इजरायल-हमास युद्धविराम : संवाद र सहमति नै अन्तिम विकल्प

आफ्नै एउटा देशको पहिचानका लागि प्यालेस्टिनी जनताको जायज प्रयत्न जबसम्म सफल हुँदैन, तबसम्म त्यस क्षेत्रमा युद्ध भइरहनेछ । किनकि, यसपटकको युद्धविराम पनि समस्याको जड समाधान गर्नेतर्फ उन्मुख देखिँदैन ।

माघ ६, २०८१

सम्पादकीय

Israel-Hamas Ceasefire: Dialogue and Consensus as Last Option

अन्ततः इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम सहमति भएको छ । यसलाई ‘अन्ततः’ भन्नुको कारण यही हो कि कुनै पनि युद्धको अन्त्य वार्ता र सम्झौताबाटै हुन सक्छ भन्ने पुनः पुष्टि भएको छ । त्यहाँ पनि १५ महिनाअघि युद्ध सुरु हुँदा विश्व शान्तिका पक्षधरहरूले निरन्तर यही सत्य अवगत गराउने प्रयास गरेका थिए ।

फरक के हो भने, युद्धको सुरुवातमै सहमति हुन सकेको भए कम्तीमा ४८ हजार व्यक्तिले ज्यान गुमाउनु पर्दैनथ्यो । एक लाखभन्दा बढी घाइते हुनुपर्ने थिएन । २३ लाखभन्दा बढी विस्थापित हुनुपर्ने थिएन । भौतिक संरचनाको बेहिसाब नोक्सान हुने थिएन । यद्यपि, युद्धका कारण भएका क्षति अब फर्केर आउने छैनन् ।

अब जे जति बाँकी छ, त्यसमै टेकेर जीवनका सम्भावनाको खोजी गर्नुपर्ने बाध्यता युद्ध प्रभावितसँग छ । त्यो सम्भावनालाई सकेसम्म फराकिलो बनाउने र सहजीकरण गर्ने दायित्व सरोकारवाला सबैको हो । मुख्यतः अब पुनः यस्ता युद्धको पुनरावृत्ति हुन नदिने इमानदार प्रतिबद्धता आवश्यक छ ।

कतारको राजधानी दोहामा अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा भएको वार्तामा बिहीबार बिहान सहमति जुटेको थियो । यसलाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ र आइतबारदेखि युद्धविराम लागू हुनेछ । युद्धविरामका तीन चरण हुनेछन् ।

६ साताको पहिलो चरणमा हमासले बन्धक बनाएका इजरायली सैनिक, महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जना रिहा गर्नेछ र इजरायलले प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्नेछ । प्यालेस्टिनीको घर फिर्ती सुरु हुनेछ । त्यसपछि दोस्रो र तेस्रो चरण हुनेछन् । तर पहिलो चरणलाई नै सफलतापूर्वक पूरा गर्नुपर्ने चुनौती छ । यो संवेदनशील विषय भएकाले शान्ति पक्षधरहरूले अतिरिक्त सक्रियता देखाउनुपर्नेछ ।

पछिल्लो पटक प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो । यसबीचमा इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । इजरायली प्रतिकारमा ४६ हजार ७ सय ८८ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । अनुमानित १७ हजार बालबालिका बेपत्ता भएका वा हेरचाह गर्ने परिवारका सदस्यहरूबाट अलग भएका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । गाजा क्षेत्रबाट २३ लाखभन्दा बढी विस्थापित हुनुपरेको छ । त्यहाँका ६० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

यी र यस्ता तथ्यांकहरू केवल संख्याका टिपोट मात्रै होइन । भविष्यका खतराका संकेतहरू पनि हुन् । जसले आफ्नो परिवारका सदस्य गुमाएका छन्, उनीहरूको जीवनले रचनात्मक सम्भावना र अवसरको बाटो भेट्न सकेनन् भने सधैंभर शान्तिको मन्त्र जपेर बस्ने सम्भावना अत्यन्त न्यून छ । जुन बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन्, उनीहरू स्वतः वात्सल्य पाउनबाट वञ्चित भएका छन् ।

युद्धको विभीषिकाबाट बाँचेका उनीहरूको लालनपालनदेखि शिक्षासम्मका अधिकार यथोचित ढंगले अघि बढ्न सकेन भने त्यसको मूल्य विश्वले नै चुकाउनुपर्नेछ । १५ महिनाकै अवधिमा यति धेरै बालबालिका मारिएकाले त्यस क्षेत्रमा भविष्यमा जनसांख्यिक असर पनि पर्ने निश्चित छ । जो घाइते छन्, उनीहरू निको हुन पनि सक्छन्, नहुन पनि । तर त्यसले मस्तिष्कमा युद्धको समयलाई बल्झाइरह्यो भने स्वतः उद्वेलित हुन सक्छन् ।

जुन परिवारले आफ्ना सदस्यहरू गुमाएका छन्, उनीहरू पनि सधैंभर प्रतिशोधी भइरहन सक्छन् । अर्थात् गाजाका सखाप भएका भौतिक सम्पत्ति त कुनै दिन पुनर्निर्माण होला । तर त्यहाँको मानसिक विछिप्तता, टुहुरा बालबालिकाको आँसु, पारिवारिक वियोग, रगतका टाटा, खोपदेखि औषधिसम्मको अभावको प्रतिकूलता यी सबैले युद्धलाई वर्षौंवर्ष स्मृतिमा ल्याइरहनेछन् । यी सबै पृष्ठभूमिकाबीच त्यस क्षेत्रमा मानसिकदेखि सीमासम्म दिगो शान्ति स्थापना गर्न इमानदार प्रयत्न चाहिन्छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रमा हमासको सेना र शासन क्षमता समाप्त पारेरै छाड्ने उद्घोष गर्दै आएको थियो । तर हमासलाई पहिचान दिन र ऊसँग सहमति गर्न बाध्य भयो । यसले दिने शिक्षा हो– शक्तिशाली भएकै भरमा अरूको पहिचान मेट्न सकिँदैन । पहिचानको सम्मान गरेर मात्रै आफू वरपर शान्ति कायम गर्न सकिन्छ ।

आफू पनि सुरक्षित रहन सकिन्छ । यो विषय सबैभन्दा बढी इजरायल र उसका सहयोगी राष्ट्रहरूले नै बुझ्न जरुरी छ, साथसाथै हमासले पनि । आफ्नै एउटा देशको पहिचानका लागि प्यालेस्टिनी जनताको जायज प्रयत्न जबसम्म सफल हुँदैन, तबसम्म त्यस क्षेत्रमा युद्ध भइरहनेछ । किनकि, यसपटकको युद्धविराम पनि समस्याको जड समाधान गर्नेतर्फ उन्मुख देखिँदैन ।

यसले बढीमा अहिले भइरहेको भयावह क्षतिको दरलाई तत्कालका लागि रोक्ने काम मात्रै गर्नेछ । त्यसैले इजरायल र हमास दुवैले एकअर्काको अस्तित्व स्वीकार गर्नु नै समस्याको जड समाधान गर्ने मुख्य आधार हो । मुख्यतः सीमा व्यवस्थापनको चुनौतीलाई सफलतापूर्वक टुंग्याउन विश्व समुदाय पनि सहयोगी बन्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully