निर्यात वृद्धिमा नेपाली उत्पादनकै वर्चस्वको अपेक्षा

हाम्रो ध्यान नेपालकै कच्चा पदार्थबाट उत्पादित/निर्मित वस्तुको निर्यात बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । त्यस्ता वस्तुको सम्भावना नेपालमा नभएका होइनन् । सिमेन्ट र क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची, कफी जस्ता कैयौं नेपाली उत्पादनले निर्यातको राम्रो सम्भावना देखिएका छन् ।

माघ १०, २०८१

सम्पादकीय

Expectation of dominance of Nepali products in export growth

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालबाट भएको समग्र वस्तुको निर्यात ३२ प्रतिशतले वृद्धि हुनु उल्लेखनीय तथ्यांक हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७४ अर्ब ९६ करोडको वस्तु निर्यात भएको पृष्ठभूमिमा चालु आर्थिक वर्षको सोही अवधिमा ९८ अर्ब ७८ करोडको निर्यात हुनुले हामीकहाँ पनि निर्यात बढोत्तरीको सम्भावना र आधार छन् भन्ने देखिन्छ ।

निर्यातको पछिल्लो तथ्यांकमा खाने तेल (भटमास, सूर्यमुखी र पाम) को हिस्सा २५ अर्ब २ करोड छ । जबकि, अघिल्लो आर्थिक वर्षको ६ महिनामा केबल ३ अर्ब ४५ करोडको तेल निर्यात भएको थियो ।

ध्यान दिनुपर्ने विषय के छ भने यसरी निर्यातको तथ्यांकमा मुख्य अंश रहेको खाने तेल भने नेपाली उत्पादन नै भने होइन, बरु अन्य देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरी फेरि अन्य देशमै निर्यात गरिन्छ । त्यसैले निर्यातको बढ्दो दरलाई कायमै राख्नु र त्यसमा नेपाली उत्पादनको अंश बढाउन सक्नु नै अबको मुख्य चुनौती हो । सरकार र सबै सरोकारवाला निकायले यसका लागि नीतिगत र व्यवहारगत रूपमा गृहकार्य गर्नुपर्छ ।

नेपालमा भटमास, तोरी, आलस, सूर्यमुखी जस्ता तेलहन उत्पादन हुने भए पनि नेपालकै माग पनि धान्दैनन्, निर्यात गर्न त पुग्ने सम्भावना भएन । त्यसैले अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट कच्चा तेल आयात हुने गर्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ४० अर्ब ८४ करोडको कच्चा तेल आयात भएको छ ।

त्यसबाटै नेपाली माग पूर्ति गर्ने र निर्यात गर्ने गरिन्छ । यद्यपि, निर्यातभन्दा आयात नै बढी देखिन्छ । तर कच्चा पदार्थ आयात गरेर निर्यात गर्दा करिब सय दिनको चक्र हुने र उद्योगीले पनि मौज्दात गर्ने भएकाले आयातको तुलनामा निर्यात कम देखिएको उद्योगीको भनाइ पाइन्छ । व्यापार/व्यवसायका आफ्नै तौरतरिका र रणनीति हुने भए पनि तत्कालका लागि निर्यातमा खाने तेल आकर्षक क्षेत्र रहेको तथ्यांकमा देखिन्छ ।

नेपाल–भारतबीचको वाणिज्य सन्धि र भारतले केही महिनाअघि गरेको नीतिगत परिवर्तनले पनि तेल निर्यातमा आकर्षण सिर्जना गर्न भूमिका खेलेको हो । सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन गरिएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछ । यसै परिप्रेक्ष्यमा, अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा बढाएको छ । त्यही कारण तेल उद्योगीले निर्यातलाई प्राथमिकता दिइरहेका छन् । जसले नेपालतर्फबाट हुने निर्यातको तथ्यांकलाई सकारात्मक उचाइ दिएको हो ।

कच्चा तेल आयात गरी प्रशोधन गरेर निर्यात गर्ने चक्र चलेकै भए पनि त्यसले व्यापार घाटालाई कम गर्न थोरै भए पनि योगदान दिएकै छ । मुख्य बजार भारत भएकाले भारतीय रुपैयाँ सञ्चितिमा पनि फाइदा पुग्छ । अर्कोतिर, यसले रोजगारी पनि सिर्जना गरेको छ । तेल उद्योगमा मात्रै प्रत्यक्ष/अप्रत्यक्ष गरी करिब १५ हजारले रोजगारी पाएको बताइन्छ । यद्यपि, अहिलेको बिन्दुमा उभिएर हेर्दा तेल निर्यातको तथ्यांक जतिसुकै बलियो देखिए पनि दिगो भने होइन ।

भारतले नीतिगत परिवर्तन लिनासाथ यो तथ्यांक खुम्चिने सम्भावना रहन्छ । जस्तो कि, कोभिड महामारीताका भारतले तेलको भन्सार दर ४२ प्रतिशत थियो । त्यतिबेला नेपालमा १० प्रतिशत मात्रै लाग्थ्यो । भारतमा भन्सार महँगो भएकाले नेपालबाट निर्यात बढ्यो । उसले सन् २०२२ मा भन्सार दर घटाएसँगै नेपालबाट हुने निर्यात घट्यो । फेरि गत भदौ १९ मा भारतले कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएसँगै उसले आयात गर्ने कच्चा तेल आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुग्यो ।

फेरि नेपालतर्फबाट निर्यात बढ्यो । अहिलेको समयमा अडिएर पछिल्ला केही महिनाको मात्रै तथ्यांक हेर्दा खाने तेलको निर्यात सकारात्मक भए पनि यो दिगो नभएको प्रस्ट छ । त्यसैले भारतको अहिलेकै नीति र नेपालबाट अहिले भइरहेकै निर्यात तथ्यांकलाई हेरेर हौसिँदा कुनै पनि समयमा जोखिम निम्तिन सक्ने सम्भावनाप्रति सचेत रहनुपर्छ ।

अन्य देशबाट कच्चा पदार्थ आयात गरेर तयारी वस्तु पुनः अर्कै देशलाई निर्यात गर्ने, त्यसमा पनि अमुक देशको नीतिगत परिवर्तनबाट सीमित समयमा लाभ लिन सक्नु चलाखी मात्रै हो, यस्तो उपाय दीर्घकालीन हुन नसक्ने निश्चित छ । त्यसैले हाम्रो ध्यान नेपालकै कच्चा पदार्थबाट उत्पादित/निर्मित वस्तुको निर्यात बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । त्यस्ता वस्तुको सम्भावना नेपालमा नभएका होइनन् । सिमेन्ट र क्लिंकर, प्लाइउड, अदुवा, चिया, अलैंची, कफी जस्ता कैयौं नेपाली उत्पादनले निर्यातको राम्रो सम्भावना देखिएका छन् ।

निर्यात बढाउनका लागि यहाँको उत्पादनमै वृद्धि र गुणस्तर सुनिश्चित हुने स्थिति बन्नुपर्छ । त्यसका लागि नयाँनयाँ प्रविधिको उपयोग गर्न आवश्यक हुन्छ । साथसाथै, लागत घटाउन सकिने उपाय अवलम्बन गरिनुपर्छ । व्यावसायिक वातावरण निर्माण गरिनुपर्छ । आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने स्थिति निर्माणका लागि चोरी पैठारीलाई न्यूनीकरण गरिनुपर्छ ।

सरकारले उत्पादनमा प्रोत्साहन गर्ने कानुन र नीतिगत परिवर्तन, अनुदानका प्याकेजका लागि गृहकार्य गर्नुपर्छ, वा अहिले भइरहेका प्रावधानलाई थप प्रभावकारी बनाउनुपर्छ । साथसाथै, निर्यातमा सहजीकरणका लागि अन्य देशसँग सार्थक संवाद गर्नुपर्छ । कूटनीतिक सम्बन्धको उपयोग गर्नुपर्छ । यसले नेपाली कच्चा पदार्थबाटै उत्पादित वस्तुको निर्यात बढेर व्यापार घाटालाई धेरै हदसम्म सन्तुलनमा राख्न त भूमिका खेल्छ नै, रोजगारी र स्वरोजगारीको चक्र स्थानीय स्तरसम्मै फैलाउँछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully