हामी सात दशक अगाडि त्रिभुवन राजपथ निर्माण हुँदाको कालमा छैनौं । आजको युग प्रविधिले फड्को मारिसकेको छ । पहाड उक्लने र ओर्लने जस्ता घुमाउरा लामो बाटोको प्रस्ताव आउँदा सहयोग स्वीकार गर्नु कदापि ठीक छैन । सडक यातायतको साटो केबलकार नै उपयुक्त हुने कुरा राख्नुपर्थ्यो, तर हाम्रो पक्षबाट त्यस्तो प्रयास त्यहाँ देखिएन ।
०५६ साउनमा यो पंक्तिकार पाँच दिनको पैदल यात्रा गरी सिमकोटबाट हिल्सा पुगेको थियो । मेरो यात्राका साथी हुनुहुन्थ्यो, चारवटा भोटो बढी फटाएका दाजु उमेरका कृष्णनाथ घिमिरे । सिमकोटबाट हिल्सासम्मको पैदल बाटो करिब ५८ किमि लामो छ । मोटरबाटोका लागि उत्तर दूरी एक सय किमि पर्न जान्छ ।
हामी सिमकोटको बाटो भएर जाँदा डाँडाफोए, खोल्सी, खगलगाढ, च्याढुका, किर्मी, यालउवा, याङ्गर, तुमिकोट, यारी, हिल्सा (सीमा खम्बा नं ९–कर्णाली नदी) जस्ता गाउँ बाटामा पर्थे । सिमकोटदेखि हिल्सासम्मको यात्रामा दुई होचा हिमाल हामीले पार गर्यौं ।
हाम्रो यात्रा हिल्सा हुँदै मानसरोवरतर्फ सोझियो । हामीले मानसरोवरको दर्शन र कैलाश पर्वतको परिक्रमा गर्यौं । कैलाश पर्वत भ्रमण गर्ने क्रममा कैलाशको उत्तरपट्टि काखमा गौरी कुण्ड पर्छ । त्यहाँबाट अघि बढेपछि गौरी भन्ज्याङ छिचोल्नुपर्छ । हामी गर्मी मौसममा त्यहाँ पुगेका थियौं । ऐना जस्तो गरी जमेको पातलो हिउँको पत्र कुल्चिएर हिँड्नुपर्थ्यो ।
फर्कने क्रममा गएकै बाटोबाट नफर्की नयाँ ठाउँ हेर्ने उद्देश्यले लिपुलेख (सिमानाको पिल्लर नम्बर १) हुँदै टिंकर व्यास गाउँमा बास बस्यौं । नेपालतर्फका महाकाली नदीको काठे पुल बाढीले बगएकाले हामी भारततर्फको बाटो हुँदै टनकपुर निक्लिएर नेपाल प्रवेश गर्यौं । यसरी काठमाडौंबाट सुरु भएको हाम्रो यात्रालाई पुनः काठमाडौं आउन २९ दिन लाग्यो ।
हिमाली भेगका काखमा महाभारतजस्ता उच्च र मध्यम खालका उचाइ भएका पहाडी खण्डमा सडक यातायत उपयुक्त हुँदैन । यसैकारण सिमकोट–हिल्साका लागि केबलकार यातायत (रोप–वे) उपयुक्त हुन्छ । केबलकार यातायतका फाइदा धेरै छन् । जस्तोः बाह्रैमास चलाउन सकिन्छ । आफ्नै देशको विद्युत् इन्धनले सञ्चालन गर्न सकिन्छ । यसले विदेशी खनिज तेलको आयात घटाउँछ । केबलकार यातायतको प्रयोग गर्दा यात्रुको समयको तीन खण्ड बच्न सक्छ । सडकसँग तुलना गर्दा वार्षिक मर्मत खर्च पनि कम लाग्छ ।
मेरो अनुभवमा कुरिनटार–मनकामना केबलकारमा विगत २५ वर्षको दौरान कुनै प्रकारको धनजनको क्षति भएकै छैन । चन्द्रशमशेरको पालामा निर्मित काठमाडौं–धोर्सिङ–हेटौंडासम्मको रोप–वेमा पनि कुनै धनजनको क्षति भएन । त्यसैले सिमकोट–हिल्सामा मोटर बाटोको सट्टा केबलकार नै उपयुक्त हुने देखिन्छ ।
सिमकोट–हिल्सा केबलकार प्रयोगमा आएपछि कैलाश मानसरोवरको दर्शन गर्न यात्रुहरूको बाह्रै महिना थामिनै नसक्ने भीड लाग्नेछ । यात्रामा पर्ने सिमकोट–हिल्साबीचका गाउँमा आवश्यकताअनुसार सबस्टेसनको सुविधा उपलब्ध गराउनुपर्छ । केबलकार सबै ऋतुमा सञ्चालन हुने भएकाले सिमकोटदेखि हिल्सासम्मको मार्गमा रहेका होटल व्यवसायले पनि विकास र प्रगतिको राम्रो अवसर पाउनेछन् । हिमाली क्षेत्रमा बस्ती पातलो भएकाले आगामी दुई/तीन दशकका लागि मालसामान र यात्रु ओसारपसार गर्न केबलकार नै पर्याप्त हुनेछ ।
गएको मंसिरमा चीन स्वशासित तिब्बत प्रान्तअन्तर्गत पुलान काउन्टीका प्रतिनिधि र नेपालतर्फ बझाङ, हुम्ला र दार्चुला जिल्लाका अधिकारीबीच सीमा सरोकारलाई लिएर वार्ता भएको थियो । नेपाल पक्षको वार्ता टोलीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी एवं स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । पुलान काउन्टीले नेपालको तीनै जिल्लाको सिमाना छुन्छ । उक्त दुईदिने बैठक ताक्लाकोट बजारमा बसेको थियो ।
नेपाली टोलीको नेतृत्व हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले गरेका थिए भने पुलान काउन्टीको नेतृत्व काउन्टी प्रमुख ढुन्डुपले गरेका थिए । बैठकको क्रममा सीमा नाकाका पुल, विद्यालय भवन निर्माण, कैलाश मानसरोवरसम्म आवतजावतको निर्बाध सुविधालगायतका विषयका साथै हिल्सा–सिमकोट सडक स्तरोन्नतिका सम्बन्धमा छलफल केन्द्रित थियो । बैठकको क्रममा काउन्टी प्रमुखले हिल्सा सडकको स्तरोन्नति गरिदिने प्रस्ताव राखे । त्यसलाई नेपाल पक्षले स्वागत गर्यो ।
हामीले ताक्लाकोटको सीमा बैठकबाट सिक्नुपर्ने पाठ के हो भने पूर्वसम्मका सबै सिमानामा द्विपक्षीय स्थानीय जनस्तरको वार्ता गर्ने परिपाटीको विकास गर्दा फाइदाजनक हुन्छ । ताक्लाकोटमा तिब्बत पक्षको स्थानीय तहले सडक सञ्जालको विस्तार गर्छु भनी स्थानीय तहबाटै टुंगो लगाइसकेको कुरालाई हालै हाम्रा प्रधानमन्त्रीले चीन भ्रमणमा दुई देशको केन्द्रीय तहको बैठकमा लैजानु उपयुक्त थिएन ।
हरेक विषयमा केन्द्रलाई मात्र हेर्दा सीमाका साना समस्या केन्द्रका लागि गौण विषय बन्छन् । तर यिनै समस्या स्थानीय तहका लागि प्रमुख चासोका विषय हुन्छन् । त्यसैले भविष्यमा पनि यस्तै प्रकारका स्थानीयस्तरको द्विपक्षीय संवादलाई निरन्तरता दिनुपर्छ, जसले दुई देशबीचको जनसम्पर्क पनि बढाउँछ । तर त्यही ताक्लाकोटमा बसेको बैठकमा नेपालतर्फका प्रतिनिधिले खुलेर कुरा राख्न सकेनन् । जस्तै, १८ हजार फिटको उचाइमा सडक बनाइदिने प्रस्ताव आयो ।
हामी सात दशक अगाडि त्रिभुवन राजपथ निर्माण हुँदाको कालमा छैनौं । आजको युग प्रविधिले फड्को मारिसकेको छ । पहाड उक्लने र ओर्लने जस्ता घुमाउरा लामो बाटोको प्रस्ताव आउँदा सहयोग स्वीकार गर्नु कदापि ठीक छैन । सडक यातायतको साटो केबलकार नै उपयुक्त हुने कुरा राख्नुपर्थ्यो, तर हाम्रो पक्षबाट त्यस्तो प्रयास त्यहाँ देखिएन ।
नेपाली पक्षको मौनताको अर्को नमिठो अनुभव पनि छ । भारतले रक्सौलबाट काठमाडौंको अन्तिम जङ्सन खोकना हुने गरी सर्वेक्षण गर्यो । त्यसैगरी, उत्तरतर्फ केरुङबाट आउने रेलको जङ्सन काभ्रेस्थली हुने गरी चीनले सर्वेक्षण गर्यो । तर हामी नेपालीलाई दुवै रेलको संयुक्त जङ्सन आवश्यक छ र चोभारलाई संयुक्त जङ्सन बनाउनु जरुरी देखिन्छ । नेपाली पक्षले यस्ता बहुपक्षीय, दुई पक्षीय बैठक बस्दा आफ्नो हितअनुकुलको कुरा उठाउनुपर्छ । भविष्यमा यस्तो गल्ती नदोहोरियोस् ।
