्रधानमन्त्री बनेका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए । 

सन् १९७८ मा माओको निधनपछि देङ स्याओपिङ सत्तामा आए । सर्वहारा वर्गको अधिनायकत्व स्थापित गरिएको कठोर कम्युनिस्ट सत्ता भए पनि देङ स्याओपिङले चिनियाँ कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त समयानुकूल पुनः परिभाषित गर्ने युगान्तकारी तर जोखिमपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेषगरी राज्य नियन्त्रित अर्थतन्त्र उपयुक्त नभएको तर्क गर्दै उदार तथा खुला अर्थनीतिलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गराउन सफल भएका थिए । देङ स्याओपिङले स्थापित गरेको नीतिको कारणले नै चीनले आर्थिक विकासका दृष्टिले उल्लेखनीय फड्को मार्दै आएको छ । चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ भने निकट भविष्यमा नै पहिलो अर्थतन्त्र हुने प्रक्षेपण गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमै यो सैद्धान्तिक–वैचारिक रूपान्तरण ऐतिहासिक कोसेढुंगा भएको छ । 

भिजनरी नेतृत्वको आवश्यकता 

सैद्धान्तिक–वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरेर मात्रै पनि नेपालका पार्टीको समस्या समाधान हुँदैन । किनभने सबैभन्दा ठूलो समस्या नेतृत्वमा छ । लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका तथा पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेकाले कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीका शीर्ष नेतृत्व पंक्ति असफल भइसकेका छन् ।

यस्तो असफल नेतृत्व पंक्तिप्रति जनतामा व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा भएकाले ती पार्टीसमेत अलोकप्रिय हुँदै गएका छन् । यस्तो असफल र अलोकप्रिय नेतृत्व परिवर्तन नभई मूलधारका पार्टीप्रति जनताको विश्वास पुनः स्थापित हुने सम्भावना क्षीण देखिन्छ । जति छिटो त्यस्तो नेतृत्वबाट मुक्ति पाउँछन्, त्यति नै छिटो ती पार्टीहरूले पुनर्जीवन पाउनेछन् । होइन भने उनीहरूकै भविष्य र औचित्यमाथि समेत प्रश्नचिह्न खडा हुनेछ । 

जसरी बीपीले कांग्रेस र मदन भण्डारीले एमाले तथा ब्लेयरले लेबर र देङ स्याओपिङले चिनियाँ कम्युनिस्ट पार्टीलाई समयको गति र जनभावनाअनुसार सैद्धान्तिक–वैचारिक रूपान्तरण गरेका थिए, त्यसरी नै सैद्धान्तिक–वैचारिक रूपान्तरण गरी पार्टीलाई पुनर्जीवन दिन सक्षम भिजनरी नेतृत्व आजको आवश्यकता हो । बीपी, मदन भण्डारी, ब्लेयर र देङ स्याओपिङबाट शिक्षा लिएर पार्टी रूपान्तरण गर्नु स्वयं कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीकाहरूकै लागि लाभदायक र स्वस्थबर्द्धक हुनेछ । होइन भने पशुपतिनाथले पनि उद्धार गर्न सक्ने छैनन् । 

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully