आफ्ना कार्यकर्तालाई सचेत आलोचक बनाउने कि असहिष्णु भीडको सदस्य बनाउने भन्ने सबै राजनीतिक दलहरूले सोच्नुपर्छ । अहिलेको परिवेशमा रास्वपा पंक्ति यो प्रश्नमा थप गम्भीर हुनुपर्छ किनकि आलोचकमाथि जाइलाग भन्ने मनोविज्ञानको नेतृत्व अरू कसैले होइन, सोही पार्टीका संस्थापक सभापति लामिछाने आफैंले गर्दै आएका हुन् ।
काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाले नेपाली समाजलाई लज्जित बनाएको छ । रास्वपा सभापतिसमेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको भन्दै परेको मुद्दामा सहकारीपीडितका तर्फबाट अदालतमा बहस गरेर निस्किएका त्रिपाठीमाथि हातपात भएको हो ।
खासगरी सहकारी ठगीमा लामिछाने संलग्न भएको तथ्य सार्वजनिक हुन थालेदेखि नै उनका समर्थक, कार्यकर्ता र पार्टीकै नेताहरूले नै पनि सञ्चारमाध्यम तथा आलोचकमाथि सामाजिक सञ्जालमा व्यक्तिगत तथा संस्थागत आक्रमण गर्दै आएका छन् ।
तर, संसद्ले छानबिन र प्रहरीले अनुसन्धान गर्दा मात्र होइन, आज दुई जिल्लाका अदालतले सहकारी ठगीमा संलग्नताका तथ्यहरू प्रस्तुत गर्दै लामिछाने ‘कसुरदार रहेनछन्’ भन्न नमिल्ने आदेश दिँदा पनि रास्वपा पंक्ति आधारभूत आत्ममत्थनमा लागेको छैन । बरु, लामिछानेको प्रतिरक्षामा जम्मा भएको भीडमा कानुन व्यवसायीमाथि भौतिक आक्रमण भएको छ । यो संस्कारको नेतृत्व र मलजल जसले गरिरहेको छ, उसैले यसको जिम्मेवारी लिनुपर्छ ।
लामिछाने अहिले सहकारी ठगीसहितका कसुरका अभियुक्त हुन् । कास्की र काठमाडौंका दुई अदालतले उनी ‘निर्दोष देखिएनन’् भन्ने आधारसहित क्रमशः ६५ लाख र ६० लाख धरौटी लिएर थुनामुक्त गरेका छन् । कुनै पनि व्यक्ति विशेषमाथि आरोप लाग्नु, अनुसन्धान हुनु, मुद्दा चल्नु, अदालतले धरौटी माग्नु वा नमाग्नु र अन्तिम फैसलाबाट दोषी वा निर्दोष सावित हुनु कानुनी राजमा स्वाभाविक उपक्रम हुन् । लामिछानेको हकमा पनि त्यही भइरहेको छ ।
अदालतले अहिले आदेश दिँदा सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएको भन्दै प्रस्तुत गरेका आधारलाई खण्डन गर्ने गरी तथ्य प्रस्तुत गर्ने सम्पूर्ण अधिकार लामिछानेलाई छ । त्यो लडाइँ तथ्य र तर्कका आधारमा हुने हो, हुलहुज्जतका आधारमा होइन । तर, बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा भने अस्वाभाविक घटनाको रचना गरियो । बहसपछि न्यायाधीशले आदेश लेखिरहेका बेला बाहिर कानुन व्यवसायी त्रिपाठीमाथि हातपात भयो ।
यसले कानुनी राजमा विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको छ । त्यो उत्तेजना फैलाउने र हुलहुज्जत गर्नेहरू को हुन् भन्ने विषयमा पनि अनुसन्धान आवश्यक छ । अदालतमा सुनुवाइ भइरहेका बेला बाहिर नाराजुलुस गर्ने को हुन् र यस्तो भीड कस्तो प्रवृत्तिबाट निर्देशित थियो भन्ने त उनीहरूले लगाएका नाराबाटै पनि खुलेको छ । तर प्रहरीले एक जनालाई पक्राउ गरिसकेको र वरिष्ठ अधिवक्ता त्रिपाठीले पनि किटानी जाहेरी दिइसकेको पृष्ठभूमिमा घटनामा संलग्न पात्र, प्रवृत्ति र उक्साहटबारे थप खुलासा हुने नै छ ।
आफ्ना कार्यकर्तालाई सचेत आलोचक बनाउने कि असहिष्णु भीडको सदस्य बनाउने भन्ने सबै राजनीतिक दलहरूले सोच्नुपर्छ । अहिलेको परिवेशमा रास्वपा पंक्ति यो प्रश्नमा थप गम्भीर हुनुपर्छ किनकि आलोचकमाथि जाइलाग भन्ने मनोविज्ञानको नेतृत्व अरू कसैले होइन, सोही पार्टीका संस्थापक सभापति लामिछाने आफैंले गर्दै आएका हुन् । उनले नै आफूमाथि प्रश्न गर्ने सञ्चारकर्मी, सञ्चारगृह र नागरिक अगुवाहरूमाथि सार्वजनिक कार्यक्रममा गालीगलौज गर्दै आएका छन् । विडम्बना के हो भने लामिछानेले सञ्चारमाध्यम तथा नागरिक अगुवाहरूमाथि गैरजिम्मेवार आपत्तिजनक टिप्पणी गर्दा उनको शैलीमाथि प्रश्न गर्ने आधारभूत जिम्मेवारी उक्त पार्टीका नेताले पूरा गरेनन् ।
लामिछानेले मनलागी बोल्दा भीड उत्तेजित हुन्छ र त्यो भीड भोटमा रूपान्तरित हुन्छ भन्ने संकुचित मनोवृत्तिले पार्टीका नेता तथा सांसदहरूलाई गाँजेको देखियो । रास्वपाका नेताहरूलाई आफ्ना सभापतिका अभिव्यक्ति ब्रह्मवाक्य हुन् भन्ने भ्रम छ, कि त्यसको आलोचना गर्दा पार्टीभित्रै किनारामा परिने भय छ ? भय वा भ्रम जेसुकै भए पनि त्यस्तो चिन्तनले वैकल्पिक राजनीति हुँदैन, दल र देश पनि बन्दैन भन्नेमा नेताहरू स्पष्ट हुन जरुरी छ ।
हुन त कांग्रेस, एमाले, माओवादी अन्य दलमा कसको बोलीको अर्थ कति छ भनेर रास्वपा नेताहरूले आफ्नो प्रतिरक्षा गर्न सक्छन् । तर देशलाई नयाँ सोच, शैली र संस्कारसहितको वैकल्पिक शक्ति चाहिएको हो, उही परम्परावादी दलहरूको छायाँपछाडि लुक्ने दलको होइन भन्ने उनीहरूले बुझ्नुपर्छ ।
प्रतिनिधिसभाको चौथो ठूलो दलका रूपमा स्थापित हुँदा रास्वपालाई एउटा वैकल्पिक दलका रूपमा फैलने आकलन गरिएको थियो । परम्परागत र ठूला दलका शासन शैलीबाट निराश जनताका लागि रास्वपा विकल्प हुन सक्ने ठानिएको थियो । तर यसका सभापतिका पदचाप स्वच्छ नरहेको समयक्रममा सार्वजनिक हुँदै गर्दा पार्टी पंक्तिले जिम्मेवार बहस र प्रतिक्रिया दिनु स्वाभाविक हुन्थ्यो । यस्तो शैली विकास गर्न नसक्दा वैकल्पिक भनिएको दलले नैतिक धरातल बलियो र फराकिलो बनाउने अवसर गुमाएको छ ।
अझै पनि यो वा अन्य कुनै दलले नेता विशेषमाथिको प्रश्नलाई पार्टीमाथिकै प्रश्नका रूपमा ग्रहण गर्ने र बहसको सट्टा प्रतिकार गर्ने भूल दोहोर्याउन हुन्न । कार्यकर्ता र समर्थकलाई उत्तेजित बनाउने उद्यमलाई होइन, सचेत बनाउने पहल सुरु गर्नुपर्छ । कानुनी राजमा व्यक्तिमाथि राजनीतिक, नैतिक र कानुनी प्रश्न उठ्छन्, प्रश्नको सामना जोडबलले होइन, तथ्य र तर्कले हुन्छ भन्नेमा आफैं विश्वस्त हुन र कार्यकर्तालाई त्यसरी नै प्रशिक्षित गर्न ढिला गर्ने हो भने रास्वपा आकारमा जति सानो वा ठूलो भए पनि संस्कृतिमा भने संकुचित दल हुनेछ । यसको छवि र भविष्यबारे सोच्ने प्राथमिक जिम्मेवारी सम्बन्धित दलका नेताहरूको हो ।
