अर्बौं लगानी गरिएका सुरुङमार्गबाट लाभ लिन सक्ने चुनौती हामीसँग छ । सुरुङमार्गलाई विकासको प्रयत्न, आर्थिक लाभ, रोजगारीदेखि पुँजी निर्माणसम्ममा परिणत गर्न सक्नुपर्छ । लगानीलाई प्रतिफलसँग जोड्दा मात्रै विकास निर्माणका प्रयत्नहरूले आत्मविश्वास बढाउँछ ।
देशमा थप एउटा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार मात्रै सिद्धार्थ राजमार्गअन्तर्गत १ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो । २०८४ मंसिरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको यस सुरुङमार्गका कारण लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रूपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, मुस्ताङलगायतका क्षेत्रका स्थानीयले सहज रूपमा यात्रा गर्न पाउनेछन् ।
मुख्यतः त्यस सडक खण्डमा हुने बारम्बारको दुर्घटनामा परी ज्यान गुमाउने, अंगभंग हुने वा भौतिक सम्पत्तिमा भइरहेको क्षतिमा कमी आउने अपेक्षा गरिएको छ । खासमा सडकमार्गलाई छोट्याउन बनाइएका यस्ता सुरुङमार्गको सफलता नै छोटो र सहज यात्रासँग जोडिन्छ ।
व्यक्तिगत रूपमा यात्रुलाई हुने लाभका अतिरिक्त राज्यले पनि प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिन सक्छ । पछिल्लो समय विभिन्न सडक खण्डमा निर्माणाधीन वा अध्ययनका क्रममा रहेका सुरुङमार्गको निर्माण पूर्ण भई सञ्चालनमा आएपछि बढीभन्दा बढी लाभ लिन सकिने विश्वास बढेको छ ।
खासगरी जलविद्युत् आयोजना सञ्चालनका लागि निर्माण गरिएका सुरुङमार्गको ‘ब्रेक थ्रु’ नियमित भइरहन्छन् । त्यस्तै, मेलम्ची खानेपानी आयोजना, अतिरिक्त सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना तथा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ उल्लेखनीय ठानिएका थिए । मेलम्ची आयोजनाबाट त सिन्धुपाल्चोकको पानी काठमाडौं आउन थालिसकेको छ ।
यद्यपि, सडकसँग सम्बन्धित भएर व्यवस्थित र आधुनिक सुरुङमार्ग निर्माण हुन सकेका थिएनन् । त्यसले पनि तीव्रता पाउन थालेको छ । काठमाडौं–तराई/मधेश द्रुतमार्गमा पर्ने ६ वटा सुरुङमार्गमध्ये धेद्रे र लेनडाँडाका सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेको छ । ७० किलोमिटर हाराहारी रहेको द्रुतमार्गमा १० किलोमिटर हाराहारी त सुरुङमार्ग नै हुनेछन् ।
पछिल्लो पटक गत वैशाख ३ गते भएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग र शुक्रबार भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ ले अतिरिक्त चर्चा पाएका छन् । ठूलो भूगोलका व्यक्तिहरू प्रत्यक्ष र निरन्तर लाभान्वित हुने भएकाले पनि यस्तो चर्चा स्वाभाविक हो ।
जुनसुकै प्रयोजनका लागि निर्माण गरिएको सुरुङमार्ग होस्, त्यसको मुख्य काम दूरीलाई छोटो र सिधा बनाउनु नै हो । त्यसबाट प्राप्त अतिरिक्त लाभ त्यसकै सहउत्पादन हुन् । सडकसँग सम्बन्धित सुरुङमार्ग निर्माणको उद्देश्य र लाभ भने बहुपक्षीय छन् । बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सिद्धबाबा सुरुङमार्ग निर्माणको सोच अघि बढेको थियो ।
त्यसैले यो सुरुङमार्ग सञ्चालनमा आएपछि दुर्घटना न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ । समग्रमा सुरुङमार्गका कारण यात्रा सहज र छिटो हुनेछ । घुमाउरो र उकालो–ओरालो सडकका कारण हुँदै आएको जाम हट्नेछ । लामो दूरी र जामका कारण लम्बिरहेको यात्रा अवधि र त्यसबाट हुने हैरानी पनि सुरुङमार्गका कारण निराकरण हुनेछ ।
जस्तो कि, नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा नआउँदासम्म काठमाडौंको बलम्बुबाट सिस्ने खोला साढे आठ किलोमिटर दूरीमा पर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि भने त्यो दूरी केबल २६ सय ८८ मिटर मात्रै हुन आउँछ । यसअघि घुम्ती र जामका कारण घण्टौं लम्बिन सक्ने यात्रा अब तीन मिनेटमै पूरा गर्न सकिनेछ । साथसाथै, इन्धन खपतमा पनि कमी आउनेछ ।
सुरुङमार्ग निर्माण भइरहनु राम्रै विषय हो । तर, पछिल्लो समय पहुँचवालाको दबाब र लहडमा सुरुङमार्ग निर्माणका लागि माग बढ्न थालेको छ । जसकारण बजेटमा राखिएका सुरुङको संख्या नै दुई दर्जन हाराहारी पुगिसकेका छन् । कैयौंको अध्ययन पनि भइरहेका छन् । ठूलो आर्थिक लगानी चाहिने भएकाले सुरुङमा गरिने लगानी खासमै आवश्यक हो वा होइन, सवारी चाप र लाभान्वित मानिस कति छन् भन्ने पनि ख्याल गरेर मात्रै निर्माणका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ ।
विज्ञहरू दैनिक १० हजार हाराहारीमा सवारीसाधन नगुड्ने सडक खण्डमा सुरुङमार्ग बनाउनु वाञ्छनीय नहुने सुझाउँछन् । अर्कोतिर, धेरै घुम्ती नभएको वा दुर्घटनाको जोखिम पनि बढी नभएको सडकमा पनि सुरुङमार्गलाई प्राथमिकता दिनु उचित हुँदैन । सुरुङमार्ग निर्माणका लागि लागत पनि बढी पर्छ । सामान्यतया एक किमि सुरुङ बनाउनै ३/४ अर्ब रुपैयाँसम्म लाग्ने बताइन्छ ।
निर्माणपछि पनि सञ्चालनका लागि महँगो नै पर्छ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आएपछि यसको सञ्चालन खर्च मात्र वार्षिक करिब ४० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सुरुङमार्गको लम्बाइअनुसार, ‘भेन्टिलेसन’, ‘लाइनिङ’, ‘लाइटिङ’, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काममा हुने खर्च पनि बढ्छ ।
सञ्चालनमा आएपछि सुरक्षादेखि विद्युत् हेर्ने टिमसम्म चाहिन्छ । सुरुङमार्ग पर्यावरण तथा भू–संवेदनशीलतासँग जोडिएको विषय पनि हो । यस्ता विषयलाई ध्यानमा राखेर मात्रै सुरुङमार्गका योजना अघि बढाउनुपर्छ । अर्थात् सुरुङमार्गका सवालमा राज्यका अधिकारप्राप्त निकायहरू संयमित हुनुपर्छ ।
सडक यात्रालाई सुरक्षित बनाउने उद्देश्यसहित सुरुङमार्ग निर्माणको योजना बनाइएकाले त्यो स्वयं सुरक्षित र भरपर्दो हुनुपर्छ । नेपालमा सुरुङमार्ग निर्माणको अनुभव नयाँ हो । हाम्रो भूगोलमा यस्ता योजना परीक्षण भएका छैनन् । त्यसैले यसको निर्माणका क्रममा हामीले हाम्रो भौगोलिक विशेषताअनुसार ख्याल गर्नुपर्ने अतिरिक्त सावधानीबारे हामीलाई विस्तृत जानकारी छैन ।
यस्ता विषय भविष्यमा जानकारी हुँदै जानेछन् । अर्कोतिर, अर्बौं लगानी गरिएका सुरुङमार्गबाट लाभ लिन सक्ने चुनौती हामीसँग छ । सुरुङमार्गलाई विकासको प्रयत्न, आर्थिक लाभ, रोजगारीदेखि पुँजी निर्माणसम्ममा परिणत गर्न सक्नुपर्छ । लगानीलाई प्रतिफलसँग जोड्दा मात्रै विकास निर्माणका प्रयत्नहरूले आत्मविश्वास बढाउँछ ।
