जुनसुकै ठाउँको समुन्नतिका लागि बैंकिङ पहुँच एकदमै आवश्यक हुन्छ । बैंकिङ सेवाले त्यहाँ आम मानिसका लागि सुरक्षित रूपमा बैंकिङ गर्न, उद्यमीहरू बन्न, नयाँ–नयाँ परियोजनामा लगानी जुटाउन प्रेरित गर्छ । गण्डकी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकहरूका शाखा पुगेका छन् ।
गण्डकी प्रदेश विगतदेखि नै पर्यटन, पदयात्रा र तीर्थस्थलका लागि प्रसिद्ध छ । विशेषगरी पोखरा विभिन्न पर्यटकीय आयामका कारण नेपालभित्र मात्र नभई विदेशमा पनि चिरपरिचित छ । लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र प्रदेश बन्दा थपिएको नवलपुरका पनि आ–आफ्नै विशेषता छन् ।
गण्डकी पर्यटनका लागि मात्र नभई संस्कृति, इतिहास, साहित्य, सभ्यता, भाषासहित सम्पदाका लागि पनि प्रख्यात छ । पछिल्लो समय गण्डकी औद्योगिक करिडोरका रूपमा पनि विकास भइरहेको छ । दशक पहिले नै पोखरा औद्योगिक क्षेत्र निर्माण भएको हो । सडक पूर्वाधार, विद्युत् र सञ्चारको पहुँचका कारण पनि गण्डकी प्रदेशकै अन्य जिल्लामा पनि साना, मझौला र ठूला उद्योगले आकार लिन थालेका छन् ।
यहाँ रहेका अन्नपूर्ण ट्रेकिङ रुट विश्वमै प्रख्यात छन् । विकासको क्रमसँगै उक्त रुटलाई जोगाउन संघर्ष गरिरहेको अवस्था छ । अन्नपूर्ण ट्रेकिङ रुटलाई जोगाउन सकिएन भने यसले गण्डकीको पर्यटनमा नकारात्मक असर पार्ने सम्भावना पनि उत्तिकै छ ।
मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा हिन्दु र बौद्ध दुवै संस्कृतिका मानिसले तीर्थ गर्ने र पूजाआजा गर्छन् । यो निकै प्रसिद्धि कमाएको पीठ पनि हो । केही दशकअघिसम्म अपर मुस्ताङ र लोमान्थाङ बाह्य पर्यटकका लागि निषेधित क्षेत्र थियो । तिब्बतसँग जोडिएकाले लोमान्थाङ र अपर मुस्ताङमा पुग्दा माटोले बनेका घर, गुफा र गुम्बा हेर्न सकिन्छ । अपर मुस्ताङ र लोमान्थाङमा तिब्बत र नेपालीको मिश्रित संस्कृति हेर्न पाइन्छ । मुस्ताङी राजाको छुट्टै पहिचान छ ।
तातोपानी कुण्ड र संसारकै गहिरो गल्छी म्याग्दीमा छ । म्याग्दीबाट मुस्ताङ र दरबाङ जाने बाटोमा तातोपानी कुण्ड छ । यी दुवै कुण्ड आयुर्वेदिक रूपमा स्वास्थ्यका लागि निकै लाभदायक हुने जनविश्वास छ । सही र उचित रूपमा व्यवस्थापन गर्न सकिएको खण्डमा तातोपानी कुण्डमा स्नान गर्न संसारभरबाट पर्यटक आउने सम्भावना छ ।
बागलुङमा ढोरपाटन सिकार आरक्ष छ । जहाँ बर्सेनि युरोप, अमेरिका, रुस, युक्रेनलगायत विभिन्न मुलुकबाट सिकार गर्न आउने गर्छन्, त्यसको पनि उचित प्रवर्द्धन गर्न नसकेको हो कि भन्ने बुझाइ हुनुपर्छ । ढोरपाटन सिकार आरक्ष र ढोरपाटन आफैं बागलुङको मनोरम उपत्यका हो । प्रायः नदी उत्तरबाट दक्षिण बग्ने गरेको पाइन्छ । तर दक्षिणबाट उत्तरतर्फ बग्ने नदी ‘उत्तरगंगा’ पनि बागलुङमै छ ।
जुन धार्मिकस्थलका रूपमा परिचित छ । घना जंगलबीच रहेको कालिका भगवती मन्दिर निकै सुन्दर र संरक्षण गरेर राखिएको छ । हिजोआज मुक्तिनाथ मन्दिरमा जाने तीर्थयात्रीहरूको गन्तव्य पनि बनेको छ । कालीगण्डकी नदीमा ‘ह्वाइट वाटर र्याफ्टिङ’ पनि सञ्चालनमा छ ।
पर्वतमा केही वर्षअघि निर्मित विश्वको दोस्रो अग्लो बञ्जी ‘द क्लिफ’ ले एडभेन्चर पर्यटनको सम्भावनालाई उजागर गरेको छ । देशभित्र नभई देशबाहिर पनि छुट्टै चर्चा कमाएको ‘एडभेन्चर पर्यटन’ मार्फत पर्वतले छुट्टै पहिचान स्थापित गर्न खोजे जस्तो देखिन्छ ।
नेपालकै पहिलो ‘होमस्टे’ सञ्चालनमा ल्याउने गाउँका रूपमा स्याङ्जाको सिरुबारीलाई चिनिन्छ । संघीय संरचनाअनुसार गण्डकी प्रदेश बन्दा जोडिएको नवलपुर जिल्ला त्रिवेणीधाम, मौलाकालिका मन्दिर, केबलकार र देवघाट पनि जोडिने हुनाले धार्मिक रूपमा उर्वर मानिन्छ । भित्री तराई पर्ने भएकाले कृषिको पनि उत्तिकै सम्भावना रहेको नवलपुर औद्योगिक ग्रामका रूपमा विस्तार भइरहेको छ ।
सबैभन्दा ठूलो ताल तिलिचो पनि मनाङमै पर्छ । ट्रेकिङ रुट पनि पर्छ । एग्रो मनाङ कम्पनीले दक्षिण एसियाकै ठूलो ‘स्याउ फार्म’ मनाङमा खोलेको छ । ट्रेकिङमा रुटमा पर्ने हिमाली क्षेत्रमा फार्म खोलेको एग्रो मनाङअन्तर्गतकै एक कम्पनीले ‘स्याउको वाइन’ उत्पादन गरेर बजारमा ल्याइसकेको छ ।
स्याउ खेतीबाट मूल्य नपाएको, बजार नपाउँदा छोडेका मनाङवासीले फेरि यो खेती र कृषिलाई अँगाल्न थालेको पाइन्छ । खेती गरेर नै मनग्गे आम्दानी गर्न थालेका छन् । ‘थोरङला पास’ पनि मनाङमै छ । स्वदेशी तथा विदेशीहरूको गन्तव्यका रूपमा मनाङ पर्छ ।
विशेषगरी नेपालभित्र जलविद्युत्को सम्भावना रहेको जिल्लाका रूपमा लमजुङ देखिएको छ । दर्जनौं हाइड्रोपावर सञ्चालनमा आइसकेका छन् भने निर्माणाधीन पनि छ । लमजुङको घलेगाउँ, बारपाक र भुजुङमा गुरुङ जातिको बाहुल्य छ ।
उनीहरूको भाषा, भेषभूषा र संस्कृतिलगायतका कारण पनि गुरुङ जातिमाथि अध्ययन नै गर्न सकिने खुला विश्वविद्यालयका रूपमा लिन सकिन्छ । तनहुँ पुग्दा पुरानो नेवारी बस्ती बन्दीपुरमा पुगिन्छ । बन्दीपुरले पुरानो पहिचानलाई यथावत् राख्दै पर्यटकहरूलाई आकर्षण गरिरहेकै छ ।
पर्यटकीय राजधानीका रूपमा चिरपरिचित पोखरा कास्की जिल्लामा पर्छ । निकै सुन्दर, सभ्य, सांस्कृतिक रूपमा धनी, हिमालहरूको काखमा अवस्थित र तालैतालको सहरका रूपमा पनि लिन सकिन्छ । पोखराले नेपाली साहित्यमा ठूलो योगदान दिएको छ ।
क्षेत्रीय विमानस्थल बनेपछि गण्डकी प्रदेशको सम्भावना र अवसरहरूको ढोका खोलेको छ । अहिले सञ्चालन नआए पनि पोखरा विमानस्थल एक दिन पक्कै सञ्चालनमा आउनेछ । यसले गण्डकी प्रदेशलाई विश्वव्यापी रूपमा चिनाउन वा प्रसिद्ध बनाउन भूमिका खेल्ने नै छ ।
नेपालको डाँडाकाँडाहरूमा एडभेन्चर्स टुरिज्मको प्रशस्त सम्भावना छ । क्षेत्रफलको हिसाबमा सानो भएकाले धेरै संख्यामा खोल्नु उपयुक्त हुँदैन । तर अध्ययन गरेर भारतको बजारसहित विदेशीलाई पनि आकर्षित गर्न सक्ने रुट पहिचान गरेर ‘एडभेन्चर्स टुरिज्म’ मा केही गर्ने हो भने प्रशस्त सम्भावना बोकेको छ ।
पछिल्लो समय पोखरा हुँदै मुस्ताङसम्मको रुट चर्चामा छ । मुक्तिनाथ मन्दिरका कारण भारतीय पर्यटन र अन्नपूर्ण पदमार्गका कारण चर्चामा छन् । कालीगण्डकी करिडोर बनिसकेपछि चीनसँग जोडिने ‘फास्ट रुट’ बन्दै छ ।
जुनसुकै ठाउँको समुन्नतिका लागि बैंकिङ पहुँच एकदमै आवश्यक हुन्छ । बैंकिङ सेवाले त्यहाँ आम मानिसका लागि सुरक्षित रूपमा बैंकिङ गर्न, उद्यमीहरू बन्न, नयाँ–नयाँ परियोजनामा लगानी जुटाउन प्रेरित गर्छ । गण्डकी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकहरूका शाखा पुगेका छन् । एउटै जिल्लामा एउटै बैंकका एकभन्दा बढी शाखा पनि खुलेकाले गण्डकीको आर्थिक उत्थानका लागि बैंकिङ सेवाको पहुँच धेरै छ ।
नागढुंगा–नौबिसे–मुग्लिन–पोखरा सडक पनि स्तरोन्नति भइरहेको छ । दुई–तीन वर्षभित्र काठमाडौंदेखि पोखरा तीन–चार घण्टामा पुग्न सकिन्छ । भविष्यमा प्रदेशको विकासका लागि यसले ठूलो भूमिका खेल्नेछ । गैंडाकोट–स्याङ्जा, गैंडाकोट–तनहुँलगायत धेरै सहायक मार्ग सञ्चालनमा छन् । अब सडक पूर्वाधारकै कारण ग्रामीण क्षेत्रमा दुःख भयो भन्ने अवस्था छैन ।
– शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
